site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महाभियोगको रन्को
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपालको संविधान, २०७२ को वास्तविक कार्यान्वयन एउटा संवैधानिक निकायका प्रमुखलाई महाभियोग लगाएर हटाउने प्रस्तावबाट सुरु हुने भयो । यी पंक्ति लेखुन्जेल महाभियोग प्रस्ताव पारित होला कि नहोला भन्नेसमेत स्पष्ट भइसकेको छैन । नेपाली कांग्रेसको अन्योल कायमै छ भने नेकपा (माओवादी केन्द्र)मा चर्कै तानातान हुने सन्देह बढेको छ । नेताहरूले कसरी व्यवस्थापन गर्छन् असन्तोषको र त्यसको असर कस्तो पर्छ त्यो भविष्यमा देखिने नै छ । सामाजिक सञ्जाल र सूचना प्रविधिले जनतालाई धेरै गुना जागरुक बनाइसकेको छ । शासकहरू भने जनतालाई अझै अबुझ ठान्छन् र आँखामा छारो हाल्न खोज्छन् । 
 
लोकमानसिंह कार्कीलाई नियुक्त गर्नु हुँदैन भनेर जनताले उति बेलै चर्कै स्वरमा भनेका थिए । नेताहरूले आफूलाई पाटनका ६ प्रधानकै अवतार ठाने । इसारा वा दबाब जोसुकैको होस् लोकमानसिंह कार्कीलाई त्यस पदमा नियुक्ति दिनु गलत थियो र त्यसको दोष शीर्ष भनिएका नेताहरू, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र राष्ट्रपति रामवरण यादवले बोक्नैपर्छ । यीमध्ये कुनै एक जनाले पनि अस्वीकार गरेको भए कार्कीको नियुक्ति हुने थिएन । (अब पनि जनभावना कुल्चेर यिनले अर्को लोकमानलाई नियुक्ति दिलाउने वा आफ्नो कठपुलती खोज्दाखोज्दै अर्को दुई वर्ष यसै बिताउने छैनन् भनेर ढुक्क हुन त के आशा गर्न पनि सकिँदैन ।) 
यु टु ब्रुटस् !
विलियम सेक्सपियरको अंग्रेजी दुःखान्त  'जुलियस सिजर'को अन्त्यतिर एउटा दृश्य छ - रोमन तानाशाह सिजरमाथि भारदार (सिनेटर)हरूले आक्रमण गरेको । सिजरलाई ढालेपछि उनलाई सबैले प्रहार गर्न थाले । त्यस हुलमा सिजरका प्रिय तथा पुलपुल्याइएका भारदार मार्कस ब्रुटसलाई पनि देखेपछि सिजरले भने - "यु टु ब्रुटस !" । अत्यन्त विश्वास गरिएको व्यक्तिले धोका दिँदा रिस उठ्नेभन्दा पनि ग्लानि र आश्चर्य हुन्छ । 
 
यस्तै ग्लानि र आश्चर्यमा परे होलान् पुष्पकमल दाहाल र लोकमानसिंह कार्की । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसमेतकै इजलासले कार्कीको नियुक्तिसम्बन्धी निर्णय दोहोरिने ठहर गर्नेबित्तिकै मुद्दाको रोह बुझ्नेले बुझिसकेकै थिए - कार्कीको नियुक्ति बदर हुने संकेत हो त्यो । न्यायालयको पहिलो निर्णय अलि अस्वाभाविक थियो । (प्रधान न्यायाधीश नै मन्त्रिपरिषद्का अध्यक्ष थिए । अहिले नेताहरूलाई सत्तोसराप गर्नेहरूले खिलराज रेग्मीको भूमिका बिर्सेजस्तो गरेका छन् । तर, लोकमानसिंह कार्कीलाई नियुक्त गराउनमात्र हैन अदालतमा उनकोविरुद्ध परेको रिट खारेज गराउन र लोकमानका पक्षमा निर्णय गराउन पनि रेग्मीको भूमिका बिर्सन मिल्छ ?) 
 
अदालतको प्रक्रियाप्रति प्रतिक्रिया देखाउन कार्कीले अत्यन्त गलत समय रोजेका थिए । प्रधानमन्त्री दाहाल भारत भ्रमणमा थिए । उनी त्यहाँ छँदै लडाकु शिविरको छानबिनको घोषणा गर्नु प्रकारान्तरले दाहालको तेजोबध गर्नु नै हो । आफ्नै अग्रसरतामा नियुक्त भएका र अरू पनि धेरै कारणले निकट रहेका कार्कीले यसरी 'पिठिउँमा छुरा' हान्दा दाहाललाई पक्कै ग्लानि भएको हुनुपर्छ । उनले मनमनै भए पनि भनेको हुनुपर्छ - लोकमानजी तिमी पनि ! (त्यसो त दाहाल जनार्दन शर्माजस्ता आफ्ना विश्वासप्राप्त लेफ्टिनेन्टले उनकै शब्दमा 'एमालेको लहैलहै'मा लागेर महाभियोगको प्रस्ताव दर्ता गराउँदा पनि रातभर निदाउन सकेनन् रे ! राजीनामा दिने मन बनाएका थिए रे ! बीचरा प्रधानमन्त्री दाहाल ! जे रोपेको हो त्यही न फल्छ । धोका र अविश्वासको बीउ रोपेर अरू के खोज्नु पनि हुँदैन ।) 
 
सर्वोच्च अदालतको निर्णयपछि नै कार्कीविरुद्ध बोल्न धेरैको धक फुक्दै गएको थियो । उनैले हुर्काएका फुर्काएकाहरू पनि बिस्तारै मुन्टो बटार्न थालेका थिए । उनका संरक्षक पनि तर्सेका देखिन्थे । यस्तैमा उनका नाममा सर्वोच्च अदालतको म्यादसमेत तामेल गर्न नसक्ने गरी राज्य संयन्त्र लाचार देखाउने काम भयो । त्यसले जनमानसका कार्कीका विरुद्ध उनको नियुक्तिका बेलामा भन्दा पनि बढी आक्रोश उत्पन्न गरायो । उनले कमजोर ठानेकाहरू बलिया हुन थाले । संसद्मा महाभियोग समिति बन्दैमा महाभियोग दर्ता हुनै पर्ने त थिएन तर कार्की एकाएक फर्केको सुइँको सायद एमाले र माओवादीहरूले पाएका थिए । नेपाल आइपुग्नेबित्तिकै कार्कीले मुद्दा दायर गराउलान् भने तर्सेकाहरूले पहिलो वाण छाडे । यसरी वाण हान्नेमा कार्कीले सायद कल्पनै नगरेका माओवादी सांसद अगाडि देखिए । माओवादी प्रधानमन्त्री दाहालले भनेजस्तो शिखण्डि भएका हुन् कि देशको शासन प्रणालीप्रति चिन्तित भएका हुन् समयले बताउने नै छ । तर, लोकमानसिंह कार्कीलाई भने पत्याउन गाह्रो परेको हुनुपर्छ । उनले पनि ग्लानि मिसिएको आश्चर्य व्यक्त गर्दै भने होलान् - दाहाल जी तिमी पनि !  
 
बोल बोल मछली मुखभरी पानी ! 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र अर्का आयुक्त राजनारायण पाठकले चिकित्साशास्त्र शिक्षामा विभिन्न प्रकारका अनुचित हस्तक्षेप गरेकाले तिनलाई महाभियोग लगाएर निकाल्नुपर्ने माग प्रा.डा. गोविन्द केसीले राख्दा एमाले पंक्ति त पूरै विरोधमा थियो नै माओवादीमा पनि  श्याम श्रेष्ठबाहेक अरू कसैले खासै सुन्न चाहेका थिएनन् । कांग्रेसका नेता गगन थापाले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउन तीन जना नपुगेर अस्पतालको शैयामा रहेका श्याम श्रेष्ठले हस्ताक्षर गरेका थिए । सभामुख ओनसरी घर्तीले चाहेकी भए थापाको प्रस्तावमा छलफल हुनसक्थ्यो । सर्वोच्च अदालतले त्यति बेलासम्म नियुक्तिको मुद्दामा पुनरवलोकनको निर्णय गरिसकेको थिएन । यसैले संसद्मा निकै रमाइलो हुन्थ्यो । सर्वोच्च अदालतको तेजोबध गर्ने प्रयासपछि राधेश्याम अधिकारीले संसद्मा प्रश्न उठाए । माओवादी र एमालेका भने सामान्य सांसद्ले विवेकले देखेको बोले तर कार्कीका विरुद्ध बोल्ने आँट अरूले गरेनन् ।अहिले एकाएक सुशासनको पीरले छापामार शैलीमा महाभियोग लगाउनेहरूले के बोल्थे अनुमान लगाउन कठिन हुँदैन । उनीहरूलाई लोकमानसिंह कार्कीले आफूहरूविरुद्ध मुद्दा लगाइहाल्लान् कि भन्ने डरबाहेक सायद अरू कुराको चिन्ता छैन । तर, लोकमानविरुद्ध सडकमा पनि आक्रोश छ । सर्वसाधारणलाईसमेत उनको नियुक्तिमा चित्त बुझेको थिएन । त्यसपछि देखिएको उनको कार्यशैली र त्यसमा पनि 'राजसी रबाफ' पटक्कै चित्त बुझेको थिएन । जनभावना पनि बुझ्नुपर्छ भन्ने हाम्रा 'सर्व जान्ने' नेताहरूले कहिल्यै ठान्दैनन् । यसपटक पनि उनीहरूले जनताका कुरा सुनेर कार्कीविरुद्ध महाभियोग लगाएका हैनन् । त्यसैले जे भनिएको छ त्यसभन्दा नभनिएका कुरा महाभियोग प्रस्तावमा निर्णायक भएका छन् । डा. गोविन्द केसीको माग पूरा गर्न लोकमानसिंह कार्कीलाई हटाउन लागिएको हैन । नत्र, राजनारायण पाठकमाथि पनि महाभियोग लगाइन्थ्यो । भनिन्छ, लोकमानसिंह कार्कीले राज्यका सबै अंगमा हस्तक्षेप गरेका थिए । निजामती र सरकारी कर्मचारीको निष्ठा सरकारप्रति कम कार्कीप्रति बढी देखिन थालेको थियो । सरकारका सबैजसो ठूला निर्णयमा कार्कीले हस्तक्षेप गर्छन् भन्ने हल्ला चलेको थियो । धेरै त हल्लामात्र पनि होला तर धुवाँ देखिएपछि आगो छ भन्ने शंका त लागिहाल्छ । यसरी राज्यका सबै अंगलाई शिथिल र मनोबलहीन बनाउनु हुँदै हुँदैन थियो । संसदीय समिति र अदालती प्रक्रियाको अवज्ञा तथा अवमानना गर्दा उनले आफ्ना लागि खाडल खनेका थिए । राज्यलाई प्रकारान्तरले विफल बनाउने यी कुनै कामका बारेमा भने लोकमानविरुद्ध लेख्ने बोल्नेहरूले खासै उच्चारण गरेको सुनिएन । राजनीति गर्नेहरूका लागि त लोकमानले जस्तै हस्तक्षेप आफूले गर्न पाए त्यही सच्चा लोकतन्त्र ठहरिन्छ । केही दिन पहिले जघन्य अपराधका मुद्दाहरूका विषयमा सर्वोच्च अदालतले गरेको निर्णयमा सबै रंगका माओवादी एक मुख लागेर गरेको अनर्गल प्रलापको विरोध अरू दलले पनि त गरेनन् नि ! यसैले लोकमानविरुद्ध महाभियोगको प्रस्तावलाई खासै धेरै महत्त्व दिनुको अर्थ देखिँदैन । सर्वोच्च अदालतले प्राथमिकता दिएर यस मुद्दालाई टुंग्यायो भनेमात्र यसको सही निकास हुनेछ । सेवा अवधिको हिसाब र रायमाझी आयोगको सिफारिसको वैधता दुवै आधारमा कार्कीको पक्ष कमजोर जो मानिन्छ । 
 
कार्कीले समानान्तर सरकार चलाएका थिए भने त्यस काममा तिनलाई सघाउनेहरूमाथि औंला ठड्याउन पनि पर्थ्यो । ती सरकारी अधिकारी पनि यसमा उत्तिकै दोषी छन् । तिनको नियत वा आचरणमा खोट थिएन भने अनावश्यक हस्तक्षेप किन स्वीकार गरे ? अनावश्यक अनुपातमा अख्तियारको मातहतमा सुरक्षाकर्मी खटाउनेदेखि कार्कीलाई नियमित सूचना र दस्तुरी बुझाउने गरेका थिए भनेर खासखुस गरिएको सुनिन्छ । किन कसैले यो पोल खोल्दैन ? सायद, लोकमानसिंह कार्कीका सक्कली पीडितहरूले कहिल्यै मुख खोल्ने छैनन् । कसरी गर्नु आफूले गरेको गैरकानुनी कामको वर्णन ? सचिव वा सुरक्षा निकायका प्रमुखहरू कसैले पनि यो काम मैले लोकमानको निर्देशनमा गरेको हुँ भन्न सक्लान् र ?
 
संसदीय छलफल आइतवारबाट सुरु हुने भनिएको छ । छलफलमा सांसदहरूले ठूला, अमूर्त र आदर्शका कुरा नगरी लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन पर्ने वा नपर्ने कारण स्पष्ट खुलाउनुपर्छ । अमूर्त कारण वा प्रतिशोधमा महाभियोग लगाइएको सन्देश गयो भने जनताको सहानुभूति कार्कीले पाउनेछन् । केही पार्टीका र केही सरकारले पालेपोसेकाहरूले हल्ला गरेको भरमा अब जनमत बन्दैन । जनता सार्वजनिक भएका सूचनाको विश्लेषण आफैँ गर्न सक्षम छन् र तिनले धारणा पनि आफैँ नै बनाउनेछन् । यसैले महाभियोगको चक्रव्यूहबाट निस्कन सहज छैन ।  
 
कांग्रेसको प्रत्युत्पादक अलमल
कांग्रेसहरूले महाभियोग प्रस्तावको समर्थन गर्न ढिलो गरेर कम्युनिस्टहरूको नाक जोगाउने काम गरेका छन् । कांग्रेससँग परामर्शै नगरी प्रस्ताव दर्ता गर्नुको तात्पर्य अहिले लोकमानलाई अदालतबाट जोगाउने र दोष कांग्रेसलाई दिने कम्युनिस्टहरूको रणनीति हुनसक्छ । तर, कांग्रेसले महाभियोग प्रस्ताव संसद्मा प्रस्तुत भए हामी समर्थन गर्छौँ भन्नेमात्रै हो भने कम्युनिस्टहरूको रणनीति विफल हुन्छ । कांग्रेसीहरू सधैँ नै अलमल गर्छन् । काम सुरु गर्छन्, संस्था बनाउँछन् र अरूलाई सुम्पन्छन् । लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन हुँदैन भने गगन थापालाई मन्त्री बनाउन पनि हुँदैन । गगनले गलत काममा अगुवाइ गरेका हुन् भन्नसक्नुपर्छ । हैन भने लोकतन्त्रको सम्मानका लागि पनि कांग्रेसले अब दायाँबायाँ सोचिरहनु बुद्धिमानी हुँदैन । लोकमानसिंह कार्कीलाई साथ दिनु बढी नै प्रत्युत्पादक हुनसक्छ । (माओवादी केन्द्रले पनि महाभियोगबारे निधो गरिसकेजस्तो छैन । महाभियोगबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव पारित गर्नुको अर्थ त त्यही हो ।)
 
यति बेला कांग्रेसका नेताले बेलायतको राजनीतिक इतिहासमा लिबरल पार्टी कसरी कमजोर भयो र खुम्च्यो भन्ने हेक्का राखे हुन्थ्यो । बेलाको बोली नसुनेर जिद्दी गर्नेहरूलाई इतिहासले कुनामा थन्क्याइदिन्छ । लिबरलहरूले मत त २०१५ बाहेक २० प्रतिशतभन्दा माथि नै ल्याएका थिए तर संसद्मा १० प्रतिशत स्थान नघाउन सकेनन् । पछिल्लो संसदीय निर्वाचन २०१५ मा त झन् करिब ८ प्रतिशत मत ल्याए पनि १ प्रतिशतमात्र सांसद विजयी भए । कांग्रेस पनि बिस्तारै यस्तै बाटामा लाग्ने हो कि भन्ने लक्षण देखिँदैछ । बेलायतको लोकतन्त्रीकरण र सामाजिक कल्याणको जग बसाउने पार्टीको यस्तो बिजोग हुनसक्छ भने यसरी नै अन्तर्मुखी आत्मरतीमा रमाइरहने हो भने नेपाली कांग्रेस इतिहासमा बिलाउनेछ ।  
 
र अन्त्यमा 
दुई पौराणिक प्रसंग
 
१. युद्धभूमिमा नाभीमा वाण लागेर रावण ढलेपछि रामले लक्ष्मणलाई रावणसँग ज्ञान सिक्न जाऊ भने । लक्ष्मणलाई रावणले भने - राम्रो काम गरिहाल्नुपर्छ । प्रतिद्वन्द्वीलाई कहिल्यै कमजोर ठान्नु हुन्न र आफ्नो रहस्य कसैलाई पनि बताउनु हुन्न । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त थिए । संविधानतः उनको दायित्व भ्रष्टाचार भएको निगरानी गरेर अदालतसम्म पुर्‍याउनु हो । अख्तियारमा ठूला भ्रष्टाचारका थुप्रै उजुरी अनुसन्धानपछि पनि थन्किएर बसेका छन् । तिनैमध्येको एउटा हो लडाकु शिविरमा भएको भ्रष्टाचारको मुद्दा पनि । त्यो मुद्दा चलाउने धम्की दिनुको साटो बेलैमा चलाएका भए उनका थुप्रै बैगुन दुनियाले बिर्सन्थे । महाभियोग प्रतिशोध ठहरिन्थ्यो । त्यस अवस्थामा त उनलाई साथ दिँदा कांग्रेसको पनि नाक जोगिन्थ्यो र समर्थकले ठीकै गरेको ठान्थे । संसद् र अदालतलाई उनले कमजोर ठानेर हेपे । अदालतले पर्चा खडा गरेर म्याद तामेल गर्नुपर्‍यो । संसद्सँग महाभियोगको अश्त्र थियो त्यही प्रयोग गर्‍यो । अदालतको निर्णयमा प्रतिक्रियास्वरूप उनले लडाकु शिविरको छानबिनको रहस्य खोले । माओवादी सावधान भए र आक्रमण गरिहाले ।
 
२. पुरन्दर इन्द्र गौतम ऋषिको श्राप भोग्न कमलको डाँठमा लुक्न गएपछि राजा नहुषलाई इन्द्र बनाइयो । नहुषमा अहंकार बढ्न थाल्यो । देवर्षि नारदको लहैलहैमा उनले सचीसँग विवाहको प्रस्ताव राखे । सप्तर्षिका काँधमा बोकिएर सचीकहाँ जानुपर्ने सर्त पनि माने । सप्तर्षिले बोकेको पालकीमा सवार नहुषले विवेक गुमाएर अपशब्द बोल्दा ऋषिहरूले श्राप दिए र इन्द्रासनबाट च्युत भए ।
 
नहुषको कथाको व्याख्या सायद जरुरी छैन ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC