खेल
काठमाडौँ । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कात्तिक ५ गतेसम्म निर्वाचनका गतिविधि नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ । आगामी कात्तिक ८ गते तय भएको अध्यक्ष र उपाध्यक्षको निर्वाचनबारे परेको रिटमा शुक्रबार सुनुवाई गर्दै उच्च अदालतले उक्त आदेश दिएको हो ।
एन्फा अध्यक्ष र वरिष्ठ उपाध्यक्षको निर्वाचन गैरकानुनी तरिकाले हुन् आटेको निर्वाचन रोक्नका लागि रेफ्रि विनोद केसी तथा एन्फाका पूर्व महासचिव लोकबहादुर शाहीले बिहीबार पुनरावेदन अदालतमा मुद्दा दर्ता गराएका थिए । उक्त रिटमा उच्च अदालतका न्यायाधीश प्रेमराज कार्कीको एकल इजलासले अन्तरिम आदेश दिदै विपक्षीहरु युवा तथा खेलुकदमन्त्री र खेलकुद मन्त्रालयलाई उच्च सरकारी वकिलमार्फत् लिखित जवाफ पेस गर्न १५ दिने समय दिएको छ । त्यस्तै इजलासले दुबै पक्षलाई छलफलका लागि ५ गते अदालत बोलाएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि एन्फाको अध्यक्ष पदका लागि नयाँ निर्वाचन हुन लागेको हो । फिफाको ‘इथिक्स कमिटी’ले भ्रष्टाचार अभियोगमा गतवर्षको कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबै गतिविधिबाट १० वर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिवाना तोकेपछि अहिले एन्फा कार्यवाहक अध्यक्षको भरमा चलिरहेको छ । त्यस्तै तत्कालीन कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि एन्फाको उपाध्यक्ष पद पनि रिक्त छ । गत वर्षको जेठमा श्रेष्ठको करेन्ट लागेर निधन भएको थियो ।
आगामी कात्तिक ८ मा तय भएको निर्वाचनका लागि अध्यक्षमा हालका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र हालका उपाध्यक्ष कर्मा्छिरिङ शेर्पाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा मणि कुँवर, उपेन्द्रमान सिंह र दीपक खातीले उमेदवारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १८:४१
प्रतिक्रिया दिनुहोस्