site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रयोगवादी ब्रेख्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बीसौं शताब्दीमा युरोपेली रंगमञ्चले यथार्थवादी धार समातिरहेको थियो । युरोपेली नाटकहरू स्तानिस्लावस्कीका नियमहरूबाट निर्देशित थिए । त्यति नै बेला कवि, नाटककार तथा निर्देशक बर्तोल्त ब्रेख्तले प्रयोगवादी शैलीको विकास गरी युरोपेली नाट्य क्षेत्रमा नवीन शैलीको सुरुवात गरे । ब्रेख्तले महाकाव्यात्मक रंगमञ्च (एपिक थियटर) धारणाको विकास गरे । उनले अभिनयमा पनि नवीन शैलीको विकास गरे, जुन ‘ए–इफेक्ट’ अर्थात् अलगावको सिद्धान्त (एलियनेसन थ्योरी)को रूपमा चिनिन्छ । 
ब्रेख्तले यथार्थवादी नाटकहरूले दर्शकलाई फसाउने काम गर्ने र जसमा अभिनेता तथा निर्देशकले दर्शकलाई भावुकता तथा सम्मोहनमा पारेर बहकाउने बताएका छन् । यस्ता नाटकहरूमा दर्शकले नाटकका घटना तथा परिवेशहरूलाई स्वाभाविक रूपमा लिने गर्छन् । उनीहरूले नाटकभित्रका घटना तथा परिवेशलाई विश्लेषण नगरी मनोरञ्जनमात्रै लिने गर्छन् । ब्रेख्तले नाटक मञ्चन भइसकेपछि त्यसले दर्शकका साथसाथै समाजमा गहिरो प्रभाव छोड्न सक्नुपर्ने बताएका छन् । 
माक्र्सवादमा गहिरो आस्था राख्ने ब्रेख्तको जीवन उतारचढावले भरिएको छ । उनको जन्म सन् १८९८ फेब्रुअरी १० का दिन जर्मनीको बावरियामा भएको थियो । उनी सानै उमेरदेखि कला साहित्यमा रुचि राख्थे । चिकित्साशास्त्रका विधार्थी भए पनि उनी आर्थर कुचरको थियटर सेमिनारमा भाग लिएपछि पहिलो नाटक ‘बाल’ लेखेका थिए । प्रथम विश्वयुद्धमा चिकित्सा सेवामा रहँदा लेखिएको नाटक ‘ड्रम्स इन द नाइट’ उनको पहिलो मञ्चित नाटक थियो । सन् १९२४ मा बर्लिन आएपछि माक्र्सका कृतिहरू पढे र साम्यवादी विचारधारातर्फ आकर्षित भए । तर, जर्मनीमा नाजीहरूको नेसनल सोसलिस्ट पार्टी सत्तामा आएपछि ब्रेख्त र उनका कृतिहरूमाथि प्रतिबन्ध लाग्यो । त्यतिमात्रै होइन, उनी साम्यवादी विचारधारा बोकेकै कारण निर्वासनमा जान बाध्य भए । उनी युरोपका विभिन्न मुलुक तथा अमेरिकामा निर्वासनमा रहेका थिए । अमेरिकामा रहँदा हलिउडका लागि केही पटकथा लेख्ने प्रयास गरे पनि उनी त्यति सफल भने भएनन् । अमेरिकामा रहँदा साम्यवादी विचारधारा बोकेकैले पटक पटक उनी केरकारमा परेका थिए । करिब १४ वर्षको निर्वासित जीवनपछि उनी सन् १९४८ मा जर्मनी फर्के । साम्यवादी सरकारले उनको स्वागत गरेको थियो भने उनले जर्मन थियटरका लागि ‘मदर करेज एन्ड हर चिल्ड्रेन’ प्रस्तुत गरे । सन् १९४९ मा उनले बर्लिन एसेम्बल थिएटरको स्थापना गरे र मृत्युपर्यन्त उनी बर्लिन एसेम्बलसँग जोडिएर नाटकको क्षेत्रमा विभिन्न प्रयोगहरू गरी नै रहे ।  
ब्रेख्त समकालीन रंगमञ्चमाथि हावी एरिस्टोटलको सिद्धान्त तथा यथार्थवादी सिद्धान्तबाट बाहिर निस्केर काम गर्न चाहन्थे । रंगमञ्चको क्षेत्रमा उनले विकल्प दिन चाहेका थिए । विज्ञान तथा प्रविधिको विस्तारसँगै मानिसहरूको दैनिकीमा परिवर्तन आएको थियो । सो अवस्थामा पुरानै ढर्राको कला साहित्यले समाजलाई प्रतिनिधित्व गर्न नसक्ने उनको ठहर थियो । बदलिँदो परिस्थिति र परिवेशलाई सम्बोधन गर्न नयाँ शैलीको रंगमञ्चको आवश्यकता थियो । त्यसैले उनले नाटकीय रंगमञ्च (ड्रामाटिक थियटर) को साटो महाकाव्यात्मक रंगमञ्च (एपिक थियटर)को अवधारणा अगाडिमात्रै सारेनन्, प्रयोगमै ल्याए पनि । उनले नाटकमार्फत दर्शकको मात्रै रूपान्तरण चाहेनन्, समाज, देश र पूरा विश्वकै रूपान्तरण चाहे । उनले आफ्ना नाटक तथा कवितामार्फत आफ्ना युद्धविरोधी अभिव्यक्तिहरू व्यक्त गरिरहे । हामीले कुनै पनि घटना तथा परिघटनालाई स्वाभाविक रूपमा लिन नहुने उनको तर्क थियो । कुनै पनि घटनाका विभिन्न आयामहरूलाई बुझ्ने प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
यथार्थवादी रंगमञ्चले घटनाहरूलाई सहज रूपमा प्रस्तुत गर्ने र दर्शकहरूले पनि सहज ढंगले ग्रहण गर्ने भएकाले उनले वैकल्पिक रंगमञ्चको अवधारणा अगाडि सारेका थिए । यथार्थवादी नाटकले दर्शकको मस्तिष्कलाई भन्दा पनि भावनालाई सम्मोहनमा पार्ने काम गर्छ, जसले दर्शकहरूमा मात्र भ्रम छर्ने बे्रख्तको भनाइ छ । यस्ता नाटकमा दर्शकले कथा तथा पात्रसँग आफूलाई जोडेर हेर्ने मात्रै होइन, पात्रको समस्यालाई आफ्नै समस्या ठान्ने र पात्रको समस्या समाधानलाई आफ्नै समस्याको समाधान ठान्ने प्रवृत्ति हुन्छ । तर, ब्रेख्तको एपिक थियटरमा दर्शक र नाटकका पात्र टाढा रहन्छन् । दर्शकको भावनाभन्दा मस्तिष्क धेरै सक्रिय रहन्छ । हरेक घटनालाई उनीहरू आलोचनात्मक दृष्टिकोणले हेर्ने गर्छन् । नाटकमा प्रस्तुत सत्यलाई प्रश्न उठाउनेसम्मको सामथ्र्य राख्छन् एपिक थियटरका दर्शकहरू ।
ब्रेख्तले एपिक थियटर र ड्रामाटिक थियटरको भिन्नताबारे प्रस्ट्याउँदै एपिक थियटर जीवित मानिसहरूद्वारा प्रदर्शित हुने र ड्रामाटिक थियटर लिखित शब्दहरूद्वारा सञ्चालित हुने भनेका छन् । स्तानिस्लावस्कीले पात्रको ‘स्व’ र पात्रको चरित्रको ‘स्व’ मा एकरूपता आउनुपर्ने मान्यता राख्थे । तर, ब्रेख्त भने नाटकलाई प्रदर्शनको रूपमा मात्रै प्रस्तुत गर्नुपर्ने विचार राख्थे । उनी नाटकमा पात्रहरूको व्यक्तिगत जीवनले केही प्रभाव नपार्ने र केवल अभिनय मात्रै गर्नुपर्ने विचार राख्छन् । यसै धारणाले अभिनयको एलियनेसन सिद्धान्तको जन्म भएको थियो, जसमा अभिनेता आफ्नो चरित्रअनुसार मात्रै अभिनय गर्छ, उसले आफ्नो व्यक्तिगत जीवन बिर्सेर रंगमञ्चमा उत्रेको हुन्छ । उनले पात्रको मनोवैज्ञानिक व्यवहारलाई भन्दा पनि सामाजिक व्यवहारलाई जोड दिएका छन् । 
ब्रेख्तले नाट्य सिद्धान्तमा निर्देशक र पात्रहरूलाई मात्रै होइन, दर्शकहरूलाई पनि विशेष स्थान दिएका छन् । उनको सिद्धान्तअनुसार मञ्चमा सक्रिय कलाकारजत्ति नै दर्शकहरू पनि सक्रिय रहन्छन् । नाटकले दर्शकलाई सम्मोहनमा पारेर मन्त्रमुग्ध पार्ने होइन, झकझक्याउने काम गर्नुपर्छ भन्ने विचार ब्रेख्तको थियो । ड्रामाटिक थियटरका दर्शकहरू नाटकमा प्रस्तुत घटनाहरूलाई स्वाभाविक र सम्भावित भन्दै अपरिवर्तनीय ठान्छन्, तर एपिक थियटरमा दर्शकहरू घटनालाई सहजै विश्वास गर्दैनन् । उनीहरू यसलाई अविश्वसनीय र असाधारण ठान्छन् । रोकथामका उपायहरू सोच्छन् । उनीहरू हाँसो उठ्ने खालको परिवेश भए पनि रुन्छन् भने रुने ठाउँमा हाँस्छन् । उनीहरू यथास्थितिवादी भन्दा पनि परिवर्तनकारी बन्छन् । उनीहरूले नाटकलाई समाज परिवर्तनको माध्यमका रूपमा ग्रहण गर्छन् । 
ब्रेख्तका नाटक तथा कविताहरू सधैँ जनताका पक्षमा लेखिएका छन् । उनले तानाशाही शासन व्यवस्थाको खप्की सहेरै पनि जनताका पक्षमा कलम चलाए । जनताको पक्षमा कलम चलाउने कवि कलाकारलाई जहिले पनि सत्ताबाट खतराको घण्टी बजिरहेको हुन्छ ।
ब्रेख्तका बुबा कागज कारखानाका प्रबन्धक भएकाले किसानहरूसँग उनको सीधा सम्बन्ध थियो । त्यसैले पनि ब्रेख्तले किसानहरूको समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएका थिए । उनले तानाशाही शासनले तल्लो तप्कामा रहेकाहरूको आवाज सुन्न नसक्ने भन्दै विरोध गरिरहे । ब्रेख्त हिटलर र उनले अपनाएको शासन प्रणालीको कट्टर आलोचक थिए । त्यसो त उनी विभिन्न कालखण्डमा घटेका युद्धहरूलाई प्रस्तुत गर्दै युद्धविरोधी अभिव्यक्ति दिइरहन्थे । उनले युद्धका कारणले नै आफूले धेरै देश चहार्नुपरेको भन्दै आफ्नो कविता ‘टु दोज बर्न लेटर’मा आफूले ‘जुत्ताभन्दा बढी देश फेरेको’ अभिव्यक्ति दिएका छन् ।
ब्रेख्त विद्यालयमा पढ्ने बेला आफ्ना साथीहरूसँगै सैन्य शासन प्रणाली र राजतन्त्रप्रति आस्था राख्थे । जब–जब जर्मनीले आधिकारिक रूपमा युद्धको घोषणा ग¥यो, आफ्नो शारीरिक अस्वस्थताका कारण युद्धमा सक्रिय भूमिका निर्वाह गर्न नसकेका ब्रेख्त देशभक्तिले ओतप्रोत लेख रचनाहरू प्रकाशित गरेर आफ्नो देशप्रतिको बफादारी निभाए । त्यतिबेला उनले बर्थाेल्ड युजिनको नामबाट लेख रचनाहरू प्रकाशित गरेर जर्मन सम्राटको प्रशंसा गरे । उनले युद्धमा आफन्त गुमाएका परिवारहरूको लागि चन्दा संकलनमा विशेष भूमिका पनि खेले । तर, बिस्तारै उनले अन्धराष्ट्रवादबाट आफूलाई अलग बनाउने प्रयास गरे । युद्धले केवल हिंसा र उत्पातमात्रै मच्चाउने भन्दै उनले युद्धविरोधी रचना प्रकाशित गर्न थाले ।
सन् १९१६ मा उनलाई होरेसको काव्यिक पंक्ति ‘डल्स एट् डेकोरम इष्ट प्रो प्याट्रिया मोरी’ (युद्धमा ज्यान गुमाउनु भनेको आनन्दित र सम्मानजनक काम हो) बारे केही लेख्न लगाइएको थियो । तर, उनले मृत्युलाई सम्मानजनक र आनन्दित कार्य भन्दा पनि डरलाग्दो विषयका रूपमा चित्रण गरे । उनले मृत्युवरण गर्नु सधैँ डरलाग्दो विषय भएको र लाउँला र खाउँला उमेरका युवाहरू अनाहकमा ज्यान गुमाउन चाहँदैनन् भने । उनले युवाहरूमा बढ्दै गएको अन्धराष्ट्रवादको विरोध गरे । त्यसैले उनलाई नाजी सरकार सत्तामा आएपछि पक्राउ पर्नुपर्ने व्यक्तिहरूको सूचीमा पाँचौं नम्बरमा राखिएको थियो ।
नाजीहरू सत्तामा आएपछि ब्रेख्त निर्देशित नाटकहरूमाथि पटक–पटक अवरोध सिर्जना गरियो । सन् १९२३ मा म्युनिख च्याम्बर थियटरमा ‘एडवार्ड दी सेकेन्ड’को रिहर्सल हुँदै गर्दा नाजी समर्थकहरूको अवरोधका कारण उनले रिहर्सल रद्द गर्नुपरेको थियो । त्यही दिन बेलुकी केही सहकर्मी र यहुदी साथीहरूसँग बे्रख्तले जर्मनीमा बसिरहनु बुद्धिमानी कार्य नभएको बताएका थिए ।
माक्र्सको ‘दास क्यापिटल’ पढेर प्रभावित भएका बे्रख्तले आफ्ना नाटकहरूमा राजनीतिक तथा आर्थिक संकटलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । सन् १९२९ मा अमेरिकाको आर्थिक मन्दीपछि अमेरिकी लगानीकर्ताहरूले जर्मनीबाट आफ्नो लगानी फिर्ता लगेका थिए । जर्मनीमा बेरोजगारी दर ह्वात्तै बढेको थियो । वेमार सरकार आन्तरिक समस्याबाट गुज्रिरहेको थियो भने त्यसको फाइदा कम्युनिस्ट र नाजीहरूलाई भएको थियो । ब्रेख्त र उनको समूहले यसै समस्यामा आधारित भएर ‘सेन्ट जोन अफ द स्टकयाड्र्स’ प्रस्तुत गरेका थिए । माक्र्सले विश्लेषण गरेको आर्थिक संकटका साथै माक्र्सवादी सिद्धान्तका विविध आयामलाई उनले नाटकमा प्रस्तुत गरेका छन् । नाटकमा सिकागोको मासु व्यापारी पियरपोन्ट मौलरले कसरी स्टक मार्केटमा घाटा बेहोर्छ भन्ने कुरा रोचक ढंगबाट प्रस्तुत गरिएको छ । त्यस्तै उनले नाटकमा धर्म र पुँजीवाद अपराधका साझेदार हुन् भनेका छन् । 
बे्रख्तले आफूले भोगेको समय र परिवेशलाई ‘आर्तुरो उइ’ जस्ता नाटकहरूमा प्रस्तुत गरेका छन् । यो नाटक ब्रेख्तले अमेरिकी भिसा प्राप्त गर्नका लागि प्रयास गरेका बेला लेखेका थिए । फिनल्यान्ड बसाइका क्रममा लगातार धम्की आएपछि उनी अमेरिकामा शरण लिन चाहेका थिए, जहाँ उनका केही साथीहरू गइसकेका थिए । सोभियत संघ पनि उनका लागि सुरक्षित थिएन । स्टालिन सरकार उनको प्रयोगवादी प्रयोजनका लागि उपयुक्त थिएन । सन् १९४१ जुन १३ मा ब्रेख्त परिवारसहित रसियन बाटो प्रयोग गर्दै युरोप छोडेका थिए । सो क्रममा उनीहरूले मस्कोमा सहयात्री स्टेफिनलाई टीबीका कारण गुमाउन पुगेका थिए । उनीहरू हिटलरले सोभियत संघमाथि आक्रमण गर्नु एक दिनअगाडि जुलाई २१ मा क्यालिफोर्निया बन्दरगाह पुगेका थिए ।
ब्रेख्तले ‘लाइफ अफ ग्यालिलियो’, ‘मोदर करेज एन्ड हर चिल्ड्रेन’, ‘द गुड वुमन अफ सेजुँवा’, ‘द प्राइभेट लाइभ्स अफ द मास्टर रेस‘, ‘द थ्रिपेन्नी ओपेरा’ जस्ता सफल नाटकका साथै थुप्रै फुटकर कविता र समालोचना लेखेका छन् । ब्रेख्तले नाटकमा नवीन शैली प्रयोग गर्दै दर्शक तथा पाठकहरूलाई बौद्धिक बहसमा संलग्न गराउने काम गरेका छन् । नाटकमा विविध किसिमका प्रकाश, सेट र प्रप्सहरूको प्रयोगले दर्शकलाई नाटक हेरिरहेको आभास दिलाउन सफल भए उनी । उनले युरोपेली रंगमञ्चलाई यथार्थवाद भन्दा अगाडिको बाटो हिँडाए । उनले बदलिँदो परिवेशलाई मध्यनजर गर्दै नाटकीय अभिव्यक्तिलाई प्रस्तुत गर्ने र ग्रहण गर्ने तरिकामा बदलाव ल्याउनुपर्ने आवश्यकता महसुस गरे । बदलिँदो समाजमा रंगमञ्चले मनोरञ्जनमात्रै दिने होइन, परिवर्तनकारी शक्तिको रूपमा भूमिका खेल्नुपर्ने भन्दै कला साहित्यले ज्ञान र शिक्षाको प्रसार गर्नुपर्ने तर्क उनको थियो ।
लामो समय मुटुरोगबाट ग्रसित ब्रेख्तको निधन सन् १९५६ मा भएको थियो । युद्धोन्माद गतिविधिबाट गुज्रिरहेको विश्वसमुदायमा उनका नाटक तथा कविताहरू अहिले पनि उत्ति नै सान्र्दभिक लाग्छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC