Skip Advt.
ad

विशेष

६ महिनामै आमाले छोडेपनि...

६ महिनामै आमाले छोडेपनि...
चेतकुमारी बिक ६ महिनाकी थिइन् । उनका बाबुलाई अल्सरले लग्यो । बाबु बितेपछि आमा पनि छोरीलाई छोडेर अरूसँग गइन् । आमाबाबुको काखमा लाडप्यारले लडीबुडी गर्ने उमेरमा उनी एक्लै छाडिइन् । उनीसँगै छाडिएका थिए उनकी दिदी नरी मायाँ अनि दुई दाजु मानबहादुर र पदम पनि । 
चेतकुमारीले आमाबाबुको मायाको छायासमेत देख्न पाइनन् । चिसो जिन्दगी उनको दैनिकी भयो । अभावमा बाँच्नु उनलाई बानी भयो । “मलाई थाहै छैन कहिले बाबु बित्नुभयो । मैले दादाहरूले भनेके सुनेको मात्रै हो । पेट दुख्छ भनिरहनुहुन्थ्यो रे !  पक्कै उहाँलाई अल्सर भएको हुनुपर्छ,” चेतकुमारीले भनिन्, “बाबु बितेपछि आमाले पनि अर्कैसँग विवाह गरेर जानुभयो र हामी एक्लै भयौँ ।”
उनकी आमाले हुर्कँदै गरेका दुई छोरा र दुई दूधे बालिकालाई किन छोडिन् त ? न उनका छोरोछोरीलाई थाहा छ, न उनले कसैलाई भनिन् । “थाहा छैन हामीलाई किन उहाँले अप्ठ्यारो अवस्थामा छाडेर जानुभयो,” चेतकुमारी भन्छिन्, “सायद, हामीले दुःख पाउनु थियो । उहाँले पछि पछुताउनु थियो ।” 
बाबुआमाले छाड्दा उनका दाजुहरू पनि सानै थिए । सोलुखुम्बु पहाडमा घर थियो । खेतबारी कमै थियो । राम्ररी खान पनि पुग्दैनथ्यो । त्यसमा पनि रोगले थलिएका बाबु र अन्तै कतै जान लागेकी आमाका कारण पनि होला, अन्न उत्पादन पनि क्षमताअनुसार भइरहको थिएन । 
“भोक लाग्यो भनेर म रोइरहन्थेँ रे ! दाजुहरुले गाउँभरि डुलेर मागेर ल्याएर मलाई खुवाउनुहुन्थ्यो रे !” उनी सम्झिन्छिन्, “दादाहरु पनि सानै हुनुहुन्थ्यो उहाँहरुले सानो उमेरमा धेरै दुःख गर्नुभयो ।” 
आफन्तले बाबुआमा गुमाएका केटाकेटीलाई सहयोग गर्नेभन्दा पनि उनीहरूको भएको जग्गामा गिद्धे नजर लगाउन थाले । उनीहरूलाई आफन्तबाटै आफ्नो जग्गा जोगाउन हम्मेहम्मे भयो । 
० ० ० 
गाउँकै एक मुखियाले चेतकुमारी र उनकी दिदीलाई बाल मन्दिरसम्म पठाइदिए । बाल मन्दिरबाटै ‘हिमालयन चिल्ड्रेन च्यारिटी’ (एचसीसी) नामक अमेरिकी सामाजिक संस्थाले चेतका दिदी बहिनीको हेरचाहको जिम्मा लियो । त्यसपछि एचसीसीको सहयोगमा चेतहरूको हेरचाहको जिम्मा काठमाडौंको गैरसरकारी संस्था ‘क्रिएटिङ पोसिबिलिटी (सीपी) नेपाल’ ले लियो । सीपी दलित, विपन्न तथा अनाथ बालबालिकाको शिक्षाका क्षेत्रमा काम गर्दैै आएको गैरसरकारी संस्था हो ।
चेतकुमारी र उनकी दिदीको हेरचाहको जिम्मा सीपीले लिएपछि दाजु मानबहादुर काम गर्न मलेसिया गए । मानबहादुर मलेसिया जाँदा १८ वर्षका मात्रै थिए । मलेसियाको चर्को गर्मीमा काम गर्ने उनको उमेर र दक्षता थिएन, तैपनि गरिबी र भाइबहिनी सम्झेर दुःख गरे । पदम काठमाडौंमा रहेकी बहिनी र गाउँमा रहेको भाइलाई बेलाबेलामा फोन गरिरहन्थे । चेतकुमारी दाजुले फोन गर्दा बाबुआमाले फोन गरेको अनुभूति गर्थिन् ।  
० ० ० 
करिब १० वर्षपछि चेतकुमारी र उनकी दिदी आफ्नो घर खोज्दै दाजुहरूलाई भेट्न सोलु गए । त्यहाँ उनीहरुले दाइहरूलाई भेटे । संयोगले आमालाई पनि भेटे । सँगै जोडिएको अर्को गाउँमा दोस्रो बिहे गरेर गएकी उनकी आमाले चेतकुमारी र उनकी दिदी गाउँ आएका छन् भन्ने थाहा पाएपछि भेट्न आइन् । 
“खै के भनौं, राम्रो लाग्यो या नराम्रो । जन्म दिने आमालाई पहिलो पटक देखें, उहाँले मलाई अँगालो हालेर रुनुभयो,” उनले त्यो अनौठो र अनपेक्षित क्षण सम्झिन्, “तर, सँगै नबसेर हो अथवा हामीलाई छोडेर गएकाले हो, अरुले आमालाई देख्दाजस्तो आफ्नोपनको भावना नआउने रहेन ।”
० ० ० 
‘क्रिएटिङ पोसिबिलिटी नेपाल’का निर्देशक दिनेश सापकोटाले एक साँझ थाहा पाए – ‘मिस विश्वकर्मा’ हुँदैछ । चेतकुमारीलाई पनि यसमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने लाग्यो उनलाई । होचो कदकी चेतले प्रतियोगितामा सहभागी नै हुन पाउँदिनन् कि जस्तो पनि लाग्यो । तर, भाग्यले चेतका लागि उचाइ बाधक बनेन । चेत प्रतियोगितामा सहभागी हुन पाइन् । एक्काइस प्रतियोगी सहभागी भएको प्रतियोगिताको फाइनल आर्मी अफिसर्स क्लबमा भएको थियो । त्यहाँ थिए १३ फाइनलिस्ट । खचाखच भरिएको हलमा प्रतियोगिताको मुख्य निर्णायक थिए सांसद मीनबहादुर विश्वकर्मा । साथमा थिए कांगे्रस नेता तथा मन्त्री शंकर भण्डारी र नायक रमेश उप्रेती पनि । 
प्रतियोगिता निर्णायक चरणमा पुग्यो । मीनबहादुर विश्वकर्माले निर्णायक प्रश्न सोधे–परिवर्तन भन्नाले के बुझ्नुहुन्छ ? उनले जवाफमा भनिन् – ‘परिवर्तन सामाजिक, आर्थिक, मानसिक रूपमा हुनुपर्छ । प्रत्येक व्यक्ति सकारात्मक हुनुपर्छ । एक व्यक्ति विशेषले भन्दा पनि हरेकमा परिर्वतन आउनुपर्छ ।’ 
यही उत्तरले उनलाई ‘मिस विश्वकर्मा’ बनायो । चेतले इतिहास रचिन् पहिलो ‘मिस विश्वकर्मा’ बनेर । 
उनी खुसी छिन्, तर केही गुनासा पनि छन् । “प्रतियोगिताको टाइटल जिते पनि अन्य सुन्दरी प्रतियोगिताजस्तो त्यसले अवसरको ढोका खोल्न सकेन,” उनले भनिन्, “जसरी मिस नेपालजस्ता प्रतियोगिताका विजेताका लागि क्राउन नै अवसरको बाढी हुन्छ । त्यस्तै भएको भए सायद हामीलाई पनि राम्रो हुने थियो ।”
० ० ०
हेल्थ असिस्टेन्ट सकाएपछि उनी अहिले ‘ब्याचलर इन् पब्लिक हेल्थ’ अध्ययन गरिरहेकी छन् । अध्ययन सकेर आफूजस्तै असहाय बालबालिकाको उद्धार तथा शिक्षामा काम गर्ने लक्ष्य लिएकी चेत सन्तानलाई अलपत्र नपार्न सबैलाई आग्रह गर्छिन् ।  
  
 

तपाईंको मत