साहित्य
“दसैं आइरहेको थियो । एउटा नयाँ खालको गीत गरौं भन्ने कुरा भइरहेको थियो,” जेम्स प्रधानले भने, “त्यतिकैमा प्रेम बस्नेत दाइले शब्द लेख्नुभयो–
दसैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला
चोरी ल्याउँला
धत् चोर ! म त छुट्टै बसौँला
दसैं नै हो कि यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको ।
गीत चलनचल्तीको भन्दा फरक थियो । जेम्सलाई पनि क्रिएटिभ काम गरौं भन्ने लाग्यो । हुन त जेम्सको आफ्नै छुट्टै पहिचान छ । जुन पहिचानले उनलाई चलनचल्तीको भन्दा फरक काम गर्नैपर्ने बाध्यता थियो र छ । फरक तरिकाले सोच्न थाले एरेन्ज गर्न । यसलाई कम्पोज न्हु बज्राचार्यले गरेका थिए । कम्पोज त अरुभन्दा फरक नै आयो । तर, योगेश दाइ (योगेश्वर अमात्य)मात्रै होइन, यसमा अरु पनि कलाकार चाहिने भयो । कसलाई राख्ने भन्ने तनावमा परे जेम्स । ५÷६ वर्षको छोराछोरीदेखि टिनएजर छोराछोरी र श्रीमतीको रोल गर्ने कलाकार चाहियो । दसैं लागिसकेको थियो । कलाकार जुटाउन गाह्रो भयो । अन्ततः समय घर्कियो । त्यो सालको दसैं गयो तर रिलिज हुन सकेन । मन केही खिन्न भयो ।
लामो समय हास्य टेलिचलचित्र ‘तीतो सत्य’ बनाएर अहिले बन्द गरेका दीपकराज गिरी र दीपाश्री निरौलालाई त्यो गीतमा समोवश गर्ने जेम्समा सोच आयो । त्यो बेला उनीहरू रेडियो नेपालमा ‘धनियाँ रामविलास’ बनेर रेडियो कार्यक्रम चलाउँथे । योगेश्वरको टिनएजर छोरो दीपकराज गिरी बने भने श्रीमती दप्पाश्री श्रीमती बनिन् । अझै चाहियो साना छोराछोरी । यसका लागि आफ्नै छोरीको स्वर प्रयोग गरे । “यसरी तयार भयो ‘दसैं नै हो कि यो मेरो दशा फर्की आएको’,” जेम्सले भने, “पछि यही गीत निकै हिट भयो । अहिले दसैं भन्नेबित्तिकै १५ वर्षअघिको त्यही गीत पहिले सबैको मुख झुण्डिने गर्छ ।”
योगेश्वर अमात्य सधैं केही नयाँ गरौं भन्ने मान्छे हुन् । उनमा त्यो जोश अझै पनि छ । त्यो बेला झनै जोशिला थिए । त्यही भएर यो गीत तयार भयो । “योगेश्वर दाइ त्यस्तो व्यक्ति हो, जो सधैं फरक र आकर्षक केही गर्नुपर्छ भन्नुहुन्छ,” जेम्स भन्छन्, “योगश्वर दाइ, दीपक बज्राचार्य हामी बस्दा नेपाली संगीतमा मिलेर केही नयाँ गर्नुपर्छ भन्छौं । सामान्य मौखिक प्लान बनाउँछौं तर सबै कुरामै सीमित भइरहेको छ । सबै एक ठाउँमा बसेर काम गर्ने अवसर जुटेकै छैन ।”
० ० ०
काठमाडौंको नरदेवीमा जन्मिएका जेम्स सानो छँदा पनि गीत गाउँथे । कहिलेदेखि गीत गाउन थाले, उनलाई थाहै छैन । जेम्स भन्छन्, “स्कुल कलेजमा गीत गाउन लगाउँदा म लजाई–लजाई गाउँथें । खुब लाज लाग्थ्यो ।”
‘जीवन हाम्रो सङ्लो पानी हो, सलल बगौं दाजै खोलाझैं सलल’ यो गीत कसको हो थाहा थिएन । तर, त्यो बेला निकै चल्तिको थियो । जेम्स स्कुल कलेजमा यही गीत गाउँथे । राष्ट्रिय गीत गाउँदा सिधा उभिएर गाउँथे । आधुनिक, लोक, पप, रक सबैखालका गीत गाउने उनी अग्रज कलाकार नारायण गोपाल, फत्तेमान, बच्चु कैलाशका गीत भने गाउनका लागि आकर्षित हुँदैनथे ।
चकचके, हाउडे स्वाभावका जेम्सलाई घरमा भविष्यमा यसले गरी खाँदैन भन्थे । पछि उनी साथीहरूसँग गीत गाउन थाले । जेम्स त्यो बेला मादलदेखि गिटार र ड्रमसम्म बजाउँथे । कोहीसँग नसिके पनि उनी सबैथोक साम्रोसँग बजाउँथे । बजाउन केही नपाए उनी टेबुल भए पनि ठटाउँथे । त्यो उनलाई भगवानले दिएको कला थियो । साथीहरूले स्वर पनि राम्रो छ भन्थे । उनी क्लासिकलबाहेक सबै प्रकारका गीत गाउँथे ।
जीवनको अवोध कालखण्ड बाल्यकालमा उनले थाहै नपाई गीत गाए पनि उनलाई म गायक, संगीतकार वा एरेन्जर बन्छु भन्नेचाहिँ कहिल्यै लागेन । जेम्सले योजना बनाएर कहिल्यै काम गरेनन् । त्यो समय संगीतलाई नै व्यवसाय बनाउन सकिन्छ भन्ने समय नभएर पनि होला सायद उनले नसोचेका । तर, उनको अरु केही बन्छु भन्ने योजना पनि थिएन । परिवार भने डाक्टर, पाइलट वा इन्जिनियर मध्ये एक बन्नुपर्छ भन्थ्यो ।
आमाले जेम्सलाई साइन्स पढाउन दार्जिलिङ पठाउने योजना बनाए पनि हजुरआमाले जेम्सलाई दार्जिलिङ पठाउन मानिन् । सायद जेम्ज दार्जिलिङ गएका भए अहिले सांगीतिक क्षेत्रमा हुने थिइनन् होला । त्यसैले उनी भन्छन्, ‘हजुरआमाको निर्णयलाई साधुवाद !’
कलेज पढ्दापढ्दै उनी रवीन बाम, राम्चा ज्यापुलगायतका केही साथीसँग धरान पुगे । धरान पुगेका साथीहरूले उनलाई भेडेटार जाऊँ भने । उनीहरू भेडेटार पुगे । उच्च पहाड, बादल लागिरहेको प्राकृतिक दृश्य, चिसो हावापानी । उनलाई लाग्यो, स्वर्ग भनेको सायद यही हो । जेम्सलाई भेडेटारको मनोरम दृश्यले मन त लोभ्यायो नै, जिन्दगीलाई एउटा बाटोमा डो¥यायो पनि । उनलाई त्यसपछि संगीतमा लाग्ने रहर पलायो । जेम्स भन्छन्, “त्यही भेडेटारको वातावरणले मलाई संगीतमा ढल्कायो ।” त्यहाँबाट फर्किएपछि उनी संगीत साधनामा तल्लिन हुन थाले । एल्बम निकाल्नुपर्छ भन्ने लाग्यो । र, सुरु गरे ‘भेडेटार’ नामक एल्बमको तयारी । लाइभ बाजासहित रेकर्ड भएको एब्लम पनि रिलिज भयो । तर, त्यो चलेन । उनले सोचे, अब यसरी हुँदैन, मेहनत गर्नुपर्छ । स्रोताको मनमा स्थान जमाउन नयाँ नौलो गर्नुपर्छ ।
उनको परिवार टेलिकम्युनिकेसन इक्यपुमेन्टको बिजनेस गथ्र्यो । परिवारको त्यही बिजनेसलाई साथ दिइरहेका जेम्स अब त्यो छाडेर पूरै समय संगीत साधनामा होमिए ।
साथीहरूले कसैले लोक, कसैले लोकदाहोरी त कोहीले आधुनिक गीत गाऊ भन्ने सल्लाह दिन्थे । जेम्सलाई भने यीभन्दा पनि फरक दिन नसके कुहिरोको काग भइन्छ भन्ने लाथ्यो ।
त्यसैले उनी संगीतको औपचारिक कक्षा लिन नपाए पनि भेटे र सकेसम्म संगीतका किताब ल्याएर पढ्थे । संगीतकर्मीहरूसँग भेट्न रुचाउँथे । टेप रेकर्डरमा स्वर रेकर्ड गराउँथे र त्यो सुनेर सुधार गर्दै जान्थे । स्टुडियो निर्माणका लागि सामान जम्मा गर्न थाले । र, सानो आफ्नै होम स्टुडियो खोले । जहाँ उनी गीतसंगीतको काम गर्न थाले ।
० ० ०
जेम्सको ‘भै गो उनी जाऊ’ पहिलो चलेको गीत थियो, जसले उनलाई स्रोतामाझ चिनायो । यो गीतमा भीम तुलाधर र दीपक बज्राचार्यले सहयोग गरे । यो गीत गर्दा उनलाई धेरैबाट धेरै सुझाव आएका थिए । जेम्सले भने कसैलेको कुरा सुनेन् । गिटार र सारंगीको फ्युजन गरे, परिणाम आयो ‘भै गो नि जाउ’ । यसमा शब्द, संगीत र एरेन्ज पनि उनकै थियो ।
नवीन के भट्टराई, धिरज राई, मोहन भुषाल, योगेश्वर अमात्यका गीतहरूको अधिपत्य रहेको बेला त्यही सूचीमा जेम्स पनि मिसिए । उनको परिचयमात्रै बनेन, जिम्मेवारी पनि थपियो । उनीबाट स्रोताले नयाँ स्वादको अपेक्षा गर्न थाले । उनले स्रोताको नाडी छामे, स्रोताको टेस्ट केमा छ भन्ने थाहा पाए । अहिले मल्टिनेसनल कम्पनीका धेरै उनीसँगै ठोक्किन आइपुग्छन् । कोकोकोलादेखि लाइफब्वाय साबुनसम्म उनकै स्वर र कम्पोजमा रेडियो तथा टेलिभजिनमा घन्किरहेका छन् । यसले जेम्सलाई झनै थाहा भएको छ, स्रोताको चाहना के र कस्तो सुर र तालमा छ भन्ने । त्यसैले उनलाई गीत निकाल्न स्रोताको अपेक्षाबारे रिसर्च गर्नुपर्दैन ।
आफ्नाभन्दा अरुका गीतमा धेरै काम गरेका जेम्सले अहिलेसम्म करिब ५ दर्जन गीत रेकर्ड गराएका छन् । तर, उनका त्यस्ता धेरै गीत छन् जुन स्रोताले निकै मन पराएका छन् । दीपक बज्राचार्यका धेरै हिट नम्बरमा उनकै कम्पोज र एरेन्ज छ । दिपेशकिशोर, नवीन के भट्टराई र योगेश्वर अमात्यका गीतमा पनि उनले थुप्रै कम्पोज, एरेन्ज र शब्द छन् । ‘के म तिम्रो साथी बन्न सक्छु’ पनि उनकै गीत हो ।
यो देश देखेर बेला बेला उनलाई अचम्म लाग्छ । “कति यस्ता गीत पनि छन् मेरा जुन चलेका गीत भन्दा राम्रो लाग्छ मलाई । तर, स्रोताले मन पराइदिनु हुन्न,” जेम्स भन्छन्, “केही स्रोता तथा साथीले तपाईंको फलानो गीत नबजे पनि अरुभन्दा राम्रो छ भन्दा खुसी लाग्छ ।” कति भने सोच्दै नसोचेका गीत पनि चलिदिन्छन् ।
दीपेशकिशोरले गाएको ‘के म तिम्रो साथी बन्न सक्छु’ धेरै वर्ष डम्प भएर बसिरहेको थियो । जसले जेम्सलाई कम्पोज चाहियो भने, ती व्यक्तिले त्यो कम्पोज मन पराएनन् । “दीपेशलाई नयाँ कम्पोज चाहिएको रहेछ,” जेम्स सम्झन्छन्, “मैले पुरानो अरु कसैका लागि गरेको कम्पोज छ भनें, उनले सुनौ न त भने । त्यो उनले मन पराए र रेकर्ड गर्यौं । पछि त्यही गीत लोकप्रिय भयो ।”
भनिन्छ, सपना सपनै हो, त्यो विपना कहिल्यै हुन सक्तैन । विपनामा सपना देख्नुपर्छ, अनिमात्रै लक्ष्य पूरा हुन्छ भन्ने सामान्य मान्यता छ । तर, जेम्सको मामलामा भने यो अलि फरक छ । उनी विपनाको भोगाइ सपनामा देख्दैनन् । बरु रातको सपनालाई विपनामा उतार्छन् ।
जेम्सलाई कम्पोजिसन र शब्द अनौठो तरिकाले फुर्दोरहेछ । कहिलेकाहीँ उनी सपनामा नयाँ गीत देख्छन् । नयाँ मेलोडी आउँछ । उनी राति नै उठ्छन् । गीत हो भने डायरीमा टिप्छन् र मेलोडी हो भने रेकर्ड गर्छन् । यतिमात्रै पनि होइन, उनलाई कहिले हिँडिरहेका बेला पनि यस्तै हुन्छ । जुन बेला आयो, त्यही बेला त्यसलाई ‘क्यास’ गर्छन् । कतिपटक सपनामा देखेको बिर्सिन्छन्, त्यसैले त्यसलाई सम्झन निकै हैरान हुने गरेको उनी बताउँछन् ।
यो साल अर्को नयाँ केही गर्ने योजना रहेछ जेम्सको । त्यसका लागि उनी दसैं र तिहारको बीचमा काठमाडौंबाहिर जाने सोचमा रहेछन् । रारा या खप्तड गएर उतै भिडियो सुट र गीत तयार गर्ने उनको प्लान छ, जुन बिल्कुल नौलो हुनेछ । अहिलेसम्म कसैले नगरेको काम हुनेछ ।
० ० ०
जेम्सको अर्को फरक पाटो पनि छ । जो धेरैलाई थाहा नहुन पनि सक्छ । त्यो हो–भिडियोसँगको उनको सम्बन्ध । संगीतभन्दा पहिले उनी भिडियोको काम गर्थे । त्यो बेलादेखि नै उनी चलचित्र बनाउने सोचमा थिए । त्यो सपनाले अहिलेसम्म साकार रूप लिन सकेको छैन । अहिले बनिरहेका भन्दा केही छुट्टै कन्सेप्टको तीन वटा चलचित्रको स्क्रिप्ट छ उनीसँग । तर, उनले त्यसलाई चलचित्रमा ढाल्न सकिरहेका छैनन् । यसका लागि बजेट खोजिरहेको उनले सुनाए ।
भने, “म आफैं सबै छोडेर चलचित्रमा समय दिन पनि सकिरहेको छैन । त्यसैले यसका लागि मैले निर्माता खोजिरहेको छु । मलाई अहिले पत्याइरहनु भएको छैन । तर, मसँग गीतमा झैं नौलो चलचित्रको स्क्रिप्ट छ ।”
चलचित्र बनाउने योजनाले अहिलेसम्म मूर्त रूप नलिए पनि त्यो समय आएपछि सफल हुने आशामा छन्, जेम्स । के थाहा, गीतमा जस्तै जेम्सको चलचित्रले पनि नयाँ ट्रेन्ड बसाउने पो हो कि !
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३ ०८:३७
प्रतिक्रिया दिनुहोस्