site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
माटो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
“कैले फर्किनी भइस् त नेपाल ?” करुणले अरु दिनभन्दा अलि आत्मीय शैलीमा सोध्यो ।
“ठेगान छैन यार,” मैले पनि उस्तै आत्मीयतामा ‘यार’ मिसाएर जवाफ दिएँ ।
“नेपालमा काँ यस्तो सजिलो छ र !” करुणलाई भेट्न आएका तर मेरो खासै सम्बन्ध नभएका उसका अरु साथीहरूको झुन्डबाट एउटाले बोल्यो ।
“हो नि, डाक्टर, नर्सहरूको बोली हेर न कति मीठो छ !” अर्कोले तुरुन्तै सही थप्यो । 
“त्यो पनि हो । तर फेरि जति उपचार गर्न परे पनि पैसा लाग्दैन नि !” तेस्रोले बेलायतको धेरैमध्ये एउटा महत्व स्पष्ट पार्दै थप्यो ।
हातमा करुणकी बूढीको हिस्ट्री फाइल बोकेर ‘हु इज मिस्टर खरुण ?’ भन्दै एउटी गोरिनी नर्सले सोधी । हामी सबैको ध्यान त्यतै तानियो ।
गोरिनी नर्सले उसको नाम लिएको सुन्नेबित्तिकै करुण हतासिएर ‘ह्वाट ह्याप्पन्ड टु माई वाइफ ?’ भन्दै नर्सको छेवैमा पुग्यो ।
उसले भनी, “आई एम नट अथोराइज्ड टु गिभ फुल डाइग्नोसिस डिटेल एट, बट इट सिम्स लाइक इट इज रिलेटेड विथ अ प्रिक्ल्याम्जिया मिस्टर ठापा, प्लिज वेट अन्टिल द फाइनल टेस्ट रिपोर्ट कम्स आउट एन्ड वी क्यान से हाउ सिभियर द प्रब्लम इज ।”
बेलुकी ९ बजेसम्म कुर्नुपर्ने कुरा सुनाएर ऊ हिँडी ।
० ० ० 
करुण मेरो बच्चैदेखिको ‘बालसखा’ होइन । यो मेरो कलेजमा सँगै पढेको साथी पनि होइन । 
बुबा सरकारी जागिरे हुनाले सरुवाको झन्झटमा मेरो पढाइ पनि अस्थिर हुँदै जान थालेपछि कक्षा ८, ९ र १० को पढाइ ‘स्टेबल’ होस् भनेर म पोखरा मामाको घर बसेर पढ्न थालेको थिएँ । संयोगले करुण पनि ८, ९ र १० कै लागि दुलेगौंडाबाट पोखराको त्यही स्कुलमा पढ्न आइपुगेको थियो ।
कैलेकाहीँ लाग्छ, करुणसँग मेरो पूर्वजन्मकै सम्बन्ध छ । एउटै स्कुलमात्र होइन, ऊ र म ८, ९ र १० तीनै वर्ष ‘ख’ सेक्सनमा सँगै प¥यौं ।
हाइ–हेल्लोबाट सुरु भएको उसको र मेरो सम्बन्ध धेरै ठूलो उतारचढाव नभइकन कायम रहिराख्यो । ९ कक्षाको वार्षिक परीक्षाको अन्तिम दिन अप्सनल म्याथको जाँचमा मैले पासमार्कको लगभग ५० प्रतिशतभन्दा बढी अंक ल्याउन सहयोग गरेको थिएँ । सहयोग के भन्नु, बकाइदा उसको कापी साटेर आफ्नै जस्तो गरी २०–२० नम्बरको तीनवटा प्रश्नको उत्तर लेखिदिएपछि बाहिर निस्कने बेलामा उसैले भनेको थियो, “ज्यान जोगाइस् यार किरण ! मा कसम ! यति त आफ्नै दाजुभाइले नि गर्दैनन् होला । तँ त मेरो आफ्नैभन्दा पनि बढी भइस् यार !”
त्यही बेलुका मलाई करुणले आफ्नो कोठामा बोलायो । जाँच सकेको भएर मैले मामालाई धेरै बहाना बनाउन नपरीकनै उसको कोठामा ‘ओभरनाइट स्टे’ गर्न गएको थिएँ । खासै टाढा पनि थिएन । कक्षा ९ को अन्तिम परीक्षा दिएको भए पनि करुण मभन्दा २ वर्ष जेठो याने कि १७ वर्ष पूरा भइसकेको थियो । म पुग्नेबित्तिकै कोठाको खाटको कुनाबाट निकालेर ‘ढ्यान्ट्याना’ भन्दै गिलमेरीका दुइटा चेप्टे बोतल यसरी देखायो, जसरी काला जादु देखाउनेले खाली हातबाट परेवा देखाउँछ ।
“ल बस्, आधा किलो चिकन छ । चट्ट भुट्चु अनि बसेर दाजुभाइ हान्नपर्छ आज,” उसले कोठाको कुनामा रहेको स्टोभमा दम दिन थाल्यो ।
करुणले यसरी गिलमेरीसँग चिकन हान्ने कला आफ्नै पुज्य पिताजी श्री खेमराज थापासँग सिकेको थियो, जसले १८ वर्षको अनवरत सिपाहीको सेवामा लागेर उन्नाइसौं वर्षमा मात्र हवल्दारमा प्रमोसन पाएका थिए । छोरो सानो छँदै कालगतीले श्रीमती गुमाए पनि अर्को श्रीमती नल्याई बसेका खेमराज थापाले आफ्नै आमाको समेत हेरविचार गरेका थिए । करुण बुबा र हजुरआमाको न्यानो माया पाएर हुर्केको थियो । बेलाबेलामा चिकनसित गिलमेरी खाने बानी परेका खेमराजले घूसचाहिँ कहिल्यै खाएनन् ।
“बाउ मेरो गरिब भए पनि इमान्दार छन् हेर् ! एकदिन विदेश जानु छ, टन्न दाम कमाउनु छ अनि बूढालाई आरामको जिन्दगी दिनु छ,” दोस्रो चेप्टे बोत्तलसँगै करुणले मन पनि खोल्न थाल्यो ।
“कुन देश जाने नि ?” मैले पहिलो पेगको आधा पनि नसकिएको गिलासमा ओठ चोप्दै सोधें ।
“वेस्टर्न कन्ट्री जानी हो यार ! दुई–चार वर्ष बसेपछि धेरै थोरै कमाउन सकिन्छ रे ! बाको पनि तेस्तै कुरा छ । हेरम के हुन्छ,” हल्का लागे पनि स्वर उसको प्रस्टै बरु झन् व्यवहारिक हुँदै थियो ।
“हो हुन त,” मलाई उसकै कुरा सुन्न मन लागेको संकेत गरें ।
“तर मलाई अप्सनल म्याथमा किन फसाए बूढाले, अहिलेसम्म बुझ्न सकिनँ यार,” गलल्ल हाँस्दै अर्को घुट्को लियो ।
कठिन भए पनि मैले दुई पेग राम्रै पिएँ । बाँकी करुणले सकेर हामीले खाना खायौं र राति स्कुलका केटीहरूको गफ गरेर सुत्यौं । 
करुणसँगको आत्मीयता बढ्नुको र कापी नै साटेर उसलाई लेखिदिन मन लाग्नुको कारण विशेष थियो । करुणले मेरो ज्यानै जोगाएको थियो ।
करिब एक किलोमिटरको दूरीमा रहेको उसको कोठा र मेरो मामाको घर हामी आउने–जाने गथ्र्यौं । एकदिन घरमा कोही थिएन । मामा काममा र माइजू किनमेललाई बजार जानुभएको थियो । स्कुलको एकजना छात्रा सेती नदीमा हामफालेर आत्महत्या गरेको खबरले स्कुल बिदा भयो । म स्कुल पुगेर एकछिन मौनधारण गरेर घर फर्केको थिएँ । नुहाउन मन लाग्यो तर पानी थिएन । बाल्टीबाट पानी झिक्ने जाँगर चलेन अनि इनारमा जोडेको मोटर चलाएर पानी तान्न खोजें, मिटर चलेन । के रहेछ भनेर हेरेको, कालो टेपले जोडेको मोटरको तार छुटेको पो रहेछ । स्विच अफ गरेर तार जोड्छु भन्दै भित्र टेप खोज्न लागें, त्यही बेलामा मामाले राष्ट्र बैंकबाट पैसा लिएर आर्मीको गाडीमा बाग्लुङ हिँडिहाल्नु पर्ने र बेलुका ढिलो हुने खबर गर्न फोन गर्नुभएको रहेछ । मैले भने फोन उठाउँदा र कालो टेप खोज्दा मेन स्विच अफ गर्नै भुलेछु । मोटरको कालो तार जोड्न गएको एक सेकेन्डमै सेतो आँखा पल्टाएर ढलेछु ।
‘के गर्दै छस् ए छौंडा’ भन्दै आइपुगेको करुणले वरपरका छिमेकी बोलाई मलाई हस्पिटल लगेको थियो । म आभारी थिएँ ऊप्रति ।
आफ्नो संगतका सबै साथीभाइ, मलगात बुबाहरू आर्थिक हिसाबले उसको बुबाभन्दा समृद्ध देखेर उसले आफूलाई गरिब ठान्थ्यो । तर, मेरो मनमा ऊप्रतिको सम्मान साथीभाइभन्दा अझ उपल्लो दर्जामा थियो ।
एसएलसी दिनुभन्दा केही महिनाअघि उसैले मन पराएकी केटीले ‘किरणलाई देऊ है’ भनेर दिएको चिठ्ठीले ऊ भड्केको थियो मसँग ।
‘ला साला, तेरो बाइफालाको चिठ्ठी’ भनेर मुखैमा फालेको थियो उसले । तर, मलाई यस्तो चक्करको मतलबै थिएन ।
एकदिन ‘केटीको कुरालाई लिएर मसँग नरिसा है’ भनेपछि र एसएलसीको तोड परेको कुरा सुनाएपछि करुणको रिस मत्थर भयो ।
एसएलसी सकेकै दिन घर गएर लुगा फेरफार गर्ने, ‘कुछ कुछ होता हे’ फिल्म हेर्ने, बेलुका रेस्टुरेन्ट जाने अनि हल्का दारु हानेर उसैको कोठामा सुत्ने योजना बने पनि म घर पुग्दा बुबाआमा मलाई लिन आइसक्नुभएको थियो । बुबाको छुट्टी कम भएकोले म घर पुग्नेबित्तिकै बुबाआमासँग सिधै सारङकोट हेर्न जानुपर्ने भयो । नाइनास्तीको कुरै भएन । त्यतै पुगेर थाहा भयो– बेलुकी मामा–माइजू पनि सारङकोट नै बस्ने गरी बुबाले होटल बुक गर्नुभएको रहेछ । 
भोलि करुणको कोठामा पुग्दा ऊ थिएन, पर्सिपल्ट बुबाले प्लेनबाट विराटनगर पु¥याउनुभयो । करुणसँगको तीन वर्षको दोस्तीले जुन हिसाबको निरन्तरता पाउनुथ्र्यो, पाएन । अहिलेको जस्तो फेसबुक भएको भए म कलेज पढ्दै गर्दा उसलाई नभेटी छोड्दै छोड्थिनँ ।
आईईएलटीएसमा सालाखाला ७ अंक प्राप्त गरे पनि पुतलीसडकको एउटा नामुद एजुकेसन कन्सल्ट्यान्सीको १२ कक्षा पास नगरेको ‘हेड कन्सल्ट्यान्टले’ ३ महिने अंग्रेजी कोर्स पनि गर्नुपर्ने प्रावधान मिलाएर मलाई बेलायत पठाएको थियो । बुबासँग खासै धेरै समय नहुने अनि मेन कोर्स सुरु हुनुभन्दा केही समयअघि बेलायतको वातावरण बुझ्न र पार्ट टाइम काम खोज्न पनि सजिलो हुने कुराले म २०११ को जनवरीमा सुरु हुने कोर्सका लागि २०१० कै अक्टोबरमा बेलायत आएको थिएँ ।
दुर्भाग्य के भयो भने, अंग्रेजी कोर्स सकेर मेन कोर्स सुरु हुनुअघिको क्रिसमस बिदापछि कलेज जाँदा त कलेज नै छैन ! हुन पनि त्यो कलेज जम्मा ३ तलामा अवस्थित थियो । बुबा र मेरो किताब जम्मा गरेर राखेको घरको भन्दा केवल दुई गुणामात्र बढी ठूलो थियो होला कलेजको लाइब्रेरी, जहाँ पोस्ट ग्राजुएट र मास्टर लेभलको पनि दुई सिफ्टमा पढाइ हुन्थ्यो । 
भौतिक पूर्वाधार र मानव स्रोतले थेग्न सक्नेभन्दा शायद दुई गुणा बढी विद्यार्थी लिएर आएको थियो कलेजले । धेरैजसो भारतीय अनि नेपाली र बाँकी पाकिस्तानी, बंगलादेशी, अफगानी, रसियन र युक्रेनियन विद्यार्थीहरू लिएर आएको यो कलेजले लगभग ७ सय विद्यार्थीको बिचल्ली पारेको थियो । कतिसम्म भने यही कलेजको व्यवस्थापनअन्तर्गत रहेको होस्टलमा बस्ने गरी ६ महिनाको होस्टल शुल्क बुझाएका विद्यार्थीहरूले एक हप्ता होस्टलमा बिताउन नपाउँदै कलेजले ‘ब्यान्क्रप्सी डिक्लेयर’ गरेको थियो । यसको लिक्विडेसन प्रोसेसमा ८ जना अजंगका भुसतिघ्रे बडीगार्ड राखेर आँखै अगाडि कलेजको साहु औपचारिक रूपमा माफी मागेर बिदा भयो । हामी सबै हेरेको हे¥यै भयौं । 
“यसलाई छोड्न हुन्न केटा हो,” आक्रोश र पीडाले भरिएको स्वरमा ५–७ केटाहरूलाई लिड गर्दै एउटा खाइलाग्दो केटो तीव्र गतिमा साहुजी भएतिर गयो । भुस्तिघ्रेको ग्याङले ‘इफ यु टच हिम, यु मे फेस फिजिकल पनिसमेन्ट नाउ एन्ड लिगल एक्सन लेटर’ भनेर सातो दियो । लाचार भएर साहुजी चढेको कार छेवैबाट हुइँकेको हेर्नुबाहेक अरु केही गर्न सकेनन् ।
त्यो हुलको लिड गर्ने केटा अरु कोही नभएर करुण नै थियो । दैवसंयोग यस्तैलाई भन्छन् शायद ।
के पो हुने हो भनेर अत्तालिँदै हेर्न जाँदा लल्याक्लुलुक्क परेर थच्याक्क कार पार्कमा बसेका केटाहरूको झुन्डमा करुणलाई मैले निकै गहिरो पीडामा भेटें ।
रसियन केटाहरू त आँखाबाट आँसु झारेरै रुँदै थिए । पूरै कोर्सको फि तिरेर एक हप्तामै यूकेमा विचल्ली हुनेमध्ये एक करुण पनि थियो । मलाई भने उसको बुबाको झल्झली याद आयो । आफूले नभेटे पनि करुणले उहाँबारे धेरै कुरा भनेको थियो । लगभग ९ लाख रुपैयाँ र अनिश्चित भविष्यको सिकार भयो करुण र उस्तै पीडाको सिकार भएँ म पनि ।
सानो मामा यूकेमै सेटल भएकाले मलाई बस्न, खान कुनै समस्या थिएन तर अरु साथीहरूजस्तो लन्डनमा नाइट आउट गरेर हिँड्ने स्वतन्त्रता पनि थिएन । तर, आज दुःखपूर्ण भए पनि मेरो लागि विशेष दिन थियो । मेरो ज्यान जोगाएको मित्रसँग परदेशमा भेट भएको थियो ।
करुणले आफ्नी श्रीमती नाइट ड्युटी गएको र आफूकहाँ बस्ने ठाउँ भएको बतायो । मामालाई ‘आज म घर आउन्नँ’ भन्न डर लागेन । थोरै सोधखोज त भयो नै तर त्यसमा आमाले र मामाले गर्नेखाले धेरै अनुसन्धान भएन ।
“के खान्छस् ? ह्विस्की, बियर ?” उसको बोलीको रवाफ उही थियो, काजी पाराको । 
“म त वाइन खान्छु यार,” केही न केही पक्कै भन्छ भन्ने थाहा पाएर हल्का हाँस्दै जवाफ दिएँ । 
“हाहा ! तेरो पारा केटीकै जस्तो छ है ? आज ह्विस्की हान्न पर्छ मुला !” उसले आफ्नो विचार नै निर्णय भएको भाषाले प्रस्ताव राख्यो । 
मैले पनि ‘गिलमेरी त खा’कै हो, स्कचमा के संकोच ?’ भनेर दोस्तीको महत्व प्रदर्शन गरें । 
“बिर्से रैन्छस्, खुसी लाग्यो,” करुणले ह्विस्की खन्याउन थाल्यो ।
हामी वर्षौंपछिको भेटको खुसी र विचल्लीको दुःखमा निस्लोट हुन्जेल रक्सी धोकेर सुत्यौं । 
यसरी भेट भएको थियो यूकेमा करुणसँग मेरो । नितान्त अप्रत्याशित ! त्यसपछि मैले घरबाट फेरि पैसा मगाएर यतैको लोकल युनिभर्सिटी ज्वाइन गरें, करुणले पनि नाम चलेकै युनिभर्सिटीको सम्बन्धन प्राप्त एउटा राम्रै कलेजमा ‘एसीसीए’ ज्वाइन ग¥यो । आर्थिक रूपमा के–कसरी गर्जो टा¥यो, मलाई उसले कहिल्यै भनेन । तर ऊ कटिबद्ध थियो, एकदिन यूकेमा जमेर बस्छु भन्नेमा ।
हुन पनि आज ४ वर्ष भयो, करुण एकचोटि पनि नेपाल गएको छैन । बरु बीचमा बुबालाई यूके नै बोलायो, घुमायो, पठायो । पढाइ सकेर उसले धेरै दिमाग चलाउन जरुरी ठानेन । 
सीधा गयो, आफूले पार्ट टाइम काम गरेकै इन्डियन रेस्टुरेन्टको मालिकको हातैमा लगेर आफ्नो सर्टिफिकेट दिँदै भन्यो रे, “अगर आजतकका मेरा काम से आप खुस नही हो तो अभि के अभि मुझे काम से निकाल दिजिए, वरना ये सर्टिफिकेट और पासपोर्ट रखिय और मुझे फुल टाइम काम कि वर्क परमिट दिलादिजिए, मुझे यही पे रहेना हे ।”
त्यसपछि करुणले रेस्टुरेन्टको फ्रन्ट पनि हेर्छ अनि अकाउन्ट पनि । ऊ बाउ बन्दैछ भन्ने खबर त पाएको थिएँ तर कल्पना भाउजूको स्थिति बच्चा हुनुअघि नै हस्पिटलाइज गर्नुपर्ने हुन सक्छ भन्ने करुण आफैंलाई थाहा रहेनछ ।
 
० ० ०
 
बेलुका ९ बजेसम्म भनेको, अझै ६ घण्टा समय बाँकी थियो । अघिल्लो रातबाटै कल्पनाको डाइग्नोसिस हुँदै थियो । फाइनल रिपोर्ट त कुर्नैप¥यो । नर्सको कुरा सुन्न मजस्तै उत्सुक हुँदै उसका तीनजना साथीहरू पनि नजिकै आइपुगेका थिए । तीमध्ये कोही पनि मलाई मन पर्दैनथे भनेर बुझ्न धेरै समय नै लागेन । करुण या कल्पनाको एनिभर्सरी, बर्थडेमा उनीहरूसँग आक्कलझुक्कल भेटघाट हुन्थ्यो । यस्ता जमघटमा मद्यपानपछि हुने बहसका विषय प्रायः नेपालको राजनीति, नेपाल फर्कनुपर्छ या फर्कनु हुन्न र पर्दैन भन्ने नै हुने गथ्र्यो । तर, कानुनी रूपमै बेलायतका भइसकेका नेपालीहरूको मत भने यी सबै विषयमा थोरै फरक, नरम र सेन्सिबल हुने गथ्र्यो । शायद उनीहरूले अब नेपाल फर्कनुपर्छ भन्ने कानुनी अधिकार गुमाइसकेकाले पनि हुन सक्छ । तर, जो बेलायतमा अझै संघर्षरत छन्, उनीहरूको बहसको विषय योभन्दा खासै फरक कहिल्यै सुनिएन, भेटिएन ।
एकदिनको कुरा हो, करुणको बिहेको चौथो वर्षगाँठ थियो । ठीकठिकै सम्बन्ध भएका साथीभाइ र पाहुनाहरू उम्काएर उसले पछाडि गार्डेनमा म र ती तीनैजना साथीहरूलाई लिएर गयो । डबल ब्ल्याकको खोल फालेर स्लिम बोत्तल निकाल्दै भन्यो, “ल केटा हो, अब धेरै चलखेल नगरीकन यो बोत्तल रित्याउन पर्छ ।”
तीमध्येको एउटाले भन्यो, “नेपाल भएको भए केको डबल ब्ल्याक खान सकिन्थ्यो र बाबै ! ल हाल पटियाला ।” उसले ५ वटा गिलास अगाडि सा¥यो । 
हामीलाई एकेक पेग रित्याउन समय नै लागेन । ह्विस्कीले टकिलाको स्वरूप धारण गरिसकेको थियो । घाँटीलाई धेरै दुःख नदिइकन निट जाँदै थियो । मलाई के भयो कुन्नि, बीचमा सर्कास्टिक हुँदै भने, “ल यार, संसारमै खान नपाइने यो डबल ब्ल्याक अर्को पेग पनि थपौं न ।”
करुणको दोस्रो साथी अलि छुद्र थियो अनि कठोर पनि । सिधै मलाई प्रहार गरेर भन्यो, “ल ल थपौं, बाउको सम्पत्ति छउन्जेल नेपालमै पनि खान सकिने डबल ब्ल्याक थपौं !” 
हरेक विषयमा नेपाल शब्द जोडेर कुरा गरेको र बिनासन्दर्भ बेलायतको भौतिक÷प्राविधिक विकास, सामाजिक सुखसुविधालाई नेपालसँग जोडेर कुरा गर्दा यसअघि पनि म तातेको कुरा करुणले भुलेको थिएन शायद । यो पटक त्यस्तो परिस्थिति नै सिर्जना नहोस् भनेर उसले त्यो साथीलाई हप्काउँदै भन्यो, “बढी नबोल्, जे कुरामा पनि नेपालै जोड्नुपर्छ तँलाई ?”
तेस्रो साथीले विषयलाई सहज बनाएझैँ गरी थप्यो, “अरे यार, नेपाल फर्किन पर्छ भनेर तर्क गर्ने र फर्किन पर्दैन भनेर तर्क गर्नेको अधिकार बराबर नै त हो नि ! किरणजीको कुरा मात्रै ठीक भन्ने छ र ? सबैलाई थाहा छ नेपालको स्थिति के छ भनेर ! त्योभन्दा पनि बढी अझ नेपालको कुरै छोडौं न, सबैलाई आ–आफ्नो स्थिति थाहा छैन र ? सबैका आ–आफ्नै भिन्न परिस्थिति हुन्छन् ।  ढाकछोप गर्नपर्ने कुरै छैन नि । लेट्स माइन्ड आवर ओन बिजनेस !” 
करुणले प्रष्ट भन्यो, “कुनै जोकसोक छ भने सुनाओ केटा हो, नत्र आज यो कुरोमा फर्दर गन्थन हुन्न है !”
त्यसपछि त्यो रात धेरै बहस भएन । करुणले आफ्नो एनिभर्सरी बिग्रन दिएन । यो मान्छेको यही बानी मलाई ठीक लाग्छ, स्ट्रेटफर्वार्ड !
० ० ० 
बेलुका ठीक ९ बजे डाइग्नोसिस टिमको कन्सलट्यान्टले करुणलाई एकान्तमा बोलाएर रिपोर्ट ‘ब्रिफ’ गरेपछि उसको मुहार चम्किलो भयो । पत्ता लागेको रोगको स्थिति शंका गरिएको जस्तो भयावह रहेनछ । सुरुकै स्टेजमा भएकोले र गर्भ रहेको समय ३७ हप्ता पूरा नभएकोले धेरै ठूलो रिस्की उपचार गर्न नपरे पनि बच्चा नजन्मुन्जेल भाउजूलाई हस्पिटलमै मोनिटर गरेर राख्नुपर्ने कुरा सुनेपछि स्थिति लगभग सामान्य नै भयो ।
३ दिनपछि...
“अँ भन्,” करुणले निश्चिन्त स्वरमा फोन उठाउँदै भन्यो । 
“केही हैन, भाउजूलाई कस्तो छ भनेर फोन गरेको,” मैले झूट बोल्दै भनें ।
“ठीक छ, मैले काममा ६ हप्ताको छुट्टी लेको छु, टेन्सन छैन,” उसले मलाई थप ढुक्क पार्दै भन्यो ।
“ल, ल टेक केयर, म फोन गर्दै गर्छु है, ऐले राखें,” फोन राख्दै कतार एअरवेजको सिट नम्बर ‘६९ ए’को सिट बेल्ट बाँधें ।
मैले करुणलाई आफ्नै माटोमा फर्कन लागेको भनिराख्न जरुरी ठानिनँ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७३  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC