site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
थर्टी इयर्स अफ सलिच्युड 
Sarbottam CementSarbottam Cement

राजेन्द्र पराजुली


तीन दशकदेखि बौद्ध, महाँकालस्थित ‘हर्मिताज’ को एउटा कोठाको बत्ती साँझ नपर्दै निभ्थ्यो र मध्यरातमा बल्थ्यो । झट्ट सुन्दा कुनै मिथकजस्तो लाग्ने पात्र मनुजबाबु मिश्र साँझ नपर्दै सुत्थे र मध्यराततिरै उठेर रङहरुसँग खेल्थे । गत बुधबार (साउन २३ गते) पनि उनी सदाझैँ राति २ बजे उठे र रङहरुको बट्टा समाउन खोजे, तर सकेनन् । उनको क्यान्भास ठडिएन । कलम चलेन, रङका बट्टाहरु खुलेनन्, कोठाको बत्ती पनि बलेन । 

Prabhu Bank
Agni Group
NIC Asia

नजिकबाट नचिन्ने र नबुझ्नेका निम्ति उनी सधैँ एक सर्रियालिस्टिक पात्र बनिरहे, तिनका निम्ति उनको जीवन एक ‘पहेली’जस्तै रह्यो । उनको जीवनशैली ‘म्याजिकल रियालिज्म’ झैँ लागिरह्यो । म्याजिकल रियालिज्मलाई साहित्यका माध्यम (उपन्यास– वन हन्ड्रेड इयर्स अफ सोलिच्युड) बाट गाब्रियल गार्सिया मार्खेजले कल्पनाको उच्चतम रुप दिए । चित्रकारिताका माध्यमबाट देश–विदेशमा नाम कमाएका मिश्रले भने आफ्नो जीवनका अन्तिम तीन दशक नै ‘सलिच्युड’ बिताए । उनका चित्रलाई कला समीक्षकहरुले म्याजिकल रियालिज्म, दादाइज्म, सर्रियालिज्म, पोस्टमोडर्निज्मजस्ता अनेक ‘यथार्थभन्दा टाढा’का सिद्धान्तका आँखाले हेरे । तर, उनको जीवन भने सरलभन्दा पनि अझ सरल बित्यो ।  

उनले जीवनमा सम्भवतः आफ्नै अनुहारलाई बिगारेर धेरै चित्र बनाए । सिङ उम्रेको, नाक बांगेको, दाह्रा निस्केको, हेर्दै दिक्क लाग्ने ख्याउटे आदि । आफू र आफ्ना रचनाको उनले कहिल्यै तारिफ गरेनन् । गत वर्ष २०७४ को जनैपूर्णिमाका दिन आफैलाई जन्मदिनको शुभकामना दिँदै उनले आफ्नै क्यारिकेचर क्यान्भासमा उतारे र त्यसको शीर्षक राखे– ‘८२औँ जन्मदिने स्केच’ । उक्त चित्रमा पनि उनले आफूलाई अनौठो प्रस्तुत गरेका छन्, विरुप पारेका छन् । किन उनी आफूलाई विरुप प्रस्तुत गर्थे ? किन उनी आफ्ना सिर्जनालाई फोहोर वस्तु मान्थे ? यी र यस्ता प्रश्नहरु थुप्रै वार्ताकार, शुभेच्छुक तथा पाठकले उनीसँग गरेको हुनुपर्छ । सबैले पाउने जवाफको आशय पनि उस्तै हुनुपर्छ– यो संसार यति विरुप छ, म कसरी सुन्दर चित्र बनाउन सक्छु ? संसार जस्तो छ, मैले बनाउने चित्र पनि त्यस्तै हुने त हो । ‘मैले जे खाएको छु, निस्कने पनि त्यही नै त हो,’ उनी भन्ने गर्थे ।

Global Ime bank

मिश्र समाजका बेथिति, विरुपता, मान्छेका भद्दापनजस्ता कुरासँग तीव्र विमति राख्थे । उनलाई मुलुकबाट राजसंस्था हटेको कुरामा चित्त बुझिरहेको थिएन । बहुदललाई उनी ‘अभिशाप’ मान्थे । जब देशमा बहुदल (२०४६ सालको परिवर्तन) आयो तब उनले एउटा आत्मघाती निर्णय लिए । त्यो निर्णयले उनलाई विवादित पनि बनायो । जबसम्म देशबाट बहुदल नासिएर राजसंस्था बहाल हुँदैन, तबसम्म घरबाट बाहिर ननिस्कने उनले हठ गरे । कुनै सार्वजनिक समारोह, सुन्दर स्थान वा सहरबजारमा उनलाई देखिनु ठूलै ‘आश्चर्य’ थियो । आफैले रोजेको बाटोले उनलाई गुफावासी बनाइदियो, एकान्तप्रेमी बनाइदियो । यसबीचमा उनलाई थुप्रै संघ–संस्थाहरुले सम्मान तथा पुरस्कृत पनि गरे । तर, उनी पुरस्कार थाप्न कहिल्यै गएनन् । उनले गुफामै बसेर चित्रकारिता र निबन्धकारितालाई अघि बढाइरहे । मिश्रका निबन्ध चित्रजस्ता र चित्रचाहिँ कथाजस्ता लाग्छन् । हरेक चित्रले एउटा समयको बेजोड कथा बोकेको । समसायिक विडम्बनालाई रङहरुका माध्यमबाट प्रकट गर्ने उनको कला अदभूत लाग्छन् । उनका अधिकांश चित्र व्यंग्यले भरिपूर्ण । समाजमा व्याप्त पाखण्डलाई चित्रमार्फत् झापड हान्न मिश्रजति सिपालु सायदै अन्य नेपाली कलाकार भेटिएलान् ! 

कलम र कुची दुवैमा अब्बल मिश्रको तीन दशक एउटा सुरुङजस्तो कोठामा बित्यो । पछिल्ला केही वर्ष नयाँ घरमा बसे पनि उनी पुरानै गुफामा बढी रमाएको महसुस हुन्थ्यो । हरेक सुन्दर वस्तु र संसारले प्रशंसा गरेका कुराको पनि अँध्यारो पाटो हुन्छ भन्ने सोच मिश्रमा जरो गाडेर बसेको थियो । त्यही कारण उनी विश्वप्रसिद्ध मोनालिसाको सुन्दर चित्रलाई पनि कहिले विरुप पारेर त कहिले मौलिक नेपाली रुपमा उतार्थे । ‘राम्रो म’ भनेर नथाक्ने अहिलेको दुनियाँमा ‘नराम्रो म’ भन्ने मिश्र एउटा बेग्लै मानिस बनेर बाँचे । 

उनी चित्ताकर्षक चित्र कोर्थे र राम्रा निबन्ध लेख्थे भन्ने कुरा उनीबारे चासो राख्ने जोकोहीलाई थाहा छ । तर, उनी विश्वकला इतिहासका व्याख्याता पनि थिए भन्ने कुरो कतिपयलाई थाहा नहुन सक्छ । संसारप्रसिद्ध कुनै पनि कलाकारको नाम लिँदासाथ उनी उक्त कलाकारको इतिवृत्त बताउन थालिहाल्थे ।

२०३९ सालमा प्रकाशित उनले लेखेको पुस्तक ‘विश्वकलाको इतिहास’ यसको साक्षी छ । उनलाई भेट्ने अनुज तथा युवा लेखक, कलाकारले अनुभव गरेको हुनुपर्छ– नयाँपुस्ताप्रति उनको विश्वास, स्नेह र प्रेरणा । हर्मिताजमा कतिपटक मैले उनलाई भेटेँ, म भन्न सक्दिनँ । तर, जिन्दगीमा सबैभन्दा धेरै पटक भेटेका लेखक–कलाकारमध्ये उनी पहिलो नम्बरमा पर्छन् । उनीसँगको हरेक भेट मेरा निम्ति एउटा प्रोत्साहन, प्रेम र स्नेहले ओतप्रोत रहन्थ्यो । मिश्रको निधनबाट नयाँ अर्थात् अनुज पुस्ताले एउटा अभिभावक गुमाएको छ भने देशले एउटा कुशल कलाकार–निबन्धकार ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC