काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने यतिबेला क्यारेबियन लिग (सीपीएल) का लागि वेष्ट इन्डिजमा रहेका छन् । सन्दीप क्यारेबियन लिगअन्तर्गतको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियाट्सबाट क्यारेबियन लिग खेलिरहेका छन् ।
यता, नेपाली क्रिकेट टिम भने केही दिन नेपालमा एसिया कप छनोटको तयारी गरेपछि आज अभ्यास खेलका लागि श्रीलंका जाँदैछ । एसीसी एसिया कप छनोटको तयारीमा टिम जुटिरहँदा सन्दीप श्रीलंकामा हुने अभ्यास खेलमा समेत टिमसँग हुने छैनन् ।
श्रीलंकामा नेपाली क्रिकेट टिमले तीनवटा अभ्यास खेल खेल्नेछ भने त्यहाँबाट अगस्ट २७ मा मलेसिया जानेछ । नेपाली क्रिकेट टिम मलेसिया पुगेपछि सन्दीप अगस्ट २८ मा वेष्ट इन्डिजबाट मलेसिया आउने बताइएको छ । सन्दीप क्यारेबियन लिगमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियाट्सबाट उत्कृष्ट बलिङ गरिरहेका छन् ।
प्याट्रियाट्सले खेलेका तीनवटै खेलमा मुख्य खेलाडीका रुपमा मैदान उत्रिएका सन्दीपले ५ विकेट लिइसकेका छन् । अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म सन्दीप टिममा आवद्ध हुनेछन् ।