site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ह्विलचेयरमै संसार
Ghorahi CementGhorahi Cement

– अक्षर काका


कहिले वर्षन्छ झरी । कहिले घाम लाग्छ मनपरी । यस्तै लाग्छ जय कार्कीलाई जिन्दगी घरिघरि ।

दुई वर्षअघि जोरपाटीस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा आउँदा मस्तिष्कमा भयानक सन्नाटा थियो । दिमागका कोष, तन्तुहरू अगाडिको बाटो कोर्नै नसक्ने गरी चेतनाशून्य भए । भविष्य निष्पट्ट अँध्यारो प्रतीत हुन्थ्यो । कता जाने ? के गर्ने ? कुनै टुंगो थिएन । खाली थियो मथिंगल ।

Agni Group

कहिलेकाहीँ सोच्थे– अपांगताको ताडना सहनुभन्दा जीवनको दौडधूप टुंग्याइदिनु निको । आधा शरीर घिसारेर यो भागदौडमा कहाँ नै पुगिएला र ?

मुर्झाएका सपना पुनः तंग्य्राउन खोज्थे– आधा शरीरले पो काम दिन छाड्यो, आधाले भए पनि गरेर खान्छु नि ! जीजिविषाले जित्थ्यो । र, अविराम सपनाको पैरवीमा लाग्थे ।

Global Ime bank

दिनभरिको झरीको चुटाइबाट साँझपख बौरिने तर्खरमा थियो जोरपाटी । बागमतीको सुरिलो सुसेलीले त्यसलाई त्राण दिएको प्रतीत हुन्थ्यो ।

प्रकृतिझैं उनको पनि रोगन फेरिएको छ । अनुहारमा वर्षौंदेखि बास बसेका दुःखका प्रतिविम्बहरू ओझेल परेका छन् । सधैं रसाइरहने आँखाका छेउकुनामा घाम लागेको छ । सपनाले मनमौजी गुँड लगाएका छन् । जीवनमा शिशिरपछिको वसन्त पल्लवित छ भनौं ।

अँध्यारोबाट उज्यालोतिर

उनको शब्दमा उनको अतीत कालो डोब हो । सधैं दुःखिरहने आलो घाउ प्रतीत हुन्छ त्यो । सम्झन्नँ भन्छन्, तथापि रिँगाइरहन्छ उनलाई ।

झन्डै १० वर्षअघि । १५ वर्षे केटौले, किशोर उमेर । पर्यावरणमा दशैंका चित्ताकर्षक छटा कुँदिएका थिए । पिङका लट्ठा मच्चिन्थे । त्योभन्दा बढी युगल ठिटाठिटीका कम्मर मच्चिन्थे । चचहुई...चचहुई... आवाज मच्चिन्थे । छतछतबाट चङ्गा उड्थे । त्योभन्दा बढी उमङ्गगले हावामा कावा खान्थ्यो ।

त्यही दशैं उनका लागि अभिशाप भइदियो । त्यही दशैंले छिनेको हो उनको खुशी । र, धकेलिदिएको हो आँसुको गर्तमा !

चङ्गा उडाउँदा उडाउँदै तीन तलाबाट खसेर उनको मेरुदण्ड क्षतविक्षत भयो । कम्मरमुनिको भाग निस्तेज बनेसँगै उनका सपना ठाउँको ठाउँ मुच्र्छित भए ।

तर, चिहानमा पनि उदाउँछ बिहान । सपनाको अवशानमा पनि आउँछ बिहान ! पट्यारलाग्दो अँध्यारोपछि अहिले उनको जीवनमा पनि पहारिलो घाम लागेको छ । ह्विलचेयर धकेल्दै उनै बाह्य संसारमा निस्किएका छन् । र, सपनाको मलजल गरिरहेका छन् ।

“अहिले पनि बेलबखत ऐंठन हुन्छ । सपनाले भलिभाँती पिरोल्छन्– कतै चङ्गा उडाउन छतमा नगएको भए... !” एकाएक तरङ्गित हुन्छ मन र आँखाको छेउकुना रसाउँछ ।

तर, अहिले त्यो सघन पीडाबाट बाहिर आइसकेका छन् उनी । पीडालाई प्राप्तिमा बदल्दै ह्विलचेयरबाटै सपनाको शिखर चुम्ने ध्याउन्नमा छन्, जय ।

फलामले फलामलाई काट्छ– उनले यो उखान सुनेको उहिल्यै हो । अपाङ्ग पुनर्स्थापना केन्द्रमा आएपछि अर्को भेद पनि खुल्यो– पीडाको साथी पीडा नै हुन्छ । दुःखको मित्र दुःख नै हुन्छ ।

आफूजस्तै स्पाइनल कर्ड इन्जुरी भएकाहरू नै दुःख हटाउने साधन भए । उनीहरूका व्यथा घाउ, खाटा बसाउने मल्हम बने । उनीहरूका कहर र रहर नै अघि बढ्ने प्रेरणाका नवीन र नूतन प्रहर भए ।

र, अहिले बीआईए फाउन्डेशनमा पाँच वर्षे थान्का पेन्टिङ सिक्दै व्यवधानका पर्वत पन्छाइरहेका छन्, घोडेटो खनिरहेका छन् । भन्छन्, “भर्खरै ट्र्याक खोलेको छु । अब यही घोडेटोमै जीवनको राजमार्ग खडा गर्छु र ह्विलचेयरमार्फत संसार विचरण गर्छु ।”

ह्विलचेयरले नै संरचनाको विषमता छिचोल्ने, व्यवधानको पर्खाल पन्छाउने उनी एक्ला होइनन् ।

नुवाकोट, बेलकोटगढी–९ का अक्कलबहादुर तामाङको कथा पनि उस्तै छ । बाँच्ने अक्कल खोज्दाखोज्दै सडक दुर्घटनाको नियति उनको पोल्टामा प¥यो । ०६९ सालको भदौमा उनी गाडीसहित भीरबाट एक्कासि गुल्टिन पुगे । दुर्घटनाबाट कम्मरमुनिको भाग सदाका लागि नचल्ने भयो । ह्विलचेयर नै जिन्दगीको सास बन्यो ।

नुवाकोट, तिगाउँको त्रासदीपूर्ण दुर्घटना सम्झन्नसम्म चाहँदैनन् उनी । सम्झनाका तरेलीले परेली भिजाउँछन् भनेर परपरै धकेल्छन् ।

“जीवनका आकस्मिकतालाई जे–जस्तो भए पनि हार्दिकतासाथ स्वीकार्नु पर्दोरहेछ । नियतिले थमाएको उपहार नै जिन्दगीको बहार रहेछ !” दार्शनिक प्रतिउत्तर दिन्छन् उनी ।

दुर्घटनाले जिन्दगीको उज्यालो पाटोमा कालो पर्दा लगाइदिएको थियो । उज्यालोको अंशसमेत देखिँदैनथ्यो । अपाङ्ग पुनर्स्थापना केन्द्रले चिराग सल्काइदियो । बीआईए फाउन्डेशनको ६ वर्षे थान्का पेन्टिङले मर्माहत बनेको जिन्दगीलाई राहत दिएको छ । सवारीसँगै दुर्घटित जीवन र क्षतविक्षत सपनालाई त्राण दिएको छ ।

दुर्घटनाअघि जिन्दगी सग्लो थियो । बरु बाटो धूमिल थियो । चौबाटोमा अल्झिएका चौपायाझैँ कता जाने टुंगो थिएन । काठमाडौं मलको ‘रखवारी’ र ‘चौकीदारी’ जिन्दगीले बिहान–बेलुकाको मानो जुगाडबाहेक केही गरेको थिएन ।

केन्द्रमा आइसकेपछि ह्विलचेयरले सपनामा लगाम लगाएको छ र अविराम पैरवी गर्न मार्गनिर्देश पनि गरिरहेको छ । र त, उनी भन्छन्, “जिन्दगी भन्नु ह्विलचेयर हो, अविश्रान्त गुडिरन्छ । ह्विलचेयर नै जिन्दगी हो, अविराम धकेलिरहनुपर्छ ।”

छेवैमा थिए, सोलुखुम्बु, सोताङका प्रकाश बस्नेत । उनले पनि ह्विलचेयरमा लिखुरे शरीर डोहोर्‍याइरहेका थिए । सुनाउनै मन लाग्दैन, जीवनको ओसिलो कथा ।

०७२ को असारमासमा घाँस काट्न कान्ला चढेका पत्तै नपाई उनको जिन्दगीको उज्यालो पाटोमा चुक पोखियो । सपनाहरू सवलाङ्गबाट विकलाङ्गमा परिणत भए । हेर्दाहेर्दै सपनाको दियालो झ्याप्प निभ्यो ।

अहिले उनी ह्विचेयरमै धकेल्दैछन्, मृत्यु कुल्चिएर अघि बढेको जिन्दगी ! र, बाँचिरहेछन् नाफाको समय !

अपाङ्ग पुनर्स्थापना केन्द्र नआउन्जेलसम्म उनले जीवनमा घाम लाग्ला भन्ने आश गरेका थिएनन्, केवल दुःख लाम लागेका थिए । अपहेलनाका काँडेदार वचन र हेय सहनुभन्दा मृत्यु निको लाग्थ्यो उनलाई ।

दुई वर्षको अन्तरालमा मन फेरियो । अहिले उनलाई लाग्छ– जीवन एक सुनाखरी हो । भिरमा पनि मुस्कुराउँछ । मान्छेको शिरमा पनि मुस्कुराउँछ । त्यसैले अपाङ्गतालाई नै अवसरमा रूपान्तरण गर्ने र जीवनको पांग्रा गुडाउने भगिरथ प्रयन्तमा छन् उनी ।

त्यसो त उनी भन्छन्, “हामी आफैंमा विकलाङ्ग होइनौं । यहाँका संरचना र मानिसका सदियौंदेखिका स्वभावले अपांगता बनाइएका हौं । ह्विलचेयरमा कुँजिन अभिशप्त छन् कतिपय ।”

यो ज्ञानको द्वार त्यसै उघ्रिएको होइन । आफूजस्तै ढाड भाँचिएका, कम्मरमुनिको भाग नचलेका र ह्विलचेयरमा गतिमान जीवनहरूले सिकाएका हुन् उनलाई । र, पथिक बनेका छन् उनी ।

देशमा दुर्घटनाको ‘ग्राफ’ बढिरहेछ । गन्तव्यमा नपुग्दै भवितव्यमा परेर को, कहाँ, कतिबेला अपांगता हुने हो यसै भन्न सकिँदैन । “बाटो बदल्न सकिएला, भाग्य र भविष्य त कहाँ बदल्न सकिन्छ र ! अतः जीवनका जोखिमसँग मुकाविला गर्ने साहस र धीरता व्यक्ति स्वयंसँग हुनुपर्छ,” आफ्नो अनुभूति सुनाउँछन् ।

पहुँचयुक्त पर्यावरण र मानिसको आचरण सही, सद्दे हुने हो भने अपांगताले शायदै अपहेलना र अमानुषिक जीवन बाँच्नुपर्थ्यो भन्छन् प्रकाश ।

अचेल ह्विलचेयरमा निकै पारङ्गत भइसके । हिँडडुल गर्नमात्रै होइन, ह्विलचेयरमार्फत विभिन्न स्पर्धामा भागसमेत लिन सक्छन् उनी । पुनर्स्थापना केन्द्रले सिकाउने पौडी, बास्केटबलसमेतमा नबिराई सरिक हुन्छन् ।

ह्विलचेयर प्रयोगकर्ता विश्व–प्रसिद्ध वैज्ञानिकहरूको अनुभव र अनभूति पढ्छन् । ह्विलचेयर साथी होइन, जीवनको अद्वितीय पाठशालासमेत भएको छ ।

अहिले बीआईए फाउन्डेशनमा थान्का पेन्टिङमा सिद्धहस्त बन्दैछन् उनी । भविष्यलाई उज्यालोतिर डोर्‍याउने र गन्तव्यकृत तुल्याउन सारथि नै बनेको छ बीआईए फाउन्डेशन । मासिक ३ हजार रुपैयाँ गोजी–खर्च उपलब्ध गराउँछ । रोग–व्याधी लाग्दा उपचारको प्रबन्ध मिलाउने जिम्मा पनि उसैले लिएको छ । ह्विलचेयरमा जिन्दगी निर्बाध गुडेको छ भनौं ।

“शरीर सद्दे नहुँदैमा मानिस विकलाङ्ग हुँदैन । बरु श्रम र सीपबाट विमुख भयो भनेचाहिँ मानिस विकलाङ्ग हुन्छ,” आफ्नै अनुभव छ उनको ।

तस्बिर : बीआईए फाउन्डेशन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC