विशेष
काठमाडौं । सरकारले विप्रेषण (रेमिट्यान्स) लाई पुँजी निर्माणमा प्रयोग गर्न ल्याएको वैदेशिक रोजगार वचतपत्रमा लगानी ज्यादै न्यून भएको पाइएको छ ।
वैदेशिक रोजगारीमा गएका धेरै जसो कामदारलाई बचतपत्रका बारेमा जानकारी नभएको कारण ०.६ प्रतिशतले मात्र लगानी भएको छ । अझै ९९.४ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रमा लगानी गरेका छैन । बचतपत्र सम्बन्धी जानकारी नभएर लगानी नगर्नेको अंश ७३.६ प्रतिशत छ भने बचत रकम नभएर वा न्यून रहेकोले लगानी गर्न नसक्नेको अंश २५.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका धेरै जसो व्यक्तिले वैदेशिक रोजगार बचतपत्रको जानकारी नभएको कारण लगानी गर्नेको संख्या न्यून भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनका अनुसार बचतपत्रको व्यापक प्रचार–प्रसार गर्नु पर्ने आवश्कता देखिएको छ । रेमिट्यान्स कम्पनी, वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम डेस्क मार्फत वैदेशिक रोजगार बचत पत्रका बारेमा जानकारी दिनुपर्ने उनको सुझाव छ । यसलाई थप प्रभावकारी बनाउन लगानी गर्ने विधि तथा लगानी बापत प्राप्त हुने व्याजदर लगायतको जानकारी गराउने पुस्तिका तयार गरी व्यापक प्रचार प्रसार गर्नु आवश्यक देखिएको उनको भनाइ छ ।
विप्रेषण आप्रवाहलाई वैधानिक माध्यमबाट भित्र्याउन र पुँजी निर्माणमा परिचालन गर्न सरकारले पनि आर्थिक वर्ष ०६६/०६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्कासन सुरु गरेको हो । निष्कासन गरेको पहिलो वर्षमा ४० लाख बराबरको बचतपत्र बिक्री भएको थियो । त्यसभन्दा पछिल्ला प्रत्येक वर्ष बचतपत्रको निष्कासन गरिए पनि आर्थिक वर्ष ०७१/०७२ को अन्त्यसम्म २१ करोड ५० लाख मात्र परिचालन भएको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्थाहरूमा उच्च तरलता रहेकाले सरकारले निष्कासन गर्ने अन्य ऋणपत्रमा आकर्षण भएपनि वैदेशिक रोजगार बचतपत्रको बिक्रीबाट भने अपेक्षित रूपमा ऋण उठाउन नसकेको देखिएको छ । बचतपत्रमा प्रदान गरिएको व्याजदर हालको मुद्रास्फीतिको हाराहारीमा मात्र रहेकोले वास्तविक व्याजदर शून्य प्रायः रहेको छ । आयोजनामुखी बण्ड जारी हुन नसकेको र उचित प्रचार–प्रसारको समेत कमी रहेकाले नेपालमा वैदेशिक रोजगार बचतपत्र अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
वैदेशिक रोजगार बचतपत्रको तुलनामा सेयर÷पुँजी बजारमा लगानी गर्नेको संख्या केही उच्च रहेको छ । विप्रेषण आय प्राप्त गर्ने घरपरिवारले यस्तो रकम घर–जग्गा जस्ता कम उत्पादनशील क्षेत्रहरूमा सट्टेवाजी लगानी गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा यस्तो लगानी निरुत्साहित गर्न तथा घर–जग्गा कारोबारलाई व्यवस्थित गर्न भू–उपयोग नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाएको छ ।
बचतपत्रको प्रभावकारिता अभिवृद्धि गर्न आयोजनामुखी बनाउन आवश्यक राष्ट्र बैंकले सुझाएको छ । जलविद्युत् लगायतका उच्च प्रतिफलयुक्त उत्पादनशील उद्योगहरूको प्राथमिक सेयर निष्कासनमा एक निश्चित प्रतिशत आरक्षण प्रदान गरी विप्रेषणबाट प्राप्त आयलाई पूर्वाधार एवम् उत्पादनशील क्षेत्रतर्फ आकर्षित गर्न सकिने देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/०६८ मा ‘वैदेशिक रोजगार बचतपत्र कार्यविधि’ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १८:४४
प्रतिक्रिया दिनुहोस्