site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मेरो प्रारब्ध
Sarbottam CementSarbottam Cement

- सानु शर्मा


त्यो धनकुटाको लागि अन्तिम बस थियो । विकल्प थिएन, त्यसैले झटपट बसमा चढें । बस हिँडी पनि हाल्यो । खलाँसीले अन्तिमको सिटतिर औंल्यायो । मेरो मन सानो भयो-यत्रो लामो बाटो, सबैभन्दा पछाडिको सिटमा कसरी काट्नू ? मनले फेरि एकपटक सासूलाई सराप्यो- भोलि या पर्सिमा त आउँछु भनेकै थिएँ नि, किन आजै आउने हुकुम जारी गर्नु परेको होला ? कत्ति न आकाशै खस्छ जस्तो । छोरा रिसायो रे ! रिसाइरहोस् । उसलाई म रिसाएको चाहिँ कत्ति न परवाह भएजस्तो !

म उबडखाबड बाटोमा जुरुक्–जुरुक् उफ्रिरहेको बसमा लड्खडाउँदै, ढुन्मुनिँदै खलाँसीले देखाएको सिटछेउ पुगें । एकछिन अक्क न बक्क परें । एउटा खुब ह्यान्डसम, गोरो चिटिक्क परेको युवक आँखा चिम्लिएर कुन्नि कुन दुनियाँमा विचरण गरिरहेको थियो । छेउको खाली सिटमा उसैको ब्याग थियो क्यार ! बसमा अर्को सिट खाली भएको भए म त्यो खतराको सिग्नलजत्तिकै ह्यान्डसम केटाको छेउमा बस्ने हिम्मत गर्ने थिइनँ । तर, दुर्भाग्य ! बस भरिभराउ थियो । एकैछिन त्यत्तिकै उभिएँ । नजिकको यात्रा थिएन, त्यसैले नबसी सुख थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

"एक्सक्युज मी !" मैले उसलाई बोलाएँ । तर, उसले आँखा खोलेन । के गरौं ? ब्याग आफैं पन्छ्याएर बसौं ? अरू कसैको रहेछ भने ?

"यो ब्याग हटाउनुस् न ! यो मेरो सिट हो !" यो पटक मैले अलि चर्को स्वरमा भनें । उसले आँखा खोल्यो ।

Global Ime bank

मेरो मनमा गड्गडाउँदै पहिरो खस्यो ! लौन नि ! के विधि राम्रा आँखा ! कति राम्रो मान्छे ! बसले यसै हल्लाइरहेकी म झन् धेरै हल्लिएँ ।

"सरी !" उसले कोमल स्वरमा भन्यो र ब्याग टिपेर आफ्नो खुट्टाछेउ राख्यो ।

म अप्ठ्यारो मान्दै उसले खाली गरेको ठाउँमा बसें । उसले मतिर हेऱ्यो । हेरिरह्यो । केही खोजिरहेझैं गरी । उसका आँखा मेरा आँखासँग अल्झिएपछि मेरो मुटु जुर्मुराउन थाल्यो । कति राम्रो केटा मान्छे ! हैट !

यो चालले हुँदैन । सासूको हुकुमबमोजिम एटेन्ड गर्न गएको बिहे यत्तिकै छोडेर पोइको घर जान हिँडेकी मैले बाटोमा भेटिएको पुरुष जति नै राम्रो भए पनि चासो नराखेकै राम्रो । के फाइदा मन बरालेर ?

मैले निधार खुम्च्याएँ । मेरो खुम्चिएको निधार देखेर उसले आफ्नो आँखामात्रै हटाएन मबाट, केही पर सरेर बस्यो । राम्रै भयो । मैले आफूलाई आश्वासन दिएँ । उसले आँखा बन्द गरेपछि मैले सतर्कतापूर्वक ऊतिर हेरें । खैरेजत्तिकै गोरो, दिमाग खल्बल्याउने खालको ह्यान्डसम । त्यसमाथि भलाद्मी पनि । भलाद्मी नै होला र त निधार खुम्चाएर हेर्दैमा सरक्क पर सरेर बस्यो नि ! नत्र नभेट्या हो र नौरंगी ढिठहरूलाई ? 

एउटा त घरमै थियो-लोग्नेको रूपमा ! हरे शिव ! किन भेटिएन कुनै भलाद्मी, भद्र केटा बिहे हुनुभन्दा अघि ? तर, मेरो खप्परमा त उही दर्ता भएको थियो । नत्र भने मोजमस्ती गर्ने, बिहेबाहेक अरू सबै चिज गर्न तत्पर त्यत्रा केटाहरूमा एउटा त सँगै जीवन बिताउन प्रतिबद्ध केटा भेटिन्थ्यो होला नि ! तर, मेरो श्यामल वर्णलाई आकर्षणको रूपमा लिने धनीमानीहरूको स्ट्याटससँग मेरो स्ट्याटस मिल्थेन । त्यसैले उनीहरू मसँग अरु सबै चिज गर्न चाहन्थे- बिहेबाहेक । गाउँतिरका सीधासादा पढाकु केटाहरू 'केटीको रंग गोरो छैन भने ऊसँग केही छैन' भन्ने धारणाले ग्रसित हुन्थे । उनीहरूको सपना हुन्थ्यो- एउटी गोरी, चिल्ली केटीलाई साइडमा च्यापेर सेल्फी खिच्ने र जिन्दगीको फ्रेममा त्यही सेल्फी चपक्क टाँसेर त्यसैको सामु सारा जीवन बिताउने । संयोग मिले सँगै, नत्र एक्लै । साथीभाइलाई देखाएर साँचो मायाको लागि गरेको बलिदानको कथा आँशुमा डुबाएर सुनाउन सेल्फी त साथमै भइहाल्थ्यो ।

मैले ह्यान्डब्याग खोतलेर मोबाइल झिकें र घरको नम्बर डायल गरें । सासूलाई जो अवगत गराउनु थियो-उनको आज्ञामुताविक बस समातेकी छु भनेर । तर, फोन उठेन । लगातारको कोसिसपछि वाक्क भएर मैले मोबाइल ब्यागमा थन्क्याएँ ।

बिहेभन्दा अगाडि म पनि त कम्ता सानो सोचको थिइनँ । ममाथि चासो देखाउने सीमित केटाहरूलाई औंलासम्म छुन दिइनँ । उनीहरू मोजमस्तीका कुरा गर्थे, म कमिटमेन्टको । उनीहरू 'वान नाइट स्ट्यान्ड'वाला अफेयरको कुरा गर्थे, म बिहेको । त्यसैले त त्यस्तो असत्तीको फेला परें नि !

मेरो पेट एक्कासि हुँडलियो । एकैछिनअघि खाएको खानाले बाहिर निस्कन बलजफ्ती गर्न थाल्यो । मैले मेरो सहयात्रीको काँधमा कोट्याएर भनें, "एक्सक्युज मी !"

"एस !" उसले मतिर हेऱ्यो ।

"मलाई बान्ता होला जस्तै भयो, प्लिज तपाईं यता सरिदिनुस् न ।"

मैले बोलेर नसक्दै ऊ चुपचाप मेरो सिटतिर सऱ्यो । म मुखमा हात राखेर झ्यालतिरको सिटमा सरें । झ्यालबाट टाउको झिकेर ह्वालह्वालती बान्ता गर्न थालें । कस्तो लाजमर्दो ! यस्तो त पहिले कहिल्यै भएको थिएन । छ्या ! के सोच्यो होला त्यो 'ह्यान्डसम जेन्टलम्यान'ले ? बान्ता गर्दा पनि म सोचिरहें । खलाँसी भाइको लाजमर्दो कमेन्टले पनि मेरो बान्ता रोकिएन । म लगातार वाक्कवाक्क गरिरहें ।

बान्ता गरेर हत्तु भएपछि मैले टाउको भित्र थुतें । ग्लानि र लाजले भुतुक्क हुँदै आँखा झुकाएर ब्यागमा टिस्यु खोज्न थालें । अचानक मेरो छेउको ह्यान्डसमले पानीको बोतल मतिर बढायो । यदि उसको ठाउँमा अरू कोही भएको भए मैले त्यता हेर्ने पनि थिइनँ तर उसलाई त मेरै मनले 'भलाद्मी'को क्लिनचिट दिइसकेको थियो । त्यसैले केही हिच्किचाउँदै त्यो बोतल थामें ।

हातमुख पखालेर, पुछेर टाउको भित्र तानेपछि मैले त्यो बाँकी रहेको पानीको बोतल ऊतिर बढाएर भनें, "धन्यवाद !"

"द्याट्स फाइन । तपाईं राख्नुस् । मसँग अर्को छ," उसले बिस्तारै भन्यो ।

मैले वाक्क र व्याक्क गरेको सम्झेर पानीको बोतल फिर्ता लिन दिगमिग लाग्यो क्यारे उसलाई ! म फेरि लज्जित भएँ र सफाइ दिएझैं गरी भनें, "युजली मलाई कहिल्यै भमिट हुँदैन । तर, आज खाना खानेबित्तिकै बस चढेकोले हो कि केले हो..., आ'म सरी ! तपाईंलाई डिस्टर्ब भयो है ?"

"होइन । केही छैन । म..."

उसले बोलेर नसक्दै म झ्यालतिर फर्केर फेरि बन्ता गर्न थालिसकेकी थिएँ ।

निकै बेर चल्यो मेरो त्यो क्रम । क्या झुर ! इमेज बिगारिदियो यो अपराधी बान्ताले ! जिन्दगीमा पहिलोपटक मनमा हलचल मच्याउने ह्यान्डसमको छेउमा बसेकी थिएँ । के सोच्यो होला त्यसले मलाई ? कुनै सानो सहरकी, गाडीको मुख नदेखेकी केटी ? आऽऽऽ जेसुकै सोचोस् ! टाउको पनि कुन–कुन कुराको लागि दुखाउनू ?

यसपटक मैले मुख खकालेर टाउको भित्र तान्दा उसले आँखा बन्द गरिसकेको थियो । ठिकै भयो ।

मेरो सपनामा कहिल्यै ठूलो संसार अटाएन । पढेर खुब राम्रो ब्यारिस्टर बन्ने एउटा धोको थियो-ठूलो भने पनि, सानो भने पनि । तर, त्यो सपनाको जगमात्रै के राखेकी थिएँ-आमालाई हतार भयो देउताको घर जान । तर, देउताको घर उहाँ आफूमात्रै जानुभएन, ड्याडीले जीवन खर्चेर जोडेको सारा सम्पत्ति पनि लिएर जानुभयो । क्यान्सरको रोगी मेरी आमालाई डक्टहरूको फौजले पहिले टीबी रोग देखायो । त्यसपछि त कति हो कति ! अल्सरदेखि डिप्रेसनसम्म । जब फाइनल्ली रोग पत्ता लाग्यो, तब ड्याडी ऋणैऋणमा पुरिनुभएको थियो । उता आमासँग जिन्दगी बाँकी थिएन । सबैभन्दा अफसोच मलाई यसमा लाग्यो कि उहाँको हुँदै नभएको रोगमा सर्वस्व सकियो तर भएको रोगले उपचार पाएन । यस्तो देशकी बासिन्दा म !

आमाको पछाडि मेरो पढाइ छुट्यो । मान्छेहरू डेराबाट घरमा सर्छन् तर हामी बाबुछोरी आमाको मृत्युपछि घरबाट डेरामा सऱ्यौं । ड्याडीले नदेख्ने गरी खुब रोएँ म । आमाको मृत्युमा भन्दा पनि धेरै । आमा त रहनुभएन, उहाँको पछाडि केही बाँकी रहेन । घर–आँगनमा उहाँले कति गाह्रो गरेर हुर्काएको पारिजातको बोट भर्खर फुल्न थालेको थियो । उहाँले नै रोप्नुभएका अम्बा र कागतीका बोट उस्तै थिए । ड्याडीसँग वादविवाद गरेर बनाएको त्यो बडेमानको तुलसीको मोठ-केही रहेनन् हामीसँग ! त्यतिबेला हामी बाउछोरी एक–अर्कालाई सुन्निएका आँखा नदेखाउने कोसिसमा लुक्दै हिँड्थ्यौं । आमा जानुभयो, उहाँले आफैं उभिएर खडा गरेको घर गयो । आजकल त म भन्न पनि सक्दिनँ-मलाई कुन कुराको दुःख बढी लाग्छ ! शायद जिन्दगीमा दुःखैदुःख भएर पनि हो कि ?

आँशु आँखाको डिलबाट झरेपछि मैले ब्यागबाट टिस्यु झिकेर गालामा थप्थपाएँ र तिनलाई सान्त्वना दिएँ । म नरुन बडो मेहनत गर्थें तर आमाको याद आउनेबित्तिकै आँखा दर्किहाल्थे । यसैगरी हरेक क्षण रोइरहे त म शरीरको सारा पानी सकिएरै मर्थें होला चाँडै नै ।

बस आफ्नै तालमा दौडिरहेको थियो अनि मेरो छेउको यात्री आफ्नो सिटमा खुम्चिएर बसेको थियो । यसको ठाउँमा अरू कोही भएको भए थाहा छैन कतिचोटि ममाथि घोप्टिसक्थ्यो निदाएको बहानामा ! मैले ध्यानपूर्वक उसलाई हेरें । साच्चै नै राम्रो थियो ऊ । बसिरहँदा पनि मेरो टाउको उसको काँधसम्म मात्रै पुग्थ्यो । धेरै नै अग्लो हुनुपर्छ ऊ मभन्दा ।

लगातार बान्ता गरिरहेको भएर होला-यतिबेला मलाई कमजोरी अनुभव भइरहेको थियो । चियाको बडो तलतल लागेको थियो । मैले बसबाट बाहिर चिहाएँ । कुन्नि कुन ठाउँ थियो त्यो ! बाहिर अँध्यारो बढ्दै थियो । मेरो जीवनमा जस्तै । मैले फेरि आँखा चिम्लिएँ ।

बिहेपछिका चार महिना चार जुनीजस्तै अत्यासलाग्दो लामो भइसकेको थियो । कसरी कटाउने होला सारा जिन्दगी ? यस्तो बेला मलाई ड्याडीसँग खुब रिस उठ्थ्यो । एलएलबी पढ्न मरिमेटेर तयारी गरिरहेकी मलाई भावनात्मक ब्ल्याकमेल गरेर त्यस्तो निखट्टुको साथ लगाएर पठाइदिनुभयो । लोग्नेको बाउ पनि उस्तै, स्थितिको फाइदा उठाउन खप्पिस । ड्याडीको सानैदेखिको साथी भएर के गर्नू ? ड्याडीले आमा बिरामी हुँदा उनीसँग लिएको ऋणको मानसिक दबाब दिएर आफ्नो हरितन्नम छोरालाई मसँग बाँधिदिए ।

"केटोको कुनै काम छैन तर प्रशस्तै पढेलेखेको छ । घरपरिवार एकदमै सम्पन्न । सासू–ससुरा एकदमै बेस्," ड्याडीले केही हिच्किचाउँदै भन्नुभएको थियो, "त... तर केटा अलि हुल्याहा छ भन्या सुनेको छु ।"

मैले विरोध गर्न मुख खोलेको देखेर हतारिँदै उहाँले अगाडि भन्नुभाथ्यो, "हुन त बिहे नहुन्जेल सबै केटा अलिअलि अनब्यालेन्स त भई नै हाल्छन् । बिहेपछि सबै ठेगान लाग्छन् ।"

मैले सहमतहुन नखोजेको देखेर उहाँले मेरो दुबै हात थामेर काँतर स्वरमा भन्नुभाथ्यो, "श्रद्धा ! हामीले बेचेको हाम्रो घर उसले किनेको छ । जस्ताको तस्तै । भन्या छ-तैंले उसको छोरासँग बिहे गरे त्यो घर तेरो र छोराको नाउँमा पास गर्दिन्छ अरे ! तेरी आमा बिरामी हुँदा मैले ऊसँग लिएको ऋण पनि बिर्सिदिन्छ रे ! नत्र तैं भन् त काँबाट ल्याएर तिरौंला म ? रिटायर्ड हुन लागें । साथमा एक पैसा छैन । मलाई आफ्नो चिन्ता छैन श्रद्धा ! तेरो सोचेर मन आत्तिन्छ !" ड्याडीले मैले बिरोधमा बोल्नको लागि केही बाँकी राख्नु नै भएन । त्यसैले म टाउको झुकाएर चुप लागिरहें ।

"त्यसमाथि तिमीहरू भिन्दै बस्न चाह्यौ भने ६ महिनापछि त्यही घरमा सार्दिन्छु भनेको छ नरेन्द्रले । मलाई थाहा छ-त्यो मान्छे बोलीको पक्का छ । छोरी ! मैले बस्न नपाए पनि तेरी आमाले उकेरेको उसको सपनाको घरमा तँ बस्न पाउने थिइस्," ड्याडीको स्वर भक्कानिएको थियो । अनि मेरो मन पनि । त्यो घरलाई फेरि 'आफ्नो' भन्न पाउने कल्पना र मेरो वरिपरि मगमगाएको परिजातको बासनाले मलाई अरू केही सोच्नै दिएन । लागेको थियो-मृत्युपछि बेघर भएकी आमालाई उहाँको आफ्नो घर फिर्ता दिनुभन्दा ठूलो अरू केही हुनै सक्दैन मेरो जीवनमा । कति मूर्ख म ? जीवनसाथी सही भएन भने घरले के गर्थ्यो ? बेस सासू–ससुराले के लछारपाटो लाउँथे ? सम्पत्तिले के नाप्थ्यो ? त्यसमाथि मजस्तो अति भावुक मन भएकी मान्छे ! बिहे गरेको चार महिनामै त्राहीमाम थिएँ म जिन्दगीसँग ! के गर्थें अब अगाडि ?

कसैले मेरो कुममा कोट्याएपछि आँखा खोलें । बस स्थिर थियो । बाहिर झिलिमिली बत्ती बलेको थियो । ओहो ! मैले त बस अडिएको पनि थाहा पाइनँ । कुन ठाउँ थियो कुन्नि !

"यो कालो चिया पिउनुस् । बेटर फिल हुनेछ," हातमा दुइटा प्लिस्टिकका कप थामेर मेरोसामु उभिएको मेरो सहयात्री भन्दै थियो । म सजग भएर बसें । यतिबेला त्यो एक कप चियाको मलाई कति आवश्यकता थियो, त्यो मलाई नै थाहा थियो । अनि मैले भन्दा पनि नभनी मेरो आवश्यकता थाहा पाउने त्यो परपुरूष हजार आफ्नाहरूभन्दा निको लाग्यो मलाई यतिखेर । मैले हिच्किचाउँदै कप थामेर कृतज्ञतापूर्वक भनें, "धन्यवाद !"

हामी दुबैले चुपचाप कालो चिया पियौं । चियाको प्रत्येक सर्कोसँगै मेरो मन पग्लिरह्यो । कसरी जान्यो उसले मेरो मनको कुरा ? मेरो जीवनमा त चिच्याएर भन्दा पनि नसुन्ने र नबुझ्ने मान्छेहरूको मात्रै भीड छ । यो अर्कै ग्रहबाट आएको जस्तो मान्छेसँग त्यसै–त्यसै मेरो मन अल्झिन थालेको थियो ।

नवीन-मेरो लोग्नेको मनपरेकी स्वास्नी थिइनँ म । अझ उसको लागि त यो संसारका कुनै स्वास्नी मानिस स्वास्नी बनाउन लायक लाग्दैनथे । स्वास्नीमान्छेप्रति एकथोपा इज्जत थिएन उसको मनमा ।

"जब पैसा तिरेर होटेलमा मेनुबाट रोजेर अर्डर गरेको भरमा खाना खान पाइन्छ भने घरमा त्यत्रो मेहनत गरेर खाना पकाउनुको के अर्थ ?" ऊ हाकाहाकी भन्थ्यो । त्यसमाथि म उसको बाउले उसमाथि जबर्जस्ती लादेकी स्वास्नी थिएँ । एक त ऊ स्वास्नीको जिम्मेवारी उठाउन नचाहने मान्छे, त्यसमाथि म उसको मननपरेकी स्वास्नी ।

"बिहे नै गर्नु थियो भने गोरी केटी पाइन्थेनन् र ? यो काली कल्चौडीमा कुन्नि के देख्नुभो बुवाले !" ऊ आमासँग गुनासो गरिरहन्थ्यो, "नजिक बस्दा पनि कालो सर्छ जस्तै लाग्छ !"

"यति सोमती छ । यति राम्रो बानीबेहोरा र चरित्रका केटी अचेलको जमानामा कहाँ पाइन्छन् ?" आमा सम्झाउन खोज्नुहुन्थ्यो ।

"बानीबेहोरा राम्रो भएर के गर्नू ? चाट्नू ? चारजना साथीभाइको अगाडि चिनाउन पनि लाजमर्दो !"

बस हिँडेपछि उसले बिस्तारै सोध्यो, "फिलिङ बेटर ?"

"एस ! थ्यांक्स !" म मुस्कुराऊँ कि नमुस्कुराऊँ भन्ने भावले हल्का मुस्कुराएँ ।

आमा बितेपछी धेरै कम मुस्कुराएकी र हाँसेकी थिएँ म । बिहेपछि त त्यो सीमित मुस्कान र हाँसो पनि हराएको थियो । यतिबेला त्यसरी मुस्कुराइरहँदा आमा याद आउनुभयो । घर र सम्पत्तिमात्र होइन, उहाँले त हाम्रो हाँसो र खुशी पनि साथै लिएर जानुभएथ्यो शायद । मेरा आँखा फेरि दर्कन ठिक्क परे ।

"चियाको लागि धन्यवाद !" मैले आँसुलाई अलमल्याउने उद्देश्यले बिस्तारै भनें । ऊ मतिर फर्कियो । मेरो आँखा उसको आँखामा अल्झियो । मलाई उठ्नु कि बस्नु भयो ।

"तपाईंलाई जाडो भएको छैन ?" मैले आफ्नो आँखा उसको आँखाबाट हटाउँदै भनें ।

"के भन्नुभो ?" शायद उसको ध्यानै थिएन— म के भनिरहेकी थिएँ । अनायास हाँसें । रुन्चे हाँसो । ऊ पनि शायद त्यही पुरूषहरूको श्रेणीमा पर्थ्यो, जसको फेबरेट रंग कालो थिएन ।
भन्न त बस वातानुकूलित भनिए पनि यतिबेला मलाई जाडो लाग्न थालेको थियो । मसँग कुनै बाक्लो ओढ्ने वा कार्डिगन साथमा थिएन । मैले आफ्ना दुबै हात काखीमा घुसारेर आँखा बन्द गरी सिटमा टाउको टेकाएँ ।

हाम्रो बिहेको रात नवीन बिहानको २ बजेपछि मात्र घरमा भित्रिन आएको थियो । जन्ती भित्र्याएपछि घरबाट निस्केको ऊ बिहानको त्यो प्रहरमा ढुन्मुनिँदै आउँदा उसैलाई कुरेर बसेकी थकित, उसकी आमाले भन्नुभाथ्यो, "के चाल हो तेरो नवीन ? आज भर्खर भित्र्याएकी बेहुलीलाई यतिबेलासम्म कुराएर तँ कहाँ गायब ? कमसेकम आजको दिन त ख्याल गर्नुपर्थ्यो नि !"

"तपाईंहर्ले गर्नुभाथ्यो मेरो ख्याल ?" नवीनले बेवास्तापूर्वक भनेको थियो, "विदेश हिन्न ठिक्क परेको मलाई जबर्जस्ती बिहे गर्देर ! अब मलाई के भन्नुहुन्छ ? बुवालाई भन्नुस् न । उहाँको साथीकी छोरी... ।"

"के भन्छ यो ? होसमा त छस् ? अहिले बुवाले सुन्नभयो भने...!"

"हो ऽऽऽ यसै भनी–भनी बिग्रेको हो सबै कुरा ! 'बुवालाई भन्दिन्छु' 'बुवाले थाहा पाए भने ठीक पार्नुहुन्छ तँलाई..' भनी–भनी सबै बिगार्नुभा हो तपाईंले । अब म कसैसँग डराउन्नँ । बिहे नगर्दिया भए त त्यै पनि बस्थें । अब त ज्यानजाला बस्दिनँ । म पनि हेर्छु कसले रोक्छ मलाई !" ऊ गन्गनाएको थियो ।

"तँलाई के नपुग्दोछ र विदेश जान्छस् भन् त ?" आमाले काँतर स्वरमा भन्नुभएको थियो ।

"किन ? यौटा गएर बस्या छ त १२ वर्षदेखि । म किन जान हुन्न ?"

"ऊ त पढ्न गाको..."

"१२ वर्षदेखि पढेरै बस्या होला नि अब !"

"कोरिया गएर काम गर्न कम्ता दुःख त हुन्न भन्छन् । बाबु तँ किन..."

"याँ कुन सुखले बस्न दिनुभा'छ तपाईंहर्ले मलाई ? जेमा पनि किचकिच र रोकटोक । जिन्दगीमा एकपटक गर्ने बिहे त तपाईंहर्ले मलाई आफ्नो इच्छाले गर्न दिनुभएन । अब त ज्यान गए बसौंला म...," नवीन भतभताउँदै कोठाभित्र पसेको थियो । खुट्टा राम्ररी टेकिएको थिएन उसको । धर्मराउँदै आएर लुगै नफेरी ओच्छ्यानमा ढलेको नवीन मतिर दृष्टिपातै नगरी घुर्न थालिसकेको थियो । त्यसरी बितेको थियो म बेहुली भएको रात !

बिस्तारै–बिस्तारै मैले थाहा पाउँदै गएँ- मेरो लोग्नेका करामतहरू । दुई– तीन वर्षदेखी लोकल नेताहरूको संगतमा लागेको नवीन आफूलाई पनि नेता सम्झन्थ्यो । नेताका हनुमानहरूसँग मिलेर दंगाफसाद र मारपिट गर्थ्यो । एकपटकत ग्रुप रेपकाण्डमा मुछिएर उसको बुवाले बडो मुस्किलले थुप्रै पैसा खर्च गरेर छुटाउनुभएको थियो । आमा बारम्बार मलाई सुनाउनुहुन्थ्यो— नवीन तीन वर्षअघिसम्म यस्तो थिएन । सीधासादा पढाकु टाइपको नवीनलाई तीन वर्षको बेरोजगारीले यस्तो बनाइदिएको थियो । बाउको नाम र दामको प्रभावले कामै नपाउने पनि होइन उसले तर डबल मास्टर्स गरेको नवीनलाई कुनै काम आफ्नो स्तरको लाग्थेन । त्यसैले कता–कता पैसा ख्वाएर, भिटो लाएर उसले कोरियाको भिसा हात पारेको थियो । आमा–बाउ चाहन्थे-आँखा वरिपरि हुँदा त यस्तरी बिग्रिएको छोरो आँखाबाट ओझेल नहोस् । त्यसैले उनीहरूले मलाई ऊसँग बाँधिदिएका थिए । तर, छोराचाहिँ उनीहरूको साम, दाम, दण्ड, भेद कुनै काम लाग्न नदिन लागिपरेको थियो । सासू मलाई सम्झाउनुहुन्थ्यो उसलाई रिझाउन, मनाउन । तर, मलाई हेर्न, छुन त परहेज गर्ने मेरो पोइलाई कसरी बसमा गर्थें म ?

सोच्दासोच्दै कतिबेला मेरा आँखा छचल्किए, थाहा पाइनँ । टिस्यु झिकेर आँखा पुछें । बस आफ्नै रफ्तारमा दौडिरहेको थियो । बसभित्र छिरेको अलिकति जूनको उज्यालोमा मैले आफ्नो सहयात्रीतिर हेरें । ऊ मस्त निदाइरहेको थियो । आफैंमा खुम्चिएर । त्यसरी मसँग छोइन्छ कि जस्तै गरी बसेको उसलाई आफैं अघि सरेर छोइदिऊँझैं लाग्यो मलाई । उसलाई छुने सोचेरै राती न राती भएँ म । त्यो पल याद आयो- जब हप्ताभरि मेरो उपेच्छा गरिरहेको लोग्नेलाई मैले आफैं अघि सरेर अँगालोमा बाँधी चुमिदिएकी थिएँ मैले । त्यो मेरो जीवनको पहिलो चुम्बन थियो । तर, म नवीनसँग अलग हुनेबित्तिकै उसले भनेको थियो, "ट्रेनिङ त पर्फेक्ट पाएकी रैछस् ! अंग्रेजी सिनेमाको प्रभाव हो कि प्य्राक्टिकलको ?"

मलाई यस्तो लागेको थियो, कसैले दह्रो थप्पड दन्काएको थियो मेरो गालामा । चोटले आँखामा आँसु उमारिदिएको थियो । मन लागेको थियो-त्योभन्दा दह्रो पीडा हुनेगरी उसलाई थप्पड हानूँ । तर, मनमा लागेका सबै कुरा कहाँ पूरा गर्न सकिन्छ र !

त्यसपछि मैले उसलाई कहिल्यै चुमिनँ । न चुम्न दिएँ । शरीर जसरी मर्जी गिजलोस् तर अहँ, अनुहारतिर मैले छुन पनि दिइनँ उसलाई । यही कारण उसले मेरो गाला चड्काएको थियो कतिपटक तर त्यसको चोट मलाई हलुका लागेको थियो— शब्दको चोटभन्दा ।

अचानक उसले आँखा खोल्यो । मेरा आँखा अझै उसको अनुहारमा डुल्दै थिए । त्यसरी अचानक उसले आँखा खोलेपछि मलाई चोरी गर्दागर्दै रंगेहात पक्राउ परेझैं भयो । मैले हतारहतार आफ्नो अनुहार झ्यालतिर मोडें । छ्या ! के सोच्यो होला मोराले ? छाडा केटी ? मेरो मन साँघुरो भयो । कति सजिलो छ यहाँ केटाहरूको लागि ! हेर्नमात्रै होइन, मनलाग्दी गर्न पनि । तर, केटीहरू आँखा उठाएर हेरे पनि बदनाम हुन्छन् । केटाहरू घरबाहिर केटी लिएर मनपरी गरी हिँड्छन्, उनीहरूलाई केही फरक पर्दैन तर केटीले आफ्नो लोग्नेलाई बन्द कोठामा प्रेमपूर्वक चुमे भने पनि उसको हातमा क्यारेक्टर सर्टिफिकेट थमाइन्छ ।

अचानकै मभित्र विरोध र बदलाको ज्वाला दन्कियो । हो त ! केको लागि म सही हुनु छ र ? बिहे गरेको ४५ दिनमै छोडेर हिँडेको लोग्नेले मेरो बेदाग चरित्रमा दागैदाग मात्रै देखेपछि मलाई केको क्यारेक्टर सर्टिफिकेट चाहियो ? त्यति टाढा कोरियामा बसेर पनि मेरो दिनचर्यामा नजर राख्न खोज्ने मेरो लोग्नेको नजरमा खराब दरिएकी मैले सही गरे के र गलत गरे के ? यो जाडोमा ठुङ्ठुङाएर सहयात्रीभन्दा दुईबित्ता पर बसेकी छु, केको लागि ? मेकअपदेखि गाडीसम्म ट्राई गरेर किन्ने गरी फरवार्ड भइसकोको हाम्रो समाजमा मजस्तै सानो सोच भएकाले हो दुःख पाउने । नत्र म जस्तो सरल मान्छेलाई नवीनजस्तो जटिल मान्छे किन भागमा पर्थ्यो ?

मैले आफ्नो छेउमा बसेको यात्रीतर्फ हेरें । ऊ उसैगरी आफैंमा समेटिएर बसेको थियो । क्या छ है यो संसार पनि ? आजभन्दा पहिलेका यात्राहरूमा भाइदेखि बाउ र अंकल उमेरसम्मका यात्रीहरू जानी–जानी टाँसिन आउँथे । घचेटिरहनुपर्थ्यो । कतिपटक त झगडै पर्थ्यो । तर, यो मोरालाई हेर न ! एकहात पर सरेर बसेको ! ह्यान्डसम छु भन्ने घमण्ड चढेको होला ! जान्या छु मैले पनि ! कसैको नभएको तेरो घमण्ड !

म अलिकता ऊतिर सरें । उसले कुनै प्रतिक्रिया देखाएन । म अझै अलिकति सरेपछि मेरो शरीरसँग उसको शरीर छोइयो । मानौं विद्युतीय तरंग दौडियो मेरो शरीरभरि । एकैछिन म सास रोकेर उसको प्रतिक्रिया कुरिरहें तर उसले हलचल गरेन । हे भगवान् ! कुन पर्फ्युम र आफ्टर शेभ लगाएको होला यसले ? कस्तो भुतुक्कै बनाउने बासना ! मेरो मनले मलाई उसको अझै नजिक सर्न उक्सायो । केहीबेर हिच्किचाइसकेपछि म ऊतिर सरें । जे त होला !

अघिसम्म ओढ्ने खोजिरहेको मेरो शरीर अचानकै यति तातो भयो कि पसिना उम्रन थाल्यो । ओहो ! कसैको सामिप्य, कसैको शरीरको महक यस्तो अलौकिक पनि हुन्छ र ? मेरो नाक पीरो हुन थाल्यो । मन कोक्याउन थाल्यो । आँखामा मानौं बाफ भरियो । किन यही फिलिङ नवविवाहित लोग्नेको साथमा आएन मलाई ? नवीनलाई सम्झनेबित्तिकै मेरो मनमा धूवाँ रङ्मगायो । रिसको धूवाँ ।

मैले हिम्मत गरेर उसको काँधमा टाउको अड्याएर आँखा बन्द गरें र ह्याकुलामा ढक्ढकाउन आएको मुटुको तेज रफ्तारलाई शरीरको नसा–नसामा महसुस गरिरहें । निकै बेरपछि उसले बिस्तारै आफ्नो चिउँडो मेरो टाउकोमा अड्याएर लामो सास तान्यो । उफ् ! म छट्पटाएँ तर हलचल नगरी त्यत्तिकै बसिरहें ।
मैले कुनै प्रतिक्रिया नदेखाएपछि उसले सुस्तरी मलाई आफ्नो देब्रे छातीमा अड्याएर मेरो गर्धनपछाडि हात राख्यो । मेरो मुटु फेरि बेतोडले दौडियो । अनौठो रोमाञ्चकताको आभासले शरीर अर्रो भयो । फेरि पनि मैले कुनै प्रतिक्रिया देखाइनँ । उसले कोमलतापूर्वक चुराहरूले भरिएको मेरो नाडी थाम्यो । मेरो हत्केला सुम्सुम्यायो । मेरो सारा शरीरमा सनसनी दौडियो । के गरौं ? उसलाई आफूभन्दा पर धकेलौं ? मैले कुनै निर्णय गर्न नभ्याउँदै उसले मेरो टाउकोमा चुम्यो । कयौं पटक । आमा बितेपछि यो पहिलो पटक थियो, कसैले मेरो टाउकोमा त्यसरी चुमेको । मेरो डाँको छुट्ला जस्तै भयो । त्यसपछि मैले जति नै चाहे पनि मेरो मन उसको शरीरलाई आफूबाट पर धकेल्न राजी भएन ।

खै के सोच्यो कुन्नि उसले ! अचानक मलाई आफ्नो अँगालोबाट झ्यालतिर धकेल्न खोज्यो । तर, म ऊसँग अझै बेस्सरी टाँस्सिएँ । म त्यसरी ऊ सँग टाँस्सिएपछि ऊ सजग भयो, "आर यु अवेक ?" उसले मेरो कानमा मुख जोडेर सासले बोल्यो । मैले जवाफ दिइनँ ।

"जवाफ देऊ ! अदरवाइज आ'म गोइङ टु किस यु !" उसले भनेपछि म टाउकोदेखि पैतालासम्म थर्थराएँ । तर, पनि ऊभन्दा पर सरेर बस्न यो मनले चाहेन ।

"यत्तिकै बस । चुपचाप । जाडो भा'छ," मैले उसको छातीमा टाँसिएरै भनें । भन्या मात्र हो ! किसै त के गर्ला र ?

मैले आफूलाई आश्वासन दिएर भ्याएकै थिइनँ, उसले जबर्जस्ती मेरो चिउँडो थामेर माथितिर उठायो अनि मेरो ओठमा आफ्नो ओठ जोड्यो । हे भगवान् ! अब म केगरौँ ? मैले उसलाई आफूभन्दा पर धकेल्ने कोसिस गरें । इमान्दारिपूर्वक । तर, शायद धेरै ढिलो भइसकेको थियो । उसको प्रगाढ चुम्बनले मेरो छातीलाई खलाती बनाइदिएको थियो । मैले आफूलाई रोक्न सकिनँ । ऊतिर फर्किएँ र उसलाई कसेर थामें । त्यसपछि म ऊसँग यसरी बेरिएँ, मानौं म त्यो लहरा थिएँ, जुन उसको दह्रो अँगालोभन्दा पर झ्याङ्गिने छैन । त्यो नदी थिएँ, जोसँग सागरबाहेक अर्को विकल्प हुँदैन । मानौं म प्यास थिएँ, ऊ पानी ।

त्यसपछि हामी एक–अर्काको अँगालोमा यसरी हरायौं, हामीलाई वरपरको कुनै होस रहेन । उसले जसरी लिड गऱ्यो, त्यतै तानिएँ म । पुरुष थियो ऊ, उसले नमाने पनि मैले अप्ठ्यारो मान्नुपर्थ्यो, तर त्यतिबेला म शायद होसमा थिइनँ । मेरा सारा चाहना, कामना यसरी छताछुल्ल पोखिएका थिएँ, मानौं म पहिलो र अन्तिम पटक कुनै पुरुषको संसर्गमा छु । एकआध पटक आत्मग्लानिले टाउको नउठाएको पनि होइन तर फेरि नवीनको अभद्र व्यवहार र नाजायज प्रताडना झेलेकी मैले आफ्नो मनलाई सान्त्वना दिएँ-मनपरी गर्ने अधिकार लोग्नेमान्छेलाई मात्रै छ र ? शायद मानिसहरू यसरी नै जस्टिफाई गर्दा हुन् आफ्ना गल्तीहरूलाई, जसरी यतिखेर मैले गरिरहेकी थिएँ । आखिर त मान्छे नै थिएँ म पनि ! चाहे हाम्रो समाजले महिलालाई मान्छे नसम्झे पनि !

बस नरोकिँदासम्म त्यो क्रम लगातार चलिरहह्यो । यसरी, मानौं हामी एक–अर्कालाई हराउन लागिपरेका थियौं ।

बस रोकिएपछि हामी अलग भयौं । म झ्यालतिर फर्किएँ । उसले मलाई कोट्यायो । मैले अप्ठ्यारो मान्दै ऊतिर फर्केर हेरें । उसले आफ्नो टाँक छिनेको सर्टतिर देखायो । म भुतुक्क भएर फेरि झ्यालतिर फर्किएँ । मेरो अनुहार रगत चुहिएलाजस्तो रातो भयो । हैट ! त्यति अमानुष कसरी हुन सकें म ? लाजले फतक्क गलें । बन्द कोठाभित्रको एउटा चुम्बनलाई लिएर नवीनले मलाई त्यतिका कुरा सुनाएको थियो- दशथरी मान्छेहरूले भरिएको बसको यो उल्का र उपद्रोलाई कसरी लियो होला उसले ?

"ओर्लने होइन ?" ऊ सोध्दै थियो ।

"तिमी जाऊ !" मैले ऊतिर हेर्दै नहेरी भनें ।

"यता हेर !"

"नो ! लिभ मी अलोन !"

"प्लिज ! हेर न !"

"नो ! नो !" मैले ऊतिर फर्किने हिम्मत गर्न सकिनँ । त्यसपछि ऊ एक्लै बसबाट ओर्लियो ।

के हेर्न चाहन्थ्यो ऊ मेरो अनुहारमा ? मेरो निर्लज्जता ?

आफ्नो सोच आफैंलाई बिझायो । मन चर्किएर आँखामा रसायो । आ ऽऽऽ ! जेसुकै सोचोस् ! लोग्नेले त नराखेको यो मनको ख्याल यात्रामा भेटिएको यो पराईले राखे के ? नराखे के ?

म ह्यान्डब्याग टिपेर बसबाट ओर्लिएँ ।

मलाई यसरी बाटोघाटोमा फोहर ट्वाइलेट सम्झेर उक्क आउँछ । तर, यहाँ तैबिसेक रै'छ । ट्वाइलेट पसेर निस्किएँ । बाहिर निस्केर हातमुख धोएँ । दाँत माझें । कपाल मिलाएँ । भित्तामा टाँसेको ऐना हेरेर गाजल लगाएँ । ग्लस थपें । राम्री देखिन चाहें । तर, ऐनाबाट आफूतिर हेरिरहेको अनुहारको श्यामल रंगले आहत भएँ । आँखा ठूला र राम्रा भएर के ? ओठ सुन्दर र मिलेको भएर के ? कपाल बाक्लो लामो भएर के ? यौटा गोरो रंगको कमिले अरुसबै कुरा ओझेलमा परिदिन्छ । तर, फेरि त्यो मान्छेलाई डार्क कम्प्लेक्सनसँग आपत्ति छैन कि ? छ्या ! यो के सोच्न थालें म ? आफ्नो सोचलाई पछाडी छोडेर बसतिर लागें म ।

हातमा दुइटा प्लास्टिक कप थामेर बसको ढोकातिर आइरहेको मेरो सहयात्री मलाई बसमा उक्लिन लागेको देखेर जहाँको तहीँ अडियो । म आँखा झुकाएर उसको छेउबाट अघि बढें । सिटमा गएर बसिसकेपछि मैले चुपचाप ऊतिर हात बढाएँ । उसले कफीको एउटा कप मेरो हातमा राखिदियो अनि आफ्नो सिटमा आएर बस्यो ।

हामीले चुपचाप आ–आफ्नो कफी सकेर प्लास्टिक कप पाखा लगाएपछि उसले मेरो हात थामेर भन्यो, "कुन पर्फ्युम लगाउँछ्यौ हौ ? कस्तो उकुसमुकुस बनाउने फ्लेवर !"

मैले उसको हातबाट आफ्नो हात छुटाउन खोजें तर उसले झन् दह्रोसँग थामेर आफ्नो ओठमा जोड्यो । मेरो शरीरमा फेरि सर्सराहट दौडियो ।

"के लगाएको हातमा ? कस्तो मदहोस बनाउने बासना !"

"के छ र ?" मैले जबर्जस्ती हात तानेर आफ्नो नाकछेउ लगें अनि भनें, "ए ! यो त मेहन्दीको बासना हो !" म सुस्तरी हाँसें ।

"म फिदा यो मेहेन्दीसँग !" उसले मुस्कुराउँदै भन्यो, "अनि तिमीसँग !"

उसले मेरो नाकमा भएको कोठीमा हलुकासँग चुम्यो ।

"छ्या ! तिमी त कति छिल्लिएको बाइ !" मैले उसलाई आफूभन्दा पर धकेलें, "बसभरि मान्छे छन् ।"

"अघि तिमीले मेरो छातीमा, ओठमा टोक्दा बसभरि मान्छे थिएनन् ?" उसले मतिर आँखा झिम्काउँदै भन्यो ।

"छ्या !" म लाजले भुतुक्क भएर झ्यालतिर फर्किएँ !

ऊ केही बोलेन ।

त्यसपछि ऊ निकैबेर बोलेन । के सोचिरा' होला ? मेरो बारेमा त सोचिरा' छैन ? राम्रो धारणा त पक्कै नहोला उसको मप्रति ।

मेरो मन फेरि घरतिर दौडियो । ड्याडीले भनेझैं मेरा ससुराले आफ्नो बोलीको मान राखे । घर मेरो नाउँमा गरिदिए । छोराको भन्दा पनि बढी भरोसा गरे ममाथि । सासू पनि आमाको झल्को दिलाउने खालकी थिइन् । जेठाजु, जेठानीहरू पनि बेसै थिए । आमाजूहरू आ–आफ्ना घरका भइसकेका थिए । आउँदा जाँदा राम्रै व्यवहार गर्थे । एउटा देवर विदेशतिरै थिए । घरमा एउटै थियो कहीँ नभएको बेकम्मा ! मेरो लोग्ने ! यसकारण पनि धेरै चित्त दुख्थ्यो-सबै बेस, सभ्य, संस्कारी भएको परिवारमा मेरै पोइ किन यस्तो धुन्धुकारी ?

मेरो आँखा फेरि सहयात्रीतिर उठ्यो । कति राम्रो, कति नम्र । कस्तो जेन्टलम्यान ! किन यो जस्तो मान्छे मेरो भाग्यमा लेखिएन ? अर्को मन च्याँठ्ठियो-आफ्नी स्वास्नीसँग त उसले पनि नवीनको जस्तै व्यवहार त गर्ला नि ! मैले मनलाई बुझाउन खोजें तर मेरो मनले बुझ्न चाहेन ।

"कहाँसम्म जाने ?" मैले उसको कुममा स्पर्स गर्दै सोधें । उसले केहीबेर मतिर हेऱ्यो अनि भन्यो, "धरानसम्म ।"

उसले हात बढाएर मेरो अनुहारमा झरेको केस पन्छ्यायो अनि भन्यो, "बाइ द वे... मेरो नाम...।"

मैले उसको ओठमा आफ्नो हात राखीदिएँ अनि आग्रहपूर्वक भनें, "नभन प्लिज !"

"किन ?" उसले मेरो हात थाम्यो ।

"फाइदा के छ ?" मैले उदास स्वरमा भनें ।

"मायामा फाइदा, बेफाइदा कसले हेर्छ ?"

"मायामा ?" मैले यसपटक सीधै उसको आँखामा हेरें, "केवल केही घण्टाको यात्रामा माया बस्छ र ?"

"शरीरको आकर्षणमा मात्रै यति धेरै बहुलट्टीपना नहुनुपर्ने । म जे फिल गरिरा'छु यतिबेला, त्यो यदि माया होइन भने, अर्को कुनै माया भन्ने चिज छैन दुनियाँमा," उसको गम्भीर स्वरले मेरो मुटु नराम्ररी हल्लियो ।

मैले त्यो जूनको हलुका उज्यालोमा निकै बेर ऊसँग आँखा जुधाइरहें अनि सानो स्वरमा भनें, "म यतिका समयदेखि कोसिस गरिरा'छु तर माया बसाउन सकेकी छैन । मन जोड्न सकेकी छैन । तिमीचाहिँ भन्छौ केही घण्टामै..."

"रिलेसनमा छौ ?" उसले व्यग्रतापूर्वक सोध्यो । मेरो मुटु ढक्क फुल्यो । कुन्नि किन !

"छु पनि र छैन पनि !" निकै बेरपछि मैले भनें ।

"त्यसैले घरबाट भागेकी ?"

"भागेकी ?" म अक्मकाएँ ।

"घर छोडेर । बिहे छोडेर," उसले भन्यो ।

"कसको बिहे ?" म अझै उल्झनमा थिएँ ।

"तिम्रो बिहे । तिम्रो घर । लुगासमेत नफेरी । दुलहीको ड्रेस र मेकअपमा," उसले एक्सप्लेन गरेपछि म धक फुकाएर हाँसें ।

एकैछिन उसले मलाई जिल्ल परेर हेऱ्यो अनि मुस्कुरायो ।

"ओह माइ गड ! यति फिल्मी छौ तिमी ?" मैले पेट समातेर हाँस्दै भनें, "हेर्दा त लाग्दैनौ !"

अब जिल्लिने पालो उसको थियो । पक्क परेर मलाई हेरिरह्यो ।

"बेस्ट फ्रेन्डको बिहे थियो काठमान्डूमा । त्यही अटेन्ड गर्न आएकी थिएँ साथीहरूसँग । आउँदा साथीहरू थिए, त्यसैले रमाइलै भएको थियो," मैले हाँसो रोक्दै भनें, "सँगै आएका साथीहरू दुई–चार दिन त्यतै बस्ने भए तर मलाई कसै गरी आजै घर फर्किने उर्दी थियो । खोजेको बेलामा प्लेनको टिकट मिलेन । पार्टी छोडेर सीधै बस चढ्न आएँ । घर जान भ्याइनँ, त्यसैले लुगा फेर्ने मौकै मिलेन । यत्तिकै आएँ ।" म फेरि हाँसें, "तिमीले मलाई आफ्नो बिहे छोडेर भागेकी बेहुली सम्झ्यिौ ?"

मैले उसको छातीमा हात राखें, "त्यति ओभर ड्रेस्ड र ओभर मेकअप देखिएकी छु म ? भन त !" अचानक मेरो ओठको हाँसो पुछियो । स्वर दयनीय सुनियो, "आफ्नो बिहे छोडेर भग्ने जति बहादुर देखिन्छु र म ? भएकी भए त क्या काइदा हुन्थ्यो !"

उसले मेरो हात थामेर चुम्दै भन्यो, "होइन, होइन । एकदमै राम्रो गऱ्यौ नत्र मलाई कसरी थाहा हुन्थ्यो- मलाई मेहेन्दी यति मनपर्छ । चुरा र यसबाट गुञ्जने आवाज यति मनपर्छ । दुलही यति मनपर्छ !"

उसको भावनाले भिजेको स्वरले मेरो मन छोयो । मैले उसको हातबाट आफ्नो हात तान्ने कोसिस गरें र हाँस्न खोज्दै भनें, "त्यसो भए म होइन, दुलही मनपरेको तिमीलाई ?"

केहीबेर उसले स्थिर भावले मलाई हेरिरह्यो । त्यसपछि मलाई तानेर आफ्नो छातीमा टाँसेर भन्यो, "अनेस्टली, स्वास्नीमान्छेसँगको संसर्ग नयाँ होइन मेरो लागि । तर, तिमीसँगको जस्तो अनुभव एकदमै नयाँ हो । यो बहुलाउने, दिमाग खल्बल्याउने अनुभव एकदमै नयाँ हो !"

म जबर्जस्ती ऊबाट अलग भएँ र उसको अनुहारमा आँखा गाड्दै सोधें, "त्यसो भए यात्रामा यस्ता थुप्रै अनुभव बटुलेका छौ, हैन ?"

"बाइ गड ! यो नै पहिलो र अन्तिम हो !" उसले दुबै हातले आफ्नो कान समातेर भन्यो, "म त्यस्तो खालको मान्छे नै होइन । आज मेरो साथमा जे भै'राछ नि, त्यो मेरो लागि पनि अनौठो छ ।" एकैछिन अडिएर उसले बिस्तारै सोध्यो, "तिम्रो नि ? तिम्रा छन् अरू यस्ता अनुभव यात्राका ?"

उसको अनुहारमा अनौठो व्यग्रता थियो प्रश्न गर्दा । मलाई त्यसै–त्यसै माया लागेर आयो उसको । म उसलाई हेरेर मुस्कुराएँ अनि उसको अझ नजिक सर्दै भनें, "साँच्चै भनूँ ?"

उसले मुखले केही भनेन तर उसको अनुहार देख्दा लाग्यो— ऊ कामना गरिरहेको थियो मेरो मुखबाट आफूअनुकूल उत्तर सुन्न ।

"उक्साउने धेरै भेटिए । मन परेका पनि भेटिए । नपरेकाहरू पनि भेटिए तर आगो सल्काउने तिमीमात्रै भेटियौ ! त्यसैले जुन डढेलो तिमीसँग मिलेर सल्काएँ, त्यो अरु कसैसँग सल्किन सकेन ।" म मुख छोपेर हाँसें ।

उसले बडो व्यग्रतापूर्वक मलाई आफ्नो अँगालोमा समेट्यो । यसपटक उसले मलाई अँगाल्दा मैले विरोध गरिनँ बरु ऊसँग लपक्क टाँसिएँ । उसले मेरो निधार र टाउकोमा चुमिरह्यो पटक–पटक । मेरो मन गाँठो पऱ्यो । आँखा रसायो । मनले बिस्तारै भन्यो-मेरो सोल मेट !

त्यसपछि पूरा बाटो हामी दुवै केही बोलेनौं । तर, एक–आर्काबाट अलग भएनौं । ओठहरू बात मारिरहे । हाम्रो मौनता बोलिरह्यो । यो क्रम त्यसबेलामात्र रोकियो, जब सूर्य देवता बसभित्रै छिरे । हामी अलग भयौं । मैले लजाएर उसलाई हेरें । उसको अनुहारमा आफूप्रति अनौठो आशक्ति देखेर मेरो तनमन तृप्त भयो । फाइनली, म पनि स्वीकारिएँ । मनले । शरीरले भन्दा धेरै । धन्यवाद मेरो सोलमेट !

बिहान चिया खाने ठाउँमा हामी दुवै हात समातेर बसबाट ओर्लियौं । म त हात तानेको तात्यै गरिरा'थिएँ तर उसले मेरो हात छोडेन ।

ट्वाइलेट गएर, हातमुख धोएर हामीले सँगै बसी चिया–नास्ता खायौं ।

"तिम्रो नाउँ..."

"नसोध प्लिज ! यो एकछिनको भेटलाई यसै रहन देऊ । कुनै परिचय नदेऊ !" मैले उसको कुरा पूरा नहुँदै भनें ।

"तर, म त जीवनभरिको साथ चाहन्छु तिमीसँग । आई थिंक आ'म इन लभ विथ यु !" उसले अधीरतापूर्वक भन्यो ।

मैले धेरैबेरसम्म उसलाई हेरें । आँशु दर्किन्छ जस्तो लागेपछि मुन्टो टेबलमा झुकाएँ र आँखा चियाको कपमा गाडेर मधुरो स्वरमा भनें, "अलि ढिला भयो !"

"ह्वाट ?" उसले बुझेन ।

मैले आँसु पुछेर टाउको उठाएँ, अनि उसको आँखामा हेरेर भनें, "अलि चाँडै भएन र ? हाम्रो भेट भएको २४ घण्टा पनि भा'छैन ।"

"यो मेरो डिसिजन होइन । ट्रस्ट मी ! जब मैले पहिलोपटक तिमीलाई अँगालें, चुमें, मेरो मनले भन्यो- यही केटी हो, जोसँग म खुशी–खुशी सारा जीवन बिताउन चाहन्छु," उसले हतारिदै भन्यो ।

हरे ! केही महिनाअघि मात्रै भेटिएको भए ऊ ? तर, ऊ केही महिनाअघि भेटिएको भए म यो सब किन गर्थें र उसको साथमा !

"यो त अलि फिल्मी भएन र ?" मैले हाँस्न खोज्दै भनें तर मेरो हाँसोमा जीवन थिएन ।

"तिमीलाई लागेन भने भन !" उसले सोध्यो ।

मलाई भन्न त मन थियो- योजस्तो सत्य मेरो जीवनमा अर्को छँदै थिएन । छैन र अब शायद हुने पनि छैन ! तर, निकैबेर लगाएर मैले भनें, "लागेन !"

त्यसपछिको बाटोभरि उसले जति नै जिद्दी गर्दा पनि मैले आफ्नो नाम भनिनँ । न उसको जान्न चाहें । के फाइदा थियो जानेर ? उसले किचकिच गर्न नछोडेपछि मैले उसलाई टार्ने उद्देश्यले भनें, "ओके, लेट्स मेक अ डिल । तिमी आफ्नै बुताले मेरो नाम, घर, ठेगाना पत्ता लगाएर आउन सक्यौ भने तिमी जे भन्छौ, म त्यो मान्छु ।"

मलाई थाहा थियो- ऊ मलाई कुनै पनि हालतमा खोजेर भेट्टाउनेवाला थिएन ।

"योचाहिँ फिल्मी भएन ?" उसले मेरो हात थाम्दै भन्यो ।

"भयो ! तर फेरि हेर त, हिजोदेखि हाम्रोबीचमा जे घटिरहेको छ, त्यो कम फिल्मी छ ?" मैले मेरो हातमाथि भएको उसको हातमाथि आफ्नो अर्को हात राखेर भनें, "खोज्न सक्यौ, भेट्यौ भने त कुरै के भयो र ! होइन भने पनि तिमी मलाई राम्रो मनले याद राख है जीवनभर !"

मेरो स्वर रुँघिएजस्तो सुनियो, "बसको केही घण्टाको यात्रामा भेटिएकी छाडा केटी मानेर होइन, बरु जिन्दगीसँग सधैं हारेर क्षुब्ध भएकी यस्ती एउटी युवती, जो परिवारको मन राख्ने कोसिसमा आफ्नो मन मार्न बाध्य छे । पढेलेखेकी यस्ती युवती, जो गलत भन्ने जान्दाजान्दै गलत गर्न यसकारण बाध्य छे कि ऊ अरु केही गर्न सक्दिन । कपोकल्पित आरोपमा जे भेटी, त्यही वास्तविकतामा गरेर बदला चुकाउने एउटी यस्ती कायर युवती, जो न मनले चाहेको गर्न सक्छे, न नचाहेको छोड्न सक्छे ।"

आँखामा आँशुको बाढी भएकोले निकै बेर मुन्टो उठाउन सकिनँ । मेरो आँखाबाट चुपचाप गुल्टेर आँशुका ढिक्काहरू चियाको कपमा बिलाइरहे ।

मैले उसको हात छोडेर काँतर स्वरमा भनें, "म खुशी हुनेछु, कमसेकम एउटा अन्जान मान्छेको मनमा नै सही, मीठो याद बनेर रहन सकें भने । किनकि चिनजानकाहरूको जीवनमा हुनु मेरो बाध्यता भए पनि उनीहरूको मनमा म हुनै सकिनँ । तिमी मलाई, मसँगको यो यात्रालाई सजाएर मनमा राखिराख है । प्लिज ।" म बडो मेहनत गरिरहेकी थिएँ उसको सामु डाँको छोडेर नरुन तर पुग्न लागेको ठाउँ सम्झेर मन काटिइरहेको थियो । आँसु तँछाडमछाड गर्दै आँखाको डिलबाट गुल्टिरहेका थिए ।

"कमसेकम जान लागेको ठाउँ त भन !" उसले भन्यो ।

निकै बेर हिच्किचाइसकेपछि मैले उदास स्वरमा भनें, "अन्तिम स्टेसन ! जहाँ पुगेपछि सबै बाटो टुंगिन्छ । कुनै विकल्प बाँकी रहन्न !"

धरानमा उसले ओर्लने सुरसार गरेपछि मैले आफैं अघि बढेर उसलाई दह्रोसँग अँगालें । निधारमा चुमें । आँखा र टाउकोमा चुमें । अनि निन्याउरो स्वरमा भनें, "मलाई याद राख है ।"

उसले मलाई आफ्नो छातीमा टाँस्यो । कयौं पटक प्रगाढतापूर्वक चुम्यो । मैले कुनै विरोध गरिनँ । मेरो अनुहार दुई हातले थामेर उसले अनुरागपूर्ण स्वरमा भन्यो, "एक–एक गल्ली चहार्नेछु, एक–एक घरको ढोका ढक्ढकाउनेछु तर तिम्रो ठेगाना पत्ता लगाएरै छोड्नेछु । यसै फिल्मी, उसै फिल्मी । सुन, म हाम्रो भेटलाई यादगार बनाएर छोड्छु । पर्खेर बस," ऊ बसबाट ओर्लियो । खलाँसी भाइले डिक्कीबाट सामान झिकुन्जेल उसले मतिरै हेरिरह्यो । म रोइरहें-बिनाकारण ।

बस हिँड्यो- मेरो सहयात्रीलाई पछाडि छोडेर । मलाई लाग्यो-मेरो जिन्दगी पनि छुट्यो त्यतै कतै ! अलबिदा मेरो सोलमेट ! मेरो हिक्का छुट्यो ।

"तिमीलाई मैले जानै दिन हुन्थेन श्रद्धा !" सासूले आमाले म घरभित्र छिर्नेबित्तिकै भन्नुभयो, "नवीनले तिम्रो फोटो देखेछ फेसबुकाँ । गर्नु नगर्नु गऱ्यो रिसाएर । कलेज पनि जान नदिनू भन्या छ । अब भन त !"

मेरो भर्खर ओभाएका आँखा फेरि भिज्न थाले । छोरो कोरिया हिँडेपछि ससुराले कलेज भर्ना हुन अनुमति दिँदा मन अलि निश्चिन्त भएको थियो । अब त्यही छुटे म कसरी सम्हालिन्छु ? झन् अहिलेको स्थितिमा ?

"अब फेरि पिलपिल गर्न नथाल है । तिम्रो आँसु देखेरै मैले तिमीलाई नवीनले नमान्दा नमान्दै साथीहरूसँग काठमान्डू जान द्याथें । पोइ त्यस्तो छ भन्ने जान्दाजान्दै फोटो किन टाँस्नपऱ्या तिमीलाई फेसबुकाँ ?"

"मैले काँबाट टाँस्नू ?" मैले रुँदै भनें, "साथीहरूले टाँसे होलान् । तर, ... कलेज जान नपाए त ..."

"अहिलेलाई त आश नगर !" सासूआमाको स्वरमा बाध्यतासँगैको थोरै सहानुभूति म महसुस गर्न सक्थें, "त्यसको रिस मरेपछि कुरा गर्छु भन्नुभा'छ बुवाले । तिमी गएर त्यसलाई फोन गरिहाल त, आइपुगें भनेर !"

म ब्याग बोकेर आफ्नो कोठातिर लागें अनि मनमनै जाने, सम्झेको सबै भेज/ननभेज गाली फलाकें नवीनको नाउँमा । त्यसपछि फेसबुक डिएक्टिभेट गरिदिएँ । मोबाइलको स्विच अफ गरेर एउटा कुनामा मिल्काएँ । यसै पनि को थियो र मेरो जिन्दगीमा त्यस्तो, जसको फोनको म प्रतीक्षा गरी बस्थें ! अनायास मलाई पछाडि छोडेर आएको सहयात्रीको याद आयो । खोज्ला त उसले मलाई ? मेरो मनले पत्याउन मानेन ।

बाँकी समयमा जतिफेर सास फेरें, त्योभन्दा धेरै त्यो सहयात्रीलाई याद गरें । नचाहेरै पनि याद गरिरहें ।

साँझ बाक्लिएपछि जेठाजुको फुच्चे छोरो दौडिदै मेरो कोठामा पस्यो र उत्साहपूर्ण स्वरमा भन्यो, "काकी ! बाबाले बोलाउनुभा'छ बैठकमा !"

त्यति भनेर ऊ बाहिरतिर दौडियो । अब कुन उर्दी सुनाउनु थियो उनीहरूले मलाई ? भाइलाई फोन गरिन भनेर कराउने त होला ! जेसुकै होस्, म त्यसलाई फोन गर्नेवाला छैन अब । पोइले पोइको जस्तो व्यवहार नगरेपछि मलाई केको खाँचो छ स्वास्नीको जस्तो व्यवहार गर्न ? सलले टाउको ढाकें र बाहिर निस्किएँ ।

बैठकमा रमझम थियो । परिवारका सबै जम्मा भएका थिए । शायद नयाँ कोही आएको थियो कतैबाट । सासूले नवआगन्तुकलाई विदेशबाट आएको देवरको रुपमा परिचय गराउनुभयो । मैले हात उठाएर नमस्ते गर्नुभन्दा पहिले मेरा आँखा ऊतिर उठे ! यस्तो लाग्यो— भुइँचालो आयो र घरको सिंगै छत मेरो टाउकोमा खस्यो । मेरो सोलमेट मेरो सामुन्ने थियो ! वर्षौंपहिले बिदेसिएको मेरो लोग्नेको भाइ !

सासूले भन्नुभयो, "यिनीचाहिँ साहिँलीकी स्वास्नी, श्रद्धा ।"

त्यसपछि के भयो, मलाई केही सम्झना छैन ।

(सानुले यसअघि पुरुष पात्रको आँखाबाट लेखेको 'प्रारब्ध' कथा बाह्रखरीमा प्रकाशितभएको थियो । 'मेरो प्रारब्ध' महिला पात्र श्रद्धाको आँखाबाट लेखिएको हो ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC