site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विमान अपहरणअघि बीपीसँग संवाद
Ghorahi CementGhorahi Cement

– दुर्गा सुवेदी


म फेरि फारबिसगन्ज (बिहार, भारत) गएँ । त्यहाँ प्रवासिएका कांग्रेसका मानिस बस्ने घरलाई ‘नेपाली बासा’, ‘बंगाली टोल’ भनेर रिक्सा र टाँगावालहरूले चिन्थे । ठेगाना बताएर त्यहाँ जानुभन्दा पैदल यात्रा गरेर हामी त्यहाँ जाने गरेका थियौं ।

म नेपाली बासामा पुग्दा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र इन्दिरा दिदी भर्खरै बनारसबाट आएका रहेछन् । मलाई देख्नासाथ गिरिजा दाजु कोठाबाट बाहिर आउनुभयो ।

Agni Group

“म भर्खर बनारसबाट आएको,” उहाँले भन्नुभयो, “तिमी भोलि पनि बिहानै आउनू, भोलि नै सान्दाजुलाई भेट्नुपर्छ ।”

“दिनदिनै सीमाबाट ओहोर–दोहोर गर्दा शंका गर्ने हुन् कि ?” मैले भनें ।

Global Ime bank

“त्यसो भए आज तिमी यहीँ बस । भोलि यतैबाट जाने,” उहाँले भन्नुभयो । बीपीलाई भेटेर अपहरणको योजनालाई अन्तिम रूप दिने भइयो ।

नेपाली बासा भनिने त्यो घरमा जम्मा चारवटा कोठा थिए । भुइँमा सनपाटका झल्ला, परालका गुन्द्री बिछ्याइएका थिए । गिरिजाप्रसाद कोइरालाको कोठामा मात्र खाट थियो । साँझको खाना घाम छँदै खाने गर्दा रहेछन् । खानामा उसिना चामलको भात, मसुरोको पानीजस्तो पातलो दाल र भुटेको आलु थियो । प्लेटमा लिएर सबै एकैसाथ खान बस्यौं ।

खाने बेला कर्णेल राईले मतिर हेरेर हाँस्दै भन्नुभयो, “काठमाडौंको जेलको खाना र हाम्रो नेपाली बासाको खाना उस्तै छ ?”

मैले भनें, “त्यहाँ त हामीले सामूहिक मेस चलाएका थियौं । मसिना चामलको भात, आलु–कोबीको तरकारी । यो भन्दा त राम्रो खाना थियो ।”

गिरिजा, सुुशील र इन्दिरा आचार्यलाई पनि त्यही खान दिएको देखें । हाम्रो संवादपछि सबै मौन थिए । कसैले केही प्रतिक्रिया जनाएनन् । खान खाएर आ¬¬–आफ्नो थाल आफैं माझेर भान्सामा राखियो । मलाई गुन्द्रीमाथि बिछ्याउन एउटा तन्ना र तकिया कर्णेलले ल्याएर दिएपछि म सुत्ने तर्खर गर्दै थिएँ । गिरिजा दाजुले बोलाउनुभयो ।

गर्मीको बेला थियो । भित्र धेरै मच्छड भएर होला— उहाँले बाहिर बरन्डामा कुर्सी राखेर बस्नुभयो र मलाई पनि बस्न भन्नुभयो ।

“हामीबीचको कुरा यहाँ कसैसँग नगर है,” उहाँले भन्नुभयो ।

अनि, अलि भावुक भएर भन्नुभयो, “देखिहाल्यौ, साथीहरू कसरी बसेका छन् । हामी सबैको हालत खराब छ । झोडा काण्डमा भागेर आएका भूतपूर्व सेनाका साथीहरू यसभन्दा अझै खराब स्थितिमा बसिरहेका छन् । गुन्द्रीमा सुतेर पानीजस्तो दाल खाएर सबैले गुजारा गरेका छन् । साथीहरूको बिजोग छ ।”

एकछिन रोकिएर उहाँले फेरि भन्नुभयो, “हेर, यो काम हामीले जसरी पनि गर्नुपर्छ । यो काम सफल भयो भने हात–हतियार, गोला–बारुद बन्दोबस्त गरेर चाँडै नेपालभित्रै छिरेर, सेल्टर बनाएर संघर्ष गर्ने मनस्थिति सान्दाजुको छ । भोलि भेट्दा तिमीले यो काम गर्न सक्छौं भनेर भन्नू ।”

मैले ‘हुन्छ’ भनें ।

उहाँले फेरि भन्नुभयो, “सान्दाजुलाई हामीले गर्न सक्छौं भन्ने विश्वास छैन । तर, हामीले जसरी पनि गरेर देखाउनुपर्छ ।”

उहाँले करिब आधा घण्टाजति एकोहोरो कुरा गर्नुभयो । उहाँका कुरामा व्यग्रता झल्किन्थ्यो । घनघोर निराशाका बीच घेरिएको मानिसले आशाको त्यान्द्रो भेट्दा जस्तो हुन्छ, गिरिजा दाजुको मनस्थिति ठीक त्यस्तै थियो ।

भोलिपल्ट बिहान ७ बजे उहाँ र म वीरपुर कोसी ब्यारेजको गेस्ट हाउसमा पुगिसकेका थियौं । गिरिजा दाजुले आफैं जिप हाँकेर मलाई बीपी बसेको गेस्ट हाउस पु¥याउनुभएको थियो । मलाई बैठक कोठामा राखेर गिरिजा दाजु बीपीको कोठामा पस्नुभयो ।

पाँच मिनेटपछि बीपी आफैं बाहिर निस्किएर हातको इशाराले मलाई भित्र बोलाउनुभयो । म भित्र पसेपछि उहाँले ढोका बन्द गर्नुभयो । र, सुतेको पलङमा गएर बस्नुभयो । मलाई पनि कुर्सी तानेर नजिकै आउन भन्नुभयो । पलङको अर्कोपट्टिको कुनाछेउको कुर्सीमा गिरिजा दाजु बस्नुभएको थियो । उहाँ चुपचाप मेरो अनुहार हेरिरहनुभएको थियो । यस्तो लाग्थ्यो— मानौं उहाँको सारा जीवनको बाजी मैले बोल्ने शब्दमा अड्किएको छ ।

बीपी पनि मेरो अनुहारमा एकोहोरो हेर्न थाल्नुभयो । अनि, बल्ल बोल्नु भयो, “तिमी भर्खरै भद्रगोल जेलबाट छुटेर आएका हौ क्यारे, के छ भद्रगोलका साथीहरूको मनस्थिति ? सरोज र प्रसार्इं के भन्थे ?”

मैले जेलका कुरा सरसर्ती सुनाएँ ।

“तिमीले मुक्ति सेना गठन गरेको बारे कुरा गर्‍यौ कि गरेनौ ?” उहाँले सोध्नुभयो ।

“सीके दाइहरूसँग त कुरा भएन तर सरोज दाइलाई त थाहा छ । उहाँ विराटनगर आएका बेला हामीले हतियार जम्मा गरेकै कुरा थाहा पाइसक्नुभएको थियो,” मैले भनें ।

\"\"जेलको कुरा सकिएपछि उहाँ अझै मेरो नजिक सर्नुभयो र मेरो अनुहारमा हेर्दै भन्नुभयो, “तिमीहरूले विमान अपहरण गरेर बैंकको पैसा लुट्ने योजना बनाएका रहेछौ । यो त्यति सजिलो काम होइन । निकै जोखिम हुन्छ । कसरी गर्छौ ?”

मैले उहाँलाई सरल रूपमा योजना सुनाएँ, “हामी हतियार लिएर जहाजमा पस्छौं । पाइलटको ठाउँमा पुगेर उसलाई नियन्त्रणमा लिन्छौं । बन्दुक देखेपछि उसले हामीले भनेको मान्नैपर्छ ।”

बीपीले बीचैमा रोक्नुभयो, “तिमीले भनेजस्तो सजिलै सबै हुँदैन । जहाजमा यात्रु हुन्छन्, लडाइँ हुन सक्छ अनि के हुन्छ ?”

“जहाजभित्र पसेपछि जे–जस्तो परिस्थिति आइपर्छ, त्यस्तै गर्ने हो । हामी जसरी पनि जहाजलाई नियन्त्रणमा लिन्छौं । तर, त्यो जहाजलाई कहाँ उतार्र्ने भन्ने तय हुनुपर्छ ।”

गिरिजा दाजु कुर्सीबाट उठेर भन्न थाल्नुभयो, “त्यसको व्यवस्था म मिलाउँछु । फारबिसगन्ज बजारको पूर्वपट्टि एउटा ठूलो गौचर मैदान छ । कहिलेकाहीँ बिहारका मन्त्रीहरूको सानो जहाज त्यहाँ उत्रिने गरेको छ । जहाजलाई त्यहीँ ल्याउने, पैसा निकालेर फिर्ता पठाइदिने ।”

बीपी केही बोल्नुभएन । उहाँको मौन सहमति थियो । नेपाल छिरेर क्रान्ति गर्न पुग्ने पैसा जोगाड गर्ने अरु कुनै उपाय त्यसबेला बीपीसँग पनि थिएन । त्यसपछि उहाँ हामीसँगै गेस्ट हाउसको कम्पाउन्डमा आउनुभयो । त्यहाँ खटिएको भारतीय पुलिसले सुन्ने गरी मलाई भन्नुभयो, “तिमी औषधि–उपचार गराउन बनारस कहिले आउने, खबर गर्नू ।”

उहाँ गेस्ट हाउसको लनमा घुम्न थाल्नुभयो । गिरिजा दाजु र म जिप चढेर फारबिसगन्जतर्पm लाग्यौं । फर्किंदा पनि जिप गिरिजा दाजुले नै हाँक्नुभएको थियो । उहाँ निकै प्रशन्न हुनुहुन्थ्यो । उहाँले हाँस्दै भन्नुभयो, “तिमीले बीपीसँग राम्रो कुरा गर्‍यौ । अपहरण गर्ने कुराको कुनै प्रशिक्षण हुँदैन । एक्सन गरेपछि जे आइपर्छ, त्यही गर्ने हो । बीपीलाई विश्वास छैन, हामीले गरेर देखाइदिनुपर्छ । यो काम सफल पार्‍यौ भने तिमीहरू विश्वमै चर्चित हुनेछौ । अनि, राजालाई पनि थाहा हुनेछ– नेपाली कांग्रेसले के–कस्तो जोखिमपूर्ण क्रान्ति गर्न सक्ने रहेछ भनेर ।”

उहाँले थप योजना सुनाउनुभयो, “अब विराटनगर गएर तिमीले चुन्नुलाई भेट । पैसा कहिले काठमाडौं जान्छ, त्यो पत्ता लगाऊ । त्यस दिनको जहाजको टिकट लिनुपर्छ । तिमीसँग क–कसलाई साथ लिने हो, त्यो पनि टुङ्गो लगाऊ ।”

मैले त्यसैअनुसार गर्ने बताएँ । उहाँले मलाई फारबिसगन्ज नेपाली बासा नलगी सोझै बथनाहा रेल्वे स्टेसन पुर्‍याउनुभयो । 

“फारबिसगन्ज गयो भने बीपीसँग के कुरा भयो भनेर धेरैले सोध्छन्,” उहाँले भन्नुभयो ।

विराटनगर आएर त्यसै साँझ म चुन्नुलाई भेट्न उनको घर पुगें । मलाई देख्नासाथ बाहिर निस्किएर एकान्तमा लगी उनले सोधे, “के भयो ? गर्ने भइयो ? बीपीले पनि सक्छौ भने गर भन्नुभयो ?”

मैले उता भएका कुरा सुनाएँ, “गर्ने भइयो । पैसा कहिले जाने, कति जाने त्यसको खबर गर्न गिरिजाबाबुले भन्नुभएको छ ।”

उनले गम्भीर भएर भने, “बैंकले २४ घण्टापहिले मात्र पैसा लिएर जाने मानिस तय गर्छ तर यही महिनाको अन्त्यतिर जाने भने पक्का छ ।”

त्यसपछि म आफ्नो डेरातिर लागें । साँझको बेला थियो, बुधहाट चोक हुँदै जाँदा त्यहाँ धेरै साथीहरू भेटिए । उमेश गिरीले म नजिक आएर हाँस्दै सोधे, “गिरिजा दाजुसँग भेट भयो ? अब के गर्ने, केही कुरा भएन ?”

उनलाई ‘भोलि तिम्रो घरमै आएर भेटूँला’ भनेर म बिदा भएँ । राति धेरैबेरसम्म निद्रा परेन । मनमा अनेकौं तरंग आइरहे । आफ्नो विगतका बारेमा सोच्न थालें ।

पहाडबाट आएर विराटनगरमा पढेकोदेखि कलेजको युनियन, प्राथमिक स्कुलको नोकरी, भ्रष्टाचारविरोधी आन्दोलनपछि खोसिएको जागिर सबै सम्झिएँ । अहिले म मुक्ति सेनाको बेतलबी सिपाही छु । यो कुरा सरकारले पत्ता लगायो भने मैले कति यातना भोग्नुपर्ला, कति जेल बस्नुपर्ला भनेर सोचें । अनि, मनमा लाग्यो— बरु अहिलेकै अवस्थामा बीपीलाई दिएको वचन पूरा गरेर वीरताको प्रदर्शन गर्नु नै उचित हुन्छ । अपहरण असफल भयो भने मृत्यु निश्चित छ । बाँचुन्जेल डर भइरहन्छ । तर, डराएर काल टर्ने होइन, आँटेपछि गर्ने हो । यस्तै सोच–विचार गर्दा गर्दै निदाएछु ।

(नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको हालै प्रकाशित पुस्तक ‘विमान विद्रोह’बाट सम्पादनसहित साभार । यो पुस्तक ‘किताब पब्लिसर्स’ले बजारमा ल्याएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC