पोर्चुगल

पोर्चुगल
एजेन्सी । विश्वकपको उपाधि दाबेदारको हैसियत राख्ने पोर्चुगल बलियो टिम हो । विश्व फुटबलको महाकुम्भ विश्वकपमा पोर्चुगलले ६ पटक प्रतिस्पर्धा गरिसकेका छन् ।
जसमा पोर्चुगलले दुई पटक सेमिफाइनलको यात्रा तय गरेको छ ।  सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले त्यसपछि सन् १९८६, २००२,२००६, २०१० र २०१४ मा सहभागिता जनाएको छ । यो विश्वकप पोर्चुगलका लागि सातौ पटक हो ।
सन् १९३८ बाट विश्वकप छनौट खेल खेल सुरु गरेको पोर्चुगलले सन् १९६६ मा मात्र विश्वकप खेल्ने अवसर पाएको थियो । पोर्चुगलले विश्वकप फुटबलको पहिलो सहभागितामै आफ्नो उपस्थिति बलियो देखाएको थियो । सन् १९६६ इंग्ल्याण्डमा सम्पन्न विश्वकपको समूह चरणको सबै खेल जितेको थियो ।
क्वाटरफाइनलमा उत्तर कोरियालाई ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सेमिफाइनल यात्रा तय गरेको थियो । तर, सेमिफाइनल पुगेपछि पोर्चुगलको यात्रामा इंग्ल्यान्ड बाधा बन्यो । सेमिफाइनलमा पोर्चुगल इंग्ल्यान्डसँग २—१ गोल अन्तरले पराजित हुँदै तेस्रो स्थानतर्फ धकेलिएको थियो । र, पहिलो सहभागितामै तेस्रो हात पार्ने क्रममा पोर्चुगलले सोभियत युनियन २—१ ले पराजित गरेको थियो ।
सन् १९६६ मा पहिलोपटक विश्वकप खेलेको पोर्चुगलले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लामै समय कुर्नु परेको थियो । पोर्चुगलले दोस्रो पटक मेक्सिकोमा आयोजना भएको सन् १९८६ को विश्वकपमा सहभागिता जनाउन सक्यो । जुन, पोर्चुगलले २० बर्षपछि पुन विश्वकप खेलेको थियो ।
विश्वकपको दोस्रो सहभागितामा समूह चरण पार गर्न नसकेको पोर्चुगलले इंग्ल्याण्डलाई मात्र हराएको थियो । पोर्चुगलले पहिलो खेलमा इंग्ल्याण्डलाई १—० ले पराजित गरेको थियो  । त्यसपछि समूह चरणको दोस्रो खेलमा पोल्याण्डसँग १—० र अन्तिम खेलमा मोरोक्कोसँग ३—२ गोल अन्तरले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो ।
सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा पनि पोर्चुगलको यात्रा समूह चरणमै सीमित बनेको थियो । पोल्याण्डलाई ४—० गोल अन्तरले हराएपनि पोर्चुगल अमेरिकासँग ३—२ र दक्षिण कोरियासँग १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।
सन् २००६ मा जर्मनीमा आयोजना भएको १८ औं संस्करणको विश्वकपमा पोर्चुगलले चौथो स्थान हासिल गरेको थियो । समूह डी मा रहेको पोर्चुगलले अंगोला, इरान र मेक्सिकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । पोर्चुगलले अन्तिम १६ मा नेदरल्याण्डलाई १—० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३—२ गोलले हराउँदै पोर्चुगल सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा भने पोर्चुगल फ्रान्ससँग १—० गोल अन्तरले पराजित भएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा पोर्चुगल आयोजक राष्ट्र जर्मनीसँग ३—१ गोल अन्तरले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो ।
त्यस्तै, सन् २०१० को विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो भने २०१४ को विश्वकपमा पोर्चुगलले समूह चरण पनि पार गर्न सकेन ।
रुस विश्वकपमा भने पोर्चुगल समूह बि मा रहेको छ । यो समूहमा पोर्चुगल सहित स्पेन, मोरोक्को र इरान रहेका छन् ।

पोर्चुगल टिम
गोलकिपरः एन्थोनी लोपेज, रुइ पाट्रिसियो, बेटो
डिफेन्डरः ब्रुनो आल्भेज, केड्रिक सोअरेज, जोसे फोंटे, मारिओ रुइ, पेपे, राफेल, रिकार्डो पेरेइरा, रुबेन डीयास
मिडफिल्डरः एड्रियन सिल्भा, ब्रुनो फर्नानडेज, जोआओ मारिओ, जोआओ मोंटिनो, मान्युअल फर्नानडेज, विलियम कर्भाल्हो,
फरवार्डः क्रिस्टियानो रोनाल्डो, आर्नेट सिल्भा, बेर्नान्डो सिल्भा, गेल्सन मार्टिन, गोन्कालो गुइडिज, रिकार्डो क्वारिस्मा

 

प्रतिकृया दिनुहोस

ताजा भिडियो