यी हुन् रसिया विश्वकपमा डेब्यु गर्ने राष्ट्र

एजेन्सी । फुटबलको महाकुम्भ विश्वकप बिहीबारदेखि रसियामा सुरु हुँदैछ । विश्वकपको उपाधि कुन राष्ट्रले जित्ला ? कुन राष्ट्रको प्रदर्शन कस्तो होला ? विभिन्न अनुमान गर्न थालिसकिएको छ । यही विश्वकपदेखि आइसल्याण्ड र पानामाले डेब्यु गर्दैछन् ।
विश्वकपमा पहिलो पटक आइसल्याण्ड र पानामाले डेब्यु गर्दैछन् भने यी दुई राष्ट्रको प्रदर्शन कस्तो होला ? विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्न लागेका यी दुई टिमले विश्वकपमा पनि आफ्नो प्रभाव छोड्लान् ?

आईसल्याण्ड

करिब ३ लाख ५० हजार भन्दा केही मात्रै बढि जनसंख्या भएको देश आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्न लागेको हो । विश्वकपमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्यमा रहेको छ । त्यसो त, आइसल्याण्डले २०१६ को युरोकपमा पनि अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्मको यात्रा पार गरेको थियो ।

समूह डी मा रहेको आइसल्याण्डसँगै अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया रहेका छन् । समूह चरणको पहिलो खेलमा आइसल्याण्डले अर्जेन्टिनासँग जुन १६ मा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, २२ जुनमा नाइजेरियासँग प्रतिस्पर्धा गर्ने आइसल्याण्डले समूह चरणको अन्तिम खेल क्रोएसियासँग २६ जुनमा खेल्दैछ ।

यसरी छनोट भएको थियो विश्वकपमा आइसल्याण्ड

विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट भए, त्यसमा एक टिम पनि हो आइसल्याण्ड । विश्वकप फुटबलको युरोप छनोटको समूह आई मा रहेको आइसल्याण्ड समूह विजेता बन्दै विश्वकपमा प्रवेश गरेको हो ।

आइसल्याण्डले विश्वकप छनोटमा खेलेको १० खेल मध्ये ७ खेलमा जित, २ खेलमा हार र १ खेलमा बराबरी विश्वकपमा पहिलो पटक स्थान पाएको हो । आईसल्याण्डले विश्वकप छनोटको पहिलो अवे खेलमा युक्रेनसँग १–१ गोलको बराबरी खेलेको थियो तर, होम खेलमा भने युक्रेनलाई आइसल्याण्डले २–० गोलले पराजित गरेको थियो । त्यस्तै, आईसल्याण्डले फिन्ल्याण्डलाई ३–२ गोलले होम खेलमा जित दर्ता गरेको थियो अवे खेलमा भने फिन्ल्याण्डसँग १–० गोलले पराजित भएको थियो । त्यस्तै, टर्कीलाई होममा २–० ले र अवे खेलमा ३–० ले आइसल्याण्डले जितेको थियो ।

रसिया विश्वकप खेल्न लागेको क्रोएसियासँग अवे खेलमा २–० गोलले पराजित भएको आइसल्याण्डले होम खेलमा १–० गोलको जित दर्ता गरेको थियो । त्यस्तै, अवे खेलमा कोसोभोलाई २–१ ले पराजित गरेको थियो भने होम खेलमा पनि कोसोभोमाथि २–० गोलको जित दर्ता गर्दै विश्वकपमा छनोट भएको थियो ।

पानामा

पानामा नर्थ, सेन्ट्रल अमेरिकन एण्ड क्यारेवियन क्षेत्रबाट विश्वकपमा पहिलो पटक छनोट भएको राष्ट्र हो । विश्वकप छनोटमा अमेरिका, होण्डुरस जस्ता बलिया राष्ट्रलाई पछि पार्दै पानामा विश्वकपमा छनोट भएको थियो । छनोटचरणमा दमदार प्रदर्शन गरेको पानामा विश्वकपमा पनि उहि स्तरको प्रदर्शन गर्ने दाउमा छ । पानामाको लागि यो सुवर्णअवसर हो, विश्वकप फुटबलमा आफ्नो इतिहास बनाउने ।

विश्वकपमा पानामा समूह जी मा रहेको छ । यो समूहमा पानामासँगै इंग्ल्याण्ड, बेल्जियम र ट्युनिसिया रहेका छन् । पानामाले आफ्नो पहिलो खेल १८ जुनमा बेल्जियमसँग खेल्दैछ । त्यस्तै, २४ तारिखमा इंग्ल्याण्डसँग खेल्ने पानामाले समूह चरणको अन्तिम खेल २८ जुनमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्दैछ ।

पानामा यसरी छनोट भएको थियो विश्वकपमा
 

विश्वकप छनोटअन्तर्गत नर्थ, सेन्ट्रल अमेरिकन एण्ड क्यारेवियन क्षेत्रको पाचौ राउण्डमा पानामा तेस्रो हुँदै विश्वकपमा प्रवेश पाएको हो । यो क्षेत्रबाट कोष्टारिका पहिलो र मेक्सिको दोस्रो हुदै विश्वकपमा पुग्यो ।

पानामाले पाचौ राउण्डको पहिलो होम खेलमा कोष्टारिकालाई २–१ गोलले पराजित गरेको थियो भने अवे खेलमा पानामा कोष्टारिकासँग गोलरहित बराबरी रोकिएको थियो । अमेरिकासँगको अवे खेलमा ४–० गोलले पराजित भएको पानामाले होम खेलमा भने १–१ गोलको बराबरीमा रोकेको थियो । त्यस्तै, होम खेलमा त्रिनिडेड एण्ड टोबागोलाई ३–० गोलले पराजित गरेको पानामा अवे खेलमा भने १–० गोलले हारेको थियो ।

त्यस्तै, मेक्सिकोसँगको अवे खेलमा १–० गोलले पराजित भएको पानामाले होम खेलमा भने गोल रहित बराबरी खेलेको थियो । त्यस्तै, होम खेलमा होण्डुरससँग २–२ गोलको को बराबरी खेलेको पानामाले अवे खेलमा भने १–० गोलको जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा भिडियो

खेल तालिका

View Full Fixture