site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भीमफेदी गाइज रक !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
५–६ वर्ष कोरिया बसेर ७ वर्षअघि नेपाल फर्किएका उत्तरी मकवानपुरका निर्मल लामाको सपना हो ‘भीमफेदी गाइज’ । युट्युबमा आकर्षक डान्स कभर तयार पारेर चर्चा कमाइरहेको लोकप्रिय नृत्य समूह ‘भीमफेदी गाइज’का सदस्यहरूसँग बाह्रखरी कार्यालयमै भेट्ने मौका मिल्यो ।
उनीहरूको ‘कर्मथलो’ भीमफेदी हो । त्यहीँ बसेर उनीहरू नृत्य साधना गरिरहेका छन् । र, नृत्य पारखीहरूलाई आकर्षक तथा बान्कीपूर्ण नृत्यले आस्वादित तुल्याइरहेका छन् ।
लोकप्रिय गीतहरूको डान्स कभर तयार पार्नु र युट्युब च्यानलमा राखेर आम दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नु उनीहरूको ‘प्यासन’ हो । उनीहरू युवा पुस्तामा मज्जैले भिजिसकेका छन् ।
उनीहरूको युट्युब च्यानलमा साढे १७ हजार ‘सब्सक्राइबर’ छन् । युवामात्र होइन, सबै उमेर समूहका दर्शकलाई उनीहरूले आफ्नो नृत्य कलाले तुष्ट तुल्याएका छन् ।
कसरी तयार भयो त यो ‘गाइज’ ?
निर्मलले बेलिबिस्तार लगाए–
० ० ०
कोरिया जानुअघि निर्मल लामाले राजधानीमा ‘नृत्य संघर्ष’ नगरेका होइनन् । उनकी दिदी बेजोड नाच्थिन् ।
दिदीको नृत्य कलाबाट निर्मल अत्यन्त प्रभावित थिए र सधैं कल्पिन्थे– यसैगरी कम्मर मर्काउन पाए, आहा !
उनि भन्छन्, “दिदी भन्थिन्– डान्स सिक्न जा, केही नयाँ सोच आउँछ । उनैको सल्लाहमा परिवर्तन नेपालमा नृत्य सिकेँ र त्यहीँ झन्डै तीन–चार वर्ष सिकाएँ । तर, आशातीत प्रगति भएन ।”
उनले सुरुमा नृत्यकर्मी शंकर बिसीसँग  लोक नृत्यको प्रशिक्षण लिए र केही समयपछि आफैँ नृत्य सिकाउन थाले । नाचेरमात्रै हातमुख जोर्ने छाँट नदेखिएपछि परिवारले कचकच गर्न थाल्यो– यहाँ नाचेर हिँड्नु भन्दा कोरिया गएर पढाइ पूरा गर्नु राम्रो । कमाइ पनि राम्रै हुन्छ क्यारे !
त्यसपछि उनी आफ्नो डान्स करिअरलाई केही समयका लागि थाँती राखेर उच्च शिक्षा अध्ययनका लागि कोरिया उडे ।
तर, कोरियामा कसरी उनको मन अडिन्थ्यो र !
उनलाई नेपाल र नृत्यले निरन्तर तानिरह्यो । बरु उनले कोरियामा त्यहाँको कला संस्कृतिसँग अन्तरघुलन हुने मौकाचाहिँ मिलाए । इच्छाले दीक्षा पनि उपलब्ध गराउँछ भनेझैँ उनले कोरियन नृत्यबारे धेरथोर जान्ने अवसर पनि दियो । तर सधैं त कसरी सम्भव हुन्थ्यो ? उनी नृत्य सिक्न होइन, त्यहाँ पढ्नका लागि कोरिया पुगेका थिए ।
त्यहाँको यन्त्र मानवसरहको खटाइ र रातोदिनको धपेडीले उनलाई वाक्कदिक्क बनायो । मानवीय मूल्यमान्यता केवल श्रम र पैसामा बन्धक भएझैँ पो लाग्यो ! मानवीय इच्छाको पूर्ति पैसाले मात्र गर्छ र ? अन्तर्मनले उनलाई निरन्तर प्रश्न गरिरह्यो !
‘ह्या... बीचमै काम छाडेर नेपाल फर्कन्छु र आफ्नै देशमा नृत्यमा पसिना बगाउँछु’ उनलाई नलागेको पनि होइन, तर कोरिया जान लागेको खर्च उठाउनुपर्छ भन्ने सोचेर केही वर्ष त्यहीँ बस्ने निधो गरे । पढाइ बीचमै छाडेर केही समय कोरियामा पसिना पनि बगाए । त्यसले झन् स्वदेशको माटोप्रतिको मायालाई अझै निख्खर बनाइदियो । सीमापारी पुगेपछि देश त दुख्थ्यो नै तर कोरिया पुगेपछि आफ्नो माटो अझै मलिलो लाग्यो । 
र, विदेश मोह सदाका लागि भंग भयो ।
उनी पाँच वर्ष बिताएर नेपाल फर्के ।
त्यो पाँच वर्ष उनलाई ५० वर्षसरह भयो । कारण थियो नृत्यप्रतिको भोक ।
नेपाल फर्किएपछि उनलाई काठमाडौं देखेर पनि दिक्क लाग्न थाल्यो । काठमाडौं पहिलाको जस्तो थिएन । नौला–नौला मानिसहरूले घेरिएका र क्रंक्रिटका घरहरूले बेरिएको खै किन हो, ‘निर्जन बस्ती’ जस्तो पो लाग्न थाल्यो !
कोलाहल र भीडभाडले उनी निसासिउँलाझैँ भए । त्यसपछि उनी झोला बोकेर भीमफेदी नै गए ।
र, केही युवाहरूलाई साथ लिएर उनले नृत्यलाई नै पेसा बनाउने निर्णय लिए ।
नृत्यलाई जीवन बनाउने निधो त गरे, तर साथ दिने युवा नृत्यमा पोख्त थिएनन् । कोरिया बसाइमा उनले सिकेका थिए– अब प्रविधिसँग जोडिनैपर्छ । विश्व बजारमा द्रुततर मात्रामा विकास भइरहेको प्रविधिलाई धेरथोर नपछ्याउने हो भने आफूलाई समयसापेक्ष विकास गर्न सकिँदैन । नृत्यको भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गर्ने निधो उनले त्यसबीचमै गरिसकेका थिए ।
त्यसपछि उनले निःशुल्क नृत्य कक्षा सञ्चालन गरे ।
भीमफेदी राजधानीबाट नजिकै तर अन्यन्त विषमतामा बाँचिरहेको छ । हुर्के बढेका मानिसहरू कोही गाउँमा नबस्ने । भएका युवा पनि आ–आफ्नै तालमा ।
केही युवामा बडो उत्साह देखे उनले । तर, नृत्य सिकाउने पो कहाँ ?
उनले तीन महिना नृत्य सिकाउने र एउटा कार्यक्रम आयोजना गर्ने सोच बनाएका थिए । नसोचेको भइदियो– खुट्टै हाल्न नसिकने भीड पो तयार भयो ! त्यसले उनमा बेग्लै उत्साह सञ्चार गराइदियो । कार्यक्रम सफलमात्रै भएन, त्यसले व्यावसायिक ‘नृत्य समूह’ नै तयार पारिदियो । ०६६ तिरको कुरा थियो यो ।
उनी भन्छन्, “नृत्य सिक्ने ठाउँ नहुँदा मैले घरको छतमा समेत प्रशिक्षण दिएँ । र, त्यहीँ राम्रो नृत्य गर्ने युवाहरू अञ्जन, मिथुन, मञ्जित, अजय, विसन, पवन, प्रितम, आकाश, सविन र विराजलगायतको ‘भीमफेदी गाइज’ तयार पारें ।
भीमफेदी गाइज नै चाहिँ किन त ?
भीमफेदीकै माटोले तान्यो हामीलाई, भीमफेदीको अर्थ हाम्रो रहनसहन र पुरातन कलाको निरन्तरता हो र ‘गाइज’चाहिँ आधुनिकताको प्रतिविम्ब ।
यति भनेर उनी मच्चिएर हाँसे ।
० ० ०
मिथुन र पवन पनि बेलाबखत नाच्थे । निर्मलसँगको भेटपछि उनीहरू झन् खारिए ।
भीमफेदीमै प्रहरीले प्रयोग गरेर छाडेको पुरानो भवन थियो । उनीहरूको नृत्य प्रशिक्षण केन्द्र त्यही जीर्ण घर बन्यो ।
भातपानी छाडेरै उनीहरू प्रशिक्षणमा लागे ।
निर्मलले कोरियाबाटै १५ हजारमा क्यामेरा खरिद गरेर ल्याएका थिए । त्यही ‘डिजिटल क्यामेरा’मार्फत उनीहरूले नृत्यको छायांकन गर्न समेत थाले । भिडियो क्वालिटीमात्र होइन, नृत्यको स्तरसमेत राम्रो नभएकाले उनीहरू आफैँलाई चित्त बुझेन । 
उनीहरू नृत्य गर्थे र छायांकन गरेर प्रोजेक्टरमार्फत त्यहीँ देखाउँथे– ल हेर्नुहोस् हाम्रो कला !
तर, दर्शकहरूले खासै राम्रो प्रतिक्रिया दिएनन् ।
कसैकसैले त मुखै फोरेर भन्थे– यिनीहरूले नाचेर खाँदैनन्, यस्तो पनि नाच हुन्छ ?
घरपरिवारले पनि निर्मललाई नभनेका होइनन्– केटाकेटीहरू बटुलेको छ, नाचेर मात्रै गुजारा चल्छ ? बरु अमेरिका जा !
परिवारले अमेरिका पठाउने बन्दोबस्त पनि नमिलाएको होइन, तर भिसा लागेन ।
“मेरा सौभाग्य भन्नुपर्छ अमेरिकाको भिसा लागेन ! यहीँ कला देखाउन पाएँ,” उनी फेरि हाँसे ।
० ० ०
निर्मलको मथिङ्गलमा सपना थियो, त्यसैले नृत्य नै जपना भयो । सुरुको परिस्थिति यति निर्मम बन्यो कि उनीहरू थपनाजस्तै भए । आफैंलाई मन नपरेपछि उनीहरूले कतिपय भिडियो रद्दीको टोकरीमै फ्याँके । युट्युबमा अपलोडै गरेनन् ।
त्यसक्रममा उनीहरूलाई ‘बिग्रिए’ भनेर मुटु छेड्ने गरी भन्न पनि भ्याए । त्यसपछि उनको मनमा झनै ‘इख’ जाग्यो र यिनीहरूलाई देखाउँछु भन्दै निरन्तर दत्तचित्त रहे ।
निर्मलकै एकजना मिल्ने साथी बेल्जियममा थिए ।  उनले भने– तिमीहरूको भिडियो क्वालिटी भएन, म आधा पैसा सहयोग गर्छु । ती साथीले आधा पैसा पठाए, आधा पैसा उनीहरू आफैंले म्यानेज गरेर करिब एक लाख पर्ने क्यानन डि ७० किनेपछि भने ‘क्वालिटी मेन्टेन’ हुन थालेको निर्मल सुनाउँछन् ।
जब उनीहरूले चलचित्र ‘वडा नम्बर ६’ को गीत ‘सुर्के थैली’को डान्स कभर तयार पारे । त्यसपछि उनीहरूको ‘मार्केट’ अत्यन्त ‘हाइ’ भयो । युट्युबमा त्यो गीत झन्डै सात लाखले हेरेका छन् ।
त्यसभन्दा अगाडि त उनीहरूको युट्युब च्यानलको वार्षिक भ्यु ५०–६० हजारमात्रै थियो ।
‘सुर्के थैली’ पनि उनीहरूले ठूलो ‘रिस्क’ लिएर गरेका हुन् रे ! निर्मलले सुनाए, “दीपक आचार्यमार्फत डान्स कभरका लागि अफर आएपछि हामीले दुई दिन त सोच्यौंमात्रै । हामी त्यसअघि मोर्डन गीतमा मात्रै नृत्य गथ्र्यौं । ‘सुर्के थैली’ च्यालेन्जजस्तै भयो, त्यसमा हामीले नयाँ स्टेप राखेर गर्‍यौँ । तर, नसोचेकै सफलता हात पा¥यौँ ।
० ० ०
छेवैमा थिए मञ्जित र अञ्जन लामा  । अञ्जनले सुनाए, “सुर्के थैलीपछि त मेरो चर्चा यति चुलियो कि ‘फ्यान’हरूको घेराबन्दीमा पो परें । देशविदेशमा पो प्रशंसा भयो ।”
“नाच्न भनेपछि घरबाट निस्कनै दिँदैनथे, अहिले त बाआमाले पनि राम्रै गर्दैछन् भन्ठान्नु भएको छ,” मञ्जितले पनि सन्तोषको सास फेरे ।
“संघर्षका सुरुवाती दिनमा अमेरिका छाडेर नृत्यमा होमिएर कतै गल्ती त गरिनँ भन्ने नलागेको होइन,” निर्मलले बीचमा थपे, “तर, सुर्के थैलीको डान्स कभरपछि भने फर्केर हेर्नुपरेको छैन ।”
संघर्षको सुरुवाती दिनबारे मञ्जित प्रष्ट्याउँछन्, “म त नाच्नै जान्दिनथेँ । दाइहरूले क्यामेरा चलाएको, कम्मर मर्काएको देखेर औधी रहर लाग्यो र नृत्यमै होमिएँ ।”
त्यसो त निर्मल नै त्यो समूहका पाका हुन् । अरु त २०–२५ वर्षका युवाहरू छन् । अझ विराज त १५ वर्षकै हुन् । तर, नृत्यमा सबै उस्तै पारंगत । 
त्यतिमात्र होइन, कोरियोग्राफीदेखि भिडियो इडिटिङसम्म आफैँ गर्छन् । सबथोक आफैँ ! पछिल्लो समय उनीहरूको समूहमा किशोरीहरू पनि छन् । 
निर्मल थप्छन्, “सबैले तिमीहरूको समूहमा महिला छ्रैनन् भनेर सोध्छन्, हामीले प्रोत्साहित पनि गरिरहेका छौँ, मोफसलमा बसेर काम गर्न असाध्यै गाह्रो छ । किशोरीहरू त्यो पनि नाच्न जाने भनेपछि समाज हेर्ने दृष्टिकोणमा अझै फेरबदल आइसकेको छैन । हामी चिर्दैछौँ । त्यसमाथि गाउँका किशोरीहरू खुलेर अभिनयमा आउनै सक्दैनन्, असाध्यै गाह्रो छ !”
० ० ०
‘भीमफेदी गाइज’ नृत्य समूहमात्र होइन, उसले लघु चलचित्र पनि निर्माण गर्दैछ । त्यसो त पछिल्लो समय भीमफेदी गाइजका भिडियोहरू धेरै हेरिएकामा दर्ज भएका छन् । 
केही समय अघिमात्रै नेपाली चलचित्र ‘गाँठो’ले गरेको देशव्यापी भिडियो प्रतिस्पर्धामा ‘भीमफेदी गाइज’ले एक लाख रुपैयाँ पुरस्कार हात पार्‍यो । ‘कति राख्छस् मनमा कुरा’ बोलको गीतमा गत साउन ७ गते गराइएको भिडियो प्रतियोगितामा यो समूहले पुरस्कार हात पारेको हो ।
देशभरबाट आएका ४१ भिडियोको प्रतिस्पर्धामा युट्युबमा कभर भिडियो बनाएर चर्चित समूह ‘भीमफेदी गाइज’ले सबैलाई पछि पार्‍यो ।
त्यसो त निर्मलले बाबु बोगटी, प्रमोद खरेल, दिल तामाङजस्ता कलाकारको गीतको कोरियोग्राफी र म्युजिक भिडियो निर्देशनसमेत गरिसकेका छन् र चौतर्फी प्रशंसासमेत बटुलेका छन् । 
त्यसबीचमा निर्मलले नृत्य सिकाएका समूहका सदस्य कति त विदेश गइसके । कोही फर्केर पुनः नृत्यमा समाहित भएका छन् । 
“जाने–आउने क्रम त चलिरहन्छ,” निर्मल अगाडि भन्छन्, “जुन सपना लिएर नेपालमै भविष्य छ भन्ने देखाउन खोजेको थिएँ, त्यो विस्तारै पूरा हुँदैछ, निकै खुसी छु म ।”
केही समयअघि भीमफेदी गाविसको बजेटमा लघु चलचित्र ‘टुकी’ निर्माण गरे । त्यसले पनि नसोचेकै प्रतिक्रिया पाएपछि उनीहरू निकै हौसिएका छन् । समूहलाई गाउँमा चेतना जागृत गराउने समूहको रूपमा पनि विकास गराउने लक्ष्य लिएका छन् ।
सुरुवातमा यो समूहले आफूखुसी केही गीतमा डान्स गरेर युट्युबमा राखेका थिए । पछि धेरैले मन पराउन थालेपछि उनीहरूले गीतको सर्जकको अनुमति लिएरै कभर तयार पार्न थालेका छन् । त्यसबापत उनीहरूले केही पैसा पनि लिने गरेका छन् । “पछिल्लो समय हामीलाई गीतका सर्जकले आफैँ ‘मेरो गीतको डान्स कभर बनाउनुपर्‍यो’ भन्नुहुन्छ,” निर्मल बताउँछन् ।  
निरन्तर लागिपरे जस्तोसुकै कामबाट पनि सफलता हात पार्न सकिन्छ र ‘खोजी’को पात्र बन्न सकिन्छ तथा मोफसल बसेर पनि ओझेल परिँदैन भन्ने उदाहरण हो, ‘भीमफेदी गाइज’ !
पछिल्लो समय इन्टरनेट पुस्ताले भन्न थालेको छ– ‘भीमफेदी गाइज रक !’
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC