केन र मोड्रिकमाथि नजर

एजेन्सी । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज इंग्ल्यान्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दा त्यही दुई टिमका स्टार खेलाडीको प्रदर्शन कस्तो होला भन्ने चासो धेरैको छ ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । इंग्ल्यान्डलाई पराजित गरी ऐतिहासिक सफलता हात पारेर फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको क्रोएसिया सन्तुलित टिम हो । यता, इंग्ल्यान्ड जारी विश्वकपमा राम्रो लयमा देखिएको छ । तुलनात्मक रुपमा इंग्ल्यान्ड क्रोएसियाको भन्दा स्टार खेलाडीले भरिभराउ छ ।

केन भर्सेस मोड्रिक
ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन् । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा रहेका केन लगभग विश्वकप फुटबलको गोल्डेन बुटको विजेता पनि हुन् ।

केनले जारी विश्वकपमा ६ गोल गरिसकेका छन् । उनले समूह चरणको दोस्रो खेलमा पानामाविरुद्ध ह्याट्रिक गोल गरेका थिए । जारी विश्वकपमा २ वटा ह्याट्रिक गोल भएको छ, जसमा केनको एउटा ह्याट्रिक र अर्को पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको नाममा छ ।

सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका केनको यो पहिलो विश्वकप हो । इंग्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो योगदान कप्तान केनको छ ।

समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गर्दा दुवै गोल केनले गरेका थिए । त्यस्तै, पानामाविरुद्ध ह्याटिक गोल गर्दै इंग्ल्यान्डलाई ६–१ गोलको जित दिलाएका केनले समूह चरणको अन्तिम खेलमा बेल्जियमविरुद्ध भने खेलेनन् । प्रि–क्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध पनि केनले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । क्वार्टरफाइनलमा गोल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यता, क्रोएसियाले समूह चरणमा जस्तो प्रदर्शन नकआउट चरणमा गर्न सकेको छैन । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसियाले समूह चरणमा राम्रो प्रदर्शन गरेको थियो । समूह चरणको पहिलो खेलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गर्दा कप्तान मोड्रिकले पनि एक गोल गरेका थिए ।

क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गर्दा मोड्रिकले एक गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलले पराजित गर्दा मिडफिल्डर मोड्रिकले गोल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गरे । त्यस्तै, उनकै महत्वपूर्ण योगदानमा क्रोएसिया विश्वकपको सेमिफाइनलसम्म आइपुगेको हो ।

सेमिफाइनल खेलमा पनि यी दुई खेलाडीको प्रदर्शन उत्कृष्ट हुने अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा भिडियो