Skip Advt.
ad

विचार

ह्वाइट हाउसको मिथ्याचार

जोसेफ एस न्ये 

ह्वाइट हाउसको मिथ्याचार

द वासिङटन पोस्टको तथ्य रुजु गर्ने ‘फ्याक्ट चेकर्स डाटाबेस’का अनुसारयस वर्षको जुन १ सम्ममा अमेरिकाका राष्ट्रपति डोलान्ड ट्रम्पले ३ हजार २ सय ५९ पटक झुटो वा भ्रामक दाबी गरे । राष्ट्रपति ट्रम्पका हरेक शंकास्पद अभिव्यक्ति सही हो कि हैन भन्ने जाँच र वर्गीकरण ‘फ्याक्ट चेकर्स’ले निरन्तर गरिरहेको हुन्छ । यो संख्याअनुसार ट्रम्पले दैनिक ६.५ पटक झुटो बोलेको देखिन्छ । उनको कार्यकालको पहिलो सय दिनमा यो झुटो अभिव्यक्ति दिने दर ४.९ थियो र मे महिनामा त झुटो अभिव्यक्तिको संख्या दैनिक सरदर ८ पुगेको थियो । ट्रम्पले स्पष्टसँग झुटो बोल्नमा रेकर्डै बनाउने देखिन्छ । 

ट्रम्पका समर्थकहरू ‘‘सबै राजनीतिकर्मी झुटो बोल्छन्” भनेर उनको यो फट्याइँलाई सही ठहर गर्न खोज्छन् । पक्कै पनि उनीहरू झुटो बोल्छन् अझ अलिकति आत्मनिरीक्षण गर्ने हो भने सबै मानिस झुटो बोल्छन् भन्ने स्वीकार गर्नुपर्ने हुन्छ । तर, कति र कस्तो झुटो बोलिएको हो भन्ने कुराले फरक पार्छ । धेरै फट्याइँले विश्वासको जग नै हल्लाई दिन्छ ।

सबै झुट उस्तै हुँदैनन् । केही आफ्नो स्वार्थ पूरा गर्न बोलिन्छन् । राष्ट्रपतिले भने आफ्ना गल्तीहरू ढाकछोप गर्न, अप्ठेरोमा पर्नबाट जोगिन, प्रतिद्वन्द्वीलाई हानि पुर्‍याउन वा आफ्नो सुविधाका लागि अरूलाई ढाँट्छन् ।  

अरू राष्ट्रपतिहरूले बृहत्तर हितका लागि झुट बोलेका छन् । कुनै बेला राष्ट्रपतिले भविष्यमा बृहत्तर हितका लागि झुटो बोलेकोमा इतिहासहरूले प्रशंसा गरेका छन् । राष्ट्रपति जोन एफ केनेडीले सन् १९६२ मा पछि क्युबाको क्षेप्यास्त्र संकट बन्न पुगेको टर्कीमा अमेरिकी क्षेप्यास्त्रको तैनाथीका सम्बन्धमा जनतालाई ढाँटे तर आणविक युद्धको जोखिम टार्न बोलिएको त्यो झुट पक्कै पनि जनताको बृहत्तर हितमा थियो ।

अझ अर्को उदाहरण अमेरिका दोस्रो विश्वयुद्धमा संलग्न हुनुभन्दा पहिले सन् १९४१ का बोलिएको झुट हो । युद्धमा संलग्न हुन नचाहने जनसमूहलाई हिटलरको जमनीको खतराबारे बुझाउन राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टले जर्मन पनडुब्बीले अमेरिकी विध्वंशकमाथि आक्रमण गरेको भनेका थिए । यथार्थमा अमेरिकी पक्षले आक्रमण गरेको थियो । युद्धका बेला जथाभावी बोल्दा जहाज डुबाउन सक्छ र गोप्यता महत्त्वपूर्ण हुन्छ । विन्सटन चर्चिलले भनेका थिए – ‘‘सत्य कति मूल्यवान हुन्छ भने त्यसको रक्षाका लागि झुटको अंगरक्षक सधैँ तैनाथ गर्नुपर्छ ।”

म्याकेवेलीको सिद्धान्तअनुसारको धोका कुनै विषयमा सौदावाजीको अभिन्न अंग हुन्छ र ट्रम्प त्यस कलामा सिद्धहस्त मानिन्छन् । सायद, उत्तर कोरियाली हतियार, युरोपेली भन्सार महसुल र सन् २०१६ को निर्वाचनमा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको हस्तक्षेपकारी भूमिकाका सम्बन्धमा ट्रम्पले बोलेका झुटहरूबाट यसलाई बुझ्न सकिन्छ । तर, कार्यकाल आरम्भ गर्ने समारोहमा उपस्थित जनसमूहको संख्याका बारेमा, महिलाहरूलाई मुख नखोल्न दिइएको पैसाका सम्बन्धमा वा एफबीआईका पूर्व निर्देशक जेम्स कोसीलाई बर्खास्त गर्न दिइएको बहाना कुनै पनि राज्य सञ्चालनसँग सम्बन्धित छैनन् । यो त पूरै आफ्नो स्वार्थका लागि अरू र जनतालाई झुक्याउनु हो । 

स्वार्थ पूर्ति गर्ने उद्देश्य नभए पनि कुनै राष्ट्रपतिले झुटो बोल्नुपर्दा धेरै सावधान हुुनुपर्छ । राज्य सञ्चालनका क्रममा झुटो बोल्नु पर्ने भएका खण्डमा समेत लक्ष्यको महत्त्व, त्यसलाई हासिल गर्ने वैकल्पिक माध्यम र त्यसरी ढाँट्ने कार्य रोकिन्छ कि परम्परा बन्न पुग्छ भन्ने विषयमा ध्यान दिनुपर्छ ।

कुनै नेताले जनतालाई जति झुक्याउँछ उसले जनविश्वास पनि उत्तिकै गुमाउँछ, संस्थाहरू कमजोर बनाउँछ र हानिकारक परम्परा सुरु गर्छ । रुजबेल्टले सन् १९४७ मा अमेरिकी जनतालाई बिउँझाउने उद्देश्यले झुटो बोलेका थिए तर सन् १९६४ मा लिन्डन बी जोन्सनले ‘गल्फ अफ टनकिन’को प्रस्ताव पारित गर्न संसद्को समर्थन हासिल गर्न त्यही शैली दोहोर्‍याए । फलस्वरूप, भियतनाम युद्ध नाटकीयरूपमा चक्र्यो । यसको जोखिम के हो भने नेताहरूले आफ्नो राजनीतिक वा व्यक्तिगत स्वार्थ पूरा गर्न बोलेको झुटलाई पनि जनताको हितका लागि बोलेको भनिदिन्छन् ।

जोन्सन आफू कायर वा भियतनाम युद्ध हार्ने व्यक्तिका रूपमा देखिन चाहँदैन थिए । यसैले उनले युद्धमा भएको प्रगति बारेमा जनतालाई निरन्तररुपमा ढाँटे । उनी युद्ध पनि नफैलियोस् भन्ने चाहन्थे ।

नियन्त्रित युद्धको एउटा नैतिक लाभ के हो भने लडाइँ फैलँदा हुने ठूलो क्षति रोक्न सकिन्छ । तर, यस्तो लडाइँमा झुटो प्रचारवाजीको पक्ष पनि संलग्न हुन्छ । शत्रुसँग वार्तामा मोलतोलका लागि राष्ट्रपतिले जनतामा निरन्तर आशा जगाइराख्नु पर्छ । त्यसका लागि उनीहरूलाई ढाँट्नुपर्ने हुनसक्छ । जोन्सनका सन्दर्भमा यो धारणालाई उनको व्यक्तिगत चाहनाले बल पुर्‍यायो । सन् १९६८ मा जनताले भन्न थालेका थिए राष्ट्रपतिले ढाँटेको थाहा पाउने एउटै उपाय उनका ओँठहरू कामेका छन् कि छैनन् भन्ने हो । जोन्सनले अर्को चुनाव नलड्ने निर्णय गरे ।

जोन्सनका उत्तराधिकारी रिचर्ड निक्सनले पनि भियतनाम युद्ध र यसको उनले कम्बोडियासम्म गरेको विस्तारका सम्बन्धमा ढाँटेका थिए । डेमोक्य्राटिक पार्टीको मुख्यालयमा उनको प्रशासनकै चाहनाअनुसार गरिएको घुसपैठका सम्बन्धमा पनि उनले ढाँटे । सन् १९७४ मा वाटरगेट टेपमा रेकर्डिङका माध्यमबाट घटनाको पोल खुलेपछि निक्सनले महाभियोगबाट जोगिन राष्ट्रपति पदबाट राजीनामा गरेका थिए ।

जोनसन र निक्सनले आफ्नो राष्ट्रपतित्वमा मात्रै हैन जनविश्वासमा पनि ठूलो क्षति पुर्‍याएको थियो । सन् १९६० को दशकको आरम्भमा मत संकलनमा तीन चौथाइ अमेरिकीहरू सरकारमाथि ठूलो भरोसा देखिन्थ्यो । त्यसपछिको दशकको अन्त्यसम्ममा सरकारमाथि विश्वास गर्ने अमेरिकीको संख्या एक चौथाइ मात्र बाँकी रह्यो । विभिन्न कारणबाट यो कमी आएको भए पनि त्यसमा राष्ट्रपतिहरूको फट्याइँको पनि भूमिका रहेको थियो । 

केही पर्यवेक्षकहरू राष्ट्रपति नहुँदै ट्रम्पलाई ढाँट्ने बानी परेकोतर्फ औँल्याउँदै उनको व्यक्तिगत कमजोरी भन्छन् । अरू भने फट्याइँको प्रकृति, निरन्तरता र दोहोर्‍याइरहने चरित्र हेर्दा यो सामान्य बानीमात्र नभएर सत्य स्थापित गर्ने संस्थाहरूलाई समाप्त पार्ने नियोजित रणनीतिअन्तर्गत भएको मान्छन् । जे भए पनि ट्रम्पले प्रत्येक संस्थालाई नितान्त वैयक्तिक निष्ठाका आधारमा व्यवहार गरेर प्रेस, गुप्तचर निकायहरू, अमेरिकी न्याय विभागजस्ता संस्थाहरूको साख धेरै गिराएका छन् ।

के ट्रम्पपछिको अमेरिका पुरानै अवस्थामा फर्केला ? यहाँ स्मरणीय के छ भने जोनसन र निक्सनका उत्तराधिकारी जेराल्ड फोर्ड र रोनाल्ड रेगन अपेक्षाकृत बढी इमानदार थिए र सन् १९८० को दशकमा रोनाल्ड रेगनको राष्ट्रपति कालमा सरकारमाथि अमेरिकी जनताको विश्वास केही बढेको थियो । परन्तु, झुटको संख्या हेर्दा अमेरिकामा डोनाल्ड ट्रम्पजस्तो राष्ट्रपति भने कहिल्यै देखिएको थिएन ।

(हार्वर्ड विश्वविद्यालयका प्राध्यापक)

(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)    

Copyright: Project Syndicate, 2018.

तपाईंको मत