site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसरी रोकियो कृष्णभीरको पहिरो
Ghorahi CementGhorahi Cement

झर्‍यो झर्‍यो झर्‍यो कृष्णभीर !
कृष्णभीर कटे’सी मनमा छैन कुनै पीर !

कृष्णभीरको पहिरोलाई विम्ब बनाएर रचिएको गीति अन्तरा हो यो । नेपाली कथानक चलचित्र ‘इन्द्रेणी’को यो गीतले पनि प्रष्ट्याउँछ– अवर्णनीय थियो कृष्णभीरको त्राशदी ।

कृष्णभीरलाई केन्द्रमा राखेर अनेकौँ गीति–अन्तरा तयार भए । काव्य–बिम्ब रचिए ।

Agni Group

समयक्रमसँगै कृष्णभीर पहिरोको पर्याय होइन, मिथजस्तो मात्रै बन्न पुग्यो ।

यस्तो छ कृष्णभीरको कथा ।

Global Ime bank

० ० ०
२०५७ साल । सशस्त्र द्वन्द्वको उत्कर्षतिर अभिमुख मुलुक । आगाको भुंग्रोमा बाँचेको थियो समय !

सँगै अर्को त्राश पनि थियो– कृष्णभीर !

पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा पर्ने कृष्णभीर सिंगै देशको त्राशदी थियो ।

\"\"

पृथ्वी राजमार्ग उपत्यका प्रवेश गर्ने बाटोमात्रै होइन, सामान ओसारपसार गर्ने मुख्य राजमार्ग पनि ।
साउनको पुछारतिर गएको पहिरोले ११ दिन आवागमन अवरुद्ध भयो । नाकाबन्दी लागेझैँ उकुसमुकुस भयो काठमाडौँ । उपभोग्य सामग्रीको हाहाकार छायो । नुनदेखि सुनसम्मको भाउ अकाशियो । देशका सुदूर कुनाबाट काठमाडौँका लागि बाटो तताएका यात्रु बाटैमा अलपत्र परे । युद्धभन्दा ठूलो विपत्ती आइलाग्यो ।

\"\"

तर, यो अत्यास अब इतिहास भइसकेको छ । एकझर पानी पर्दैमा कृष्णभीरको डर मान्नु पर्दैन । आकाश गडबडाउनेबित्तिकै यात्रु–सवारी चालकले हडबडाउनु पर्दैन । कृष्णभीरको उच्चाटलाग्दो विगत विस्मृतिको गर्तमा धकेलिइसकेको छ ।

कृष्णभीरको पहिरो देख्दा यस्तो लाग्थ्यो– जति पुकार गरे पनि यात्रुको पीडा सुन्दैन, बहिरो छ प्रकृति पनि ।

तर, नरेशमान शाक्य प्राकृतिक भवितव्यलाई पनि चुनौती दिने ‘भगवान’ निस्किए ।

यात्रुको व्यथा बनिरहेको कृष्णभीर उनैको पहलमा एकादेशको कथा बन्यो ।

\"\"

इन्जिनियरिङ एक सम्मोहन 
सपना भन्नु नै इन्जिनियरिङ थियो उनको । इन्जिनियरिङकै लागि धर्तीमा प्रादुर्भाव भएजस्तो ! 

परिवारै पत्रकार । विरासतमा पाएकाले होला, नशानशामा बगेको थियो पत्रकारिता । बाबु अमृतमान शाक्य नेपालमा पत्रकारिता भित्र्यााउनेमध्ये पर्छन् । काका बाबुराजा शाक्य, मञ्जुरत्न शाक्य आदि पत्रकारिता साधनामै थिए ।

तर, उनले बाटो बदले ।

“ठूलो भएपछि के भन्छौ बाबु !”  कसैले सोधी हाल्यो भने “म त इन्जिनियर बन्छु !,” सगर्व भन्थे उनी ।

इन्जिनियर बन्न प्रेरणा दिनेचाहिँ आमा थिइन् । परिवारै प्रेससँग गाँसिएकाले होला, छोरालाई इन्जिनियरतिर ढल्काएर जीवनको ‘आर्किटेक’ गर्न मन लाग्यो आमालाई ।

ओमबहालका रैथाने नेवार । त्यहीँको बालविकास स्कुलबाट औपचारिक शिक्षा शुरू गरे ।  तीन कक्षासम्म त्यहाँ पढेका उनले निम्नमाध्यमिक खण्डचाहिँ जुद्धोदयबाट पूरा गरे । त्यसपछिको माध्यामिक शिक्षा भने दरबार हाइस्कुलमा भयो, ०३८ सालमा ।

प्रवेशिकाको च्याप्टर पूरा भएपछि कहाँ जाने भन्ने अन्यौल थिएन । दिमागमा इन्जिनियरिङको घुर्मैलो चित्र कोरिएकै थियो । अस्कल क्याम्पसमा साइन्समा भर्ना भए र त्यसलाई मूर्तता दिने बाटो पहिल्याए ।

भारतको कानपुरबाट इन्जिनियरिङमा स्नातक भएपछि सपनाले हाँगाबिँगा हाल्यो । ०४८, १ फागुनमा इन्जिनियरका रूपमा सरकारी सेवा प्रवेश गरेपछि सपना फस्टाउन थालिहाल्यो । दोस्रो वर्ष, ०४९, २० पुसमा स्थायी पनि भए ।

सडक विभागले नै उनलाई वेलायतमा पढ्ने अवसर प्रदान गर्‍यो । र, ‘जियो टेक्निकल’मा स्नातकोत्तर उत्तीर्ण भए शाक्य ।

पहिरोसँगको सामिप्यता

उनका अनुभूति सुन्दा यस्तो लाग्छ– पहिरोसँग निकै गहिरो सामीप्ता छ उनको । पहिरोको कारण पत्ता लगाएर प्राकृतिक र इन्जिनियरिङ तवरले न्यूनीकरण गर्न माहिर छन् उनी । 
र त उनी भन्छन्, “मेरो ‘चार्म’ पहिरोले नै तय गरिदिएको हो ।”

तिनताक रसुवा, ठाडेको पहिरोमा काम गरिरहेका थिए । भीमकाय पहिरो थियो त्यो । पहिरोको अन्वेषण गरेर रोकथामको उपाय पहिल्याउँदै थिए । सफलतासमेत मिलिरहेको थियो ।

अध्ययन, सोध र खोज नै पहिरो भएकाले पहिरोमा काम गर्न निकै मन पराउँथे । विभागकै ‘सस्पेन्सन ब्रिज’ शाखामा काम गर्दा पनि पहिरोबारे धेरेथोर जान्ने, बुझ्ने मौका पाएका थिए भनौँ ।

तर, उनलाई कृष्णभीरले चिनाइदियो ।

\"\"

त्यतिबेला कृष्णभीर जिम्मेवारीका हिसाबले सडक विभागको टाउको दुखाइ त बनेको थियो नै देशकै मथिङ्गगल खज्मज्याएको थियो ।

०५७ साउन २७ गते गएको विशाल पहिराले राजधानीको ‘लाइफ लाइन’ मानिएको पृथ्वी राजर्माग पूरै ठप्प तुल्याएको थियो । निसास्सिएको थियो काठमाडौँ उपत्यका ।
२०० मिटर उचाइ र २५० मिटर चौँडाइको पहिरोले सडक अवरुद्ध थियो । हजारौँ यात्रु, सयौँ मालवाहक ट्रक बाटामा अलपत्र थिए ।

वर्षामास । एकनास झरी परिरहेको छ । माटोको लेदो खसेको खस्यै छ । पन्छाएर सडक सुचारु गर्न सक्ने अवस्था छैन । भतरपुर डिभिजनले हेथ्र्यो पृथ्वी राजमार्ग । तर, उसको केही सीप चलेन ।

अत्यन्त भिरालो पाखो । माथिल्लो सतहमा रहेको ढुंगा हावापानीले पूर्णरूपमा खिइसकेको । सतहबाट दश मिटर मुनिसम्मको माटो जमानाको पहिरो थियो  । दशकौँअघि खसेको ८०० मिटर पहिरोले जमिन पूरै थिल्थिल्याएको थियो । पहिरो पन्छाए पनि जतिबेलै पहिरो खस्ने भय हुन्थ्यो ।

भू–वातावरण शाखामा कार्यरत उनी । भरतपुर डिभिजनले पहिरो नियन्त्रणमा लिएर आवागमन सुचारु गर्न नसकेपछि उनको टेबलमा आइपुगेको थियो समस्या ।

डिभिजन प्रमुख जमुनाबहादुर श्रेष्ठ, इन्जिनियर शिव अधिकारी, बुद्धि न्यौपाने र शाक्यसहित चारजनाको टोली पहिरो गएको भोलिपल्टै कृष्णभीर पुग्यो ।

जियो टेक्निकल इन्जिनियर भएकाले उनले पहिरोको स्केच तयार पारे । 

\"\"

त्रिशूलीको कटानका कारण कृष्णभीरमा पहिरो– मिडियाको समाचार बनेका थिए । तर, पहिरोका कारण जमिन खज्मजिएको, भिरालो जमिन, पानीको उपयुक्त निकास नभएको र कमजोर चट्टानका कारण सडकभन्दा माथि नै ‘फेलियर’ भएको उनको निचोड थियो । पहिरोको प्रकृति रोटेस्नल, प्लेन फेलियर दुवै भन्न मिल्ने थियो । पहिरोका पाँच छुट्टाछुट्टै खण्ड थिए । र, सबैको अवस्था अलग–अलग थियो ।

विभागमै बसेर तालु फुलाएका इन्जिनियर पनि थिए । 

तर, उनकै ‘फाइन्डिङ्स’ विश्वसनीय बन्यो । शाक्य नै भरसिलो बने ।

कसरी भयो निदान ?

पहिराका कारण सडकबाट २२ मिटरमाथिसम्म लेदो माटो थुप्रिएको थियो र त्यो पन्छाउनेबित्तिकै पहिरो खस्न शुरू हुन्थ्यो ।

डिभिजनलाई उनले सुझाव दिए– अहिले माटो काट्ने बाटो सुचारू गर्ने । पहिरोको दुईतर्फ दुईवटा स्काभेटर राख्ने । खसेको माटो पन्छाउँदै बाटो चलाइरहने । 

“किनभने त्यसबेला तत्काल पर्खाल लगाउन सक्ने अवस्था थिएन । पर्खाल बनाउन जग चाहिन्थ्यो । जमिनको भित्रितहसम्म क्षतविक्षत भइसकेकाले पर्खाल अड्याउने ठाउँ थिएन, फेरि भित्रैसम्म माटो खोतलिएको थियो, त्यो नपन्छाएसम्म संरचना निर्माण गर्न कठिनै हुन्थ्यो,” त्यतिबेलाको क्षण सम्झिन्छन् उनी ।

झन्डै एक वर्ष त्यसैगरी चल्यो बाटो ।

त्यसपछि विभागले स्थायी समाधान खोज्ने निष्कर्ष निकाल्यो । \"\"

तत्कालीन सचिव, सडक विभागका महानिर्देशक, डिभिजन प्रमुखसमेतको बैठकले सोध्यो– “पहिरो कसरी रोकथाम गर्छौं ?”

तिनताक नेपालमा जोन हवेलले विज्ञका रूपमा काम गरिरहेका थिए । 

तिनले शाक्यलाई भन्थे, “अनुभवका हिसाबले यो पहिरो कसरी गयो म भन्न सक्छु । तर, मभन्दा पनि अघि लागेर तिमीले पहिरोको वैज्ञानिक कारण नै पहिल्यायौ !”

शाक्य सम्झन्छन्, “विभागले शुरूमा विदेशी विज्ञका रूपमा हवेललाई नै पहिरो रोकथामको जिम्मा दिएको थियो । पछि तिनै हवेलले सुझाए– विदेशी कोही खोज्नुपर्दैन । नरेशमान शाक्य नै उपयुक्त पात्र हो ।”

त्यसरी छानिएका हुन् उनी ।

पहिरोको दीर्घकालीन रोकथाक गर्ने उद्देश्यले कृष्णभीर पुगेपछि उनले विभिन्न कोणबाट अध्ययन– अन्वेषण गरे । माटो र पहिरो गएको तह पत्ता लगाए । गुरू योजना तयार पारे । र, सडक विभागमा प्रस्तुत गरे ।

त्यतिबेला नेपालमा थुप्रै विज्ञ कार्यरत थिए । ती विज्ञहरूले पनि आफ्नो खालको निष्कर्ष ननिकालेका होइनन् । तर, विभागले शाक्यको निष्कर्षलाई नै ग्राह्यता दियो ।

पहिरोले खज्मज्याएको माटो हटाउने । पानीले पहिरो जान सघाएकाले उपयुक्त निकास दिने । आवागमनलाई असर नपुर्‍याउने गरी पहिरोलाई प्राकृतिक रूपमा बग्न दिने आदि शुरूआती योजनामा थिए । 

\"\"

ठाडो जमिन । पहिरो खस्दा जनधनको क्षति हुनसक्ने भय उत्तिकै थिए । त्यसबाट बच्न उनीहरूले तीनवटा च्यानल (खण्ड) तयार पारेका थिए । र, पहिरोको ‘गुरुत्व’ कम गरेका थिए ।

च्यानलको अन्तिममा कप आकारमा ठूल्ठूला पाइप राखियो । पानीमात्र नभई ढुंगामाटोसमेत त्यहाँबाट खस्न सक्थ्यो । तीनवटा च्यानलबाट बिस्तारै बग्दै आउने र पाइपमा आएपछि बेगले बग्ने जमिनमुनिको बाटो भएर नदीमा मिसाइयो । जुन दुनियाँकै नूतन र प्रथम प्रयोगसमेत हो । 

अर्को चाखलाग्दो प्रयोग पनि भएको थियो त्यहाँ । ढुंगामाटो खस्दा पनि केही नहुने ‘फ्लेक्जिबल च्यानल’ निर्माण गरिएको थियो । \"\"

दुईसमय मिटर चौडाइको पहिरोमा जथाभावी पानी बगिरहेको थियो । त्यसलाई उनीहरूले तीन ठाउँमा सीमित गरे ।

त्यसपछि बायो इन्जिनियरिङ (पहिरो गएको ठाउँमा घाँस, बोटविरुवा रोप्ने कार्य ) र स्ट्रक्चरल इन्जिनियरिङ (जाली, सिमेन्टेड पर्खाल, नाला निर्माण) दुवै गरियो ।

चेपाङ बने नायक

ओढारको ओत लागेर जीवनको अस्तित्व धानिरहेका चेपाङबारे शाक्यले सुनेका थिए । ठूटा, बुटा, वन–बुट्यान चहारेर भोक मेटाइरहेका चेपाङको जीवन अनुभव कृष्णभीरमा समेत काम लाग्यो । चेपाङ साइँला त नायकै सावित भए ।

जियो टेक्निकल र बायो इन्जिनियरिङमासमेत काम गरिरहेकाले पहिरोमा घाँस, रूख रोप्नुपर्छ भन्ने थाहा थियो । तर, धादिङको भूखण्डमा कस्तो घाँसपात उपयुक्त हुन्छ र बोटविरुवा लगाइन्छ भन्ने थाहा थिएन । तिनै साइँला गुरु बनेर भीरभीर चढेर घाँसपात रोपे ।

 

चार वर्षे अन्तरालमा ज्यानको बाजी थापेर काम गरेबापत विभागले केही चेपाङलाई मृत्युपर्यन्त सुपरभाइजरको जिम्मा दिएको छ । साइँला दाइ पनि एक पात्र हुन् । र, कृष्णभीरलाई उपवनसरह हरियाली बनाउने ध्याउन्नमा छन् उनी ।

व्यवस्थापन चुस्तदुरुस्त नभएको भए कृष्णभीर जीवितै
शाक्यको एक्लो कदमले कृष्णभीर नियन्त्रणमा आएको पक्कै होइन । प्राविधिक कार्य रामवाण त बन्यो । व्यवस्थापकीय पाटो पनि उत्तिकै महत्त्वपूर्ण बन्यो ।

सचिवले पूर्ण अधिकार प्रत्यायोजन गरे । हमेसा भन्थे, “तपाईंले कसैलाई डिजाइन चेक गराउनुपर्दैन । सीधै मकहाँ ल्याए हुन्छ ।”

तर एउटा सर्त थियो– इन्जिनियरिङ फेल हुनुभएन । 

तिमीलाई सबै गर्न छुट छ । कुनै हालतमा पहिरो नियन्त्रणमा लिनुपर्‍यो ।

उनले विश्वास गडमगाउन दिएनन् । \"\"

विभागले नयाँ गाडी दिएको थियो । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म कार्यक्षेत्रमा खटिन्थे । पहिरोको प्रकृति नयाँ, इन्जिनियरिङ नयाँ, कामदारहरू नयाँ । ठेकेदारहरू पारङ्गगत थिए । पर्खाल र नालाको बनोट नयाँ भएकाले उनीहरूको अनुभव पनि नयाँ ।

बिहानभर डेमो गराउँथे, दिउँसो साइटमा खटाउँथे कामदार । झन्डै चार वर्ष लाग्यो कृष्णभीरको पहिरो नियन्त्रणमा लिन ।

दहाकी भीरको बजेट रकमान्तरण

जतिबेला पहिरो गयो, बाटो अवरुद्ध भयो । कृष्णभीरका लागि भनेर विभागसँग एक पैसा पनि थिएन । कृष्णभीर भन्दा आठ किलोमिटर पर दहाकी भीरका लागि बजेट विनियोजन थियो । दहाकी भीर नियन्त्रण गर्न रकम प्रयोग हुन सक्ने अवस्था थिएन । दहाकी भीरका लागि भनेर छुट्टयाएको रकम कृष्णभीरमा खर्च गरियो, ६० लाखजति ।

चार वर्षको अन्तरालमा पाँच करोड ३४ लाख खर्च भयो । पहिरो पन्छाउन एक करोड ५८ लाख र बायो तथा सिभिल स्ट्रक्चर खडा गर्न तीन करोड ७६ लाख खर्च भएको थियो ।

सामान्यतया अन्य स्ट्रक्चरमा काम गर्न रकम माग गर्दा मागको चौथाईमात्रै बजेट उपलब्ध हुन्थ्यो । तर, कृष्णभीरको हकमा त्यो साँधसीमा मिचियो ।

“बजेट माग गर्दा रकमको अन्तिममा एकपटक ९१२ रुपैयाँ आएको थियो, त्यो रकम पनि निकासा भयो,” हाँस्दै सुनाउँछन् उनी । \"\"

सुक्ष्मातिसुक्ष्म स्ट्रक्चरको समेत विस्तृत सर्भे गरिएकाले विभागले विश्वास गर्ने वातावरण बन्यो भन्छन् उनी ।

त्यसमा अर्को रोचक अनुभव छ–

कृष्णभीर पहिरो रोकथाक गर्न विदेशीलेसमेत विस्तृत परियोजना प्रतिवेदन तयार पारेका थिए, स्ट्यान्डर्ड जियो टेक्निकल अनुसार । जसमा तीन अर्ब लागत अनुमान थियो ।

विदेशीको कार्यानुभव र सम्झौताहीन कार्यको हिसाबले अनुपयुक्त होइन त्यो । तर, हाम्रो क्षमताभन्दा निकै बाहिरको कुरा । विभागलाई विनियोजित बजेटको झन्डै ६० प्रतिशत रकम हो त्यो ।

कृष्णभीरको पहिरो रोकथाम गर्न विभागको कुल बजेटको ६० प्रतिशत रकम खर्च गर्ने सम्भावना नै थिएन ।

शाक्यको समूहले न्यूनतम लागत प्रविधि अवलम्बन गरे । विदेशी विज्ञले पहिरो सम्पूर्णरूपमा पन्छाउनुपर्ने तर्क अघि सारेको थियो । तर, उनीहरूले थोरैथोरै माटो फाल्दै पहिरो पन्छाएको ठाउँमा तारजाली भरे । स्टेप–स्टेप पर्खाल लगाए ।

त्यसबाहेक कृष्णभीरको पहिरो नियन्त्रणमा लिन अपनाइएको प्रमुख कदम हो, पहिरोलाई प्राकृतिक रूपमै बग्न दिइयो । पानी बग्ने ठाउँमा घाँसपात लगाइयो ।

“‘नेचर इज मास्टर अफ डिजाइन’ हामीले यो सिद्धान्त अपनाएको थियौँ, त्यतिबेला,” हाँस्छन् उनी ।

कृष्णभीरले दुःख दिँदैन त अब ?

प्राकृतिक विपत्ति मानिसको वशको कुरा होइन । यसलाई पूर्णतया नियन्त्रणमा लिन पनि सकिँदैन । न्यूनीकरणमात्रै गर्न सकिन्छ ।

तर, कृष्णभीर नियन्त्रण लिन विभागले जेजस्तो स्रोत र सामथ्र्यको प्रयोग गर्‍यो, त्यसले धेरैहदसम्म नियन्त्रणको काम गरेको छ । पहिरोले मरुस्थलमा परिणत गरेको जमिन निकुञ्जस्तो हराभरा भएको छ । तथापि पहिरो जाने सम्भावना भने नकार्न सकिँदैन ।

\"\"

“बीचको एउटा स्ट्रक्चर कमजोर हुनेबित्तिकै पहिरो जान सक्छ,” उनी खतरा औँल्याउँछन्, “पछिल्लो समय त्यहाँ खासै सुपरिवेक्षण (मनिटरिङ)को काम हुन सकेको छैन ।”

सुडक विभाग– सुनको अण्डा पार्ने कुखुरा

उनले जागिर खाँदा सडक विभागबारे एउटा विम्ब चलनचल्तीमा रहेछ– ‘सुनको अण्डा पार्ने !’ सडक विभागमा जान हानथाप हुने तर कसैको पनि काम नदेखिने ।
सडक निर्माणको गति धीमा थियो । बिग्रे–भत्केका सडक टालटुल पार्ने काम उस्तै गतिशून्य ।

अखबारले कामको समाचार छाप्लान् भन्यो । बरु समाचारका हेडलाइन आउँथे– ‘इन्जिनियरको मिलेमतोमा ठेकेदारद्वारा काममा ढिलासुस्ती । इन्जिनियर घुससहित रंगेहात पक्राउ !’

सडक पूर्वाधार निर्माणको जिम्मा पाएका विभागका कर्मचारी नै भ्रष्टाचारमा निर्लिप्त भएका समाचार पढ्दापढ्दा वाक्क थिए आममानिस ।

कृष्णभीरको पहिरो तह लगाएपछि पत्रपत्रिकामा सुखद् समाचार छापियो– नेपाली विशेषज्ञद्वारा कृष्णभीरको पहिरो नियन्त्रणमा ।

\"\"

‘सुनको अण्डा पार्ने,’ कृत्रिम विम्ब अब किनारा लाग्यो भनौँ ।

“धेरैपछि सडक विभागबारे सकारात्मक समाचार पढ्न पाइयो भनेर धेरै मानिस खुसीले आनन्दित भएको थिए त्यतिबेला,” उनी अहिले सम्झन्छन् ।

डोजर अपरेटरले जब ज्यान दाउमा राखे

\"\"
कृष्णभीरको पहिरो तह लगाउने उनी साध्यमात्र हुन् । साधन अरू नै छन् । कति पृष्ठभागमा देखिए । कति नेपत्थ्यमा रहे ।

त्यसमध्ये ज्यान हत्केलामा राखेर भीर–भीर चहार्ने पात्र हुन्– दलबहादुर राना ।

“कहाँ होलान् ती दाइ ?” उनी अहिले पनि खोजी गर्छन् ।

कृष्णभीर होइन अक्करको भीर थियो त्यो । सीधा माथि हेर्दा टोपी खस्ने, ठाडो । पहिराले थिल्थिल्याएको उस्तै ! स्काभेटर लिएर पाखापाखा नाच्थे । जुन परिणाममा माटो काट्न भन्यो त्यति नापनक्साको माटो काट्थे । तिनको जादूयी डोजर चलाइ र निडर मुटुले साइटमा काम गरिरहेकाको जीउ लगलगी काँप्थ्यो ।

सडकमाथिको माटो काट्दा खासै मानिसको आँखा परेन । सडक तल–तल झर्ने बेलामा भने सबैका शरीरका रौँ उचालिए ।

खोलातिर मुख फर्काएर ठाडो ओह्रालोमा स्काभेटर झार्दै गरेको तस्बिर त त्यतिबेलाका पत्रपत्रिका आमुख तस्बिर नै बने । “दलबहादुर राना नभइदिएको भए शायदै पूरा हुन्थ्यो कृष्णभीरको प्रोजेक्ट,” कृतज्ञ हुन्छन् शाक्य ।

सरुवाको याचना
\"\"

सडकमाथि संरचना खडा गर्दा उनको मनोबल अत्यन्त उच्च थियो । एकपछि अर्को गरी सफलता हात पनि पार्दै थिए । डिजाइनिङ जस्तो बनाए पनि हुने तर पहिरो रोकिनु रोकिनु पर्‍यो । ‘फेलियर’ हुनुभएन । एकमात्र ध्येय थियो ।

जब सडक मुनी संरचना खडा गर्नुपर्ने भयो, उनको मनोबल क्षीण भयो । माटो काटौँ, भत्कन तीन मिटरमात्रै सडक बाँकी छ । नदी कटानको भय उस्तै छ । पर्खाल लगाऔँ, ६५ मिटर भन्दा अग्लो उचाई कसरी व्यवस्थापन गर्नु ?

त्यहाँ पनि उनले बाटोको माथिल्लोपट्टीकै जस्तो उपाय अवलम्बन गरे । ठाउँठाउँमा ग्याबिन वाल लगाए । घाँस–पात लगाए । पानी निकासको बन्दोवस्त मिलाए । 

श्रेणिकृत पर्खाल लगाउँदै सडक छेउ आइपुगेपछि भने उनी रनभुल्ल परे । कस्तो संरचना निर्माण गर्ने ? दिमागले तय गर्न छाड्यो । त्यसपछि उनी याचना गर्न थाले– सरुवाको !

\"\"

“झन्डै २०० मिटर चौडाइको पहिरो छ । जति ग्याबिन वाल लगाउँदै आए पनि सडक भेटिँदैन, त्यहीबेला हो मैले सरुवा भइदिए पनि हुन्थ्यो भनेर कामना गरेको,” हाँस्छन् उनी ।

तत्पश्चात उनको मथिङ्गलमा आयो– सडकको छेउबाट खसोस् नै भनेर ग्याबिन वाल लगाउने । जतिपल्ट खस्छ, त्यतिपटक ग्याबिन वाल लगाउने । खसेको ग्याविन वाल तल व्यवस्थापन गर्ने– त्यसको ध्येय थियो ।

त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पत्रकारलाई शुरूमै जानकारी गराए र सोही बमोजिमको संरचना खडा गरे ।

अन्ततोगत्वा कृष्णभीर नियन्त्रणमा आयो ।

अनि बने हिमालय क्षेत्रको पहिरो विज्ञ

कृष्णभीरको पहिरो तह लगाएपछि उनी पहिरो नियन्त्रण र भू–क्षय व्यवस्थापनको विज्ञ नै बने । अनुभव बाँड्न विश्वभरबाट बोलावट हुन थाल्यो ।

भुटानमा त विकराल समस्या आयो । त्यहाँ भन्डै आठ सय सडक बनाइँदै थियो । विश्वविख्यात प्राविधिक (जियो टेक्निकल)हरूको त्यहाँ संलग्नता थियो  । तर, तीन मिटरभन्दा अग्ला कुनै पर्खाल टिकेनन् । संरचना होइन, डिजाइनले नै ‘फेल’ खायो । हैरान भएपछि उपल्ला पहाड र हिमालय क्षेत्रमा पहिरोमा काम गरेका विज्ञको खोजी भयो, उनी बोलाइए ।

भुटानमा बायो इन्जिनियरिङ सम्भव थिएन । उपल्लो मनाङ, मुस्ताङका जस्ता चट्टाने पहाड । त्यहीअनुकूलको संरचना तय गर्नुपथ्र्यो, उनले यथोचित सुझाव दिए । धेरै हदसम्म संरचना निर्माणमा सहयोगी बन्यो ।

अहिले त उनीसँग भुटानबाट विद्यार्थी पढ्नै आउन थालेका छन् ।

“कृष्णभीरको परिचय मैले बदलेँ, मेरो परिचय कृष्णभीरले बदल्यो,” यति भनेर कुराकानी गाँठो पारे उनले ।

\"\"
\"\"

\"\"\"\"

\"\"

\"\"

\"\"

\"\"

तस्बिर सौजन्य : नरेशमान शाक्य

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC