site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नियति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नारान दाइ ! नारान दाइ ! 
करिब ९–१० वर्षको उमेरतिर हामी यसरी नै कराउँदै नारान दाइको पछि लाग्थ्यौं, उनलाई पछ्याउँथ्यौं । मान्छेहरूको अनुहार सम्झन थालेदेखि नारान दाइ हाम्रो सानो घेराको परिचितमध्येका एक थिए । उबेलाको कौतुक बालमष्तिस्कमा उनको प्रभाव अन्य मानिसहरूको भन्दा फरक थियो । फरक यसर्थमा कि जीवनको कठोरतासँग अपरिचित हामी फुच्चाफुच्चीका निम्ति अत्यन्त सजिलो र सरल थिए नारान दाइ । तब न उन्मुक्त हुन्थ्यौं हामी उनको अघि । जुन समयमा अन्यसँग बोल्दा हामी फुच्चाफुच्चीले संकोचका साथ सोचेर विचारेर आफ्नो कुरा व्यक्त गर्नुपर्ने हुन्थ्यो, त्यो समयमा उनको साथमा हामी तालिमे हुन पर्दैनथ्यो । चल्तीको अभिनय नारान दाइको संगतिमा आवश्यक थिएन । अहिले सम्झँदा लाग्छ, स्वछन्दताको प्रथम पाठ हामीले उनैबाट सिकेका थियौं । 
हामी चार–पाँच जना थियौं, जो उनको अघोषित र प्रिय मिलनसार फुच्चाफुच्ची थियौं । हाम्रो बातचितको तौरतरिका, भावभंगिमा अलग हुन्थ्यो । एकअर्कोलाई आधा माइलको दूरीमा देख्दा तीव्र रोमाञ्चकता उत्पन्न हुन्थ्यो ।
हामीले देख्दा उनी कहिले खेत, कहिले खोला त कहिले जंगलमा गाउँलेको काममा सहायक बनेर नगद तथा जिन्सी ज्यालामा काम गरिरहेका हुन्थे । गाउँले भन्थे–उनी कैयौं दिनसम्म कोहीसँग चुइँक्क नबोली रहन सक्थे ।
उनी अन्यसँगको सम्बन्ध, संगत र कुराकानीमा सधैं संयमित बनेर प्रस्तुत हुन्थे । शायद गाउँघरमा परिचित आफ्नो कठोर छवि संशोधन नहोस् भन्नेमा सधैँ सचेत थिए । गाउँलेहरूले उनको यस्तो स्वभावलाई स्वाभाविक रूपमा लिएका थिए ।
हामीसँगको भेटमा उनी चकलेट, बिस्कुट लिएर आउँथे । फराकिलो जाँघ भएको खैरो कट्टुको ठूलो गोजीबाट कहिलेकाहीँ काँक्रा, पोलेको मकै ल्याएर आकस्मिक उपहार दिन्थे । कुनै दिन अकस्मात् भेट हुँदा हामी चाराना, आठाना पैसा मागेर उनलाई दंग्याउँथ्यौं, जिन्सी उपहारको व्यवस्था नहुँदा । ढोगभेट आदानप्रदानपछि हामी बेपरवाह कुराकानी गर्ने गथ्र्यौं । चासोमाथि प्रश्न, प्रश्नमाथि शंकामिश्रित अर्को प्रश्न र बेलाबखतका बटुवाहरूको ध्यान आकृष्ट हुनेगरी हाँसोको गुञ्जन । उनले हाम्रो फेद न टुप्पोको प्रश्न नबुझेझैं हामी पनि उनको गम्भीर उत्तर बुझ्दैनथ्यौं, तर पनि मिलेर हाँस्थ्यौं र हाम्रो कुराकानी चल्ने गथ्र्यो निरन्तर तबसम्म, जब हामीमध्ये कसैलाई उसका आमाबाले एकाध गाली गर्दै घिर्सार्दै पछार्दै घर लाँदैनथे । 
कहिलेकाहीँ लामो समयसम्म भेट नहुने गथ्र्यो ।
“नारान दाइ, कटुवाल बा बितेछन् नि ! तपार्इं मलामी जानुभएन ?”
“गइनँ नि ! मासुभात खान पाइन्थ्यो र ?”
हाँसोको फोहरा छुट्थ्यो । त्यसपछि हुन्थ्यो उनको मृत्युसम्बन्धी पट्यारलाग्दो गम्भीर दार्शनिक भाषण ।
“नारान दाइ, बिहे गरेपछि के हुन्छ ?”
“हुनुपर्ने बाहेक सबैथोक हुन्छ हौ केटा हो ।”
हामी उनको हाँसोमा हाँसो मिसाउँथ्यौं ।
यस्ता थिए हाम्रा नारान दाइ ।
समय बित्दै गयो, हामी बढ्दै गयौं ।
घरगाउँमा उनको बारे मुनासिव चर्चा हुँदैनथ्यो । हाम्रो संगतिलाई पनि त्यति रुचाइँदैनथ्यो । उनको यो गाउँमा भएको आगमनको पहिलेदेखि नै अनेक अर्थ लाग्ने गरेको थियो, तर हामी बढ्दै जाँदा झन् सुन्दै जान्थ्यौं ती गाउँले किस्साहरू । 
गाउँमा गाइँगुइँ हल्ला चल्थ्यो । 
कोही भन्थे, “बीएसम्म पढेको मान्छे रे ! तेह्रथुममा बुढी पोइल गएपछि रिसको झोंकमा बुढी र जारलाई मारेर आएको रे !”
कोही भन्थे, “मोरोले माया धेरै गथ्र्यो रे बुढीलाई, त्यही भएर मारेको होला ।”
कोही भन्थे, “बुडी पोइल गएपछि दिमाग ठीक छैन यो मान्छेको ।”
हामी बिस्तारै हुर्कंदै थियौं । मानिस र तिनका कुरा केही बुझ्न सक्ने भएका थियौं । प्रत्येक टोलपिच्छे नारान दाइलाई अनेक रूपमा अवतरित गरिएको थियो । जसको भेष दानवीय र हातमा हत्याको दाग छ अनि निधारमा रगतको छाप ।
जबजब म यस्ता किस्सा सुनेर साँझमा घर फर्कन्थें, त्यो रात बडो कठिन छटपटीमा बित्थ्यो । हामीलाई त्यति माया गर्ने, हामीले त्यति मरिहत्ते गर्ने नारान दाइका अवतारित रूपहरू सपनीमा आएर सताउँथे । निष्पट्ट अँध्यारोमा सेरा खोलाको माथि–माथि दगुरेको अनि पछिपछि एक हातमा बञ्चरो र अर्को हातमा मान्छेको टाउको बोकेका नारान दाइले खेदिरहेका हुन्थे । घर, रुखभन्दा माथि आकाशमा उडिरहँदा मेरो खुट्टा नारान दाइको लामो चिसो हातले तान्थ्यो र म उम्कन कष्ट गर्दागर्दै असिनपसिन हुँदै ब्युँझन्थें ।
जब नारान दाइ भोलिपल्ट सधैंझैँ आँगनीमा टुप्लुक्क आइपुग्थे, प्रथमतः मलाई रातको तरेली दृश्यबाट नउम्किँदासम्म उनको मुहार एकदम बिरानो मानिसको झैं लाग्थ्यो, जसरी कसै–कसैलाई पहिलोचोटि देख्दा पनि पहिले नै कतै भेटिसकेको विस्मृत अनुभूति हुने गर्छ । उदास हृदयले अधुरो गीत सुनेजस्तै गरी ।
उमेर बढ्दै जाँदा उमेरसँगै बढ्दै थिए, घटना, व्यक्ति अनि चरित्रलाई जोख्ने मनोगत तराजुहरू । सीमारेखा कोर्दै थिएँ म, म र अन्यबीचको, जहाँ दुई किनारा कोरिएका थिए– अतीत र वर्तमानको । त्यसबीचमा बगिरहेको थियो सेरा खोलाजस्तै समय, एकतमास बगिरहेको ।
हामी अब पुराना दिनमा झैं नारान दाइसँग हेलमेल गर्दैनथ्यौं ।
१० कक्षाको अन्तिम परीक्षा आउन लागेको थियो । विद्यालय जाने, सरासर घर फर्कने र छुट्टीमा साथीहरूसँग केहीबेर रम्ने । नारान दाइसँग छुटेको हाम्रो सान्निध्यता यदाकदा उनी हाम्रो घर आउँदा मुस्कान आदानप्रदानमा सीमित भएको थियो । गाउँभरिमा नारान दाइ हाम्रो पिताजीसँगमात्रै अन्तरंग कुराकानी गर्थे, कारणप्रति कदापि चासो भएन । कहिलेकाहीँ नारान दाइ हामी केटाकेटी हुँदाको हाम्रो दिनचर्याको वर्णन गर्थे पिताजीसँग । म असमञ्जस्य हुने गर्थें अतीतको प्रसंग चल्दा । 
नारान दाइ र पिताजीको कुराकानी म प्रायः झ्यालको चेपबाट सुन्ने गर्थें ।
कुराकानीले बिट मार्ने बेलामा पिताजी सधैं नै मधुरो आवाजमा बिहेको प्रसंग झिक्नुहुन्थ्यो, नारान दाइ उम्किन खोज्थे ।
“एक्लो जीवन लामो समय बिताउन मुस्किल हुन्छ नारान ! अतीतमा जे भयो, भयो । एउटी अधबैंसे खोजेर घरजम गर । हातपाउ सग्ला छन्, गाउँमा पौरख गर्ने ठाउँ छ । त्यसै विरक्तिमा जीवन नबिता,” पिताजी भन्नुहुन्थ्यो ।
नारन दाइ सुकेको छेस्काले भुइँ कोट्याएर त्यसैत्यसै अनुत्तरित मुद्रामा टोलाइरहन्थे । पिताजी प्रत्येक भेटमा बिहे गर्ने सल्लाह दिइरहनुहुथ्यो, नारान दाइ सधैं भुइँमा चित्र कोरिरहन्थे । उनी गएपछि हावाले आफूसँगै उनको नबुझिने चित्र मेटिएर लान्थ्यो । ती माटोमा कोरिएका नबुझिने चित्रहरू सायद नारान दाइको अव्यक्त भावनाका शब्द थिए होलान्, जो कसैले बुझ्न सकेनन् । 
पुस–माघको ठिहीपछि प्रकृतिमा उराठमय मौसम प्रवेश गर्छ । पातहरू सम्पूर्ण झरेर वृक्षहरू निर्वस्त्र हुने गर्छन् । चिसो पश्चिमी वायुको स्पर्शमा सम्पूर्ण प्रकृति रित्तो हुने गर्छ । यसरी नै त्यो सानो गाउँमा वर्षौं बिते, हामी तन्नेरीमा दर्ज भएका थियौं ।
नारान दाइ उस्तै थिए, नारानको बिहे गराउने पिताजीको चासो उस्तै थियो । कोमल हृदयकी आमाको अनुरोधमा नारान दाइले तल्लो बारीमा सानो कटेरो बनाएका थिए । तर, अझै एक्लै थिए । 
सपनाहरूले रातमा मलाई सताउन छोडे, म १७–१८ को उमेरमा एउटा तहमा उनीसँग पुनः घुलमिल भएको थिएँ । त्यसबखत पुनः उनको अघि पर्नबाट विचलित हुँदाको स्मृतिले लज्जानुभूति हुने गथ्र्याे । गाउँमा नारान दाइको दानवीय अवतरणको किस्सामा माउ लाग्दै थिए । पहिलेभन्दा नारान दाइ खुल्न थालेका थिए अरुसँग । फारु गरेर हाँस्न थालेका थिए कतै उम्किजाने हो कि खुसी भन्ने भय भावमा । 
देशमा उच्च अध्ययनको निमित्त शैक्षिक संस्थाको अभावमा बनारस पढ्न जाने चलन थियो । परिवारले नचाहँदा नचाहँदै पनि म १० उप्रान्तको संस्कृत अध्ययन गर्न बनारस जाने तयारीमा थिएँ । प्रस्थानको दिन नजिकिँदै थियो ।
घर छोड्नु अघिल्लो साँझ नारान दाइ र म टहल्न भनी सेरा खोला गएका थियौं । घाम पश्चिमतिर ढल्कँदै थियो र रात ब्युँझदो । खोला डिलमा घाम डुब्ने दिशातर्फ शीतल हावाको अनुभूतिमा मग्न थियौं हामी । त्यो ढल्कँदो साँझमा भयको कुनै गुञ्जायस थिएन मेरो हृदयमा । घर र देश छोड्ने अघिल्लो दिन भावनाहरू सम्झनाको तरेलीमा अतीततर्फ उन्मुख थिए । बालापन, स्वच्छन्दता, नारान दाइको किस्सा, ऐंठन आदि विविध छालहरूमा म तैरिरहें खोला किनारमा । 
नारान दाइ एकदम मौन थिए आधा डुबेको घाम हेर्दै, जसको प्रकाश उनको निधार र कपालमा टल्किरहेको थियो । नारान दाइ अचानक सुँक्क सुँक्क गर्न थाले । मेरो हातमाथि उनको हातको चिसोपन महसुस गर्न सक्थें, ठ्याक्क बालापनको सपनाको जस्तै चिसो । 
“केदार बाबु, तिमीलाई थाहा छ मलाई तिम्रो किन औधी माया लाग्छ ?”
मैले थाहा नहुनुको संकेत गरें ।
“तिमीलाई हेर्दा मलाई सधैं मेरो छोराको याद आउँछ ।”
खोलाको सुसेली झन् तीव्र भयो । जीवनमा प्रथम पटक नारान दाइ केही खोल्दै थिए । मेरो कान एकटकले उनको शब्द ताकिरहेको थियो ।
“सानो छँदा मेरो छोराको जस्तै थियो तिम्रो आँखीभौं । हावा चल्दा तिम्रोजस्तै गरी हल्लिन्थ्यो त्यसको कपाल । अहिले बाँचिरहेको छ भने ठ्याक्क तिमीजत्रै भएको होला ।”
आश्चर्य भावमा म प्रश्न गर्न नसक्ने गरी अदब बनें ।
नारान दाइलाई पहिलोचोटि यति भावुक देखेको थिएँ । म एकदम अवाक बनेर उनलाई सुनिरहने मुद्रामा थिएँ । अनुहार आज एकदम मलिन भएको थियो । यात्रा बिर्सिएको यात्रुको झैं, सपना भुलेको तन्नेरीझैं ।
घाम डुबेर चुकझैं पोखिएको थियो अँध्यारो । आकाशमा तिर्मिर तिर्मिर तारा उम्रिदै थिए । 
नारान दाइको मुहारमा छाएको अबोधता, निरीहता र अक्षमताले मेरो अन्तर कुन्तरमा अनेक लहरहरू उमारेको थियो, धेरै अतीतका कायाहरू पखाल्दै थियो । मलाई छोराको स्मृति र वर्तमानसँग स्थापित गर्ने उनी अब बिस्तारै हृदयको तालमा नुहाएको भिक्षुझैं देखिएका थिए । छेउमा म एकदम निःशब्द । 
“दिग्दार लाग्दैन नारान दाइ आफ्नो जीवनदेखि ?” मैले सहजतापूर्वक सोधें ।
“लाग्दैन, किन लाग्नु र ? जीवनलाई दुई तरिकाले बाँच्न सकिन्छ बाबु ! एउटा प्रत्येक घटना परिघटनासँग जुधेर, प्रतिकार गरेर, घोर असन्तोष पोखेर अनि अर्कोतर्फ नियतिलाई स्वीकार्दै धैर्यवान् भएर ।”
“धैर्य त आत्मसमर्पण भएन र ?”
“यिनै दुईले एकअर्कोमा परिपूरक भएर काम गर्छन् प्रत्येकको जीवनमा । हामी सबैलाई दिने कुरा जीवनसँग एकैखाले छन् । त्यही जीवनले दिने आयामहरूमा हामी बाँच्ने गर्छौं । उही दुई तरिका अपनाएर ।”
“अनि परिणाम ?”
“प्रथम तरिकाको जीवनले जीवनप्रति लालसा वृद्धि गर्छ । बाँच्ने रहरलाई क्रमिक रूपमा विभिन्न रंगले सिंगार्छ र अन्त्यमा पुनः दोस्रो तरिकामा आश्रय लिन्छ जीवनले । अनि दोस्रो तरिकाले क्षण–प्रतिक्षण जीवनप्रतिको मोह भंग गराउँछ, तब अतीतद्वारा निर्मित वर्तमानले शून्यको प्राप्तिमा परिणति खोज्छ । तर, जीवन त यो सेरा खोलाको जस्तै हुनुपर्छ बाबु ! बगिरहने, बाँचिरहने, समयहीन बनेर ।”
त्यस साँझ नारान दाइको आत्मा बोलिरहेको थियो । मलाई स्वयं उनीप्रति अन्यले गर्ने मानवीय टिप्पणी छायाजस्तै हलुका लागिरहेका थिए । सोचें, यति गम्भीर व्यक्तिलाई यो सानो गाउँले कसरी निचोरेर राख्यो होला ? आजसम्म उनलाई चिन्न कसरी यति गाह्रो भयो मान्छेहरूलाई ? मलाई ?
फर्कंदै गर्दा झ्याउँकीरीको किर्किरे आवाजबीच उनलाई मैले पछाडिबाट सोधेको थिएँ, “नारान दाइ, तपाईंले आफ्नी श्रीमती र उनको दोस्रो श्रीमान्को हत्या गर्नुभएको हो ?”
एकछिन टक्क रोकिए उनी । केही बोलेनन् र केही अगाडि पुगेपछि छुट्टियो बाटो ।
ढिलो गरी घर पुग्दा सबै आत्तिएका थिए । भोलि बनारस जाने सबै समान आमाले मिलाइदिनुभएको थियो । लामो बाटो थियो, पोका पुन्तुरोमा बाटो खाजा बनाई हालिदिनुभएको थियो ।
खाना खाइसकेर नारान दाइको दर्शन अनि बनारस र भविष्यको कल्पना गर्दागर्दै थाहै नपाई निदाएछु ।
टाढा कतै बिरानो ठाउँमा म एक्लै हिँडिरहेको थिएँ ढुंगा नै ढुंगाको बाटो । आँखाले देख्ने दूरीसम्म सबै दिशातिर सेता–खैरा ढुंगामात्रै, अरु केही देखिँदैनथे । खाली खुट्टा खस्रो ढुंगामा हिँड्दा हिँड्दै एउटा सुन्दर मानव आकृतिको ढुंगा छेउ पुगें । नेपथ्यबाट कसैले ‘त्यो धैर्यवान् ढुंगा हो, त्यसको नजिक नजाऊ, त्योसँग कुरा नगर’ भनिरहेको थियो । नेपथ्यबाटै अरु कसैले ‘त्यस धैर्यवान् पत्थरसामु आफ्नो पीडा, गुनासो, अपराध, ईष्र्या, सम्पूर्ण कुरा भन, ढुंगा र तिमीलाई मुक्ति मिल्छ’ भनिरहेको थियो ।
मैले त्यो धैर्यवान् ढुंगासामु सबै कुरा व्यक्त गरें । पुण्य, पाप, धर्म, रहस्यलगायत सम्पूर्ण रूपमा म छरपस्ट भएर प्रस्तुत भएँ । ढुंगाले बिनाजवाफ एकतमास सुनिमात्र रह्यो । मेरो दुःख–सुख, अपराध, प्रायश्चित, कुण्ठा, चाहना आदि इत्यादिको पहाडलाई सुन्दा–सुन्दा त्यो धैर्यवान् ढुंगो अचानक दुई टुक्रा भयो ।
म एकदम खुसी हुँदै फर्किंदै थिए । मेरो अघि हातमा फुटेको ढुंगो लिएर कोही अघि हिँडिरहेको थियो । 
बिहान उठ्दा मानिसहरू चिच्याउँदै यताउति गरिरहेका थिए । बाहिर मानिसहरूको ठूलो होहल्ला थियो । परबाट एकजना व्यक्तिलाई ३–४ जनाले काँधमा बोकेर ल्याउँदै थिए, सेतो कपडाले बेरेको मानिसको शरीर पूरा ढाकिएको थियो । 
“आज राति नारानको सुतेको ठाउँमा नै मृत्यु भएछ, अरु केही थाहा छैन । मुकामबाट प्रहरी आउँदैछन् रे !” पिताजीले भन्नुभयो । 
वर्षौंपछि काशी विश्वविद्यालय बनारसमा शास्त्रीको अन्तिम परीक्षा दिइरहँदा एकदिन घरबाट चिठी आयो ।
 
मिति ः २०३५÷०४÷०२
प्यारो छोरा केदार !
यहाँ हामी दुवैलाई सन्चै छ । तिम्रो अन्तिम चिठी पढेर तिम्रो पढाइ सकिन लागेको थाहा पाउँदा हामी एकदमै हर्षित छौं । तिमी गएको पनि ५ वर्ष हुन लागेछ । अब अध्ययन सकाएर देशको सेवा गर्न फर्किनेछौं भन्ने आशा छ । 
तिमी गएको एक वर्षपछि नारानको श्रीमती र उसको दोस्रो श्रीमान्लाई प्रहरीले करिब २६ वर्षपछि जनकपुरमा पक्रिएको छ । उनीहरू भोजपुरबाट बिहे गर्न भनी भागेको र जनकपुरमै वर्षौंसम्म लुकेर बसेको स्पष्टीकरण दिएका रहेछन् । थप अनुसन्धान भइरहेको छ । खबर सुनेर तिमी पक्कै छक्क पर्नेछौ । 
तिम्रो आगमनको प्रतीक्षामा । 
उही तिम्रो बुबा
लोकबहादुर थापा
 
– धरान–२२, ठिंगाबारी
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC