site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘असम’ असम—३
Sarbottam CementSarbottam Cement

– नवराज पराजुली 


मर्नुअघि यमराजले तपाईंलाई सोध्यो, “तिमी अर्को लोक जाँदैछौ, नेपालबाट मान्छेबाहेक एउटा कुरामात्र लिएर जान पाउँछौ, अब भन के लिएर जान्छौ ?”

तपाईं के लानुहुन्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

मचाहिँ नेपाली भाषा लान्छु ।

मरिसकेपछि पनि भन्नका लागि मसँग कति धेरै कुरा बाँकी नै रहलान् । पक्का रहन्छन् नै । मभित्र यति धेरै त्यस्ता कुरा छन्, जुन म जिउँदो हुँदा भन्न सक्दिनँ भन्ने मलाई थाहा छ । तपाईंभित्र पनि भन्नका लागि त्यति धेरै त्यस्ता कुरा होलान् नि, जुन जिउँदो हुँदा कसैलाई भन्नै सक्नुहुन्न । छन् ?

Global Ime bank

ती कुरामध्ये कति कुरा त यहाँ पृथ्वीमा जिउँदै भएका मान्छेलाई भन्नुपर्ने खालका होलान् । अनि चाहिएन त नेपाली भाषा ?

फेरि भाषाको ‘फेबिकोल’ले जस्तो गरी अरु कुनै चिजले जोड्दैन रहेछ मान्छेहरूलाई । हुन त भाषाको ‘फेबिकोल’ले भन्दा धेरै छिटो र बलियो त प्रेमको फेबिकोलले जोड्छ नि । तर, अहिले प्रेमको कुरा नगरम् ल ! प्रेम त यसपालि यस्तै भयो ।

तपाईंलाई त्यो लोकमा भएकै मान्छेलाई पनि आफू जिउँदो हुँदा गर्न नसकेको कुरा सुनाउन मन लाग्ला । त्यतिखेर पनि त त्यही भाषा नै त चाहिएला, जुन बोल्दा वा सुन्दा आफूलाई जिउँदै भएको जस्तो लाग्थ्यो । आमाको काखमा भएदेखि तोतेबोलीमै बोल्दै आएको भाषामा मात्रै त्यो कुरा भन्न सकिँदोरहेछ । त्यसैले मचाहिँ नेपाली भाषा लान्छु । तपाईंमध्ये कोही मैथिली भाषा लिएर आउनुस्, कोही नेवारी, कोही भोजपुरी, कसैले किराँती, कसैले अवधी, कसैले थारु । त्यो अर्को लोकमा संसारको जुनसुकै देशबाट जुनसुकै भाषा बोल्ने मान्छे आएका होलान्, उनीहरूलाई तपाईं र म मिलेर एउटा थप भाषाको रूपमा हाम्रा १२५ भाषामध्ये कुनै भाषा सिकाइदिम् ल !

आसाम (भारत)को एउटा सुदूर गाउँमा बिहानै दौड्दै गर्दा मैले एक हल बूढाबूढी आँगनमा उभिएर झगडा गरिरहेको सुनें, बाटैबाट । अरुका बूढाबूढी बाझेको सुन्न कम्ता चाखलाग्दो हुन्न, है ? मुखै नधोई ती योध्दाहरू किन लडेका होलान् ? तपाईं कारण सोच्दै गर्नुस्, त्यतिन्जेल म तपाईंलाई जर्मनी लिएर जान्छु ।

एक वर्षअघि जर्मनीको एउटा गाउँमा सात दिन बस्दा एउटा पनि नेपाली बोल्ने देह वा आत्मासँग भेट भएन । मलाई परदेश भनेकै आफ्नो भाषा बोल्ने नयाँ मान्छे नभेटिरहनु हो भन्ने लाग्न थालिसकेको थियो ।

नेपाली नाटक लिएर गएको हाम्रो ‘थिएटर भिलेज’ परिवारका लागि आयोजकले कामुक व्यवस्था गरेका थिए— सुविधा ओढेर सुविधा नै ओछ्याएर पर्खिरहेको एउटा छुट्टै घर दिएका थिए । बगिरहेको खोलालाई हेरेर लजाइरहने आँगन दिएका थिए । खोलामा आफ्ना दुइटा हात चोबलेर उभिएका पीपलका रुखहरू दिएका थिए । राता चेरीहरूले लटरम्म भएर रातो बुट्टाले भरिएको कुर्ता सुरुवालजस्तो ठूलो बगैंचा दिएका थिए । तर, एउटा देह वा आत्मा दिएका थिएनन्, जो नेपाली भाषा बोल्न सकोस् । हामी आफूमात्र कति बोल्नू ?

मलाई परदेश भनेकै आफ्नो भाषा बोलिदिने नयाँ मान्छे नभेटिरहनु हो भन्ने लाग्न थालिसकेको थियो । त्यतिखेर थाहा भएको थियो कि कानको पनि पेट हुँदोरहेछ । र, त्यो पेट त्यतिखेर मात्र भरिँदो रहेछ, जतिखेर आफूले आफू आमाको पेटमा हुँदा सुनेको भाषा सुन्न पाइन्छ ।

पछि जर्मनीको राजधानी बर्लिनमा एक हप्ता बस्यौं । त्यहाँ हामी हरेक छाक फरक–फरक होटेलमा गएर फरक–फरक खानाको स्वाद लिन सक्थ्यौं । तर, हामी सातै दिन मोदीको नाकाबन्दी बिर्सिएर एउटा भारतीय होटलमा गयौं, किनकि त्यहाँ काम गर्ने केही नेपाली भाइबहिनी थिए, जोसँग नेपाली बोल्न पाइन्थ्यो । झापाको बिर्तामोडदेखि इलाम बजारभन्दा लामो यात्रा गरेर एउटा नेपाली रेस्टुराँमा एक छाक भात खान गयौं किनकि त्यहाँ नेपाली भाषा सुन्न पाइन्थ्यो । रेलमा होटेल फर्किंदा त्यत्रा खैरेमध्ये एउटा मजस्तै कालेकाले मान्छे (मेरी आमाको भाषा सापटी लिने हो भने ‘हिस्सी परेको काले’) भेटें । जे पर्ला पर्ला भनेर नेपालीमै बोलें, ऊ मुस्कुरायो । भारतीय रहेछ तर नेपाली बुझ्दो रहेछ । नेपाली बुझ्ने मान्छे भेटेको खुशीमा मैले ऊसँग हिन्दी बोलेरै भए पनि नेपाली बोल्नुको न्यास्रो मेटाएँ ।

आसामको त्यो गाउँका एक हल बूढाबूढी मुखै नधोई किन लडेका होलान् ? कारण सोच्नुभो ? अझै सोचिसक्नुभएको छैन ? ठिकै छ । अझै सोच्नुस् । त्यतिन्जेल म तपाईंलाई अस्ट्रेलिया लिएर जान्छु ।

युरोपपछि जब म अस्ट्रेलिया गएँ, विदेशमा त्यति धेरै नेपालीसँग उभिएर राष्ट्रगान गाउने पहिलो अनुभव पाएँ । नेपालमा हुँदा सामान्य गरी खासै वास्तै नगरी गाउँथें—

“सयौं थुंगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली ऽऽऽ”

तर, त्यहाँ ‘सयौं थुंगा’ भन्दा नभन्दै छाती सयचोटिभन्दा बढी धड्कियो । छातीको हातले भन्दै थियो कि मेरो मुटु आधा यहाँ छ । अर्थात्, चुम्बकको आधा टुक्रा यहाँ छ र चुम्बकको आधा टुक्रो विपरीत दिशामा फर्किएर नेपालबाट उफ्रिरहेछ । नाच्न थाल्यो चुम्बक, नाच्न थाल्यो मुटु । मुटु हल्लिएर होला— आँखामा भरिएको च्छोरोल्पा फुट्यो । विदेशमा राष्ट्रगान गाउँदा मुटु त्यसरी धड्किँदो रहेछ, जसरी सार्वजनिक ठाउँमा लुकेर आफ्नी प्रेमिकालाई पहिलोपल्ट चुमेपछि धड्किन्छ । तपाईंको मुटुको धड्कनले प्रेम चाखेको छ ? प्रेमको कुरा गर्न कम्ती चाखलाग्दो हुन्न है ? तर अहिले भाषाको कुरा गरम्, प्रेम त यसपालि यस्तै भयो ।

सिड्नीमा प्रशान्त महासागरको नीलो गहिराइ देख्दा म जति माथि उफ्रिएको थिएँ, त्यो उचाइ सेकेन्ड हुने गरी म उफ्रिएँ, जब मलाई एउटा साथी (अञ्जित चुँडाल)ले सिड्नीको रकडेलमा एउटा ठाउँ देखायो, जहाँ देवानागरी लिपिमा लेखिएको थियो— ‘असन बजार’ । अस्ट्रेलियाको सबैभन्दा व्यस्त शहरको बीचमा लेखिएका ती दुई शब्द देखेर मेरा दुई आँखा फेरि धड्किए । देवनागरी लिपि त्योभन्दा सुन्दर जीवनमा पहिले कहिल्यै लागेको थिएन ।

मलाई त्यसबेला लाग्यो— अब नेपाल मेची–महाकालीभित्र मात्रै छैन । भाषाको गाडी चढेर संसारभरि नेपाल नै नेपाल रहेछन् । भाषाको गाडी गुगल म्याप नहेरी गुड्दो रहेछ । र, त्यहाँ पुग्दो रहेछ, जहाँ देशको राजनीतिक सिमाना कहिल्यै पुग्दैन । 

यत्रोबेर त पर्खिनुभयो तर आसामका ती जोडी किन झगडा गर्दै थिए भन्ने कारण मलाई पनि थाहा छैन । आसामको त्यो गाउँको म आफू बसेको घरमा कसैलाई नभनी म बिहानै गाउँ घुम्न निस्केको थिएँ । तिनलाई म चिन्दिनथें । तर, झगडाका केही वाक्यहरू दगुर्दै गर्दा सुनेर म झन् खुशीले दगुरेको थिएँ । किन थाहा छ ? किनकि भारतका ती जोडी नेपाली भाषामा झगडा गर्दै थिए । विदेशमा त आफ्नो भाषामा भएको झगडा पनि सुनूँसुनूँ लाग्ने रहेछ ।

दगुरेर अलि अगाडि पुगें । त्यहाँ आँगनमा मुडामा करिब सात वर्षकी छोरीलाई बसाएर उनकी आमाले के–के भन्दै थिइन् नेपालीमा । के भनिन्, मैले ठ्याक्कै त सुनिनँ तर मलाई लाग्यो— ती आमाले यस्तो भन्दै थिइन्, “छोरी, तिमी गीत गाउनचाहिँ कहिल्यै नछोड्नू है ! तिम्रो स्वरमा तिमीलाई मन पर्ने भग्मान बसेका छन् ।”

मलाई ती आमाले त्यति मीठो गरी त्यसो नै किन भनिन् होला जस्तो लागेको छ, भनुम् ? किनकि ती आमाले नेपाली भाषामा बोल्दै थिइन् ।

अर्को देशको त्यो नचिनेको गाउँमा जोसुकै पनि नेपाली बोलेको देख्दा म खुशीले झन् छिटो दगुरें । अगाडि बाटोमा करिब १२ वर्षको एउटा फुच्चे हिँडेर आउँदै थियो । मैले अन्दाजकै भरमा भनें, “भाइ, चा खायौ ?”

म अलि अगाडि पुगेपछि उसले भन्यो, “अघि नै खाएँ दादा ।”

अब म खुशीले बौलाउनमात्र बाँकी थियो । त्यही दिन दिउँसो दिनभरि मलाई आसाममा जहाँ–जहाँ, जसको–जसको घरमा आयोजक दाजुभाइले लानुभयो, ती हरेकको घरमा भानुभक्त, देवकोटाका फोटा र पुस्तक थिए । त्यहाँका हरेक दाजु–भाउजूहरूको मोबाइलको प्लेलिस्ट नेपाली गीतले भरिएको थियो । हामीकहाँ यहाँ केटाकेटीहरू बरु अंग्रेजी मिसाएर बोल्छन् तर त्यहाँ त तोते बोल्नेदेखिका केटाकेटीहरू सुनूँसुनूँ लाग्ने नेपाली बोल्छन् ।

बेलुका फर्किंदा म ‘मुड’मा थिएँ । बाटोमा राति देखेका मान्छेलाई भ्यानको झ्यालबाट टाउको निकालेर जहीँतहीँ, जसलाई पायो त्यसलाई म ‘के छ हौ, खबर ?’ भन्दै चिच्याउँथें । अनि भ्यान अलि पर पुग्दा उताबाट आवाज आउँथ्यो, “ठिकै छ हौ !” म भ्यानभित्रै उफ्रिन्थें ।

अरब, अमेरिका, अस्ट्रेलिया, युरोपमा बस्ने नेपालीहरू मिनेट–मिनेट गरी कमाएको पैसा तिरेर किन नेपालबाट साहित्यकार, गायक बोलाउनुहुन्छ ? किन त्यत्रो पैसा तिरेर नेपाली फिल्म हेर्नुहुन्छ ? किन आफ्नो लागि पनि नभएको समय कटाएर नेपाली भाषाको स्कुल खोलेर निःशुल्क केटाकेटीहरूलाई सिकाउनुहुन्छ ?

किनकि परदेशमा बसेर आफ्नो देशको भाषा सुनेपछि उहाँहरूको कानले उहाँहरूलाई राति सुत्ने बेलामा सुटुक्क भन्दोरै’छ, “पासपोर्टमा छाप नहानी अनि झोलाको सुरक्षा जाँचमा संसारका सारा उच्च आधुनिक मिसिनहरूलाई थाहै नदिई मैले एउटा कुरा नेपालबाट यहाँसम्म ल्याएको छु— हाम्रो भाषा ।”

(लेखकको तस्बिरः किशोर कायस्थ/बुकवर्म फाउन्डेसन)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC