अर्थ व्यवसाय
काठमाडौं । सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११५ प्रतिशत बढाएको छ ।
साउनदेखि असोजसम्ममा बैंकले २५ करोड ३१ लख १६ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसले ११ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत ३ महिनाको वित्तीय प्रगतिअनुसार यो नाफा अघिल्लो आवको तुलनामा १५ करोड ५३ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षमा बैंकको नाफा झन्डै १ अर्ब नजिक पुगेको थियो । गत असारसम्म बैंकले ९५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार १७८ रुपैयाँ र तरलता अनुपात साढे २३ प्रतिशत रहेको बैकले जानकारी दिएको छ । चालू आवको त्रैमासमा बैंकको सेयर मूल्य बढीमा १ हजार २४ रुपैयाँ, न्यूनतम ६ सय २० रुपैयाँ र अन्तिम मूल्य प्रतिसेयर ६३९ रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन, कर्जा लगानी र नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकको तरलता र कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको बैंकले जनाएको छ । बैंकले नारायणी नेसनल फाइनान्स लिमिटेड किनेपछि बैंकको वासलात र व्यवसायको आकारसमेत बढेको जानकारी दिएको छ ।
यस्तै, चालू आवको पहिलो त्रैमासमा बैंकको निक्षेप परिचालन बढेर ५४ अर्ब ८ करोड रुपैयाँ नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको निक्षेप परिचालन ३५ अर्ब २६ करोड रुपैयाँ थियो । गत असारसम्ममा बैंकको निक्षेप परिचालन ५१ अर्ब ६५ करोड रुपैयाँ नाघेको थियो ।
यस्तै बैंकको ऋण तथा अन्य लगानी पनि बढेको पाइएको छ । जसअनुसार पहिलो त्रैमासमा बैंकले ४६ अर्ब ४५ करोड रुपैयाँ बढी लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २९ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको थियो । गत आवमा बैंकले ४३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । यस्तै बैंकको चुक्तापुँजी बढेर ५ अर्ब ३० करोड १३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा चुक्तापुँजी २ अर्ब ९८ करोड ९२ लाख रुपैयाँ थियो । नारायणी नेसनल फाइनान्स खरिद गरेपछि बैंकको चुक्ता पुँजी बढेको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३ १०:०३
प्रतिक्रिया दिनुहोस्