नुवाकोट । महानगरको अदूरदर्शिताका कारण उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बासीले वर्षाभरि दुःख पाउने भएका छन् । वर्षात्का कारण उपत्यकाको फोहोर तीन साता उठ्न सकेन ।
निरन्तरको झरी रोकिएपछि गत शुक्रबारदेखि फोहोर उठ्न थालेको छ । तथापि पानी पर्नासाथ फोहोर उठ्न बन्द हुने र वर्षाभरि नै सहरले फोहोर व्यवस्थापनको समस्या झेल्नुपर्ने काठमाडौँ महानगरपालिकाका वातावरण विभागका निर्देश युवराज खनाल बताउँछन् ।
किन उठ्दैन फोहोर ?
काठमाडौँ महानगरपालिकाले ०६२ देखि नुवाकोटको ओखरपौवा, सिसडोल क्षेत्रमा फोहोर फाल्न शुरू गरको छ । दुई वर्ष त्यहाँ ल्याण्डफिल गर्ने र दीर्घकालिन रूपमा सिसडोलभन्दा दुई किलोमिटिर दक्षिण–पश्चिम बञ्चरे डाँडामा फोहोर व्यवस्थापन तयारी थियो ।
तर, १३ वर्षसम्म बञ्चरेडाँडामा ल्यान्डफिल साइट नबन्दा सिसडोलले दैनिक हजार टन फोहोर बहन गरिरहेको छ ।
पछिल्लो समय सिसडोल क्षेत्र फोहोरले अस्तव्यस्त छ । डाँडो, भिरालो क्षेत्रमा ल्याण्डफिल गर्दै लगेकाले पानी परेका बेला फोहोर बोक्ने गाडी ल्याण्डफिलसम्म पुग्नै सक्दैनन् ।
“फोहोरमाथि माटो हालेर बाटो बनाइएको छ । एकझर पानी पर्नेबित्तिकै गाडी चिप्लन थाल्छ,” फोहोर व्यवस्थापनमा खटिने कर्मचारी बताउँछन् ।
चार महिनाअघि तीनपिप्लेदेखि सिसडोलसम्मको सडकखण्ड कालोपत्रे गरिएको भए पनि ल्याण्डफिलसम्म पुग्ने दुईवटा बाटो पूरै कच्ची छ । “आइतबार बिहान डोजरले धकेलेर गाडीहरूलाई ल्याण्डफिलसम्म पुर्याइयो, दिउँसो घाम लागेकाले धकेल्न परेन,” एक कर्मचारीले भने ।
हिँउदभरि महानगरले बाटो बनाउने तदारूकता नदेखाएकाले वर्षाभरि फोहोर उठ्न नसक्ने अवस्था आएको स्वयम् फोहोर व्यवस्थाका कर्मचारी बताउँछन् ।
बञ्चरेडाँडामा ल्याण्डफिल नबनेसम्म दीर्घकालीन रूपमा फोहोर उठ्दैन
बञ्चरेडाँडामा ल्याण्डफिल हुन नथाल्दासम्म महानगरको फोहोर उठ्न समस्या हुने खनाल बताउँछन् । उनका अनुसार बञ्चरे डाँडालाई ल्याण्डफिल बनाउने जिम्मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लिएको छ ।
तीन वर्षदेखि बञ्चरे डाँडाको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको काम भइरहेको छ । बञ्चरे डाँडा जोड्ने कोल्पु खोलामा पक्की पुलको निर्माण गरिएको छ भने बाँकी पूर्वाधार निर्माणको काम केही हुन सकेको छैन ।
यता, महानगरका कर्मचारी भने सिसडोलदेखि बञ्चरे डाँडासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेपछि फोहोर फाल्न व्यवधान नहुने बताउँदै आएका छन् ।
दीर्घकालीन व्यवस्थापनको रणनीति अपनाउन स्थानीको सुझाव
दुई वर्षमात्रै ल्याण्डफिल गर्ने भनेर सिसडोल क्षेत्रलाई १३ वर्ष ओगटेपछि महानगरको रवैयाप्रति स्थानीय सशंकित छन् । त्यसबाहेक सम्झौता कुनै कार्यान्वयन नगरेर काठमाडौँ महानगरले स्थानीयलाई पूरै बेवास्ता गरेको र ओखरपौवालाई फगत डम्पिङ साइटमात्रै बनाएको उनीहरूको दुखेसो छ ।
सिसडोल क्षेत्रको दुर्गन्ध र प्रदूषण फैलिएर सिंगै ओखरपौवा प्रताडित भएको दृष्टान्त देखाउँदै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको आधुनिक तरिका अपनाउनुपर्ने बताउँछन् ।
ल्याण्डफिल साइटको पानी कोल्पु खोलामा मिसाउन नहुने, दैनिक ल्याण्डफिल गर्नुपर्ने, स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, रातमाटे–गल्छी सडक कालोपत्रे गर्नुपर्नेलगायतका पूर्ववर्ती माग तत्काल पूरा भएमात्र बञ्चरे डाँडालाई दीर्घकालीन रूपमा उपयोग गर्न दिइने स्थानीय विन्दा भुजेल बताउँछिन् ।
तर, सिसडोलजस्तै फोहोरमात्रै फाल्ने र सम्झौताप्रति इमान्दार नहुने हो भने उपत्यकाले जहिल्यै समस्या भोग्नुपर्ने उनको चेतावनी छ ।