विचार

लोकतन्त्रमा विचारको सत्ता

लोकतन्त्रमा विचारको सत्ता

भनिन्छ, काल बाजा बजाएर आउँदैन । जीवनमा काल, राजनीतिमा अधिनायकवाद र प्राकृतिक विपद् ढोल नगरा बजाएर आउदैनन् । त्यसो हुन्थ्यो भने यसै बर्खा बाढी, पहिरोबाट सात सय जनाले ज्यान गुमाउनु पर्दैनथियो । तर यिनका लक्ष्यण र संकेत हुन्छन् । आकस्मिक बाहेक, उमेर र स्वास्थ्य स्थितिले कालको केही संकेत गर्छ । यस्तै शासकीय गतिविधिले पनि अधिनायकवादको लक्ष्यण देखाउँछ । जथाभावी वन फडानी र कच्चा सडकको अव्यवस्थित निर्माणले बाढी पहिरोको जोखिम बढ्छ ।  विशेषज्ञले यसअघि भनेकै हुन् । यी पंक्तिमा भने बाजा नबजाइ आउने, आएपछि बाजा बजाइदिने शासकीय अधिनायकवादको लक्षण कस्तो हुन्छ भन्ने चर्चा गर्न खोजिएको छ । तानाशाही वा अधिनायकवाद बलमा आधारित शासन हो, लोकतन्त्र विचारको सत्ता । बलको वर्चस्व नै अधिनायकवादको बाजा हो । 

गुफा युगको नांगो मान्छेले क्रमशः सामाजिक बन्ने क्रमसँगै तेरोमेरो, आफ्नोअर्काको भन्न सिक्यो । सँगै बाहुबलमा आधारित शक्ति र सत्ताको स्वाद चाख्न थाल्यो । फलतः कबिला राज्यहरूको उदय भयो । बलशालीको सन्तुलनका कारण सत्ता, शक्ति विभाजन भयो ।

गच्छेअनुसार सत्ता बाँडफाटको सामूहिक संरचना नै सरकार हो । सरलबाट सुरु सत्ता चलाउने तरिका अपेक्षा र आकांक्षाको बढोत्तरीसँगै जटिल हुँदै गयो । व्यक्ति, वंश, धर्म र सेनाले शासन चलाउने समय पार गर्दैगर्दा सत्ता महत्वाकांक्षाले नयाँ जामा पहिरेर राजनीतिक तानाशाही र अधिनायकवादको जमाना ल्यायो । जो अझै छ छिटफुटै भए पनि ।

लामो अभ्यास पूरा गरेर व्यवस्था परिष्कृत हुँदै अहिलेको लोकतान्त्रिक सभ्यतासम्म आइपुगेको हो । प्रजातन्त्र निष्कण्टक छैन । प्रजातन्त्रको खुकुलो सुविधालाई शोषण वा दुरुपयोग गरेर बलको भरमा तानाशाही वा अधिनायकवादी शासनसत्ता लादिएको छ । प्रजातन्त्र बल होइन, विचारको शासन हो । तर, कतिपय प्रजातन्त्रवादी सत्ताले प्रजातन्त्र हरण नगरे पनि प्रजातन्त्रको शोषण, दोहन र भ्रष्टीकरण गरेको भेटिन्छ । प्रजातन्त्रको कुनै पनि प्रकारको दुरुपयोग क्षम्य हुँदैन ।  

पन्ध्रौँ शताब्दीतिर ग्रीसको एथेन्सबाट राय बुझ्ने – हुन्छ, हँुदैन भनेर सुरु गरिएको तरिकामा जनघनत्वको आवश्यकता र उन्नत सोचले परिमार्जन गर्दै प्रविधि थप्दै लग्यो । थारु समुदायले बडघर चुन्ने प्रक्रिया नेपालको सन्दर्भमा मत अभिव्यक्त गर्ने चुनावी परम्परामध्येको भ्रूण हो । बडघर चुन्ने सुरु समयको एकिन समुदायका बडाहरू नै गर्न सक्दैनन् । यस कारण शताब्दीयौंअघि नै बडघर प्रथा चल्यो भनिन्छ । ग्रीस र नेपालमा यस प्रकार मत परीक्षण–प्रणाली सुरु गर्ने प्रवर्तकको पहिचान छैन । 

प्रवर्तकका हिसाबले हेर्ने हो भने प्रजातान्त्रिक जीवन दर्शन र हिन्दु धर्मदर्शनमा पनि सामिप्य भेटिन्छ । राजनीतिक र आध्यात्मिक (आस्तिक) दुई भिन्न दर्शनबीच यो स्वतः सामीप्य हो, बनाइएको होइन । हिन्दु दर्शनको परम्परामा असंख्य तपस्वी र मनिषीको चिन्तन र सिर्जना समाहित छ । वर्षौंमात्रै होइन, हजारौं वर्षको लामो लगानीको प्रतिफल हो–हिन्दु दर्शन ।  कुनै एक अमुक प्रवर्तक यसमा भेटिँदैनन् । बौद्ध, शिख, इस्लाम, क्रिस्चियन, जैन आदि धर्म, समुदायमा प्रवर्तक व्यक्ति (भगवान) संस्थापित छन् । राजनीतिक दर्शनमा पनि प्रजातन्त्रका प्रवर्तक भेटिँदैन ठीक हिन्दु दर्शनमा जस्तै । प्रजातन्त्रमा कतै अब्राहम लिंकन, कतै महात्मा गान्धी र नेपाली परिवेशमा बीपी कोइरालाजस्ता महान् मनिषीहरू भेटिन्छन् । बन्दुकभन्दा कलमको सत्तालाई सम्मान गर्ने चर्चिलले विचारलाई प्रमुखता दिए ।

प्रजातान्त्रिक दर्शन वा जीवन शैलीको संस्कार र आकारप्रकार निर्माणमा हजारौं ज्ञातअज्ञात राजनयिक तपस्वीको साधना निःसृत चिन्तनको सम्मिलन छ । प्रजातान्त्रिक दर्शनको धरातल नैतिक छ, असल उद्देश्यका लागि बाटो पनि राम्रो हिँड भन्छ । नीति, विधि र विचारसँग अन्योन्याश्रित प्रजातन्त्रले भन्छ – खराब कामबाट राम्रो परिणाम पाइँदैन । 

कम्युनिस्ट सोच राम्रो कुरा पाउन जस्तोसुकै (खराब) उपायसमेत अपनाउन सकिन्छ भन्ने(कु) तर्कमा आधारित छ । यस्तो सोचलाई तुलनात्मक अध्ययन गर्दा यथार्थमा खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने सोचको उपज कम्युनिस्ट पो हो रहेछ भन्ने स्पष्टै हुन्छ । 
केटाकेटी बेला, वादविवाद प्रतियोगितामा भाग लिँदा ‘तरबार ठूलो कि कलम ठूलो’ भन्ने विषय दिइएको याद छ । लाग्थ्यो, यो विषय शीर्षकको भित्री उद्देश्य कलम ठूलो ठान्नु थियो । तरबार बल र कलम विचारको प्रतीक भयो । सबै कलम रोज्न खोज्थे तर गुरुले तिमी यो र त्यो भनेर विषय व्यक्ति तोकिदिन्थे । अनि वादविवाद सुरु हुन्थ्यो । पक्ष विपक्षमा बाँडिएका विद्यार्थी आफ्नो पालोमा खुब ताली पिटिन्थ्यो । राजनीतिमा सोच्दा प्रजातन्त्रले विचारलाई प्रधान मान्यो, कम्युनिस्टले बललाई । यही कारण कम्युनिस्टले शक्ति बन्दुकको नालबाट निस्कन्छ भने । यसरी हेर्दा कम्युनिस्ट सत्ता बलमा आधारित देखिन्छ । बल अधिनायकवादी सोचको मुहान हो । 

एंगेल्सको उज्यालोमा माक्र्सले देखाएको बाटोमा आइपुग्दा चुनाव हारेका लेनिनले सत्ता कब्जा गरेर अधिनायकवादको अँध्यारो ल्याए । श्रमजीवी उत्पादक वर्गको हितमा सोचेका माक्र्सको विचारधारा स्टालिन, माओ र किमसम्म आइपुग्दा निम्न वर्गीयधारबाट उछिट्टिएर संभ्रान्तहरुको क्रूर सत्तामा फेरियो । तल्लो वर्गको नाममा संभ्रान्त कम्युनिस्ट अधिनायकवाद स्थापित भयो । कम्युनिस्ट नामकै वंश परम्पराको जहानिया सत्ता उत्तर कोरियाले देखाइदियो । कम्युनिस्ट एक दलीय सत्ताको दमन स्वतन्त्र विचारकाले मात्रै होइन, कम्युनका कथित माक्र्सवादीले पनि भोगे । भिन्न विचारका लाखौं जनताको हत्याको जगमा एकदलीय कम्युन स्थापना भए । यी कसैले पनि बाजा बजाएर अधिनायकवाद ल्याएका थिएनन् । धन्न, प्रजातन्त्रले सबै प्रकारका तानाशाही, अधिनायकवादी र स्वेच्छाचारी सत्तासोचलाई समेत रूपान्तरणको बाटो देखाइ दिएको छ । अन्यथा जर्ज अर्वेलले लेखेको ‘एनिमल फार्म’मा जस्तै कम्युनको श्रमशिविरमा जडसूत्रीय कम्युनिस्टहरु अहिले पनि मान्छेका स्वरूपमा मात्रै  भेटिएका हुने थिए । 

हजारौं वर्षअघि, हजारांँ राजनीतिक मनिषीको चिन्तनले सिंचित प्रजातान्त्रिक दर्शनविरुद्ध प्रयोग गरिएको कम्युनिस्ट प्रणाली दुई सय वर्ष पनि टिक्न सकेन । प्रजातन्त्र सामु घुँडा टेक्यो तर कम्युनिस्ट फुँदो र अधिनायकी धोकोको पन्तुरो भने अझै छोड्न नसकेकाहरू पनि छन् । नेपालमा ठ्याक्कै त्यही छ र त स्वेच्छाचारी अधिनायकवादको खतरा पनि छ ।

केही नमुना हेर्दा दुःखका साथ भन्नुपर्छ – संसद् सदस्यको शपथ नलिई प्रधानमन्त्री बन्नुबनाउनु विधि सम्मत हो कि ? प्रजातान्त्रिक मान्यता अनुकूल हो ? डा. गोविन्द केसीको अनशनको बेला लामो समय संसद् बैठक रोकेर प्रतिपक्षलाई सडकमा जान बाध्य पार्ने र एक सत्याग्रहीलाई मरे मरोस्जस्तै गर्ने शैली प्रजातान्त्रिक हो कि ? 

प्रतिपक्षी दलले संसद्मा उठाएका प्रश्न मन्त्रीसमक्ष राख्न दिन गरेको अनुनयलाई बलात् रोक्ने सत्ता कुन विवेकको हो ? 

सत्ताधारीहरु संसदीय सर्वोच्चताको गफ गर्छन् । प्रजातन्त्रमा विधिको सर्वोच्चता हुने होइन र ? विधिभन्दा माथि को छ ? संसद्ले विधि बनाउन सक्छ तर विधिलाई कुसन बनाउन पाउँदैन । 

प्रधान न्यायाधीशमा दीपक जोशीलाई अस्वीकृत कुन विधि अन्तर्गत गरियो ? सन्देह र अमूर्त आरोप खडा गरेर कसैका प्रति अन्याय गर्नु प्रजातन्त्र हु्न्छ ? दीपक जोशी प्रधान न्यायाधीश बन्नु, नबन्नु ठूलो कुरा भएन  । तर, उनीप्रति लगाइएका आरोपमा न्यायाधीशले फैसला कसरी गर्ने भन्ने घुमाउरो शैलीमा (पूर्व फैसलामा प्रश्न गरेर) ‘डिक्टेसन’ समेत छ र त्यसलाई नमान्दा महाभियोग लगाइन्छ भन्ने दुई तिहाइ संसदीय सर्वोच्चताले यतिबेलै नियोजित हल्ला फैलाएको छ । यस्तोमा शक्ति सन्तुलन र न्यायिक स्वतन्त्रता कसरी रहन्छ ? उल्लिखित जिज्ञासामा पाइने उत्तर प्रजातन्त्र हो कि, स्वेच्छाचारी  ? 

संयोग हो कि, नियत ? सरकार, संसद र संविधान संरक्षक जोडिएका जिज्ञासाको उत्तरमा भेटिने त्रिकोणीय सत्ता सञ्चालक पात्रहरूको भूमिका विधि सम्मतभन्दा दल सम्मतिको नजिक देखियो । यसो हुनु सुसभ्य प्रजातन्त्रको नमूना हो कि स्वेच्छाचारी असभ्य अधिनायकवाद ? अब आफैँ बुझौँ अनि पो बाजा बज्छ । तर, कसको भन्ने प्रश्न आउला । बस् !  
               
 

तपाईंको मत