site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
काँचको कफिन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
लेखक परिचय
नाम: अर्किड व्यञ्जनकार 
उमेर: ४७
परिवार: श्रीमती, निःसन्तान
कैदी नम्बर: ३७३
 
शहरमा एउटा विधुर सर्जन थियो ।
चिकित्सा क्षेत्रमा प्रतिष्ठित ऊ आफ्ना दौँतरीहरूमाझ लोकप्रिय थियो । उसको विनम्रता तथा शीलस्वभावको सर्वत्र प्रशंसा गरिन्थ्यो । उसकी पत्नी मास छर्न गएको पनि अब त युगौँ भइसकेको थियो । उसका केशमात्र नभई दाह्री र जुँगा पनि आरुका फूलझैँ सेताम्मे भइसकेका थिए ।
सर्जनको जीवन समग्रमा भन्नुपर्दा सन्तोषजनक नै थियो । 
यद्यपि उसको अवकाश–जीवन बडो एकान्तमय भइदियो । ओल्ड दौँतरीहरू प्रायः एकेक गरी वाकिङ–स्टिक टेक्दै स्वर्गका सिँढीतर्फ लम्की गए र जो–जो बाँकी थिए, ती पनि सम्पर्कदेखि टाढा कतै जीवनको एकान्त टापुमा बसोबास गर्थे । सन्तानको जायजन्म नभएकाले नाति–नातिनाको प्रेमिल छत्रछायाँमा बुढ्यौली काट्ने सुविधा पनि उसलाई थिएन । स्वर्गबासी पत्नीको जीवन्त हाँसो, स्पर्श तथा नोकझोकको अभावचाहिँ उसलाई खट्किरहन्थ्यो । पत्नीको स्मृतिले डस्न थालेपछि ऊ आफ्नो सम्झनाको संग्रहालयतिर लुरुलुरु छिथ्र्यो ।
संग्रहालय बङ्गलासितै जोडिएको एकतले भवनमा थियो । यो म्युजियम उसले आफ्नी पत्नीको स्मृतिमा बनाएको थियो, जहाँ पत्नीसित सम्बन्धित सारा चिजविजहरूलाई उसले जतनसाथ सम्हालेर राखेको थियो । म्युजियम छिर्दा उसलाई आफ्नो बूढो शरीरमा युवाकालको स्मृति र ताजगी पुनरागमन भएझैँ लाग्थ्यो । पत्नीले प्रयोग गरेका वस्त्राभूषण, गरगहना, टिकुली, पोते र चुराहरूलाई ऊ स्पर्श गथ्र्यो । पट्याएर मिलाइवरी राखिएका सारी, स्कार्फ र खास्टोहरूमा पत्नीको दिवङ्गत गन्ध सुँघ्थ्यो । 
काँचको ठूलो कफिनमा प्रिजर्भ गरी राखिएको स्वर्गबासी पत्नीलाई ऊ घण्टौँसम्म धीत नमरुन्जेल हेरी बस्थ्यो । मृत शरीर नओइलाओस् भनी समय–समयमा कफिनको ढक्कन खोली सुगन्धित केमिकल्स स्प्रे गथ्र्यो । कफिन आडैको कुुर्सीमा उपरखुट्टी लगाउँदै ऊ न्युज पेपर्सका हेडलाइनहरू जोडजोडले उच्चारण गथ्र्यो ताकि पत्नीको कानमा ती परून् । पत्नीको खातिर ऊ जलालुद्दिन रुमीका पोयट्रीहरू बडो मनोयोगका साथ वाचन गथ्र्यो । 
कहिलेकाहीँ जब घनघोर बर्सात हुन्थ्यो, त्यस्तो बेला ऊ पत्नीसित अम्ब्रेला र रेनकोटहरूका रुमानी चर्चा गर्न रुचाउँथ्यो । बादलमा ठूला–ठूला भ्वाङ परेकाले आज यस्तो बर्सात भइरहेको छ भनी मृत पत्नीको मन बहलाउने प्रयास गथ्र्यो । 
यदाकदा ऊ ड्रिङ्क्स बनाउँथ्यो । आफ्ना लागि सेभेन्टिन यिअर ओल्ड सिङ्गल मल्ट ह्विस्की विथ् टु क्युब्स अफ् आइस र पत्नीका लागि बम्बे सफायर विथ टनिक वाटर एन्ड अ स्लाइस अफ् लाइम । पत्नीको फ्रजाइल गिलास कफिनमाथि थपक्क राख्थ्यो र त्यसमा आफ्नो गिलास ठोक्काउँदै भन्थ्यो– चियर्स ! हल्का रमरम भइसकेपछि ऊ आफ्नो ऐकान्तिक पीडाको दास्तान–ए–बयाँ व्यक्त गथ्र्यो, एकालाप अन्दाजमा । 
लामो–लामो एकालाप गर्दा ऊ कहिल्यै पनि दिवङ्गत पत्नीको मुहार हेर्दैनथ्यो । त्यस्तो बखत ऊ प्रायः पत्नीको कुर्कुच्चासित बात माथ्र्यो । 
एक साँझ सर्जनले पुष्प पसलमा फोन गर्‍यो र भन्यो :
मलाई शहरको सबैभन्दा सुन्दर फूल चाहियो । फ्रेस फूल । पचपन्नऔँ जन्मदिनको कार्डसितै । कार्डमा शुभकामनाका अक्षरहरू सुनौलो देवनागरीमा कुँदिएका हुन् । 
भोलिपल्ट एकाबिहानै स्नान गरेर ऊ चोखो भयो । पुष्प–पसलेले होम डेलिभरी गरिदिएको फूल र कार्डको प्याकेजलाई रिसिभ गर्‍यो । बगैँचामा निस्क्यो । घाँसमा शीतका फेब्रुअरी–थोपाहरू कलिलो घाममा चम्किरहेका थिए । आज पत्नीको पचपन्नऔँ जन्मदिन थियो । आजको दिन उसले दिनभर पत्नीसितै सेलिब्रेट गर्नेछ । वाल्ट ह्विटम्यानको कविता वाचन गर्नेछ र भक्तराज आचार्यको ईश्वर वल्लभियन गीत –हजार सपनाहरूको माया लागेर आउँछ– गुनगुनाउनेछ । उसको मन उमङ्गको काव्य तथा गीति उत्सवमा नृत्यमग्न थियो । 
सर्जनले संग्रहालयको द्वार खोल्यो । चाल मारेर भित्र छिर्‍यो तर एक्कासि ऊ स्तब्ध भयो । उसको मन खंग्रङ्ग भयो । म्युजियममा काँचको कफिन थिएन । काँचको कफिन चोरी भएको थियो । पचपन्नौँ बर्थ–डेमा सर्जनकी दिवंगत पत्नीलाई कफिन बक्ससितै कसैले म्युजियमबाट रहस्यमय तरिकाले गायब गरिदिएकोे थियो ।
त्यो काँचको कफिनसित तपाईँको जन्मकैद कसरी कनेक्टेड छ ? 
बीचैमा किन प्वाक्क बोल्नु परेको ? सोमत छैन तपाईँको ? साहित्यिक संवाददाताले अवलम्बन गर्नुपर्ने अलिकति पनि पेसन्स छैन तपाईँसित ? 
तैपनि...
केको तैपनि ? 
यो कथा र तपाईँको जेल सजायबीच कस्तो सम्बन्ध छ ? 
तपाईँलाई कसले भन्यो कि यो कथा हो भनेर ? 
किन र ? यो कथा होइन ? 
होइन ।
कथा नभए के हो त उसो भए ? 
उपन्यास । 
अच्छा–अच्छा, आई सी ! तर तपाईँले सुनाउँदै गरेको यो प्रसङ्गलाई उपन्यासको कथा भन्न मिल्दैन ? 
मिल्दैन । 
किन मिल्दैन ? 
मैले मिल्दैन भनेपछि मिल्दैन । 
अलराइट ! यो उपन्यासको नामचाहिँ के हो नि ? 
काँचको कफिन । यो एक मेटाफिक्सनल उपन्यास हो । 
‘काँचको कफिन’ दुई अध्यायमा विभाजित उपन्यास हो । जुन प्रसंग मैले तपाईँलाई भर्खरै सुनाएँ, त्यो उपन्यासको प्रथम अध्याय हो । यसलाई एक जना लामकाने साहित्यकारले लेखेको हो अथवा त्यो उपन्यासकारले लेखेको हो, जसका कान गर्दनसम्म झुन्डिएका छन् । सर्जनको अवकाश–जीवनको प्रसंग उल्लेख गरिएको उक्त च्याप्टर प्रमुख प्रोटागनिस्टको म्युजियमबाट काँचको कफिन हराएको विवरणसँगै सक्किन्छ । यो च्याप्टरको शीर्षक हो– सर्जन । 
अब म तपाईँलाई दोस्रो च्याप्टरको प्रसंग सुनाउँछु । 
एक छिन, एक छिन ।
के भयो फेरि ? केको एक छिन ?
यो दोस्रो अध्यायको शीर्षकचाहिँ के हो ? 
सर्जक । 
अच्छा ?
दोस्रो च्याप्टरमा सर्जक अर्थात् उपन्यासकार आफैं उपन्यासभित्र प्रवेश गर्छ । 
हाउ इन्ट्रेस्टिङ ! एउटा सर्जन, अर्को सर्जक ! तपार्इँको दुवै च्याप्टरका शीर्षकहरू श्रुतिमधुरसम्पन्न रहेछन् । एम आई राइट ?
यु आर शत्प्रतिशत् राइट । अब सुन्नुस्, सर्जक अर्थात् उपन्यासकारको कारुणिक व्यथा । जस्तो कि मैले अघि नै बताएँ, यो एक मेटाफिक्सनल उपन्यास हो । यस्तो उपन्यासमा– लेखक, सर्जक अथवा उपन्यासकार जे भन्नुस्– उपन्यासभित्र छिर्छ र आफ्नो पात्रको जीवनमा प्रशस्त जटिलताहरू क्रियट गरिदिन्छ । तर आश्चर्य यहाँ के भइदियो भने पात्रको जीवनमा नभई जटिलता सर्जकको जीवनमा उत्पन्न भयो । 
उपन्यासको दोस्रो च्याप्टर लेखक अर्थात् सर्जकको मानसिक त्रासदी वरपर घुम्छ । उसलाई डिप डाउन, भित्र कताकता के लाग्न थाल्छ भने आफ्नै सर्जन पात्रद्वारा कुनै दिन ऊ मारिइनेछ । उसको दिमागमा के सोचाइले जरा गाडेर बस्छ भने सर्जन उसको हत्या गर्ने षडयन्त्र रच्दै छ । 
हलुसिनेटरी स्वप्न तथा कल्पनाद्वारा ऊ मानसिकरूपमा भताभुंग हुँदै जान्छ । साहित्यिक सर्कल र जमघटहरूमा उसको उपस्थिति पातलिँदै जान्छ । लिट्रेचर फेस्टिभलको एउटा प्यानल डिक्सकसनमा मोडरेटरले उसलाई ‘नेपाली उपन्यासको भविष्य तपाईँ कस्तो देख्नुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उसले यस्तो जवाफ दिएको थियो–
“नेपाली उपन्यासको भविष्य काँचको कफिनभित्र बन्द छ र त्यो काँचको कफिन कवि, निबन्धकार तथा समालोचकजस्ता गैर–आख्यानकारहरूको झुन्ड सरदारहरूले चोरेका छन् ।”
एउटा फेल्लो उपन्यासकारले आफ्नो नयाँ उपन्यासको विमोचन कार्यक्रममा उसलाई शुभकामना मन्तव्य व्यक्त गर्न मन्चमा निम्तो गर्‍यो । फेल्लो उपन्यासकारलाई हेर्दै उसले माइकमा यस्तो भन्यो–
“निज उपन्यासकारलाई काँचको कफिनभित्र बन्द गरी भोटे ताल्चा लगाइदिनुपर्छ र त्यो काँचको कफिनलाई बाग्मती या विष्णुमती जता पायक पर्छ, त्यतै बगाइदिनु पर्छ ।”
साहित्यिक फेल्लाज् तथा कमरेडहरूबाट ऊ टाढिँदै गयो ।
आफू वरपरका सम्पूर्ण सब्जेक्ट तथा अब्जेक्टमा ऊ सर्जन देख्थ्यो । यो एक लेखकको अकल्पनीय पात्रभय थियो । आफ्नै पात्रसित असीमित भय, डर, त्रास । यो एक लेखकको त्यस्तो भयावह मानसिक स्थिति थियो, जसको कुनै मनोवैज्ञानिक उपचार थिएन ।
उपन्यासको दोस्रो च्याप्टर ‘सर्जक’मा यिनै प्रसंगहरूको रोचक वर्णन छ । 
सर्जक आफ्नै पात्र सर्जनसित किन यतिबिघ्न डराएको थियो ? 
किनभने काँचको कफिन म्युजियमबाट उसैले चोरी गरेको थियो । त्यो साँझ सर्जनले दिवंगत पत्नीका लागि शहरको सबैभन्दा सुन्दर फूल र बर्थ–डे–कार्ड अर्डर गर्दा सर्जक दुई सहयोगीसहित म्युजियमभित्र छिरेको थियो । 
उफ् ! कस्तो अफसोसजनक कुरा !
सर्जकलाई के लाग्थ्यो भने चोरको खोजी गर्दै सर्जन कुनै दिन उसको घरमा आउनेछ । बेडरुममा पुग्नेछ र चक्कुले घोची–घोची या घाँटी थिचेर या रिभोल्भरले उसको खोपडी उडाएर हत्या गर्नेछ । 
किन ?
किनकि सर्जकले सर्जनकी पत्नीलाई काँचको कफिनबाट निकालेर आफ्नो घरको छिँडीमुनि गाडिदिएको थियो । 
सर्जकले किन त्यस्तो गरेको थियो ? 
किनकि ऊ ठान्थ्यो, म्युजियममा दिवंगत पत्नीसामु सर्जनले काव्यवाचन गर्नु, ह्विस्की चियर्स गर्नु तथा भावुक एकालाप गर्नु विसङ्गत तथा अप्राकृतिक हुँदै गइरहेछ । मृत्युको अपमान भइरहेछ । लास गन्हाउँदै गइरहेको कुरा सर्जनलाई थाहै थिएन । कहाँसम्म भने म्युजियमको प्रसंग उल्लेख गरिएको उपन्यासको पेज, पाना, पृष्ठ –तपाईँ जे भन्नुस्– पनि लासको दुर्गन्धले गन्हाउन थालेको थियो । तर यो कुराप्रति सर्जनले आँखा र नाक बन्द गरेको थियो । त्यसैले लासको अन्तिम संस्कार गर्नका निम्ति त्यो साँझ सर्जकले काँचको कफिन चोरेको थियो । 
सर्जकले सर्जनकी डेड वाइफलाई घरको छिँडीमा गाडिदियो । ओके, इट्स फाइन । तर काँचको कफिनचाहिँ के भयो ?
काँचको कफिनलाई सर्जकले बुइँगलको पूजाकोठामा राख्यो ।
योचाहिँ खास्साको कुरा भयो । काँचको कफिन चोर्नुको पछाडि सर्जकको उद्देश्य त खास्साको रहेछ । होइन त ? इजन्ट इट सो ?
यस् अफकोर्स माई फ्रेन्ड ! यो त मैले आफ्नो उपन्यासबारे तपाईँसमक्ष बताएको सङ्क्षिप्त कथानक मात्रै हो । मौखिक कथांश मात्रै हो तर मौलिक खालको थ्रिलिङ अनुभव गर्नका निम्ति त तपाईँले यो मेटाफिक्सनल उपन्यास –काँचको कफिन– नै आद्योपान्त पढ्नुपर्ने हुन्छ । 
यति भन्दै अब म उपन्यासको डेड एन्डतर्फ जान्छु, है त ? सुन्नुस् ।
वर्षौँपछि एक दिन सर्जकलाई बुइँगलको पूजाकोठाको याद आयो । वास्तवमा उसको स्मृति च्यूत भइसकेको थियो तर त्यो दिन उसलाई कसरी पूजा कोठाको एकाएक याद आयो, यो एक चामत्कारिक कुरो थियो । एउटा हथौडा लिई ऊ बुइँगलमा गयो र पूजाकोठाको ढोकामा झुन्डिएको, खिया लागेको ताल्चा तोड्यो । 
पूजा कोठामा काँचको कफिन थियो । 
सर्जकले कफिनको ढक्कन कापबाट अलिकति उघार्‍यो । त्यसपछि बडो जतनका साथ काँचको कफिनभित्र छिर्‍यो । सीधा लम्पसार परी ढल्यो । उसले फेर्ने श्वासले कफिनको काँच क्रमशः बाफिँदै गयो, बाफिँदै गयो । अन्ततः काँचको कफिनमा बाफको पत्रपत्र जम्दै गयो । सर्जक बाफभित्र यसरी अदृश्य हुँदै गयो, जसरी घना कुहिरोमा कुनै भिक्षु अदृश्य हुँदै जान्छ । जसरी कुहिरोमा काग हराउँछ ।
मलाई सर्जन र सर्जकको यस्तो निराशाजनक मेटाफिक्सनल उपन्यासको रचना गरेकोमा तथा आफ्ना पात्रहरूप्रति कुनै दयाभाव नराखी पाशविक क्रुरताका साथ निजहरूसित व्यवहार गरेकोमा यहाँ यो जेलमा राखिएको छ । महिला पात्रलाई उचित सम्मान नगरेको तथा उपन्यासकी एकमात्र लेडी क्यारेक्टरलाई काँचको कफिनमा बन्द गरिदिनुको पछाडि लेखकको पितृसत्तात्मक अहङ्कारले काम गरेको छ भन्ने अभियोग लगाई मलाई जन्मकैदको सजाय दिइएको छ । 
यो कुरा जायज हो कि होइन, उपन्यास पढेपछि कृपया मलाई बताइदिनुहोला । 
 
(नगरकोटीको ‘घाटमान्डु’ आज शनिबार विमोनच हुँदैछ)
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC