काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मल्लकालिन शैलीमा नै रानीपोखरीको पुनर्निर्माण हुने बताएकी छन् । सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै उपमेयर हरिप्रभाले रानीपोखरी प्रताप मल्लकालिनशैली र स्वरुपमा पुनर्निर्माण गरिने बताइन् । रानीपोखरी पुनर्निर्माणको लागि बोलपत्र समेत आह्वान भइसकेकाले पुनर्निर्माणमा शंका नगर्न उनले आग्रह गरिन् ।
सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले रानीपोखरीको यथाशिघ्र मौलिक स्वरुप अनुसार नै पुनर्निर्माण गर्न माग गर्दै महानगरलाई ज्ञापनपत्र बुझाएको हो । रानीपोखरीकोे बाहिरी भागको निर्माण काठमाडौं महानगरपालिका र भित्रि भागको निर्माण पुरातत्व विभागले गर्नेछ । महानगरले आइतबार रानीपोखरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । रानीपोखरी पुनर्निर्माणको लागि बोलपत्र आव्हान भएको यो तेस्रो पटक हो ।