विदेश
काठमाडौं । भारत र पाकिस्तानबीच बढेको तनावको मारमा बलिउडमा कार्यरत पाकिस्तानी कलाकार र निर्माता पनि परेका छन् ।
महाराष्ट्र निर्माण सेना नामको संगठनले पाकिस्तानी कलाकारलाई ४८ घन्टाभित्र देश छाडेर नगए कारबाही गर्ने धम्की दिएपछि फवाद खान, माहिरा खानले भारत छाडेका छन् । चित्रपट कर्मचारी सेनाका प्रमुख अमेय खोपकरले पाकिस्तानी कलाकारलाई मात्र हैन उनीहरूलाई काम दिने निर्माता, निर्देशकमाथि पनि कारबाही गर्ने धम्की दिएका छन् ।
यसैबीच पत्रकार सम्मेलन गरेर अभिनेता सलमान खानले भारत र पाकिस्तानबीच शान्ति कायम राख्नु पर्नेमा जोड दिएका छन् । उनले आतंककारीमाथि कारबाही हुनु उचित हो भन्दै कलाकार आतंककारी हैनन् भनेको दी टाइम्स अफ इन्डियाले जनाएको छ । सलमानले भनेका छन् - "उनीहरू (पाकिस्तानी अभिनेता) कलाकार हुन् आतंककारी हैनन् । उनीहरूलाई सरकारले नै अनुमति र प्रवेशाज्ञा दिएको हुन्छ ।"
भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनका अध्यक्ष पहलाज निहलानीले दुई देशबीच सम्बन्ध राम्रो भएका बेला पाकिस्तानी कलाकारलाई खेलाइएका फिल्महरू चलाउन रोक्नु नहुने धारणा प्रकट गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १९:५०
प्रतिक्रिया दिनुहोस्