सम्पादकीय
राष्ट्रपति विद्यादेवी भण्डारी छिन्नमस्ता भगवतीको दर्शन गर्न जाँदा केही सैनिकले जुत्ता बोकेको तस्बिर सार्वजनिक भएको छ । यी जुत्ता राष्ट्रपति भण्डारी र उनका छोरीहरूको भएको र सेनाकै अधिकारीहरूको आदेशमा ती सैनिकले एक ठाउँबाट अर्को ठाउँमा लगेको सम्बन्धित समाचारमा उल्लेख भएको छ । केही महिना पहिले नेपाल प्रहरी र सशस्त्रका जवानले कुनै व्यक्तिको जुत्ताको तुना बाँधिदिँदै गरेका वा खुट्टा धुन पानी हाल्दै गरेका यस्तै 'अपमानजनक' तस्बिर सार्वजनिक भएका थिए । यसैगरी बहालवाला र पूर्व अधिकृतहरूका घरमा पनि तालिमप्राप्त सुरक्षा कर्मीलार्इ सुसारे बनाउने सामन्ती चलन लोकतान्त्रिक गणतन्त्र नेपालमा समेत कायमै छ । एक्काइसौं शताब्दीमा आइपुग्दा पनि राज्यका विभिन्न अंग विशेषगरी सुरक्षा निकायमा मध्ययुगीन सामन्ती सोच र अभ्यास कायमै रहनु दुःखद विडम्बना हो । कठोर अनुशासनका कारण नेपाली सेनालगायतका सुरक्षा निकायका परम्परामा परिवर्तन हुन ढिलो हुनु अस्वाभाविक होइन । तर, मानवीय संकटबाहेक अरू बेलामा कसैको जुत्ता बोकाउनेजस्तो काम राष्ट्रका सुरक्षाकर्मी सैनिक वा प्रहरीलार्इ गराउनु आपत्तिजनकमात्र हैन अमानवीय व्यवहार पनि हो । यसैगरी, सुरक्षा कर्मीलार्इ टहलुवा वा सुसारे बनाउने सोच र अभ्यास पनि अलोकतान्त्रिक एवं अमानवीय हो । संगठनको परम्परा वा अरू कुनै पनि नाममा यस्ता कार्यको औचित्य सिद्ध हुँदैन । हुनत, राष्ट्रका सुरक्षाकर्मीको यस्तो अपहेलना कुनै स्वाभिमानी नागरिकका लागि प्रिय र स्वीकार्य नहुनु पर्ने हो । तर, आफूले सुरक्षाकर्मीलाई कजाउन सुरक्षा निकायका सामन्ती सोच, संस्कार र विचार भएका अधिकृतहरूले अरूलाई पनि त्यस्तै व्यवहार गराउँछन् ।
छिन्नमस्ता भगवतीको दर्शन गर्न गएकी राष्ट्रपति भण्डारी वा उनका छोरीहरूलाई पनि अरूलार्इ जुत्ता बोकाउने सोख नहुनुपर्ने हो । भूमिगत अन्धकारमा रुमल्लिएको नेकपा (माले) नामको संगठनलाई लोकतन्त्रको उज्यालोतर्फ लैजाने कम्युनिस्ट नेता मदन भण्डारीकी पत्नी र छोरीहरूमा त्यस्तो मानवीय मर्यादामा अतिक्रमण गर्ने विचार वा रहर भयो होला भन्ने विश्वास गर्नै कठिन हुन्छ । तर, यस्तै घटना दोहोरिन थाले भने चाहिँ राष्ट्रपति भण्डारीमा पनि सामन्ती रहर पलाएको ठान्नुपर्ने हुन्छ । यो अपवादबाट जोगिन राष्ट्रपति भडारीले अगुवाइ गर्नसके सुरक्षा निकायको लोकतन्त्रीकरण र सुरक्षाकर्मीको मानवीय मर्यादा स्थापित गर्न ठूलो योगदान हुनसक्थ्यो । कम्तीमा पनि सुरक्षाकर्मीले व्यक्ति विशेषको टहलुवा र सुसारे हुन नपर्ने व्यवस्था मिलाउने र सार्वजनिक स्थलमा जुत्ता बोक्नुपर्ने जस्तो हेपाइ कुनै पनि निकायका सुरक्षाकर्मीले सहनु नपर्ने व्यवस्था मिलाउन सके नेपाली समाजको लोकतन्त्रीकरणका मार्गमा ठूलो योगदान हुनेछ ।
उनीहरूको स्वार्थ र संस्कार जोडिएको हुनाले सुरक्षा निकायका बहालवाला वा अवकाशप्राप्त अधिकृतहरूले अनेकौं तर्क र उदाहरण दिएर यस्तो प्रबन्ध भंग गर्न नहुने जिकिर गर्नसक्छन् । त्यस्ता मानवीय मर्यादाविरुद्धका तर्क स्वीकार गर्ने हो भने त लोकतन्त्र र अझ गणतन्त्रको कुनै औचित्य हुँदैन । सुरक्षा निकायका अधिकृतहरूलार्इ सुसारे वा टहलुवा राज्यले नै दिनुपर्ने हो भने त्यसका लागि पैसा दिए हुन्छ । तर, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने ध्येय राखेका सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने गरी घरेलु कामदार बनाउनु हुँदैन । अझ जुत्ता त घरेलु कामदारलार्इ पनि बोकाउनु मर्यादाविपरीत हुन्छ । स्मरणीय छ, करिब १० हजार सुरक्षाकर्मी विभिन्न नाममा व्यक्ति विशेषको काममा खटाइएका छन् । तिनलाई उनीहरूकै काममा खटाएमा १० हजार जना प्राथमिक तहका शिक्षक भर्ना गर्न सकिनेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३ ०५:३०
प्रतिक्रिया दिनुहोस्