देश

नदीको बीचबाट २६ दिनपछि यसरी गरियो कुकुरको उद्धार

नदीको बीचबाट २६ दिनपछि यसरी गरियो कुकुरको उद्धार

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ गलेश्वरमा काली गण्डकी र राहुघाट नदीको बीचमा एउटा कुकुर देखियो । दुवैतिर ठूलो बाढी आइरहेको थियो । कुकुर दुई भङ्गालोको बीचमा फसेको थियो । कुकर कसरी त्यो बीच बगरमा पुग्यो भनेर बुझ्दा स्थानीयले कसैले बाढीमा फाल्दिएको हुन सक्ने बताए पनि कसले फाल्यो भन्ने कसैलाई थाहा छैन । एक सातासम्म त्यो कुकुरलाई स्थानीयले देखेपनि कुकुर हो पौडेर निष्किहाल्छ नि ! भनेर वास्तै गरेनन् । तर, ९ दिनको दिनदेखि भने स्थानीयले कुकुरलाई खाना पोको पारेर फालिदिन थाले । त्यही खाना खाएर कुकुर बाँचिरहेको थियो । 

नदीको शीरतिर पानी पर्नेक्रम बढ्दै गएपछि विस्तारै नदीमा पानीको सतह पनि बढ्दै गयो । कुकुर रहेको बगर पानीले ढाक्यो । कुकुरले बस्नका लागि बालुवा पनि पाएन । 

साउन ३० गते सामाजिक सञ्जालमा मैले एउटा तस्बिर देखेँ । जुन त्यह कुकुरको थियो । दुबै नदीको पानीले बगर ढाकेपछि कुकुर सहज तरिकाले बस्न सकेन । र उसले आफ्नो ज्यान बचाउन दुइटा खुट्टा टेकेर ठाडो परेर दुइटा खुट्टा माथि उठाएको थियो । आधाभन्दा धेरै शरीर पानीमा थियो । घाँटीदेखि मात्रै बाहिर थियो । सास फेर्न र ज्यान बचाउनका लागि त्यो कुकुरले गरेको प्रयास देख्दा सबैको मन पग्लिन्छ । 

पारीबाट खिचेकाले त्यो कुकुर भन्दा पनि कालो ठूटो जस्तो देखिन्थ्यो । त्यो तस्बिर देखेर मलाई दुःख लाग्यो । मैले त्यो तस्बिर काठमाडौं छँदै देखेको थिएँ । म अस्ति (बिहीबार) बेनी आइपुगेँ, (मेरो घर पनि यहीँ हो) । म त्यो कुकुर रहेको ठाउँमा पुगेर हेरेँ । मलाई एकदम हर्ट भयो । त्यो ठाउँ वरपरका बच्चाहरु कुकुरको त्यस्तो अवस्था देखेर कतिले खाना खान पनि छोडेका रहेका छन् । स्कुलका बच्चाहरु रुन थालेका रहेछन् । 

यहाँ हाम्रो प्रदेशका सांसद विनोद केसीले प्रमुख जिल्ला अधिकारीलाई भन्नु भएछ । प्रमुख जिल्ला अधिकारीले आर्मीको मेजरलाई भन्नुभएछ तर पनि कुकुरको उद्धार भएको रहेनछ ।  मलाई उद्धार गर्नुपर्छ भन्ने लाग्यो । र म कस्तो मेथोड अपनाउँदा उद्धार गर्न सकिन्छ भनेर सोच्न थालेँ ।

कसैले पनि उद्धार नगरेपछि म हिजो बिहानै साथीहरुलाई लिएर गएँ । सय मिटर डोरी किनेर ५ वटा पासो बनायौं डोरीमा । करिब ४ सय पटक हामीले त्यो पासोमा कुकुरलाई पार्ने प्रयास गर्यौं । पासोमा कुकुरलाई पारेर तानेर बाहिर निकाल्ने हाम्रो योजना थियो तर ६ घण्टासम्म प्रयास गर्दा पनि कुकुर पासो भित्र पस्तै पसेन । हामी असफल भयौं ।

पासोमा पार्ने प्रयास असफल भएपछि हामीलाई अर्को विकल्प चाहिएको थियो । माछा मार्ने कुँडुलो ल्यायौं । त्यसलाई अलि बलियो बनाउन प्लाष्टिकको लुज पाइप किन्यौं, त्यसभित्र केवलको तार हालेर ठूलो बनायौं । त्यसमा मान्छे नै पस्नपनि सकिन्थ्यो । ४ वटा लक बनायौं र डोरीले तानेर कुकुर भएको ठाउँमा पुर्यायौं । कुकुर जता चल्छ त्यतै कुँडुलो लग्यौं । त्यसो गर्दागर्दै, कुकुरले अचानक एकपटक कुँडुलोभित्र टाउको छिरायो हामीले दुबैबाट उसको जिउतिर डोरी सार्यौं । संयोग भनौं या सुखद पक्ष कुकुरले आफ्नो खुट्टा पनि कुँडुलोभित्र छिरायो । दुईतिरबाट तान्यौं हामीले सोचेजस्तै कुकुरको कम्मरमा लक भयो । लक भएपछि एकातिरको डोरी छोडेर अर्कोपट्टटीबाट तानेर हामीले कुकरलाई फसेको २६ दिनमा पानीबाट बाहिर निकाल्यौं । यो उद्धारमा हामी करिब ५० जना खटिएका थियौं । कुकुर मेरो हो भन्ने दाबी कसैले गरेन । हामीले भेटेनरीमा ल्याएर सुई लगायौं । गलेश्वरकै स्थानीय तेजेन्द्र बानियाले म पाल्छु भन्नुभयो र उहाँलाई कुकुर जिम्मा लगाएर हामी फर्कियौं । 

उद्धारका योजनाकार प्रकाश पौडेलसँग गरिएको कुराकानीमा आधारित । (पौडेल अखिलका केन्द्रीय सदस्य हुन् ।) 

तपाईंको मत