यस्ता छन् अहिलेसम्मका विश्वकप अफिसियल गीत, साकिराको गीत नै उत्कृष्ट

एजेन्सी । सन् १९३० देखि विश्वकप फुटबल सुरु भयो तर, विश्वकपमा अफसियल गीत भने सन् १९६२ को चिली विश्वकपदेखि मात्रै राख्न थालिएको थियो । विश्वकप नजिकिदै गर्दा सार्वजनिक गरिने विश्वकपको अफिसियल गीतले यसको रौनक बढाउनका साथै भाईचारा सम्बन्ध कायम गर्ने विश्वास गरिन्छ ।

अहिलेसम्म १५ वटा विश्वकपमा अफिसियल गीत बनिसकेका छन् । यहि जेठदेखि रुसमा सुरु हुने विश्वकप फुटबलले विश्व विस्तारै तताउदै छ । विश्वकपका चहलपहल पनि दिनप्रतिदिन बढ्दो छ । विश्वकप आउनु महिनौ अघिदेखि फुटबलप्रेमी आ–आफ्नो समर्थनमा विश्वकप यो राष्ट्रले जित्छ त्यो राष्ट्रले जित्छ भनेर आँकलन गर्न थालिसकेका छन् ।

२१औं संस्करणको विश्वकप फुटबलले माहोल लिदै गर्दा विगतमा बनेका विश्वकपका अफिसियल गीत कस्ता थिए ? अहिलेसम्म बनेका विश्वकपको अफिसियल गीत यी हुन् ।

एल रक डेल मुन्डियल (चिली १९६२)

विश्वकपको इतिहासमै पहिलो पटक सन् १९६२ मा चिलीमा भएको विश्वकपमा अफिसियल गीतको प्रयोग गरिएको थियो । यहि विश्वकपदेखि अहिलेसम्म निरन्तर विश्वकपका अफिसियल गीत बन्दै आईरहेको छ ।
पहिलो पटक बनेको विश्वकपको गीतको बोल ‘एल रक डेल मुन्डियल’ रहेको थियो । स्पेनिस भाषामा यो गीत लस रम्बर्सले गाएका थिए । यो गीत जर्ज रोजास एस्टोर्गाले लेखेका थिए ।

 

वल्र्ड कप विल्ली (इंग्ल्याण्ड १९६६)

सन् १९६६ मा विश्वकप फुटबलको आयोजना इंग्ल्याण्डले गरेको थियो भने विश्वकपको विजेता पनि इंग्ल्याण्ड नै भएको थियो । यो विश्वकपमा अफिसियल गीतको बोल ‘वल्र्ड कप विल्ली’ रहेको थियो ।
अंग्रेजी भाषामा डविङ भएको विश्वकपको यो अफिसियल गीत त्यसबेला निकै रुचाईएको थियो । यो गीत लोनी डोनेगनले गाएका थिए ।

फुटबल मेक्सिको ७० (मेक्सिको १९७०)

सन् १९७० को विश्वकप फुटबल मेक्सिकोमा भब्यताको साथ सम्पन्न भएको थियो । यो विश्वकपको उपाधि ब्राजिलले जितेको थियो । यो विश्वकपमा पनि अफिसियल गीत समावेश थियो । यो विश्वकपमा ‘फुटबल मेक्सिको ७०’ नामक अफिसियल गीतको बोल रहेको थियो ।
स्पेनिस भाषामा डविङ भएको यो गीत लस हरमनोस जाभालाले गाएका थिए भने रोबेर्टो डो नास्किमेन्टोले लेखन तथा निर्माण गरेका थिए ।

 

फुटबल (जर्मनी १९७४)

सन् १९७४ मा पहिलो पटक जर्मनीले विश्वकप फुटबलको आयोजना गरेको थियो भने उपाधि पनि जर्मनीले नै जितेको थियो । यो विश्वकपमा ‘फुटबल’ नामक गीतको बोल अफिसियल गीत थियो ।
पहिलो पटक यो अफिसियल गीत अंगे्रजी, स्पेनिस, जर्मन, रसियन र पोलिस भाषामा डविङ भएको थियो । यो अफिसियल गीत म्यारिला रोडोविचले गाएकी थिइन् ।

एल मुन्डियल (अर्जेन्टिना १९७८)

अर्जेन्टिनाले आफ्नै आयोजनामा सन् १९७८ को विश्वकप फुटबल पहिलो पटक जितेको थियो । १६ देशले सहभागिता जनाएको यो विश्वकपमा ‘एल मुन्डियल’ नामक अफिसियल गीत थियो ।
स्पेनिस भाषामा डविङ भएको यो गीत ब्युनस आयर्स फिलार्मोनिक समूहले गाएका थिए । यो गीतलाई एनियो मारिकोनले लेखन तथा निर्माण गरेका थिए ।

मुन्डियल ८२ (स्पेन १९८२)

स्पेनले सन् १९८२ को विश्वकप फुटबलको आयोजना गरेको थियो । इटालीले उपाधि जितेको यो विश्वकपको अफिसियल गीत ‘मुन्डियल ८२’ नामक थियो । स्पेनिस भाषामा डविङ भएको यो गीतको शीर्षक पनि स्पेनिस नै हो ।
प्लासिडो डोमिंगोले निर्माण गरेको यो गीत त्यसबेला निकै चर्चित बनेको थियो ।

हट हट हट (मेक्सिको १९८६)

सन् १९७० को विश्वकप आयोजना गरेको मेक्सिकोले त्यसको १६ वर्षपछि पुनः दोस्रो पटक सन् १९८६ मा विश्वकप फुटबलको आयोजना गरेको थियो । यो विश्वकपमा भने अफिसियल गीत अंग्रेजीमा थियो ।
‘हट हट हट’ नामक विश्वकपको गीत एरोवले गाएका थिए ।

टु वि नम्बर वान (इटाली १९९०)
 

सन् १९३४ को दोस्रो विश्वकप भब्यताको साथ सम्पन्न गर्दै त्यसको उपाधि पनि चुमेको इटालीको लागि पुनः १९९० मा विश्वकप आयोजना गर्ने अवसर मिल्यो । जर्मनीले यो विश्वकपको उपाधि जित्दा अर्जेन्टिना उपविजेता बनेको थियो ।
यो विश्वकपमा अफिसियल गीत ‘टु वि नम्बर वान’ नामक रहेको थियो । यो गीत जियोर्जियो मोरोडरले गाएका थिए ।

ग्लोरील्याण्ड (अमेरिका १९९४)

सन् १९९४ मा विश्वका शक्तिशाली राष्ट्र अमेरिकाले विश्वकप फुटबलको आयोजना गरेको थियो । यो विश्वकपमा ‘ग्लोरील्याण्ड’ नामक अफिसियल गीत बनेको थियो । यसबेला इटालीलाई पराजित गर्दै ब्राजिलले विश्वकपको उपाधि उचालेको थियो । यो विश्वकपमा प्रयोग भएका अफिसियल गीत ड्यारिल हलले गाएका थिए । यो गीत चार्ली स्करबेक र रिक ब्लास्कीले निर्माण गरेका थिए ।

दि कप अफ लाइफ (फ्रान्स १९९८)

सन् १९९८ को विश्वकप फ्रान्सले आयोजना गर्दा विजेता पनि आफै बनेको थियो । यो विश्वकपको लागि बनेको अफिसियल गीत निकै चर्चित भएको थियो । ‘दि कप अफ लाइफ’ शीर्षक रहेको यो गीतमा रिकी मार्टिनले स्वर दिएका थिए ।


बुम (जापान/दक्षिण कोरिया २००२)

विश्वकप फुटबलको इतिहासमा पहिलो पटक सन् २००२ को विश्वकप एसियाका दुई राष्ट्र जापान र दक्षिण कोरियाले गरेका थिए । दुई देशमा भएको विश्वकपको उपाधि जर्मनीलाई फाइनलमा पराजित गर्दै ब्राजिलले जित्दै अर्को इतिहास बनाएको थियो ।
विश्वकपमा ‘बुम’ शीर्षकको अफिसियल गीत बनेको थियो । अनास्टेसियाले गाएकी यो गीत ग्लेन बलार्डले लेखेका थिए ।

दि टाइम अफ आओर लिभस् (जर्मनी २००६)

जर्मनीले सन् २००६ मा दोस्रो पटक विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । तर, यो पटक भने फ्रान्सलाई पराजित गर्दै इटालीले चौथो पटक उपाधि जितेको थियो । विश्वकपको एक अभिन्न अंग जस्तै बनेको अफिसियल गीत यो पटक झनै शसक्त बनेको थियो । ‘दि टाइम अफ आओर लिभस्’ शीर्षकमा बनेको यो गीत सबैले रुचाएका थिए ।
यो गीतमा आईआई डिभो मल्टिनेशनल क्लासिकल क्रसओभर स्वर समूहले गाएका थिए भने टोनी ब्राक्स्टोनले साथ दिएकी थिइन् ।

वाक्का वाक्का (दक्षिण अफ्रिका २०१०)
 

सन् २०१० को विश्वकप फुटबल पहिलो पटक दक्षिण अफ्रिकाले आयोजना गरेको थियो । यो विश्वकपको उपाधि नयाँ राष्ट्र स्पेनले पहिलो पटक जितेको थियो ।
विश्वकप अफिसियल गीतको इतिहासमा सबै भन्दा बढि रुचाइएको गीत यही विश्वकपको थियो । चर्चित स्पेनिस गायिका साकिराले गाएको ‘वाक्का वाक्का’ बोलको अफिसियल गीतले तहल्का नै मचाएको थियो । यो गीत विश्वकप आउदा अझै पनि सुन्ने गरिन्छ ।
साकिरालाई फ्रेसलीग्राउण्ड ब्याण्डले साथ दिएको थियो ।

वीआर वान (ब्राजिल २०१४)
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको अफिसियल गीतले पनि निकै चर्चा कमाएको थियो । अमेरिकन ¥यापर पिटबुलले ब्राजिल विश्वकपको अफिसियल गीत गाएका थिए । उनलाई अमेरिकन गायिका जेनिफर लोपेज र ब्राजिलियन गायिका क्लाउडिया लिटले साथ दिएकी थिइन् ।
यो विश्वकपको उपाधि जर्मनीले अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै जितेको थियो ।

लिभ इट अप (रुस २०१८)
सन् २०१८ को विश्वकप रुसमा जुन १४ देखि जुलाई १५ सम्म हुदैछ । रुसको विभिन्न १२ रंगशालामा हुने विश्वकपको अफिसियल गीत केही दिनअघि मात्रै सार्वजनिक भएको छ । अमेरिकन गायक निक्की जामको स्वर रहेको गीतमा उनलाई गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप’ शीर्षक रहेको यो गीत यसअघिका गीत भन्दा निकै फाष्ट रहेको छ ।
रुस विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नजिकिदै गरेको विश्वकपले पुरै विश्वलाई तताएको छ ।

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो