Skip Advt.
ad

ब्लग

तीर्थयात्री बिरालो

तीर्थयात्री बिरालो

फाइँफुट्टीराजको फाइँफुट्टीको खानी आजकल सुकेको छ । हुन त यो बर्सातको मौसम हो । यो बेलामा कुलेखानीसमेत भरिन्छ । अरु त कुरै छाडौँ, काठमाडौंका बाटाघाटासमेत भैंसी खेल्ने आहाल हुन्छन् । ‘यस्तो सकारात्मक मौसममा तँ मुलाङ्खारे फाफुरोको चाहिँ खानी कसरी सुक्छ’ भन्नुहोला । फाफुरालाई नयाँनयाँ चिन्नुभएका विद्वान्हरुले त्यसो भन्नु स्वाभाविकै हो । तर, उसका पुराना पाठकलाई थाहा छ, रत्नपार्कमा गएर टोपीले मुख छोपेर नसुती फाफुराको उर्वर मगज चल्दैन ।

विगत केही दिनदेखि झरीले रोकिने नामै नलिएपछि फाफुराले वैकल्पिक उपाय नसोची कहाँ भयो र ? त्यसैले घोत्लिंँदा घोत्लिँदै ऊ एक साँझ पशुपतितिर पुग्यो । आर्यघाट पारीका खुड्किला चढेर फाफुरा माथि लाग्यो । त्यहाँ बस्नका लागि बनाइएका बेन्चीहरुमध्ये एउटामा उसले आफ्नो पुठ्ठो अडायो र पारीपट्टि मन्दिर हेर्न थाल्यो । ऊ गम्भीर चिन्तनमा मग्न भइरहेको थियो । उसको मगजमा कुनै उत्कृष्ट फाइँफुट्टी फुर्नमात्र के लागेथ्यो छेउबाट एउटा सानो आवाज आयो र उसको ध्यान भंग भयो,

“म्याउँ.........”

फाफुराले पुलुक्क हेर्यो । एउटा बिरालो रहेछ । फाफुरालाई त्यससँग रिस उठ्यो । घुस खान ठिक्क परेको कुनै खरदारले विशेष प्रहरीलाई देख्याजस्तै भयो । उसले छेउमा भएको एउटा छेस्का टिपेर त्यसलाई भगाउने ध्येयले हिर्कायो र भन्यो,
“भाग् फलान्थोक् बिरालो ।”
तर, त्यो बिरालो भागेन । डराउन पनि पटक्कै डराएन । उल्टो मुसुक्क हाँस्यो र भन्यो,
“तिमी फाफुरा होइनौ ? म तिमीलाई चिन्छु नि ! तिमीलाई यहाँ देखेर एक छिन कुरा गर्न आएको ।”

फाफुरा जिल्ल पर्यो । मनुवाकै स्वरमा बोल्ने बिरालो पनि हुनसक्छ भन्ने उसले थाहा पाएको थिएन । हुन त फाफुराले वा तपाईँहरुले थाहा नपाएका कति कुरा हुन्छन् । दुई तिहाइ मत ल्याएर कम्निसले चुनाप जित्छ भन्ने कसलाई थाहा थियो ? त्यसरी जितेर बन्या सरकार पनि पाफुरामात्रै हुन्छ, सिन्को भाँच्दैन र लुतो आएर खुइलिएको काउँरेस पार्टीले काम गर्न दिएन भनेर भन्छ भन्ने कसलाई थाहा थियो ? सय दिनमा काठमाडौंको मुहार चम्काउँछु भन्ने मेयर सापले सयवटा खाल्टोसम्म पुर्न सक्दैनन् भन्ने थाहा थियो ? प्रधानमन्त्रीज्यूले ‘हाम्ले बना खाल्टो हो र हामीले पुर्ने ?’ भन्लान् भन्ने थाहा थियो ? त्यस्ता थाहा नभएका कुरा यस संसारमा कति छन् कति । त्यसैले आजकल फाफुरा केही देख्दा वा सुन्दा पनि अचम्ममा पर्दैन । उसले सहजरुपमा त्यस बोल्ने बिरालोलाई सोध्यो,

“यसरी बोल्न जान्ने बिरालो, को हौ तिमी ?”
बिरालोले छाती फुलायो र जुँगामा ताउ लगाउँदै भन्यो,
“बिरालो होइन फाफुरा, ध्यान दिएर हेर । म त म बाघ हूँ ।” 
फाफुरा उसको कुरा सुनेर हाँस्यो । उसले त्यो बिरालोलाई भन्यो,

“हेर बिरालो भाइ, हुन त तिमी हेर्दा हृष्टपुष्ट नै देखिन्छौ । अझ भनौं भने तिमी आवश्यकताभन्दा बढी खाएको जस्तो डम्म परेका छौ । केही अघिको सोमालियातिरका मानिसले देख्या भए त तिमीलाई बाघै भन्ठान्थे होला । तर, खाएर जति मोटाए पनि बिरालो त बिरालो नै हुन्छ । बाघ कहाँ हुन सक्छ र ? हो अलि मोटाएका अरु बिरालोलाई जस्तै तिमीलाई पनि आफू बाघ भएको भ्रम चाहिँ भएको हुनसक्छ । त्यो सुरमा तिमीले दुईचार दिन दुईचार जनालाई आफू बाघ हूँ भनेर झुक्याउन पनि सकेका थियौ होला । तर, बिरालोले सँधै सबै मान्छेलाई आफू बाघ हूँ भनेर कहाँ झुक्याउन सक्छ र ?”

फाफुराको तर्कशक्ति देखेर बिरालो कायल भयो । उसले ङिच्च हाँस्दै भन्यो,
“तिमीले ठीक भन्यौ फाफुरा । मोटोघाटो भए पनि म बिरालो नै हूँ । तर, म साधारण बिरालो होइन बुझ्यौ ?”
फाफुराको दिमागमा एउटा आइडिया आयो । किन यसपटक यही असाधारण बिरालोको बहिर्वार्ता नलिनू ? उसले भन्यो,
“बिरालो भाइ, तिमीले भन्याथ्यौ, तिमी मलाई चिनेर कुरा गर्न आएका हौ । मलाई आफ्नो बारेमा केही भन न त । तिमी को हौ, यहाँ कसरी आइपुग्यौ ?”
बिरालो फुत्त उफ्रेर बेन्चीमा फाफुराको छेउमा बस्न आयो । लमतन्न परेर आङ तान्यो र बोल्न थाल्यो,
“म तीर्थ गर्न हिंडेको बिरालो हूँ फाफुरा । त्यही क्रममा आज पशुपतिनाथको दर्शन गर्न आएको हूँ ।”
फाफुरा झनै जिल्ल प¥यो । उसले सोध्यो,
“बिरालाहरुले कहिलेदेखि तीर्थयात्रा गर्न थाले हँ ?”
बिरालो धूर्त भावले हाँस्यो र भन्यो,

“मैले त तिमीलाई विद्वान् भन्ठान्या थिएँ । तर, तिमी पनि उही ड्याङको मूला रहेछौ कि क्या हो फाफुरा ? हरेक बिरालो मुसा खाएर अघाएपछि तीर्थयात्रामा निस्कन्छ भन्ने कुरा तिमीलाई के तिमीलाई साँच्चै थाहा छैन ? कुन बिरालो कहिले अघाउँछ भन्नेमात्र फरक हो । कुनै जति खाए पनि अधाउँदैनन् । यो त संसारको पुरानै रीत हो नि । ”

उसको कुरा सुनेर फाफुरा साँच्चै गम्भीर भयो । हो त नि । एउटा निश्चित् बिन्दुमा पुगेपछि सबै बिरालाहरु आफ्नो छवि सुधार्नेतिर लाग्छन् । किनभने बिरालाहरुलाई राम्रैसँग थाहा छ, हाम्रो स्मरणशक्ति छोटो छ । हाम्रो सहनशक्ति त्यति नै अपरम्पार छ । हामी जघन्यभन्दा जघन्य अपराध गर्ने जतिसुकै ठूला पापी र अपराधीलाई पनि सहजै माफ गर्न सक्छौँ ।

ठूलाभन्दा ठूला घाउ पनि सहन सक्छौँं । जीवनभर घूस खाएर र भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको मानिसले एउटा सप्ताह लगायो भने ऊ चोखिन्छ । बेइमान भन्दा बेइमान व्यापारी पनि बिहानबिहान पशुपतिनाथ गएर ठूलो स्वरमा ‘जय शम्भो’ भनेर कराएपछि धर्मभीरु कहलाइन्छ । आफ्नो कार्यकालभरी गलत निर्णयहरु गरेर, व्यक्तिगत फाइदाका लागि काम गरेको कर्मचारी पनि अवकाश पछि एउटा आत्मकथा लेखाएर आफूलाई महान् राष्ट्रसेवक भएको स्थापित गर्न सक्छ । फाफुराले बिरालोलाई सोध्यो,
“तिमीले अहिलेसम्म कतिवटा मुसा खायौ त बिरालो भाइ ?” 

बिरालोले दाह्रा ङिच्चाउँदै भन्यो,
“ठ्याक्कै त कसरी भन्नू । कति खाइयो कति ? हुन त म एक्लैले खाएको होइन । अरु बिरालाहरु पनि मिलेरै खाएका हौँ । तर, हाराहारीमा म एक्लैले पनि नौ सयभन्दा कम त खाएको छैन ।” 
“अनि तिमीलाई तीर्थयात्रामा हिँड्ने विचार चाहिँ कहाँबाट आयो त ?”
बिरालोले लामो सास फे¥यो र गम्भीर भएर भन्यो,

“हुन त मसँगका अरु बिरालाहरु अझै पनि सकृय छन् । उनीहरु भेष बदलेर अझै पनि मुसा खाइरहेका छन् । तर, ममा अब पहिलेको जस्तो जोस र जाँगर छैन । एकदिन उनीहरुले मेरो घाँटीमा घण्टी बाँधिदिए । म छेउमा पुग्नुअघि नै घण्टीको टिङटिङ आवाज सुनेर मुसाहरु भाग्न थाले । त्यसैले मैले तीर्थयात्राको लागि यसभन्दा उचित अवसर अरु हुँदैन भन्ने निर्णय गरें ।”
“के आफ्ना पाप पखाल्नको लागि तिमीले तीर्थयात्रा सुरु गरेका हौ ?”

“हेर फाफुरा, पाप र पुण्यको बारे विवाद गर्न थाल्यो भने त त्यो अनन्त कालसम्म चलिरहन्छ । के पाप हो के पुण्य ? तिमीले हेर्दा पाप भनेको कुरा मेरो लागि पुण्य हुनसक्छ । जहाँसम्म मुसाका कुरा हो, मैले नखाएको भए पनि त ती मुसाहरु चिरञ्जिीवी हुने थिएनन् । तिनीहरुको नियति नै त्यही थियो भन्ने बुझ । तर कुरा के भने, मेरा दाह्रा तथा नङ्ग्राहरु त ती मुसाका रगतले लतपतिएकै छन् । मैले जति पखालेर टिलिक्क पारे पनि मेरो अन्तरात्मामा त त्यसको रङ्ग त्यति नै गाढा छ । सुत्नेबेला म झलझली मैले खाएका मुसाहरुको अनुहार सम्झन्छु । तीमध्ये कतिका बाबुआमा थिए होलान्, कतिका लोग्ने थिए होलान्, कतिका छोरा थिए होलान् । भोकाएका साना छाउराहरुलाई दुलामा राखेर आहारा खोज्न निस्केका कतिपय बाबु मुसाहरुलाई मैले झम्टेर खाएँ होला ।

बाबुले आहारा ल्याउला र खाउँला भनेर कुरिरहेका तिनको बिचल्ली भयो होला । अहिले आफ्ना बच्चाहरु हेर्दा त्यो सबै सम्झेर म झसंग हुन्छु । हुन त हेर फाफुरा, म धर्मकर्म, पापपुण्य, मन्दिर र तीर्थजस्ता कुराहरुमा विश्वास गर्दैन थिएँ । अहिले पनि गर्दिन होला । तर, अन्तरात्माको बोझले पिल्सिएपछि कहींँ गए पनि, केही गरे पनि मन थाम्न नसकिने रहेछ । त्यसैले म तीर्थयात्रा गरेर हुन्छ कि के गरेर हुन्छ भनेर भौंतारिन थालेको हूँ । एउटा कुरा चाहिँ पक्का के हो भने फाफुरा, एक न एक दिन हरेक बिरालाहरुले मेरै नियति भोग्नेछन् । सबै बिराला कुनै न कुनै दिन तीर्थयात्रामा निस्कनेछन् ।”

फाफुराले उसको कुरा मनन गर्दै सोध्यो,
“के बिरालाले तीर्थयात्रा गरेपछि मुक्ति पाउँछन् त ? तिमी आफूलाई माफ गर्न सक्छौ त बिरालो भाइ ?”
बिरालोको अनुहारमा अन्यौलको भाव आयो । उसले भन्यो,

“मलाई थाहा छैन फाफुरा । तर, अरु कुरामा जति विश्वास गरे पनि नगरे पनि कर्मको फल भोग्नुपर्छ भन्ने कुरामा चाहिँ विश्वास नगरी सुखै नहुने रहेछ । मैले पनि मेरो कर्मको फल यही जुनिमा भोग्नुपर्छ । त्यसैले म अत्तालिएको मनलाई सम्हाल्न हिंडेको हूँ । एउटा कुरा बुझिराख फाफुरा, जसले आफूलाई वहादुर देखाउन अरुको ज्यान मार्छ, त्योभन्दा ठूलो कातर अरु कोही हुँदैन । म आफ्नो कातरपनासँग डराएको छु । त्यसैले तीर्थयात्रामा निस्केको हूँ । यहाँका मठमन्दिर सबै भ्याएर म लुम्बिनी जान्छु । त्यहाँ गएर म मानवता, अहिंसा र शान्तिको सन्देश दिन सुरु गर्छु ।” 

फाफुरा एकनास बिरालोलाई हेरिरह्यो । उससँग अब बिरालोलाई सोध्न कुनै प्रश्न बाँकी थिएन । बिरालो पनि एकतमासले पारी आर्यघाटमा खरानी भइरहेका दम्भहरुलाई हेरिरह्यो । एकदिन उसको र अरु सबैको नियति त्यही हो भन्ने उसलाई थाहा हुनुपर्छ । बिरालोले आङ्ग तन्क्यायो र भन्यो,
“ओके फाफुरा । इट वाज नाइस टकिङ टु यु । थ्यान्क्स फर लिसनिङ ।”

बिरालो फुत्त बेन्चीबाट ओल्र्यो । एकपटक म्याउँ गरेर करायो । अनि नौ सय मुसाहरु खाएको अपराधले ग्रस्त बिरालो गह्रुँगो पाइलाहरु चाल्दै अँध्यारोमा बिलीन भयो । 

तपाईंको मत