site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालीलाई दुई तिहाईको बलियो सरकार चाहिएको होइन
Ghorahi CementGhorahi Cement

केशव दाहाल विवेकशील साझा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य हुन् । स्थापनाकालदेखि नयाँ शक्ति पार्टी नेपालमा सचिवालय सदस्यको रुपमा आवद्ध दाहाल सो पार्टी परित्याग गरी विवेकशील साझा पार्टीमा आवद्ध भएका हुन् । उनी वैकल्पिक राजनीतिमा विश्वास गर्ने विभिन्न समूह, व्यक्ति र पार्टीहरुको एकताबाट बलियो वैकल्पिक राजनीतिक शक्ति र तेश्रो पोल निर्माण गर्नु आवश्यक रहेको बताउँछन् । यद्यपि, वैकल्पिक शक्तिहरु विच विचार, संगठन प्रणाली, नयाँ राजनीतिक संस्कृति र परिवर्तनका कार्यक्रमहरुमा एकरुपता भएपछि मात्र एकता सम्भव हुने उनको ठम्याई छ । 

गोविन्द केसीसँग सरकारले गरेको सम्झौतालाई शिक्षा र स्वास्थ क्षेत्रको आमूल परिवर्तनको प्रस्थानविन्दु ठान्ने दाहालले अहिलेको सरकारलाई दुई तिहाईको बहुमतको दम्भबाट नभई, दुई तिहाईको विनम्रता, शालीनता र रचनात्मकताबाट अगाडि बढ्न सुझाव दिन्छन् ।
दाहालसँग नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टीको अनुभव, यी पार्टीहरुबीचको एकता र सरकारको पछिल्लो गतिविधिलगायत विविध विषयमा बाह्रखरीका शिवनारायण गिरीले गरेको कुराकानीः

राजनीतिमा किन आउनु भएको ? 
मलाई लाग्छ राजनीति सबैले बुझ्नुपर्ने विषय हो । तर कहिलेकाहीँ राजनीति बुझेरमात्र हुँदैन, यसलाई अझ राम्रो बनाउन र बदल्न प्रयत्न पनि गर्नुपर्छ । नेपाली राजनीतिलाई बदल्नुपर्ने, अझ गतिशिल र चम्किलो बनाउनुपर्ने अनेक विषयहरु छन् । त्यसका लागी काम गर्न म राजनीतिमा आएको हुँ ।

Agni Group

नेपालको लामो राजनीतिक इतिहासलाई हेर्ने हो भने जनताको सपनाहरु र राजनीतिक पार्टीहरुको विचार, सिद्धान्त र कार्यशैलीमा तालमेल भएन । पार्टीका विचारहरु पुराना छन् । जसलाई पुराना दलहरुले अध्यावधिक गर्ने र समयसापेक्ष बनाउने काम गर्न सकेनन् । संगठनहरु गतिशिल छैनन् । पुराना पार्टीहरुभित्र लोकतन्त्र प्रभावकारी छैन । नेता, कार्यकर्ताको सम्बन्ध दास र मालिकको जस्तो भयो । सदाचार र सुशासन रहेन । पुराना पार्टीहरु जड र आन्दोलनमुखी भए । पुरानो नेतृत्वले राजनीतिक परिवर्तनलाई जनताको आर्थिक, तथा सामाजिक परिवर्तनको सपनासँग जोड्न सकेन । नेता र जनताको सपनामा तालमेल मिलेन । 

हामीले २००७ सालकै परिवर्तनलाई हेर्ने हो भने पनि त्यहि देखिन्छ । प्रजातन्त्र स्थापना भयो । तर त्यसपछि कस्तो सरकार दिने, राज्य चरित्र कस्तो बनाउने ? त्यो राज्यसत्ताले जनताको सपनाहरु कसरी सम्बोधन गर्ने ? यस्ता विषयमा नेताहरुले आशा जगाउन सकेनन् । २०४६ सालको आन्दोलन सफल गर्न नेताहरुले आफ्नो क्षमता त प्रदर्शन गरे । तर, फेरि कस्तो राज्य सत्ता बनाउने भन्नेमा दोधार भयो । २०४६ सालको आन्दोलनले सडकमा सहभागी भुईंका जनताको सपनालाई सम्बोधन गर्न सकेन ।

Global Ime bank

परिणाम फेरि ०५१ सालदेखि सशस्त्र द्वन्द सुरु भयो । ०६२–०६३ को लोकतन्त्रको आन्दोलनले राजनीतिक परिवर्तनको अर्को युगको रचना गर्यो । तर त्यो आन्दोलनले जागृत गरेका सपनाहरु पूरा गर्ने कुरामा फेरिपनि दलहरु अलमलमै देखिए । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि कस्तो राज्य व्यवस्था बनाउने ? जनताको आर्थिक जीवन कसरी परिवर्तन गर्ने ? लोकतन्त्रलाई कसरी भुइसम्म पुर्याउने अनेक सपनाहरु छन्, त्यसलाई कसरी गोडमेल गर्ने र जनतामा आशा जगाउने यस्ता कुरामा नविनता आएन । 

यो समग्र तथ्यहरुले दिएको निश्कर्ष एउटै हो कि हाम्रा पुराना पार्टीहरुको नेतृत्वमा लोकतन्त्र, सामाजकि न्याय, सुशासन र जनमुखी समृद्धि प्राप्त हुँदैन । उनीहरु आन्दोलनका लागी मात्र बनेका पार्टी हुन् । प्रभावकारी र जनमुखी राज्यसत्ता निर्माण गर्न उनीहरुको क्षमता र सोचले पुग्दैन । त्यसैले जनताको जीवनमा बदलाब ल्याउने र नयाँ युगको सपनाहरु बुझ्ने नयाँ राजनीतिक शक्तिको खाँचो छ । 

पुराना पार्टीहरुको विचार, दर्शन, सङ्गठन प्रणाली, सङ्गठनभित्रको लोकतन्त्र, नेतृत्व क्षमता र परिवर्तनलाई बुझ्ने भास्यमा नविनता छैन । त्यसैले व्यवस्था त परिवर्तन हुँदैआयो तर जनताको अवस्था परिवर्तन गर्न हुनसकेन । यो राजनीतिक रिक्ततालाई पुरा गर्न नयाँ वैकल्पिक पार्टी बनाउने बृहत्तर समूहमा बसेर कामगरौ भनेर म राजनीतिमा एक अभियन्ताको रुपमा आएको हुँ । 

\"\"नयाँ शक्तिमा किन टिक्न सक्नुभएन, के सोच्नु भएको थियो, के पाउनु भयो ?
म राजनीतिमा आएको पुरानै ढाँचाको पार्टी बनाउन होइन । मेरो लगाव सयौं पार्टीहरुमा अर्को एउटा पार्टी थप्ने होइन । म अरुभन्दा नितान्त नयाँ, कंचन, चलायमान र लोकतान्त्रिक पार्टी चाहन्थे । म आजको भाषा बोल्ने र आजका सपनाहरु बुझ्ने पार्टी चाहन्थे । तर काम गर्दैजाँदा नयाँ शक्तिमा मेरो चाहना भन्दा अलग वहस, अभ्यास र प्रवृत्तिहरु देखापरे । त्यसैले म नयाँ शक्तिमा रहन सकिन । 

नयाँँ शक्तिभित्र त्यस्ता समस्या के छन् ?
भर्खरै मैले नयाँ शक्ति पार्टी छोडेको छु । म त्यो पार्टीलाई अफ्ट्यारो पार्ने, गाली गर्ने, त्यहाँ काम गरिरहेका साथीहरुलाई निराश बनाउने काम गर्न चाहन्नँ । नयाँ शक्ति राम्रो पार्टी बनोस्, र त्यसले वैकल्पिक राजनीतिमा योगदान गरोस् भन्ने म चाहान्छु । तर, नयाँ शक्तिभित्र केही गम्भिर समस्याहरु छन् । ती समस्याहरुलाई समाधान नगरिकन त्यो पार्टी प्रभावकारी हुँदैन । 

जस्तो– हामीले विचारमा ठीकै भन्यौं– पुरानो लोकतन्त्रले काम गर्दैन, सहभागितामूलक लोकतन्त्रमा जानुपर्छ भन्यौं । पुरानो समाजवादले काम गर्दैन, राज्यसत्ता नियन्त्रित समाजवाद होइन कि समुदाय, जनतामा आधारित समाजवाद बनाउनुपर्छ भन्यौं । पाँच ‘स’ भनेर सुशासन, समावेशीकरण लगायतका अनेक वहसहरु गर्यौं । तर, जब राजनीतिक प्रस्तावहरुलाई व्यवहारमा र आफैभित्र प्रयोगगर्ने बेला आयो त्यसमा अलमल भयो । कस्तो संगठन बनाउने ? कस्तो पार्टी बनाउने ? कस्तो नेतृत्व बनाउने ? भन्ने विषयमा नयाँ प्रयोग हुन सकेन । त्यहाँ सहभागितामूलक नेतृत्व, पार्टी भित्र बलियो लोकतन्त्र निर्माण र सुशासनको रचनात्मक अभ्यास हुन सकेन । 

पार्टीभित्र एउटा नेता र अर्काे नेताबीचको सम्बन्ध, नेता र कार्यकर्ताको सम्वन्ध उन्नत, फरक र जिवन्त हुन्छ भन्ने हाम्रो आशा थियो, त्यो हुन सकेन । हामीले सुसंस्कृत राजनीतिक संस्कार निर्माण गर्न सकेनौं । 

वैकल्पिक पार्टीको जिवन कस्तो हुनुपर्छ ? के भयो भने वैकल्पिक पार्टी हुन्छ ? त्यसको सूचकहरु के के हुन् ? हामीले काफी छलफल गर्न चाह्यौं । तर, त्यसमा नविनता आएन । जस्तो जनसंगठनको विषयमा पनि नयाँ शक्तिभित्र अन्योल देखियो । हामीले शिक्षक, कर्मचारी र प्रध्यापकको सङ्गठन बनाउनु हुँदैन भन्यौं । नेपालमा कर्मचारी संघसङ्गठन, प्रध्यायपक संघसङ्गठन र शिक्षक संघसङ्गठनहरु सुशासनको बाधकहरु हुन् । तर, यो वा त्यो नाममा त्यस्ता सङ्गठनहरु बनाउने कोशिस भयो । हामीले सानासाना विद्यार्थीहरुलाई समेटेर विद्यार्थी संगठन नबनाउ भन्यौं । अब विद्यार्थीलाई आन्दोलनमा ल्याउने संगठनहरु किन चाहियो र ? हामी समृद्धिको कुरा गर्छौं, समृद्धिका लागि कस्ता ब्रेनहरु चाहिन्छ यो देशमा ? त्यो ब्रेनहरु उत्पादन गर्नुपर्यो ।

हामीले सुनेका छौं मलेसिया, चीन, सिंगापुर लगायतले योजनावद्ध रुपमा उत्कृष्ट ब्रेन निर्माण गर्न राम्रो राम्रो युनिभर्सिटी पढ्न पठाए । तिनै विद्यार्थीहरुले पछि राष्ट्र निर्माणमा योगदान गरे । हामीले भन्यौं अव हामीलाई पनि पढ्ने विद्यार्थीहरु चाहिन्छ । अतः नयाँ ढाँचाको विद्यार्थी संगठन, नियमित विद्यार्थीहरुको संगठन, ३० वर्ष मुनीका विद्यार्थीहरुको संगठन मात्र बनाउँं । तर अभ्यासमा यस्तो भएन । कुनै पार्टीको विद्यार्थी सङ्गठनले नेताहरुको आदेशमा गएर विश्वविद्यालयको लाइब्रेरी जलाउने, शिक्षण संस्थाहरु बन्दगर्ने र पढ्न अवरोध गर्ने काम गर्नु भएन । बरु अबको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने विषयमा वृहत्तर बहस गर्ने विद्यार्थी संगठन चाहियो । यसैगरी पार्टीमा शक्ति पृथकिकरणका कुराहरु पनि थिए, यस्ता अनेकौं विषयहरुमा कुरा मिलेन । 

मलाई लाग्छ, यावत् समस्याहरुमा नयाँ शक्तिले गम्भिर वहस गर्नुपर्छ । यस्ता समस्याहरुलाई जस्ताकोतस्तै राखेर त्यो पार्टी वैकल्पिक पार्टी पनि बन्दैन, अगाडि पनि जादैन । वैकल्पिकतिर जाने हो भने त्यही बाटो समाउनुपर्छ । त्यहाँको मुख्य समस्या बाटोको अलमल हो ।

नयाँ शक्तिमा प्रवेश गर्नेभन्दा छोड्नेहरु बढी भए, किन होला ?
नयाँ शक्तिमा विभिन्न पृष्ठभूमिका मान्छेहरु आए । कांग्रेस, एमाले र माओवादीबाट आएका साथीहरुले आ–आफ्नो पुर्वज्ञानलाई छोड्न नसक्ने समस्या देखापर्यो । कोही कोही साथीहरुमा आफ्ना इतिहास समाएर बस्ने समस्या थियो । पुरानो इतिहास समाउने र त्यसलाई छोड्न नचाहानेले नयाँ इतिहास कसरी बनाउँछ ? जहाँजहाँबाट आएको हो, त्यहीँको ज्ञानलाई स्थापित गर्न खोज्नेहरुले पार्टीलाई एक ढिक्का हुन दिएनन् । परिणाम पार्टी एकिकृत, साझा र नयाँ हुन सकेन । 

अर्को समस्या राजनीतिक पृष्ठभूमिका र गैरराजनीतिक पृष्ठभूमिका साथीहरुबीच पनि एक अर्कोप्रति सम्मानभाव थिएन । परिणाम पार्टी एउटै साझा घर भएन । बरु कोठा कोठामा विभाजित भयो ।

त्यसो त पार्टी निर्माणकै चरणमा विभिन्न अवरोधहरु आए । जस्तै– स्थानीय निकायको निर्वाचनमा हामीले चुनाव चिन्ह प्राप्त गर्न सकेनौं । स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमको चुनाव चिन्ह लिनुपर्¥यो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा हामी वामतिर कि कांग्रेसतिर भन्ने द्धिविधा देखापरे । जसले धेरै साथीहरुलाई निरास बनायो । 
अर्को महत्वपूर्ण कारण नयाँ शक्तिलाई वैकल्पिक शक्ति भनियो । तर, जनताले मान्दिएनन्, सायद संयोजक भट्टराईको पृष्ठभूमिको कारणले पनि होला । जब मान्छेले वैकल्पिक भनेको पत्याएनन्, जनताले पत्याउने गरी ‘बिग म्यासेज’हरु सिर्जना गर्नुपथ्र्यो, तर त्यसो हुन सकेन ।

विवेकशील साझा पार्टीमा तपार्इंको प्रवेश किन ?
वैकल्पिक पार्टी निर्माण नै मेरो राजनीतिको मुख्य लगाव र गन्तव्य हो । यो मेरो आफ्नो सपना हो । नयाँ शक्ति पार्टीमा पनि म त्यही कारण आवद्ध थिए । जब मैले नयाँ शक्ति छोडेँ, या त म संगठित राजनीतिबाट टाढा हुनुपथ्र्यो अन्यथा वैकल्पिक पार्टीलाई नै सघाउनु मेरो धर्म हुन्थ्यो । मैले दोश्रो बाटो रोजे । मलाई लाग्छ, वैकल्पिक पार्टी निर्माण गर्ने चाखलाग्दो लगाव छ विवेकशील साझा पार्टीमा । केही साथीहरुमा साँच्चै गजवको ‘जुनुन’ छ । कम्तीमा विवेकशील साझा पार्टीले आजको पुस्ताको भाषा र सपना बोल्छ । आजको पुस्ताको भाषा र सपना बुझ्ने पार्टीमात्र आजका लागि वैकल्पिक पार्टी हुन्छ । मलाई लाग्छ, आजका युवाहरुको भाषा र सपना बुझ्ने, आजकै युवाहरुले बनाउन चाहेको पार्टी हो विवेकशिल साझा पार्टी । त्यसैले मैले त्यो प्रयत्नमा साथीहरुलाई साथदिने निर्णय गरेको हुँ । 

त्यहाँ असल विउ छ, म त्यो विउमा पानी हाल्न, मलजल गर्न र जोगाउन चाहन्छु । यद्यपी पार्टी निर्माण एउटा सामूहिक प्रयत्न हो, म पनि त्यहीँ समूहको एउटा समस्य मात्र हुँ । निश्चयनै त्यहाँ सामूहिक भावना छ । महत्वपूर्ण कुरा विवेकशील साझा पार्टीका साथीहरु फ्रेस हुनुहुन्छ । साथीहरुमा कुनै ब्यागेज छैन । वैकल्पिक पार्टी भनेको के हो ? पार्टीभित्र कस्तो लोकतन्त्र बनाउने, सदाचार र सुशासनमा हामीले गर्ने के हो ? अबको राज्यव्यवस्था कस्तो हुनुपर्छ ? कल्याणकारी राज्यका मानकहरु के हुन् ? यस्ता विषयमा बडो रोचक र सृजनशिल बहस छ त्यहाँ । 

वैचारिक हिसाबले विवेकशील साझा पार्टी कल्याणकारी लोकतन्त्रको कुरा गर्छ । त्यसको महत्व के छ, हामीले डा. केसीको सत्याग्रहमा पनि देख्यौं । राज्यले जनताका आधारभूत मुद्दाहरु र मूलतः शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका क्षेत्रहरुमा दायित्व लिनुपर्छ भन्ने विवेकशिल शाझा पार्टीको मान्यता हो । लोकतन्त्रलाई अझ गहिरो र जनमुखी बनाउने विचार नै आजका लागि सबैभन्दा प्रगतिशिल विचार हो । यसलाई अझ समृद्ध गर्नुपर्छ । 

ती सारा चिजहरुले विवेकशील साझा पार्टीलाई वैकल्पिक पार्टी बनाउने छन् । यहि विश्वासका लागि क्रियाशिल हुन म त्यहाँ आवद्ध भएँ । 

\"\"

नयाँ शक्ति र विवेकशील साझा दुवैले आफूलाई वैकल्पिक शक्ति भनेर दावी गर्छन, यी दुईबीच के के समानता छन् ?
सतहमा हेर्दा, पहिलो समानता दुवैले आफूलाई वैकल्पिक हौं भन्छन् । दोस्रो दुवैले सहभागीतामूलक लोकतन्त्रको कुरा गरेका छन् । तर, भित्र गहिरोसँग विचार गर्ने हो भने यी दुई पार्टीहरुमा धेरै भिन्नताहरु छन् । 

ती भिन्नताहरु के–के हुन् ?
दुवै पार्टीको पृष्ठभूमिमा ठूलो भिन्नता छ । नयाँ शक्तिको मूलधार माओवादी आन्दोलनबाट आएको छ । विवेकशील साझा पार्टीको मूलधार सामाजिक क्षेत्र र आजको पुस्ताका युवाहरुको धार हो । दोस्रो नयाँ शक्ति पुरानोकै निरन्तरता हो । विचार, शैली, प्रवृत्ति र व्यवहारमा तर विवेकशिल साझा पार्टी विल्कुलै नयाँ सुरुवात हो । 

तेस्रो नयाँ शक्तिमा वैकल्पिक पार्टी कस्तो हुनुपर्छ भन्ने स्पष्ट खाका छैन, अभ्यासमा समस्याहरु छन् । विवेकशील साझा पार्टीले वैकल्पिक पार्टीको मार्गचित्र स्पष्ट गरेको छ । जस्तो कि नयाँ शक्ति भख्खरसम्म समाजवादी फोरम र नेकपासँग एकताको कुरा गर्छ । तर, विवेकशील साझा पार्टीलाई थाहा छ, त्यो एकताले वैकल्पिक पार्टी बन्दैन । उ यस्तो एकताका लागि हजार अनुरोध आएपनि अनिच्छुक हुन्छ । किनभने विवेकशील साझा पार्टीलाई राम्रोसँग थाहा छ, उसको बाटो त्यो हुँदै होइन । अरु विचार र व्यवहारमा अनेक भिन्नताहरु छन् । जुन सजिलै देखिन्छन् ।

यी दुई पार्टीबीचको एकता कत्तिको सम्भावना छ ?
अहिलेकै अवस्थामा त विवेकशील साझा पाार्टी र नयाँ शक्तिबीच एकताको सम्भावना छैन । मूलतः नयाँ शक्ति पार्टीले आफूलाई वैकल्पिक धारमा अझ स्पष्ट बनाउनुपर्छ । अन्यथा वैकल्पिक नाममात्र राखेर पार्टी एकीकरण कसरी होला र ? 

किनभने वैकल्पिक शक्ति भनेको के हो ? नेपालमा वैकल्पिक शक्तिको आवश्यकता किन ? नेपालका वैकल्पिक शक्तिका पार्टीहरुले समाउनुपर्ने सिद्धान्त के हुन् ? नयाँ सङ्गठन प्रणाली र ढाँचा के हो ? नेपालको रुमान्तरण र न्यायपूर्ण समृद्धिका लागि कस्ता खालका कार्यक्रम आवश्यक छ ? यस्ता प्रश्नहरुमा कुरा मिलेपछिमात्र पार्टीहरुबीच एकता हुने हो ।
मूलतः लोकतन्त्र, सुशासन, सदाचार, सामूहिक नेतृत्व, जातिय पहिचान, सम्मृद्धिका अनेक मुद्दाहरुमा नयाँ शक्ति पार्टीले आफूलाई आजको आँखाबाट अध्यावधिक गर्नुपर्छ । यस्ता विषयमा नयाँ शक्तिले आफूलाई समयानुकूल रुपान्तरण गर्दै लगेमा मात्र भोलि यी पार्टीहरु एक ठाउँमा आउन सक्छन् । 

यद्यपि अहिलेलाई भने कतिपय विषयमा नयाँ शक्ति र विवेकशील साझा पार्टीलेसँगै काम गर्ने क्षेत्रहरु खोजी गर्नु राम्रो हुन्छ । जसले एक अर्कोबाट सिक्न सहयोग पुग्नेछ ।  हामीले बुझ्नुपर्ने कुरा के भने, वैकल्पिक पार्टीहरुको मात्र एकताको कुरा गर्नु आधा कुरा हो । हामी वैकल्पिक पार्टीसँग मात्र नभई वैकल्पिक विचार समूहहरु, असल व्यक्तिहरु, विभिन्न पक्षहरुसँग पनि एकता र ध्रुविकरणको पक्षमा छौं । तर सर्त के भने, यस्तो एकताले वैकल्पिक पार्टी निर्माणमा योगदान पुग्नुपर्छ । वैकल्पिक पार्टीको मूल चरित्रलाई बिगार्ने सर्तमा हुने कुनैपनि एकता अनावश्यक हुन्छन् । विवेकशील साझा पार्टी त्यसमा सचेत छ ।

एकताको लागि पार्टीभित्र तपाईंको भूमिका के रहन्छ ?
म विवेकशील साझा पार्टीको सदस्य हुँ । हामी समूहमा मिलेर काम गर्दछौं । समूहको एक जिम्मेवार सदस्यको नाताले म पार्टीलाई विस्तारित र गहिरो राजनीतिक संगठनको रुपमा सृदृढ गर्न रचनात्मक भूमिका निर्वाह गर्नेछु । हामीलाई थाहा छ, हामी राम्रो पार्टी बनाउने कुरामा प्रतिवद्ध छौं । राम्रो पार्टी बनाउन जे जस्तो एकता आवश्यक हुन्छ त्यसका लागि हामी खुल्ला हुनेछौं । तर पार्टीको वैकल्पिक चरित्रलाई नै आघात पर्ने एकताका लागि हामी उदार छैनौं । 

डाक्टर गोविन्द केसीको मागका सम्बन्धमा विवेकशील साझा पार्टी किन जोडियो ?
हो, हामीले डा. केसीको मागलाई ऐक्यबद्धता जनाएका छौं । म पार्टीको जिम्मेवार सदस्यको रुपमा भन्दै छु, हामी केसीको मागमा संलग्न छौं । हामी कल्याणकारी लोकतन्त्रमा विश्वास गर्दछौं । कल्याणकारी लोकतन्त्रको सिद्धान्तले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका अनेकौं मुद्दाहरु राज्यको दायित्यभित्र हुनुपर्ने कुराको वकालत गर्दछ । नेपालमा पनि जनतालाई सुख, समृद्धि र न्याय दिन चाहन्छौं भने शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको दायित्व हुनुपर्छ । 

लाखौं पैसा तिरेर धनीका छोराछोरी त डाक्टर भएका छन् । गरिबका छोराछोरी कसरी डाक्टर बन्ने ? गरिबले कसरी उपचार गराउने ? त्यसैले सिद्धान्ततः हामीले जे भनिरहेका छौं, त्यो कुरा स्थापित गर्नका लागि डा. गोविन्द केसीको आन्दोलन प्रस्थानविन्दु हो । यसैले हामीले त्यो सत्याग्रहमा ऐक्यवद्धता जनाएका हौं । निश्चय नै सत्याग्रह सुखद परिणाममा सकिएको छ । अब हामी मागहरु पूरा गर्ने कुरामा सरकारको इमान्दारीता हेर्नेछौं र आफ्नो राजनीतिक सिद्धान्तका आधारमा कल्याणकारी राज्य र गहिरो लोकतन्त्रका लागि जनताबीचमा काम गरिरहेने छौं ।

सरकार कस्तो हुनुपर्छ, वर्तमान सरकारलाई कसरी हेर्नुहुन्छ ?
सरकार अहिले दुई तिहाइको छ । दुई तिहाइको सरकार हुनु भनेको राम्रो हुनु होइन, समस्या यहींनिर छ । केपी ओलीलगायत पार्टीका नेताहरुले भन्नुहुन्छ– हामी दुई तिहाइको सरकार हौं । हामी बलियो छौं । यो भनाइ नै वेठिक हो । राणा र राजा महेन्द्रले सम्पूर्ण बहुमतको सरकार चलाएको देश हो यो । तर के भयो ? त्यसैले दुई तिहाइले सरकार भन्ने कुराले सरकारको चरित्र स्पष्ट हुँदैन । नेपाली जनतालाई दुई तिहाइको बलियो सरकार चाहिएको होइन । जनतालाई राम्रो सरकार, जनमुखी सरकार र जनताका सपनाहरुको सम्बोधन गर्ने सरकार चाहिएको हो ।

तर, सरकार असल भएन, दम्भी भयो । फलेको वृक्ष जसरी झुक्न जानेन र सरकारले विनम्रता गुमायो । सरकारका पछिल्ला अभिव्यक्तिहरुबाट सरकारको अलोकतान्त्रिक व्यवहार झल्किन्छ । अहिलेको सरकारको जस्तो अभिव्यक्ति पञ्चायतकालमा मात्र सुहाउँथ्यो, अहिले सुहाउँदैन । लोकतन्त्रमा सरकारले सडकमा उठेको आवाज सुन्नुपर्छ । त्यसैले हामीले भनेका छौं कि हामीलाई बलियो होइन, राम्रो सरकार देउ । हामीलाई दुई तिहाइको घमण्ड चाहिएको होइन । हामीलाई दुई तिहाइको विनम्रता चाहिएको हो । 

विवेकशील साझा पार्टी कसरी अगाडि बढ्दैछ ?
साउन ११ गते पार्टी स्थापना दिवस हो । तर, डा. केसीको सत्याग्रहका कारण यसलाई मनाउन सकिएन । अब एक हप्तापछि हामीले पार्टीको स्थापना दिवसलाई उत्सवको रुपमा मनाउने तयारी गरेका छौं । त्यहि एक वर्षको समीक्षा पनि हुनेछ । 

पार्टीले स्थापनाको दोस्रो वर्षलाई सङ्गठन विस्तार र सदृढीकरणको रुपमा लिएको छ । मूलतः पार्टीको ध्यान अब देशैभरी विस्तार हुनेतिर केन्द्रित हुन्छ । हामी नेपाली जनताले खोजेजस्तो पार्टी बनाउन निरन्तर कृयाशिल भइरहने छौं ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC