काठमाडौं । २०५औं भानु जयन्तीका अवसर जुराएर ओलम्पिया वल्र्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुबीच कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजन गरि विजेता कविहरुलाई पुरस्कृत गरेको छ । सोमबार आयोजित कार्यक्रममा पुरस्कृत कविहरुलाई प्रमुख अतिथि छन्दकवि बुनू लामिछानेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् ।
सो कार्यक्रममा छन्दकवि बुनू लामिछानेले विद्यार्थी भाइबहिनीका कविताहरु राम्रा र सुन्दर रहेको बताउँदै सिर्जनामा सक्रियता आवश्यक रहेकोले काव्य सिर्जनामा निरन्तर लागिरहन विद्यार्थी कविहरुलाई प्रेरित गरिन ।
कार्यक्रममा आठ जना कविले आफ्ना कविता वाचन गरेका थिए । जसमध्ये ‘प्रायश्चित’ शीर्षकका कवि राजु भण्डारी प्रथम, ‘सपना’ शीर्षकका कवि विराजन थापा तथा ‘देशका लागि केही गर्नुछ’ शीर्षक कविता लेखेकी कवि मालती लामा तृतिय भए ।
कार्यक्रममा विजेता तीन कविका अतिरिक्त सुदीप दाहाल, कृपा थापा, रंजिता खडका, पृथुला प्रधान र सूवर्ण महर्जनले कविता वाचन गरेका थिए । अधिकाँश विद्यार्थी कविका कवितामा देशभक्तिका भाव तथा समसामयिक विकृति विसंगतिमाथि तिखो व्यंग्यभाव प्रस्तुत थिए ।
इश्वर पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राडा सनतकुमार वस्ती, राजन सिलवाल, निशा केसी, सुन्दरश्याम पन्तले बोलेका थिए ।