काठमाडौं । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा आज बम फेला परेको छ । काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा बम राखेको पाइएपछि नेपाली सेनाको डिस्पोज टोली बोलाइएको छ भने भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर कुकर बम फेला परेको राससले जनाएको छ ।
राससका अनुसार नेपाली सेनाको बम डिस्पोज टोलीले दुवै ठाउँमा भेटिएको बम निस्कृय पारेको छ । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता प्रकान्ड पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको छ ।
काठमाडौं उपत्यकामा भने बन्दको कुनै असर परेको छैन । यसैबीच काठमाडौंको नयाँपाटीमा फेला परेको बम पनि निस्क्रिय बनाइएको छ । गोकर्णेश्वर–२ नयाँपाटी मुल सडकमै कुकर बम राखिएको छ । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकर बममा तार फिट गरेर घडीसमेत राखिएको पाइएको छ ।