site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपाली राजनीतिमा अझै पनि बेलाबखत 'अप्रत्याशित' र 'अव्याख्येय' घटना हुन्छन् । राजनीतिक शास्त्रका सिद्धान्त र सूत्रहरूका आधारमा तिनलाई व्याख्या गर्न वा तिनको अर्थ खोज्नै सकिँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की बुधवार एकाएक नेपाल फर्के । त्यही दिन दिउँसो संसद्मा महाभियोग समिति गठन गरिएको थियो । प्रा.डा. गोविन्द केसीले दसैँ खल्लो नबनाउनैका लागि अनशन स्थगित गरेका थिए । डा. केसीका माग पूरा गर्न पनि महाभियोग समिति गठन गर्नु अत्यावश्यक भएको थियो । तर, अप्रत्याशितरूपमा लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता गरियो । महाभियोग प्रस्ताव कति नाटकीयरूपमा दर्ता गरियो भने प्रधानमन्त्री पुष्पकमल दाहालको दल नेकपा (माओवादी केन्द्र) र विपक्षी नेकपा (एमाले)का सांसदहरूले प्रस्ताव दर्ता गरे तर सत्ता साझेदार नेपाली कांग्रेसलाई 'सुइँको'समेत दिइएन ।
 
महाभियोग प्रस्ताव दर्ता गरिएको दिन बुधवार घटना जति तीव्र र आकस्मिकरूपमा भए भोलिपल्ट बिहीवार घटनाक्रम उत्तिकै शिथिल रह्यो । हुनत, बिहीवार प्रमुख तीन दलको बैठक बस्यो तर एमालेबाहेक सत्तारुढ दलहरूले कुनै निर्णय गरेको सार्वजनिक भएको छैन । महाभियोग प्रस्तावमा सही गरेका कारण माओवादी केन्द्रले प्रस्तावको समर्थन गर्छ भन्ने अनुमान लगाउनु सकिन्छ । तर, केही दिन पहिलेसम्म पनि गगन थापा वा राधेश्याम अधिकारीले लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन संसद्मा लिखित र मौखिकरूपमा समेत कुरा उठाउँदा अहिलेका प्रस्तावक समर्थक कसैले पनि मुख खोलेका थिएनन् । नेपाली कांग्रेसका नेता गगन थापाले अस्पतालको शयामा रहेका श्याम श्रेष्ठलाई समर्थकमा सही गराउनु परेको थियो । यसबीचमा सर्वोच्च अदालतले कार्कीको नियुक्तिमा योग्यता नपुगेको भन्ने मुद्दाको पुनरवलोकन गर्ने निर्णय गरेर कार्कीलाई अदालतमा उपस्थित गराउने निर्णय गरेपछि म्यादसम्म तामेल हुन निकै कठिन भएको थियो । सर्वोच्च अदालतको म्याद तामेल गर्नसमेत हुलहुज्जत गरेर रोक्ने र असहयोग गर्नेहरूविरुद्ध अहिले महाभियोग दर्ता गराउनेहरू एक शब्द बोलेका थिएनन् । यसैले होला महाभियोगको प्रस्ताव दर्ता गराउने कार्यलाई कसैले सर्वोच्च अदालतलाई अलमल्याउने चालका रूपमा हेरेका छन् भने कतिपयले अख्तियारले एमाले र माओवादी केन्द्रका नेतामाथि मुद्दा दायर गर्न लागेको थाहा पाएर त्यसलाई रोक्न अपनाइएको रणनीतिका रूपमा व्याख्या गरेका छन् । यसै हो भनेर ठोकुवा गर्न सकिने प्रमाण नहुँदासम्म महाभियोग प्रस्तावको अर्को उद्देश्य वा नियत छ भन्न मिल्दैन । यसैले कसैको पनि नियतमा सन्देह नगरौँ ।
 
नियतमा सन्देह नगरे पनि देशको सबैभन्दा पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसको यस प्रकरणमा देखिएको 'शून्य भूमिका' भने अलि स्वाभाविक देखिएन । महाभियोगका प्रस्तावकहरूले कांग्रेसलाई बेवास्ता गरेका हुन् भने पार्टीको चरम अवमूल्यन हो । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठकमा कांग्रेससँग सल्लाहै नगरी प्रस्ताव दर्ता गराइएकोमा असन्तुष्टि प्रकट गरेको समाचारले पनि यही संकेत गरेको छ । नेपाली कांग्रेसको समर्थनविना महाभियोग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ मत पुग्दैन । तैपनि, कांग्रेसलाई हेपेर यसरी प्रस्ताव दर्ता गराउँदा दुवै कम्युनिस्ट पार्टीका नेताले लोकमान सिंह कार्कीलाई हटाउन हैन निलम्बनमा राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्क्रिय बनाउनमात्र त चाहेका हैनन् भन्ने सन्देह पक्कै पनि हुन्छ । यस्तै कांग्रेसका नेता तथा कार्यकर्ता पंक्तिले यस व्यवहारलाई अपमान ठान्नु पनि अस्वाभाविक होइन । त्यतिमात्र हैन माओवादी केन्द्रको यस व्यवहारले सत्ता साझेदारीको मर्ममै प्रहार गरेको छ र प्रचार गरिएअनुसार कांग्रेस प्रधानमन्त्री हुने बेलामा माओवादी केन्द्रले सहयोग नगर्ने वा सत्ता समीकरण बदल्ने लक्षण पनि यसले देखाएको छ । यस्तै नेताहरूको व्यक्तिगत सम्बन्धका आधारमा कार्कीप्रति कांग्रेसभित्र केही सहानुभूति पनि हुनसक्छ । 
 
तर, जेसुकै भए पनि क्षणिक लाभहानि वा प्रतिष्ठाको प्रश्न उठाएर प्रतिशोध र प्रतिक्रियाको राजनीति गर्न नेपाली कांग्रेसलाई सुहाउँदैन । यसैले अपमानको तीतो निलेर पनि कांग्रेसले ऐतिहासिक भूमिका पूरा गर्नुपर्छ । लोकतन्त्रमा जनताबाहेक अरू कुनै व्यक्ति वा संस्था सर्वोपरि हुनसक्तैन । कांग्रेसले लोकतन्त्रको यही मान्यता जोगाइराख्न पनि संसद्मा प्रस्तुत महाभियोगको प्रस्तावमा समर्थन गर्नुपर्ने देखिन्छ । महाभियोग प्रस्तावका पक्षमा कांग्रेस उपस्थित हुनेबित्तिकै प्रस्तावकको यथार्थ पनि प्रकट हुनेछ । यसैले कांग्रेसले महाभियोगका पक्षमा तत्काल निर्णय गरेर अन्योलको अन्त्य गर्नुपर्छ । महाभियोगको विरोध गरेर जनतालाई निराश बनाउने नै हो भने पनि अब कांग्रेसले 'कता लाग्छ' भन्ने प्रश्नको उत्तर तत्काल दिनुपर्छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC