site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपालको राजनीति बढी नै लाजलाग्दो हुँदैगएको छ । राजनीतिले सही बाटो समातेकोजस्तो देखिने घटनाको समेत लाजैमर्दो अँध्यारो पाटो सँगैजसो देखापर्ने गरेको छ । लोकमानसिंह कार्कीविरुद्ध सत्ता र विपक्षमा रहेका दुईवटा ठूला कम्युनिस्ट पार्टीले दर्ता गराएको महाभियोगको प्रस्तावमा पनि यस्तै विसंगति प्रकट हुनथालेको छ । महाभियोगको प्रस्ताव 'छापामार' शैलीमा दर्ता गरियो । फलस्वरूप, लोकमानसिंह कार्की विदेशबाट नेपाल फर्कनेबित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदबाट  निलम्बित भए । तर, त्यसपछि प्रक्रिया अगाडि बढाउनुको साटो 'सहमति'का लागि भन्दै संसद्को बैठकै स्थगित गरियो । यसले महाभियोग प्रस्ताव पारित गराउन नभएर कार्कीलाई निलम्बनमा राखेर मोलतोल गर्ने नियतबाट राखिएको त हैन सन्देह जनमानसमा बढ्दै गएको छ ।
 
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद् महाभियोगका प्रस्तावक रहेका छन् । उनैको पार्टीका सांसदहरूले अर्कै प्रयोजनका लागि संकलन गरिएको हस्ताक्षर महाभियोग प्रस्तावमा प्रयोग गरिएको आरोप लगाएका समाचार सार्वजनिक भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनबिना संसद्बाट महाभियोगको प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइको संख्या पुग्दैन । तर, प्रस्ताव राख्दा कांग्रेसलाई सुइँकोसमेत दिइएन । कांग्रेस केन्द्रीय समितिको बैठकमा लोकमानसिंह कार्कीलाई बचाउनै पर्छ भन्न कसैले सकेका छैनन् तर नेकपा (एमाले)को नेतृत्वमा भएको महाभियोग प्रस्तावमा समर्थन गर्न हिचकिचाउने वा तयार नहुनेको संख्या ठूलो देखिएको छ । यसैले नेपाली कांग्रेस कुनै निर्णयमा पुग्नै नसक्ने र त्यसैलाई निहुँ बनाएर प्रस्ताव तुहाइने पो हो कि भन्ने सन्देह बढेको छ ।  भन्छन्, 'रात रहे अग्राख पलाउँछ' । कतै महाभियोगको प्रस्ताव तुहाउनका लागि प्रमुख दलका शीर्ष नेताहरूले चलखेलको समय दिएका त हैनन् ? नत्र, संसद् यति धेरै दिन स्थगित गर्नुको साटो आवश्यक भए हस्ताक्षर सनाखत गरेर महाभियोग समितिमा छलफलका लागि प्रस्ताव पठाउनुपर्थ्यो । प्रस्ताव दर्ता गर्दा पर्खनु नपर्ने नेपाली कांग्रेसलाई अहिले किन पर्खनु पर्‍यो ? कांग्रेसको धारणा महाभियोग समिति र संसद्कै छलफलमा प्रकट हुन दिए भइहाल्थ्यो । महाभियोगको प्रक्रिया अगाडि बढाउन नेताहरूकै नियतबाहेक अरू केही बाधक देखिँदैन ।
 
यसैगरी, लोकमानसिंह कार्की निलम्बित हुँदैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग शिथिल वा निष्क्रिय हुनु पनि पर्दैन । आयुक्तहरू कार्कीका सिफारिसमा नियुक्त भएका हैनन् र उनीहरू कार्कीप्रति उत्तरदायी पनि हुँदैनन् । यसैले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिनलगायत अरू मामिला अगाडि बढाउन हिचकिचाउनु पर्दैन । सर्वोच्च अदालतले पनि कार्कीको नियुक्तिसम्बन्धी मुद्दामा यथाशीघ्र निर्णय दिनु जरुरी छ । महाभियोग प्रस्ताव पारित हुनु वा नहुनुसँग योग्यताको प्रश्न यसै पनि जोडिँदैन । महाभियोग प्रस्तावको प्रक्रिया पूरा हुँदासम्म कुनै पनि अंगले पर्खेर बस्नु पर्दैन । राज्य र समाजको लोकतन्त्रीकरणका चरणमा सायद यस्ता विडम्बना बढी नै देखापर्छन् । राजनीतिक नेतृत्वको नियत नराम्रो नभए यस्ता घटनाबाटै असल उदाहरण र परम्परा बस्छन् । संवैधानिक शासनको विकास यस्तै अभ्यासहरूबाट हुने हो । तर, प्रमुख पात्रहरूको नियत खराब भए समाज र मुलुककै अधोपतन सुरु हुन्छ । नेपालले पतनको बाटो रोजेको सन्देह बढ्न नदिन महाभियोग प्रक्रिया थयाशीघ्र टुंग्याउनु आवश्यक छ । प्रक्रिया अगाडि बढेमा कांग्रेसलाई पनि निर्णयका लागि दबाब बढ्नेछ । यसै पनि पार्टी बचाउने हो भने कांग्रेसका सामु धेरै विकल्प छैन ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC