— अक्षर काका
‘ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।’
भित्तामा टाँगिएको ॐकार । त्रिशूल र डमरूको पाश्र्वध्वनि । मानौं त्यहाँ ऋग्वेदको महामृत्युञ्जय श्लोक हर–बखत गुञ्जायमान छ । प्रसारित छ ।
‘मृत्योर्मा अमृतम् गमय’को यो वैदिक मन्त्र बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारसम्म चलेको सन्ध्या रेग्मीको एकल चित्रकला प्रदर्शनीको विशेष आकर्षण हो । ॐकारको स्वर्ण आभा र रातो पृष्ठभूमिको पहेंलो दीपले मृत्युबाट जीवनको बोध गराएकी छन् उनले ।
सन्ध्याका बान्कीपूर्ण चित्र–छटा र मुहूर्त, अर्धमुहूर्त र अमुहूर्त विम्ब आलोकमा गोपीकृष्ण प्रसाईंले शब्दको पाइन हालेका छन् । र, उजिल्याएका छन् –
‘मृत्यु–पथमा पनि जीवन ज्योति निभ्दैन
अमृतपान छ जीवनमा र त, आत्मा मर्दैन !’
नेपाली चित्रकारिताकी नूतन प्रकाश सन्ध्या वातावरणीय इन्जिनियरसमेत हुन् । तथापि उनी रंग र कुचीको सहायताले क्यानभासकै पर्यावरणमा विचरण गर्न रुचाउँछिन् । रंग र कलाको संयोजनमार्फत विभिन्न भाव क्यानभासमा उतार्छिन् । परिषदको ग्यालरीमा उनका विविध चित्र–शिल्प प्रदर्शित भए ।
० ० ०
‘ॐ भूर्भुव स्वः
तत् सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात् ।’
दियोको दीप्तिमा फैलिएको गायत्री–मन्त्रको ध्वन्य । तैल र एक्रेलिक रंगको संयोजनमा मुखर त्यसको सर्वशक्तिमान्, सर्वव्यापी र सर्वज्ञ भाव । त्यसलाई गोपीकृष्णले कवितामार्फत थप उजिल्याएका छन्–
ब्रह्माण्डमा फैलिएको तिम्रो दिव्य चेतना
यो अज्ञानी देहमा धारण गर्दा
कर्तव्यनिष्ट भई प्रगति पथमा लाग्दा
मेरो रोमरोममा आशा सञ्चार भयो
यो हृदयले परमेश्वरको पाउ छुँदा,
सर्वशक्तिमान सर्वव्यापी सर्वज्ञ
मैले सद्बुद्धि पाएँ
मुक्तिको मार्ग भेट्टाएँ !
प्रदर्शनीमा विभिन्न शिल्पका ३३ वटा चित्रहरू राखिएका छन् । र, प्रदर्शनीको समष्टिगत भाव हो– ‘तमसोमा ज्योतिर्गमय ।’
सन्ध्याको एकल चित्रकला प्रदर्शनीको यो नवौं संस्करण हो । सन् २०१३ ताक ‘बुद्धका अनुहारहरू’, सन् २०१४ मा ‘हिमालयज’ शीर्षकमा ‘सोलो’ प्रदर्शनी गरेकी उनले दशौं संस्करणमा बुद्धकै प्रतिच्छायालाई निरन्तरता दिँदैछिन् ।
तर, एकल प्रदर्शनीको यो संस्करण, ‘तमसोमा ज्योतिर्गमयमा भने उनले निकै पापड बेल्नुप¥यो । नेपाल वैदिक ज्ञान, अध्यात्म र योगको आदिम, प्राचीनधाम भए पनि यसको दायरा अपरिमित छ । यसको सुक्ष्मातिसूक्ष्म र स्थूल स्वरूपलाई रंगमा ढाल्न जो कसैलाई हम्मेहम्मे पर्छ । र, पनि त्यसको आलोकलाई कुचीले रंग्याउने साहस बटुलिन् ।
‘तमसोमा ज्योतिर्गमय’ सन्ध्याको पाँचवर्षे रंग–साधना हो । “जसले समाजलाई अँध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, मृत्युबाट क्रमशः जीवनतिर अभिमुख गर्छ,” पुलकित हुँदै प्रष्ट्याउँछिन् सन्ध्या ।
पेशाले इन्जिनियरसमेत भएकाले होला— चित्रको उनको ‘आर्किटेक्ट’ सिद्धहस्त देखिन्छ । चित्र संरचनागत विषयले ओतप्रोतमात्रै होइन, रंग सयोजनसमेत उत्तिकै अलौकिक, अद्वितीय र अवर्णनीय छ । अझ भनौं— पहेंलो, रातो, खैरो रंगको गणितीय सम्मिश्रण चित्ताकर्षक छ ।
०७२ वैशाखमा देशमा विनाशकारी भूकम्प गयो । ९ हजारभन्दा बढीले ज्यान गुमाए । त्यत्तिकै मात्रामा अंगभंग भए । भौतिक जीवनका अलावा मानवीय मन तहसनहस भएको हिसाबै भएन । निराशा सर्वव्यापी भयो । त्यो सन्नाटामिश्रित, बरखी बारेको समय चिर्न पनि उनले रंगहरूकै सहायता लिएकी छन् ।
० ० ०
‘हामीले विजय गर्न खोज्यौं कि क्या हो !
हामीले अपवित्र बाटो रोज्यौं कि क्या हो ?
कहिले राष्ट्र विस्तार गर्ने सवालमा
कहिले साम्राज्यवादको आहालमा
प्रकृतिभित्रका अवयवहरू कति थिचिए होला !
जल र थलका पर्यावरण कति मिचिए होला !
कहिले शोख र विलासिताको नारामा
धर्तीको सुन्दरता मिच्दै छ मान्छे आफ्नै पारामा ।’
यो एकालाप ०५२ देखि ०६२ सम्म देशले भोगेको हतियारबन्द संघर्षको नियति हो, जसलाई चित्रमा उतारेकी छन् सन्ध्याले– आकाश रोएको र समुद्रमा रक्तप्रवाह भएको अमुहूर्त विम्ब र प्रतीकमार्फत ।
“देशले भोगको त्यो अँध्यारो कालखण्डलाई रातो र पहेंलो रंगको अन्तर्घुलनमार्फत उजिल्याउने प्रयास गरेकी छु,” सन्ध्या प्रष्ट्याउँछिन् ।
त्रासदीका बीचमा पनि सम्भावनाका झिल्का पहिल्याउनु र उज्यालोतिर समाहार गराउनु उनको चित्रकारिताको सौन्दर्य हो भन्दा हुन्छ । बम, बारुदका फिलिंगा र युद्धको राप–ताप पनि उज्यालोको अंश थियो भन्छिन् उनी । र त, मुलुक त्यसैको आलोकमा गणतन्त्रसम्म पुगेको छ । त्यही कान्तिका रंगलाई क्यानभासमा दुरुस्तै उतारेकी छन् उनले ।
“तथापि युद्धको आगो निभ्यो तर घाउ खाटा बसेन । त्यसको असर सदियौंसम्म रहिरहने निश्चितै छ । अतः निराशा, कुण्ठाको शिकार भइरहेका नौजवान युवालाई जीवनको बाटो देखाउनु, उज्यालोतिर समाहार गराउनु मेरो चित्रकर्मको अभिष्ट हो,” सगर्व बताउँछिन् उनी ।
त्यसैले उनको क्यानभासमा आकाशबाट आँसु नै सही, पानीका बुँद खस्दैछन् र रक्तरञ्जित समुद्र क्रमशः सफेद, निश्चल र सौम्य बन्दैछ ।
० ० ०
‘मानव मूच्र्छनाहरूले उरालेका बेला
जीवन बुझ्न सधैं हुन्छ अबेला
प्रत्येक तन्तु र स्नायुहरू जागिरहेछन्
निराशाका विकट भञ्ज्याङहरू
टाढा–टाढा भागिरहेछन्
भायोलिनको मिठास !’
यो ‘हृदयमाझ अर्केस्ट्रा’को कवितात्मक प्रलाप हो । त्यसो त सन्ध्याको चित्रकलामा कलाका अतिरिक्त संगीत र साहित्यको गजबको रंग अन्तर्घुलित हुन्छ । जसरी जीवन सदाबहार संगीत हो, त्यस्तै चित्रकला पनि रंगहरूकै प्रगीत हो ।
“रंग, कला र संगीतबीच त्रिकोणतात्मकमात्रै होइन, अन्योन्याश्रित सम्बन्ध पनि हुन्छ,” अझै प्रकाश पार्छिन् उनी ।