site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म हुँ दोषी, सजाय मलाई देऊ ! 

भक्तपुरमा बाढी घरघरमा पस्यो, कञ्चनपुरमा एक बालिकाको बलात्कार र हत्या भयो, काठमाडौंका सडक हिँडीनसक्नु हिलाम्य भए, चावहिल–जोरपाटी र कलंकी–नागढुंगा सडकको बिजोग हेरी नसक्नु छ । कसैको सालालाई ब्लड क्यान्सर भएको छ, कसैलाई फोक्सोको क्यान्सर, कसैको सासुलाई डिमेन्सिया भएको छ । कति लाशहरू हरेक दिन लाइन लागेर बाकसमा लुकेर गाउँ-कन्दरा पुग्दैछन्– आत्मीयलाई निर्जीव अनुहार देखाएर नजिकैको खोलामा खरानी भई बग्नका लागि मात्र । हाम्रा खरानी पनि अभिशप्त छन्, बगेर पानीको बाटो समुद्र पुग्नका लागि । 

न समाज बाँकी रह्यो न परिवार । न माया रह्यो न प्रेम । मेरी बहिनीलाई विदेशमा अस्मिता बेच्न वाध्य बनाइएको छ भने मेरो भाइको पसिना । मेरा छोरी र बहिनीलाई त आफ्नै गाउँ, आफ्नै नातेदारले मुख थुनी थुनी पिल्साएका छन् । अनि मुख खोल्छे भनेर ढुंगाले किचेर मारेका छन् । उफ !   

मेरा आफ्ना हरेक कदममा लुटिएका छन्, हेपिएका छन्, ठगिएका छन् । तर, म ढुक्कसँग बसेको छु । हरेक दिन मेरा आफन्तको पीडा, दुःख, कष्ट, आर्तनाद, रुवाइ, चिच्याइ सबै मोबाइलका पर्दामा हेरेर यो सबैलाई एउटा सिनेमा झैँ मानेर बसेको छु । नाकमाथि पानी नआउन्जेल सबै रमिता हेरेर बसेको छु । एकदिन आफू पनि कसैको मोबाइलको पर्दामा, टेलिभिजन, रेडियो र पत्रिकामा समाचार हुन्छु भन्ने थाहा हुँदाहुँदै पनि म चुपचाप बसेको छु । 

Prabhu Bank
Agni Group
NIC Asia

मलाई के भएको हो ? अहिले ठीक छु होला । तर, हुन त हुन्छ, मलाई पनि हुन्छ । केही न केही अवश्य हुन्छ । तर, केही नभइकन पनि अहिले मलाई आत्मग्लानि भएको छ । किनभने यो देशमा, समाजमा, गाउँ–सहरमा र परिवारमा जे-जे भएको छ, त्यो सबैको दोषी म नै रहेछु । त्यसैले आत्मग्लानि भएको छ । 

लाग्छ, मेरो देश राक्षसको बस्ती हो । यहाँ घरघरमा राक्षसको बसोबास छ । जो राक्षस हुन सकेका छैनन्, ती भातमारा लाशमात्र हुन् । र, म त्यही भातमारा एउटा लाश हुँ । राक्षसले मेरो देशको भोजन गर्दा तिनको क्षुधा शान्तिको प्राकृतिक प्रक्रिया मानेर चुपचाप बस्ने म । आँखा नदेख्ने, कान नसुन्ने र बोल्न नसक्ने पक्षघातले ग्रसित जिउँदो लास, भातमारा लाश बनेर बसेको छु । राक्षसहरू अनेकौं रूप, रंग र आकारमा आउँछन् । मेलैसँग बसेर भोज लगाउँछन् । कसैलाई खुट्टा चाहिन्छ, कसैलाई छाती । कसैलाई सोमरस त कसैलाई रक्ति ।

Global Ime bank

कोही बालुवाटरमा बसेर डकार्छन्, कोही सानेपामा । कसैले गाउँगाउँ सिध्याए, कसैले काठमाडौंको गल्लीगल्लीमा च्यापे । कसैले सिंहदरबारमा बसेर खाएको अर्काले नारायणहिटीमा पुगेर दन्काए । मेरा आफ्ना, मेरा प्रिय, मेरो कुरा मिल्ने भन्नेले पनि आफ्नो राक्षसी प्रवृत्तिलाई रोक्न कुनै प्रयास गरेनन् । कसैले नेता बनेर भ्याए, कसैले कर्मचारी । कोही पुलिस बनेर लुटे कोही न्यायाधीश । अनि म रमिता बनेर बसेँ । केबल रमिते । बाघले खाएको सिकारको हड्डीमा लागेको मासु खान पाइन्छ कि भनेर रमिते बनेको स्याल भएर र्‍याल चुहाएँ । 

म मात्र हुँ र, मेरो त पुस्तै लाचार छायाँ रहेछ । मेरा हजुरबा राणाबाट राजामा गएको अधिकार हेरेर बसे । मेरा बुबा राजाको थिचोमिचो सहेर बाघले खाएको शिकार हेरेर बसे । मेरा हजुरबा र बुबाले त कमसेकम शिकारीले सिकार गरेको हेरेका थिए र बेलाअनुसार चित्त बुझाएका थिए रे भनौं । म त शाकाहारी भनिएको जनावरले रगतको आहालमा बसेर गरिब जनताको मासु लुछीलुछी, भागबण्डा लगाई लगाई खाएको हेरेर बसेँ । म त्यही रमिते स्याल बनेर बसेँ । 

म बोल्नु पर्थ्यो । हैन, म चिच्याउनु पर्थ्यो । यो संसार थर्किने गरी, आकाश गर्जिने गरी, धर्ती फाट्नेगरी भन्नुपर्थ्यो – हाम्रा लागि लडेका भन्नेहरूले हामीलाई ज्युँदै सिध्याइसके भनेर । तर, म बोलिनँ । बल्खु, सानेपा र अनेकतिर अड्डा जमाएका राक्षसहरूले मेरो देशको रगत चुसिरहे । कमजोरीले थलिएर शिथिल भएको मेरो समाज सुतिरह्यो, उनीहरू चुसिरहे, म हेरिरहेँ ।

निर्वाचनका लागि भनेर चन्दा उठाउन हिँडेको मेरो साथीलाई मैले मेरो दुई पाङ्ग्रेबाट उहीबेला लात्ती हानेर झारेको भए, शायद केही पैसा चन्दा दिएको भरमा देश बेच्ने लाइसेन्स त्यो अधम एजेन्टले पाउँदैनथ्यो । म त त्यही चन्दाको चानचुनले खरिद गरिएको एक छाक खाजामा नै भुलेछु । प्रमाणपत्र नक्कली ल्याएर ठूला जागिरमा निवेदन दिनेको प्रमाणपत्र मैले जलाइदिनु पर्थ्यो तर म तिनको प्रगतिमा साथै लागेँ । व्यापारको नाममा राजस्व छल्नेलाई मैले नंग्याइदिनुपर्थ्यो तर म तिनकै वार्षिक कार्यक्रमको समाचार सँगाल्दै बसेँ ।

जनताका लागि भनेर उनीहरू छानी छानी मान्छेलाई आँगनमा बली दिँदै गर्दा मैले तिनी सबैलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर जाक्ने काम गर्न सक्थेँ, मसँग कलमको तागत थियो । तर, म त ती राक्षसको अन्तर्वार्ता लिएर तिनलाई मायावी पुरुषको जलप लगाउन तम्सिरहेँ । 

तिनले सानेपा र बल्खुबाट सांसद पद बेच्दा धर्ती काँपिन्, भूकम्प आयो । तर, म भने समाज परिवर्तन हुने दिशामा छ भनेर चुपचाप बसिरहेँ । तिनले नदी किनाराका सम्पूर्ण जग्गा आफ्नो नाम गराउँदै गर्दा म मालपोतले कुनै सूचना दिएन भनेर सम्पादकलाई ओठेजवाफ लगाउँदै बसेँ । सरकारी कम्पनीले घाटा बेहोर्नुपर्‍यो भनेर हजारौं रोपनी जग्गासहितको कम्पनी तिनले बेच्दा त्यसमा कमिसन कति लुटे भनेर मैले हेरिनँ । अब देशको पैसा हरेक वर्ष जोगिने भयो, घाटाका कम्पनी बन्द हुने भए भनेर समाचार लेखेर बसेँ । अहिले काठमाडौंका खुला क्षेत्रका जग्गा आसेपासेलाई ठूला महल बनाउनका लागि सरकारले भाडामा दिइरहँदा पनि चुपचाप बसेको छु । अहिले सडकका खाल्डाखुल्डी नपुरिएर मेरा आफन्त, मेरा युवा पुस्ता सडकमा हिलाम्य भएर घर आउँदा पनि म खुसी छु । किनभने, धेरैले हिलाम्य सडकमा लाश उठाउन पुग्नुपरेको छ । तर, मेरा मरेका छैनन् भनेर मैले मनाएको यो खुशी क्षणिक हो, केही दिनको हो भन्ने मैले बुझेको छैन ।

मलाई कसैले 'तँ रुख पार्टी होस्' भनिदियो । तर, त्यही पार्टीका मान्छेले रुखका फल, पात, हाँगा सबै लुटेर खाए म केही बोल्न सकिनँ । अलिकति बोलेजस्तो गर्दा 'तँ त सूर्यको मतियार भइस्' भने । सूर्यले बोलेरै देश सक्ने भयो । आफूले खाल्डो पारेको होइन त्यसैले पुर्ने जिम्मेवारी पनि होइन भनेर टक्टकिन्छ । ठूला आयोजनामा लुकेरै डिल गर्छ, जनताको समस्या उखान, टुक्का र चुट्किला चुनाएर समाधान हुन्छ भन्ने सोच्छ । न्यायालयमा अब कहिल्यै ‘अँध्यारो’ नहुने गरी चम्किलो सूर्य स्थापित गरिसक्यो । कर्मचारीतन्त्र मरिसक्यो । अब सूर्यको राजमा काम गरेर आफू कमाउने होइन, नेतालाई धेरै र बाँकी कर तिरेर सकिने भइसक्यो । तर, पनि म त मूकदर्शक नै बनेको छु । 

पहिले केही बोल्नु हुँदैन ज्यान धरापमा पर्छ भन्थे, चुप लाग्थेँ । अहिले त झन् केही बोल्नु हुँदैन सामाजिक सञ्जालमा हुँडारहरू एक झुत्त आइपुग्छन् अनेक घृणित आरोप लगाउन । यी हुँडारहरू आफ्ना पूज्य ख्वामितजस्तै राक्षसी प्रवृत्ति भएर यति साह्रो असभ्य र जंगली भएका हुन् कि यिनले पनि मजस्तै बाघले खाएको सिकारको हड्डी चुस्ने स्याल हुँ भन्ने नबुझेका हुन् ? यिनले नेताभक्ति र पार्टीभक्तिको नाममा देशभक्ति जलाएर खाइसके । जसरी लागूऔषध सेवनकर्ता आफ्नै आमालाई बेचेर पनि लागूपदार्थ खान तयार हुन्छ, त्यसरी नै यी हुँडार त्यसैगरी नेपाल आमालाई बेचेर आफू राक्षसी पात्रको युवराज हुन तम्सिरहेका छन् । 

तर, दोष मेरै हो । राक्षससँग डराएर बस्दा बस्दा यो देश सक्किइसक्यो । नेपालको सवारी चालक प्रमाणपत्रले संसारको कुनै पनि देशमा सवारी चलाउन नपाउने भइसक्यो । नेपालको पासपोर्टले संसारका कुनै पनि देशमा ‘अन एराइभल भिसा’ (सिधै एयरपोर्टमा पुगेर पाउने भिसा) नपाउने अवस्था हुन थालिसक्यो । नेपालको शैक्षिक प्रमाणपत्र त धन्न जोगिएको छ । तर, अर्काको थेसिस चोरी गर्नेलाई उपकुलपति बनाइएको छ । कुनै दिन हाम्रो प्रमाणपत्रलाई पनि दुईले भाग गरेर मूल्यांकन नगर्लान् भन्न सकिन्न । संसारमा गरिब र अनैतिक देशको कोटीमा सबैभन्दा अघिल्लो पंक्तिमा आइसक्यो । 

त्यसैले दोष मेरो हो । म यो पार्टी र त्यो पार्टीमा विभाजित छु । म मेरै चेली बलात्कृत भइन् भने पनि राजनीतिक रंग दिन पछि पर्दिन कि भनेर अहिल्यै त्रसित छु । मेरा साथीसंगी, इष्टमित्र सबै कुनै न कुनै रूपमा राक्षसी प्रवृत्ति ग्रहण गर्दैछन्, गर्ने क्रममा छन् तर म तिनलाई नै राजनीतिक रंग दिएर रंगभेदी हुन्छु कि भनेर अहिल्यै सशंकित छु । अथवा मैले हरेक कुरामा राजनीतीकरण गरी नै रहेको छु । त्यसैले म दोषी हुँ । 

अहिले भएका सबै समस्याको कारक म नै हुँ । यो देशको डीएनएलाई क्यान्सरयुक्त बनाउने काम मबाटै भैरहेको छ । म नै हुँ यो सबै समस्याको कारक । मलाई नै दिइयोस् सजाय ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC