काठमाडौँ । भदौ एक गतेदेखि लागु हुन लागेको मुलुकी अपराध संहिता ऐन–२०७४ ले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्वीर बनाउन वा प्रकाशन गर्न निषेध गरेको छ । त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय तोकेको छ ।
त्यस्तै कुनै व्यक्तिको अनुमति विना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन पनि कानुनले निषेध गरेको छ । यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा उल्लेख । तर सार्वजनिक स्थानको तस्वीर खिच्दा भने उक्त ऐन आकर्षित हुने छैन ।
यसैबीच भदौ १ गतेदेखि बैंक नोट ( चलनचल्तीमा रहेका नोट)मा केरमेट गर्न नपाइने भएको छ । मुलुकी अपराध संहिता ऐन–२०७४ ले बङ्कै नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैङ्क नोटमा लेख्न नहुने प्रावधान लागु गर्न लागेको हो ।
अधिकार प्राप्त अधिकारीको आदेश विना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न, च्यात्न र लेख्न–कोर्न हुँदैन ।
उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।