site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेटफ्लिक्स’ युग
Sarbottam CementSarbottam Cement

मानव सभ्यताले अनेक युगको काँचुली फेरिसक्यो । ढुंगे, कांश्य, फलामे हुँदै अहिले ‘डिस्प्ले’ युगमा उक्लिएको छ । त्यो युग टेलिभिजन हुँदै मोबाइलको हाते स्क्रिनमा साँघुरिएको छ ।

टेलिभिजन आविष्कारले मानिसको जीवन पूर्ण रूपमा फेरिदियो । मनोरञ्जनमात्र नभई सूचना, खेलकुद, चलचित्र आदि कुरामाथिको पहुँच बढाइदियो । टिभीले सारा संसार घरको कोठाभित्र ल्याइदियो । मानिसहरू घरमै बसेर संसार नियाल्न थाले । टिभीको उदयसँगै समानान्तर रूपमा देखा पर्‍यो– भीसीआर । भीसीआरले फिल्म हल जानुपर्ने झन्झट घटाइदियो । एकातिर मानिसको व्यस्तता बढ्दै थियो, अर्कोतिर भीसीआरको उदय भयो । ८० को दशकको अन्त्यसम्म भीसीआर छ्याप्छ्याप्ती भइसकेको थियो । तर, भीसीआरको छोटो युग प्रतिस्थापन गर्न सीडी र डीभीडी आइपुगे । ९० को दशक सकिँदा भीसीआर पूर्ण रूपमा विस्थापित भइसकेको थियो । र, सीडी, डीभीडीले बजार छोपिसकेका थिए । सीडी, डीभीडीको बर्चस्व भीसीआरभन्दा बढी त थियो तर यिनले पनि लगभग अन्तिम–अन्तिम सास फेरिरहेका छन् । फाइल स्टोरेज गर्ने माध्यमहरूको आकार घट्दै छ । बजार बढ्दै छ । एकातिर हलमा लाग्ने फिल्महरू चाँडै नै टेलिभिजनमा आउने परम्परा बढ्दो छ, अर्कोतिर सीडी, डीभीडीमा फिल्म हेर्ने जमात स्वात्तै घट्दो छ । यी सबै परिवर्तन भइरहँदा सन् २००५ मा शुरु भयो— यूट्युब । यूट्युबले भिडियो प्रसारणको रूपरेखा नै परिवर्तन गर्‍यो । इन्टरनेट टेलिभिजनको शुरुवात त्यही बेला नै भएको हो । ‘भिडियो स्ट्रिमिङ’ इन्टरनेट र टेलिभिजनलाई जोड्ने पुल बनिदियो । अहिले सन् २०१८ सम्म आइपुग्दा यो पूरै कायापलट भइसकेको छ । ‘‘नेटफ्लिक्स’’ यसको ज्वलन्त उदाहरण हो ।

सन् १९९७ मा रिड ह्यास्टिङ र मार्क रेन्डल्फ मिलेर खोलेका थिए ‘‘नेटफ्लिक्स’’ । शान्ति सेना छाडेर प्रविधि क्षेत्रमा छिरेका ह्यास्टिङ र भूगर्भशास्त्रमा स्नातकोत्तर गरी मार्केटिङ हुँदै इन्जिनियरिङमा छिरेका रेन्डल्फले डीभीडी भाडामा दिने सोच राखेर वेबसाइट खोले । वेबसाइटको उद्देश्य थियो— अनलाइन अर्डर लिने । अर्डर लिएको डीभीडी घर–घरसम्म पु¥याइदिने । त्यो योजना शुरुमा जोखिमयुक्त लागे पनि ग्राहक बढ्न थाले । ग्राहक बढेपछि सन् १९९९ मा ‘नेटफ्लिक्स’ले मासिक मोडल निकाल्यो— महिनाको एकपटक पैसा तिरेपछि जति धेरै डीभीडी पनि भाडामा लिन सकिने । त्यसपछि लगानी र बजार बढाउन ‘नेटफ्लिक्स’ले प्रतिद्वन्द्वी कम्पनी ‘ब्लकबस्टर’लाई सेयर प्रस्ताव गर्‍यो । तर, त्यतिबेलाको १ नम्बर कम्पनी ‘ब्लकबस्टर’ले त्यो प्रस्ताव ठाडै अस्वीकार गर्‍यो । त्यसपछि ‘नेटफ्लिक्स’लाई आफ्नै बलबुतामा अगाडि बढाउने सोचका साथ ह्यास्टिङ र रेन्डल्फ जुटे । पाँच वर्षपछि ‘नेटफ्लिक्स’को ग्राहक संख्या ४५ लाख पुगिसकेको थियो । डीभीडीको समय सकिन लागेको आभास पाउनासाथ यी दुईले वेबसाइटबाटै भिडियो प्रसारण शुरु गरे, जसलाई ‘स्ट्रिमिङ’ भन्न थालियो । यो सन् २०१० तिरको कुरा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्राहक बढ्दै थिए । यूट्युबमा नपाइने चिजहरू पैसा तिरेपछि ‘नेटफ्लिक्स’मा पाइने भएपछि ग्राहकको संख्या थेगिनसक्नु हुन थाल्यो । ५ वर्षमा ४५ लाखदेखि १ करोड ६० लाखसम्म पुग्यो ग्राहक संख्या । यतिन्जेलसम्म ‘नेटफ्लिक्स’ले अरू स्टुडियोका फिल्म किनेर आफ्नो वेबसाइटमा स्ट्रिम गथ्र्यो । तर, ग्राहकको रुचि र संख्या दुबै बढ्न थालेपछि ‘नेटफ्लिक्स’ले आफैं सिरिज निर्माण गर्ने निर्णय गर्‍यो । र, त्यसरी जन्म भयो ‘लिली ह्यामर’ र ‘हाउस अफ काडर््स’को । करिब सय मिलियन डलर लागतमा बनेको ‘हाउस अफ काडर््स’को पहिलो सिजन अत्यधिक सफल भयो । प्राइमटाइम्स एमी अवार्डका ९ विधामा मनोनीत यो सिरिजले ३ वटामा जित हात पार्‍यो ।

‘हाउस अफ काडर््स’ले ‘नेटफ्लिक्स’लाई नक्सामा ल्यायो । मानिसले ‘नेटफ्लिक्स’ पनि छ है भन्ने कुरा थाहा पाए । त्यसपछि ‘नेटफ्लिक्स’ हौसियो र भकाभक निर्माणमा अघि बढ्यो । आफैंले उत्पादन गरेका फिल्म र सिरिजलाई ‘नेटफ्लिक्स’ ओरिजिनल्स’को नाम दियो । अरू स्टुडियोका सामग्री पनि त्यत्तिकै थप्दै गयो । यतिन्जेलसम्ममा ग्राहकको संख्या ६ करोड पुगिसकेको थियो । सेयर बजारमा उसको ‘स्टक भ्यालु’ प्रतिसेयर ४०० डलर पुगिसकेको थियो । अगस्ट २०१५ सम्ममा ‘नेटफ्लिक्स’को सेयर करिब ९९२५ प्रतिशत माथि पुगिसकेको थियो ।

Global Ime bank

‘नेटफ्लिक्स’को सफलता ह्वात्तै अघि बढाउनमा सघायो— अर्को सिरिज ‘अरेन्ज इज दि न्यु ब्ल्याक’ले । यो ‘नेटफ्लिक्स’मा सबैभन्दा बढी हेरिएको सिरिज थियो ।

सन् २०१० मा पहिलोपटक अमेरिकाबाहिर निस्केको ‘नेटफ्लिक्स’ क्यानडाबाट शुरु गर्दै १९० देश पुगिसकेको छ । २०१५ पछि ‘नेटफ्लिक्स’ले आफ्नो साम्राज्य फैलाउने योजनाअनुरूप विदेशी चलचित्र र सिरिजमा लगानी गर्न थाल्यो । कम्बोडियन लागूपदार्थ माफिया पाब्लो एस्कोबारको जीवनमा आधारित ‘नार्कोस’ यसको पहिलो कदम थियो । त्यस्तै, जर्मन भाषाको ‘डार्क’, बेलायती ‘ब्ल्याक मिरर’ र ‘द क्राउन’ जस्ता सिरिजहरू सफल हुँदै गए ।

‘नेटफ्लिक्स’को सञ्जाल दक्षिण एसियासम्म आइपुगेको छ । ‘नेटफ्लिक्स’को पछिल्लो विदेशी निर्माणचाहिँ भारतीय वेब सिरिज ‘स्याक्रेड गेम्स’ हो । अनुराग कश्यप र विक्रमादित्य मोटवानेको कामले अहिले विश्वभर प्रशंसा पाइरहेको छ ।

‘नेटफ्लिक्स’ यत्तिमै रोकिने देखिँदैन । फिल्म र सिरिजमात्र नभई उसको रुचि र लगानी वृतचित्रमा पनि छ । ‘मेकिङ अ मर्डरर’, ‘इकारस’, ‘वाइल्ड वाइल्ड कन्ट्री’ आदि केही उत्कृष्ट वृतचित्रबाट उसले वाहवाही पाइसकेको छ ।

डीभीडी बेच्ने कम्पनीबाट २० वर्षमा संसारकै ठूलोमध्येको एक कम्पनी बन्नुको ‘नेटफ्लिक्स’ कथा प्रेरणादायी छ । ३० जना कर्मचारीबाट करिब ६ हजार कर्मचारी पुग्नु भीमकाय सफलताको सूचक हो । संस्थापकद्वय ह्यास्टिङ र रेन्डल्फको दूरगामी सोचका कारण ‘नेटफ्लिक्स’ यहाँसम्म आइपुगेको हो । बजारको मागअनुसार आफ्नो ढाँचा परिवर्तन गर्न ‘नेटफ्लिक्स’ कहिल्यै चुकेन । सँगसँगैको प्रतिद्वन्द्वी कम्पनी ‘ब्लकबस्टर’ समयअनुसार चल्न नसकेर पतन भयो भने ‘नेटफ्लिक्स’ आज कहाँबाट कहाँ पुगिसक्यो । डीभीडीमै टाँसिएर बसेको भए आज ‘नेटफ्लिक्स’ ‘ब्लकबस्टर’जस्तै पत्तासाफ भएर जान्थ्यो । र, ‘स्ट्रिमिङ क्रान्ति’ सम्भव हुने थिएन ।

‘नेटफ्लिक्स’को सफलता लगानी र भाग्यमा मात्र सीमित छैन । उसले गुणात्मक ‘कन्टेन्ट’ खोज्नमा गरेको मेहनत प्रेरणादायी छ । रंगभेदमा आधारित फिल्म ‘मडबाउन्ड’ फेस्टिबलहरूमा घुमिरहेको थियो । सबैको प्रशंसा पाए पनि यो फिल्मले न कुनै स्टुडियो पाइरहेको थियो, न कुनै वितरकले लिन मानिरहेका थिए । व्यावसायिक लाभ धेरै नहुने विधाको फिल्म भएकोले हल र दर्शक नपाई यो फिल्म यत्तिकै हराउने भय थियो । तर, ‘नेटफ्लिक्स’ले यो फिल्म किनेर उद्धार गरिदियो । त्यसपछि बाँकी इतिहास छ । फिल्मले ओस्कारमा मात्र आफ्नो स्थान बनाएन, संसारभरिबाट वाहवाही पायो । एउटा गम्भीर प्रकृतिको कथा आम मानिसमाझ पुग्यो ।

‘नेटफ्लिक्स’ले गुणात्मक उत्पादनमा कुनै सम्झौता गरेको देखिँदैन— न लगानीमा, न प्रयोगमा । एउटा यस्तै प्रयोग भएको थियो ‘सेन्स एट’ सिरिज बनाउँदा । संसारभर शुटिङ गरिएको यो सिरिजको लागत प्रतिसंस्करण करिब १० करोड डलरभन्दा बढी थियो । एकदमै महत्वाकांक्षी कथावस्तु भएको यो सिरिज एकैपटक भारत, अमेरिका, केन्या, जर्मनी, मेक्सिको, दक्षिण कोरिया, आइसल्यान्डमा शुटिङ गरिएको थियो । यो शो धेरै लोकप्रिय भयो । यद्यपि लगानी धेरै, दर्शक औसत भएकाले दोस्रो सिजन रद्द गरियो । तर, फ्यानहरूको अत्यधिक मागका कारण ‘नेटफ्लिक्स’ले दोस्रो सिजनलाई हरियो झन्डा देखायो । ‘नेटफ्लिक्स’ आफ्ना ग्राहकप्रति कति बफादार छ भन्ने कुरा प्रमाणित गर्ने यस्ता धेरै उदाहरण छन् ।

यहाँ केही साताअघि प्रदर्शन भएको भारतीय ‘लस्ट स्टोरिज’को उल्लेख जरुरी देखिन्छ । भारतीय मनोरञ्जन उद्योग सेन्सरसिपले हायलकायल भएको सर्वव्याप्त नै छ । सिर्जनामा स्वतन्त्रता नहुँदा भारतीय फिल्म उद्योग विश्वमाझ खासै घुल्न सकेको छैन । ‘लस्ट स्टोरिज’ र ‘स्याक्रेड गेम्स’जस्ता उत्पादनले त्यो क्रमलाई भंग गर्दै छन् । यसको श्रेय जान्छ— ‘नेटफ्लिक्स’लाई । उसले स्थानीय स्वाद नबिगारिकन स्थानीय कथा भन्न स्थानीय कलाकारलाई एउटा ‘स्टेज’ दिएको छ ।

‘नेटफ्लिक्स’का आफ्नै समस्या पनि छन् । मुख्य समस्या त प्रतिद्वन्द्वीहरू हुन् । एकातिर ठूला–ठूला आँखाले घुरिरहेको केबल उद्योग छ, जसको व्यापार ‘नेटफ्लिक्स’ले घटाइरहेको छ । अर्कोतिर फिल्म स्टुडियोहरू (एचबीओ, प्यारामाउन्ट, वाल्ट डिज्नी आदि) छन्, जो आफ्नै ‘स्ट्रिमङ’ शुरु गर्दैछन् । कतिपयले गरिसकेका पनि छन् । सबैभन्दा ठूलो प्रतिद्वन्द्वीचाहिँ ‘अमेजन प्राइम भिडियो’ हो । अमेजन कम्पनीद्वारा सञ्चालित यो प्लेटफर्म पनि उत्तिकै लोकप्रिय छ र आफ्नै फिल्म/सिरिज निर्माणमा लागिसकेको छ । यसले ‘द म्यान इन द हाई क्यासल’, ‘द मार्भलस् मिसेस मेजल्स’ बनाइसकेको छ ।

प्रतिस्पर्धा जति भए पनि, लगानी जतिसुकै भए पनि लाभ उठाउने दर्शकले नै हुन् ।

(यो सामग्री विभिन्न वेबसाइटहरूबाट सूचना लिएर तयार पारिएको हो ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC