काठमाडौं । यु–१९ एक दिवसीय क्रिकेट सिरिजमा सहभागिताका लागि भारतले गरेको प्रस्तावलाई स्वीकार्दै नेपालले सहभागिता जनाउने भएको छ । नेपाली यु–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले नेपालले सहभागिता जनाउन लागेको जानकारी दिए ।
नेपाली टोलीका प्रशिक्षक दासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिरिज खेल्ने जानकारी दिए । नेपाली यु–१९ क्रिकेट टिमलाई तयारी अवस्थामा राख्नका लागि ३ दिनको छनोट प्रतियोगिता राखेको पनि प्रशिक्षक दासले जानकारी दिए ।
साउन २८, २९ र ३० गरी ३ दिन रातोपुलस्थित भेलोसिटी एरिनामा छनोट हुनेछ । छनोटमा सहभागिताका लागि सन् १९९९ सेप्टेम्बर १ तारिखपछि जन्मिएका खेलाडीले मात्र भाग लिन पाउने छन् । त्यस्तै, खेलाडी १६ वर्ष पुगेको हकमा भने नागरिकता लिएर उपस्थित हुनुपर्नेछ भने त्यो भन्दा कम भएको खण्डमा सीडिओ कार्यालयबाट आफ्नो जन्म मितिको डकुमेन्ट लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, प्रशिक्षक दासले आईसीसीको स्वीकृति कुरेर बसेको पनि बताए । प्रशिक्षक दासले भने “आईसीसीबाट स्वीकृत हुन केही समय लाग्ला । तर आईसीसीले स्वीकृत नदिने कुनै कारण छैन । किनभने एसिया कपको तयारीको लागि पनि हो ।”
वर्षातको समय भएको कारण बाहिर इन्डोर नभएकोले काठमाडौंमा मात्रै ओपन सेलेक्सन गर्न लागेको हो । नेपाली यु–१९ टिमको प्रारम्भिक क्लोज क्याम्पमा ४४ जना खेलाडी रहने प्रशिक्षक दासले बताए ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारतको २ वटा टिम, अफगानिस्तानसहित गरी नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको थियो । भारतको यु–१९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानिस्तानको यु–१९ र नेपालको यु–१९ टिमले सिरिजमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको लागि यो सिरिज एसिया कपको तयारीको रुपमा पनि रहेको छ । त्यसैलाई मध्यनजर गर्दै सिरिजमा भाग लिन लागेको प्रशिक्षक दासले जानकारी दिए । अक्टोबरमा बंगलादेशमा आयोजना हुने एसिया कपमा नेपालसहित, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोली रहेका छन् ।
तस्बिरः एनएसजेएफ