काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौंं महानगरलाई सूचना माग गर्दै पत्र बुझाएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा पार्टीको जिल्ला समन्वय समितिले सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाएको हो ।
पत्र बुझाउँदै काठमाडौं जिल्ला समन्वय समितिकी संयोजक मानुषी यमी भट्टराईले सरकार र महानगरबारेमा टिका टिप्पणी हुनु दुखद् भएको भन्दै मेयर शाक्यलाई आलोचित नहुन आग्रह गरिन् ।
“हामीले अहिले नयाँ आर्थिक वर्षमा छौं,” संयोजक मानुषीले भनिन्, “हामीले पारदर्शीताको कुरा गरिरहेका छौं । पारदर्शी भएर अगाडि बढ्नुपर्दछ । जनताले धेरै आलोचना गरिहेका छन् । हाम्रो सरकार र प्रमुखलाई हामी सहयोग गर्न चाहन्छौं । मेयरजीले स्मार्ट सिटीको कुरा उठाउनु भएको छ । स्मार्ट सिटी बनाउनको लागि व्यक्ति पनि स्मार्ट बन्नुपर्छ ।”
उनले महानगरको कामलाई आफूहरुले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् । मानुषीले महानगरको सूचना नदिँदा जनताले दुःख पाइरहेको समेत उनले बताइन् ।
पार्टीकी काठमाडौं महानगर समिति संयोजक शोभा बज्राचार्यले प्रमुख शाक्यलाई काठमाडौं महानगरले २१, २२, २६, र ३२ वडाका स्थानीयलाई विभेद गरेको गुनासो सुनाइन् ।
पत्र बुझ्दै प्रमुख शाक्यले नयाँ शक्तिको सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै महानगरबासीको समस्या सामाधान गर्न आफू सधै लाग्ने बताए । उनले राजपत्र प्रकाशित भएपछि सबै सूचनाहरु महानगरबासीलाई जानकारी गराउने समेत बताए ।
पार्टीले बुझाएको पत्रमा महानगरपालिका अन्र्तगत सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरुको आर्थिक वर्ष २०७४–७५को महागर परिषदबाट पारित बजेट शीर्षकको आय व्ययको पूर्ण विवरण माग गरिएको छ ।