– मनोज गजुरेल
२ नम्बर प्रदेशको राज्यकी मन्त्री सिम्पल कुमारीमाथि अमेरिकी अन्तरिक्ष संस्था नासाले गम्भीर अनुसन्धान थाल्ने भएको छ । राज्यमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रौतहट पुगेकी सिम्पलको पछाडि सयौं सवारी साधनहरू चुम्बकमा फलाम तानिएझैं तानिन थालेपछि नासाको गम्भीर ध्यानाकृष्ट भएको हो ।
सिम्पलकुमारी अत्यन्त शालीन, सरल, मितव्ययी नेतृ मानिन्छिन् । उनी तामझाममा विश्वास गर्दिनन् । तर, हालै जब पहिलोपटक उनी चन्द्रनिगाहपुर पुगिन्, उनको पछिपछि तीन दर्जनभन्दा बढी गाडीहरूको लावालस्कर लाग्यो, त्यो पनि आफसे आफ ! गाडीको लावालस्करलाई शुरुमा त उनले आफ्ना समर्थक ठानिन् । तर, जब ती सबै गाडी ‘बिन बुलाए मेहमान’ भएको पत्ता लाग्यो, तब मन्त्रीजीले बुझिन् कि ‘दाल मे कुछ काला है ।’ ‘बाद मे’ पत्ता लाग्यो कि ‘दाल मे कुछ काला नही, दाल हि काला है ।’
यो लावालस्करलाई पहिलोपटक नासाको अन्तरिक्ष यान एसिया ०.२ ले देखेको थियो । नासाको बुलेटिनमा भनिएको छ, “चीनको ग्रेटवाल र हिन्दुकुश पर्वतमालाको बीचमा एउटा अनौठो मुभमेन्ट देखियो । हब्बल क्यामेराले खिचेपछि थाहा भयो, राज्यमन्त्री सिम्पलकुमारी झाको सवारी रहेछ । जसको पछि–पछि सयौं गाडीहरू आफसे आफ गुडिरहेका थिए ।”
अत्यन्तै सरल, शालीन, मितव्ययी नेतृको रूपमा चिनिने मन्त्री सिम्पललाई पनि थाहा छैन, त्यतिका धेरै गाडीको लावालस्कर कसरी आयो ! ‘बीबीसी’सँगको कुराकानीमा उनले भनिन्, “सेक्युरिटीसहित म एउटा गाडीमा अगाडि बढ्दै थिएँ, अकस्मात मेरो जिउ भारी भयो । कुनै अदृश्य शक्तिले जबर्जस्ती तानेझैं लाग्यो । पछाडि फर्केर हेर्दा सयौं गाडीहरूले मलाई पछ्याइरहेका थिए । त्यसपछि म बेहोस भएँ ।”
जानकी मेडिकल कलेजका फिजिसियन डा. मञ्जित झा भन्छन्, “उहाँको शरीरमा यति धेरै चुम्बकीय पदार्थ देखिन्छ कि सयौं गाडीहरू आफैं तानिएर आएका छन् । यो मेडिकल इतिहासमा अनौठो घटना हो ।”
राजपाका जिल्ला अदक्षले भने, “ती गाडीहरू हामीले बोलाएको पनि हैन, मन्त्रीजीले मगाउनुभएको पनि हैन । मन्त्रीजीको सवारी अगाडि बढ्नासाथ कताबाट आयो, किन आयो, कसरी आयो, भगवान् कोइराला कसम, हामीलाई पनि थाहा छैन । हामी पनि छक परेछु ।”
मन्त्रीजीको यो अलौकिक शक्तिलाई ज्योतिषीहरूले साक्षात् भगवतीको प्रवेश भएको बताएका छन् । तर, वैज्ञानिकहरूले भने उहाँमा तेस्रो ग्रहको ‘एलियन क्विन’को अवतरण भएको हुन सक्ने आशंका गरेका छन् । स्थानीय भन्छन्, “मन्त्री फर्किएपछि अकस्मात ती गाडीहरू स्टार्ट बन्द भएर बाटैमा अलपत्र परेका छन् ।”
नेपालको २ नम्बर प्रदेशमा घटेको यो अद्भूत, अकल्पनीय र अलौलिक घटनाको अनुसन्धान गर्न अमेरिकी, बेलायती र रसियन वैज्ञानिकहरूको टोली काठमाडौं आउने भएको छ । उता २ नम्बर प्रदेशका मतदाताहरू भने मन्त्रीको यो दशा देखेर रुनु न हाँस्नुको अवस्थामा छन् ।
(गजुरेल हास्यव्यंग्य अनलाइन gajureal.com का सम्पादक तथा सञ्चालक हुन् । स्केचः कृष्ण मरासिनी)