काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो दिन नेप्से परिसूचक १६.६९ अंकले घटेर १ हजार १ सय ६३ दशमलव ९४ अंकमा कायम भएको छ ।
आइतबार बजार बन्द हुँदा नेप्से परिसूचक करिब ३ वर्ष अर्थात् ३२ महिना यताकै न्यून बिन्दमा कायम भएको हो । सन् २०१६ को पहिलो दिन ११ सय ६० दशमलव ८४ अंकमा कायम भएको बजार त्यसयता सो भन्दा कम बिन्दुमा पुगेको थिएन ।
यसअघि गत चैत १२ गते पनि नेप्से ११ सय ६८ अंकमा पुगेको थियो । तर आइतबारको यो परिसूचक सोही दिनको भन्दा पनि ५ अंक कम हो । चैत १२ गते एकैदिन ५१ अंक घटेर कायम भएको सो न्यूनतम बिन्दुलाई गत केही सातादेखि निरन्तर आएको गिरावटको क्रमले उछिनेको हो ।
पछिल्लो समय अघिकांश आर्थिक नीति तथा अर्थमन्त्री लगायत उच्च ओहोदामा रहेका व्यक्तिहरुसमेत सेयर बजारको विपक्षमा रहेका कारण बजार न्यून बिन्दुमा पुगेको लगानीकर्ताहरुले बताउँदै आएका छन् । त्यसमा पनि बजेट र मौद्रिक नीतिले समेत सेयर बजारलाई नसमेटेको उनीहरुको आरोप छ ।
अघिल्लो साता एकदिन पनि बढ्न नसकेको सेयर बजार आइतबार पनि १.४१ प्रतिशतले घटेको हो ।
आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम भने केही बढेको छ । गत साताको अन्तिम दिन १९ करोडभन्दा केही बढीको कारोबार भएको सेयर बजारमा आइतबार कूल २५ करोड २ लाख रुपैयाँको सेयर खरीदबिक्री भए । यसक्रममा कुल १६२ कम्पनीका ७ लाख ८१ हजार कित्ता सेयर किनबेच भएका हुन् ।
आइतबार कारोबारमा आउने कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएका छन् । यसदिन कम्पनीको मात्रै ३ करोड ७५ लाख रुपैयाँमा किनबेच भए । आइतबार कम्पनीको सेयर मूल्य ५७ रुपैयाँले घटेर प्रतिकित्ता ९ सय १० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी कारोबारको आधारमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल दोस्रो स्थानमा रह्यो । कम्पनीको १ करोड ८ लाख रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् ।
नेप्से घट्दा आइतबार कारोबारमा आएका सबै ११ समूहमध्ये ९ वटा समूहको समूहगत परिसूचक घटे । घट्नेमा सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक १९३.३७ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १०५.७४ अंकले घटेको छ । यसदिन उत्पादनमूलक समूह ६३.५८, लघुवित्त समूह ३१.५३, जलविद्यूत् समूह २१.१९, विकास बैंक समूह १३.२२ र बैंकिङ समूह ११.८७ अंकले ओरालो लागेका छन् । उता होटल र ट्रेडिङ समूह भने क्रमशः ६.७३ र २.११ अंकले उकालो लागे ।
आइतबार कारोबारमा आउने १६२ मध्ये १४५ कम्पनीको सेयर मूल्य घटेका छन् । तीमध्ये मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले एकैदिन १० प्रतिशत गुमाए । सपोर्ट माइक्राफाइनान्स र नेरुडे लघुवित्तका लगानीकर्ताले पनि सेयर मूल्यबाट करिब १० प्रतिशत गुमाए । कमाउनेमा सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८७ प्रतिशत कमाएका छन् ।