काठमाडौं । सरकारले ५ वर्षभित्र अन्तर–प्रादेशिक हवाई उडान सकेसम्म धेरै सञ्चालन गर्ने बताएको छ । सात प्रदेशमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको लक्ष्य छ ।
प्रयोगमा नआएका विमानस्थलमा एयर स्पोर्टस एक्टिभिटिज सञ्चालन हुनेछन् । सबै स्थानीय तहमा कम्तिमा एउटा हेलिप्याड निर्माण भएर सञ्चालन भैसकेको मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।
५ वर्षमा काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माण भएर सञ्चालनमा आएको हुनेछ । नागीडाँडा विमानस्थलको सञ्चालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्तिमा ३० प्रतिशत एयर ट्राफिक भार घट्ने मन्त्रालयको अनुमान छ ।
यस्तै, ५ वर्षमा भैरहवा एक वर्षभित्र, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बनाएको मन्त्रालयले नविनतम प्रविधि एवम आधुनिक पूर्वाधारयुक्त नीजगढ विमानस्थलको ५० प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरका प्रविधि जडान गरेर अन्तर्राष्ट्रिय निमानस्थल नाफामा सञ्चालन भैरहेको हुने मन्त्रालयको योजनामा छ ।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र सुधार गरिने योजना अगाडि सारेको ५ वर्षमा अहिलेको भन्दा दोब्बर उडान गर्ने योजना रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रवक्ता घनश्याम उपाध्यायले पार्किङ क्षमता पनि दोब्बर बनाइने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान भएको विमानस्थलका रुपमा बुटिक एएरपोर्टमा परिणत गर्ने पर्यटन बोर्डको सुझावलाई अगाडि बढाउन सकिने उनले बताए । बुटिक एयरपोर्ट भन्नाले रातो रङका इँटा बिच्छाएर बनाइने एयरपोर्टलाई चिनिन्छ ।
मन्त्रालयले नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडानतर्फ न्यारोबडी र वाइडबडी गरी १० वटा विमान पुर्याउने योजना अगाडि सारेको छ । नेपालको अन्तर्राष्ट्रिय उडानमा ६० प्रतिशत हिस्सा नेपाल वायु सेजा निगमले ओगटेको हुुने पनि प्रवक्ता उपाध्यायले बताए ।
मन्त्री नियुक्त भएलगत्तै सय दिने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले नागरिक उड्ययनतपर्फ ५ वर्षे महत्वाकांक्षी योजना ल्याएका हुन् ।