Skip Advt.

राजनीति

मदन भण्डारीले ‘म निस्कन्न, तपार्इं निस्कनुस्’ भनेपछि...

झलनाथ खनाल, नेता नेपाल कम्युनिष्ट पार्टी (ने क पा) 

मदन भण्डारीले ‘म निस्कन्न, तपार्इं निस्कनुस्’ भनेपछि...

चैत्र २७ गते, २०४६ साल । त्यसदिन मानव सागर उर्लिएको थियो टुँडीखेल खुलामञ्चमा । त्यो मानव सागरमा समाहित सबैको मुहारमा उत्साह, उमंग र उल्लास पोतिएको थियो । त्यसै मानव सागरका बीच खुलामञ्चमा उपस्थित नेताहरु भाषण गर्दैथिए । भाषणमा देश र जनताको जीत भएको तिनले उल्लेख गरे ।

त्यहीँ एउटा अर्को नाम उद्घोष भयो भाषण गर्नेको सूचीमा । त्यो नाम थियो जे एन खनाल । संयुक्त वाममोर्चाका तर्फबाट भाषण गर्न मञ्चमा आएका जेएन खनालले प्रभावशाली भाषण गरे । यद्यपि, सबै यो नाम सुनेर को हुन् जेएन खनाल भन्ने खोजी र चासोमा रुमल्लिए । कम्युनिष्ट पार्टीका नेताहरुका केही नामहरु जनताका कानमा नपरेका होइनन् । तर यो नाम नितान्त नयाँ नाम भएकोले पनि यतातिर सबैको चासो बढ्नु स्वाभाविक थियो ।

सोमबार दिउँसो यिनै कम्युनिष्ट नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ (जेएन) खनाल (६९)को निवासमा कुराकानी गर्दै यस पङ्तिकारले यो प्रसंग उठाउँदा उनी पुरानो सम्झनामा हराए । उनको मुहार उज्यालियो । त्यो दिन सम्झेर उनी भन्दै थिए, “त्यसदिन हामी (मदन भण्डारी, माधव नेपाल र झलनाथ) पनि ब्रह्मटोलबाट त्यो मानव सागरका बीचमा बग्दैबग्दै खुलामञ्चसम्म पुग्यौं । त्यहाँ हामीलाई कस्ले चिन्ने ? कोही थिएनन् चिन्ने । खुलामञ्चमा विराटसभा हुँदैथियो । त्यसैबीच मालेका तर्फबाट कसले बोल्ने भन्ने कुरा उठ्यो । त्यहाँ हामी तीनै जनाले अब निर्णय गर्ने बेला यहि हो, के गर्ने भनेर छलफल गर्यौं । त्यहीँ नै हामीले अब पार्टीलाई खुला गर्नुपर्छ भन्यौं र आजबाटै हामीमध्ये कोही एक जना निस्कनुपर्छ भन्ने विषयमा कुरा भयो । त्यहीँ महासचिव मदन भण्डारीले ‘म निस्कन्न, तपार्इं निस्कनुस्’ भनेर मलाई भन्नुभयो । त्यसपछि खुला रुपमा खुलामञ्चमा निस्कने निर्णय भएअनुरुप नै म मञ्चमा गएँ । यसै दिन माले पनि खुला भयो ।’

यसरी खुलामञ्चबाट खुला भए जेएन खनाल अर्थात् झलनाथ खनाल । त्यो बेला उनमा अत्यधिक उत्साह थियो । खुलारुपमा यसरी लाखौंको मास अगाडि उनी बोल्दै थिए । मास देखेर उनलाई लागिरहेको थियो, जनतालाई के दिने ? मासमा के भन्ने ? यद्यपि उनको छाती गर्वले भरिएको थियो । अनि उनले देश र जनताको पक्षमा आफ्ना विचार राखे । मालेको अवधारणा राखे । लामो समय भूमिगत रहेर बाहिरिएका जेएनको उत्साह त्यसबेला कस्तो थियो होला, अनुमान सहजै गर्न सकिन्छ ।

०००

खनाल २००६ साल चैत्र ६ गते जन्मिए । यतिबेला उनी ६९ वर्षका भएका छन् । यो अवधिमा उनले करिब ५५ वर्षको समय राजनीतिलाई सुम्पिए । वि.सं. २०२० सालदेखि राजनीतिक यात्रा सुरु गरेका झलनाथको प्रारम्भिक राजनीतिक यात्रा पनि इलामबाटै सुरु भएको हो । 
यो ५५ वर्षको राजनीतिक यात्राका क्रममा उनले अनेक आरोह–अवरोह पार गरे । अनेक दुःखकष्ट भोगे । देश र जनताको भलो र उन्नतिका लागि आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्दैगए । उनले कहिले भूमिगत भएर गाउँगाउँ पुग्दै जनतालाई जागृत बनाए भने कहिले जेलमै रहेर त्यहाँ पनि जागरणको बिगुल फुक्ने काम गरे । अर्थात् उनी मौन बसेनन् । सदैव सक्रिय रहे । यो सक्रियता आजपर्यन्त उस्तै छ ।

उनको राजनीतिक यात्राको सुरुआत पनि निक्कै रोचक छ । वि.सं. २०२० सालतिर उनी इलामस्थित हाइस्कुलमा पढ्थे । त्यसबेला उनका एकजना मित्रले ‘चीन सचित्र’ पत्रिकाको ग्राहक बनाइदिए । त्यो बेला झलनाथलाई राजनीतिका बारेमा कुनै ज्ञान थिएन । चीन सचित्रको ग्राहक बनेपछि यो खुरुखुरु उनकोमा आउन थाल्यो । उनले पनि हात परेको त्यो रंगीन पत्रिका पढ्न सुरु गरे । 

सो पत्रिका पढ्ने क्रममा उनले थाहा पाए कि चीनको विकास बडो राम्रो ढंगले अगाडि बढिरहेको छ । त्यो पत्रिकामा क्रान्तिका कुराहरु पनि लेखिएका हुन्थे । चीन सचित्रमा सामन्तवाद साम्राज्यवादका विरुद्ध संघर्ष गरेर चिनियाँ जनताले स्वतन्त्रता प्राप्त गरेको कथा, मुक्ति प्राप्ति पछि भूमिसुधारका कार्यक्रमहरु लागु भएर चिनियाँ किसानहरुले पाएको खुशियालीले उनलाई प्रभावित गर्दैैलग्यो । 

फलतः झलनाथ खनाललाई वामपन्थी मार्गतर्फ ढल्किने एउटा आधार दियो चीन सचित्रले । पञ्चायतको उदय भएको बेला इलाममा चीन सचित्रको प्राप्ति ! कसरी सम्भव भयो त्यो ? जिज्ञासा उठ्यो । 

उनले भने, “चिनियाँ सरकारका कतिपय पब्लिकेसन त्यसबेला नेपाल भित्रिन्थ्यो । नेपाल र चीनबीचमा जुन सम्बन्ध थियो, त्यो सम्बन्धले कतिपय चिनियाँ प्रकाशनहरु यहाँ पनि बिक्रीवितरण गर्ने व्यवस्था गरिएको थियो । सम्भवतः उनीहरु बीचको सम्झौताका आधारमा नै यस्ता प्रकाशनहरु आउँथे । र, यही सुविधाको प्रयोग हामीले गर्दै आइरहेका थियौं ।” 

ग्राहक बनेपछि चीन सचित्र हुलाकबाट हातैमा आइपुग्थ्यो । ग्राहक शुल्क यस्तै दुई तीन रुपैयाँ तिरेको सम्झना छ जेएनलाई । उनका एकजना चैनपुरे साथी थिए, नरेन्द्र तुलाधर । उनी इलाम आएका बखत बम देवानको घरमा आउँथे । बम उनका मित थिए । जेएन बम देवानकै घरमा बस्थे । त्यहीँ उनीहरुबीच घण्टौं प्रगतिशील विषयमा कुराकानी हुन्थ्यो । र, त्यहीँ नरेन्द्रले जेएनलाई चीन सचित्रको ग्राहक बनाइदिएका थिए । जसले उनलाई कम्युनिष्ट बन्न अभिप्रेरित गर्यो । 

चीन सचित्रसँगै कवि बम देवान र नरेन्द्रसँगको संगतले उनलाई यो मार्गमा डोर्याएको त थियो नै । उनी आफ्नै गाउँका कम्युनिष्ट नेता ज्ञानीराम भट्टराईबाट पनि बढी प्रेरित थिए । उनको कुरा गराई र बानी व्यहोराले झलनाथलाई अत्यधिक प्रभाव पारेको थियो । 
त्यसो त प्रारम्भमा राजनीतितर्फ लाग्ने उनको सोच थिएन । स्कुलमा उनी मेधावी छात्रमा गनिन्थे । त्यसैले उनले कालान्तरमा इन्जिनियर बन्ने सोचाइ बनाएका थिए । तर चीन सचित्रले उनको मार्ग परिवर्तन गरिदियो ।

वि.सं. २०१५ सालको निर्वाचनमा उनको गाउँ इलामको साखेजुङ्गका धेरै बासिन्दा, उनको परिवारका अधिकांश सदस्य नेपाली कांग्रेसबाट प्रभावित थिए । त्यसो त कम्युनिष्ट पार्टीको पनि केही चर्चा थियो । त्यस भेगमा कम्युनिष्ट नेताका रुपमा ज्ञानीराम भट्टराई चर्चामा थिए । साखेजुङ्गमा भट्टराई र खनालको घर सँगसँगै थियो । 

साखेजुङ्गमै नेपाली कांग्रेसका नेता कृष्णबहादुर भट्टराई पनि थिए । तर, झलनाथलाई ज्ञानीरामको व्यवहार मन पर्दथ्यो । उनी आफू कम्युनिष्ट राम्रो भनेर होइन कि ज्ञानीराम भट्टराई मन परेकोले उनको विचारहरुबाट आकर्षित भएको बताउँछन् । 

खनाल भन्छन्, “ज्ञानीराम भट्टराई बडो व्यवहारिक हुनुहुन्थ्यो । स्कुलमा आएर यदाकदा पढाउनु पनि हुन्थ्यो । स्कुलले विशेषगरी फस्र्ट विद्यार्थीलाई विभिन्न किसिमका पुरस्कार प्रदान गर्दथ्यो । पुरस्कार दिन उहाँ आउनुहुन्थ्यो । पुरस्कार दिएर ‘ठूलो मानिस बन्नुपर्छ’, भन्नु हुन्थ्यो । उहाँको यिनै भनाइहरुले मलाई उहाँप्रति प्रभावित बनाएको थियो ।” 

साखेजुङ्ग स्कुलमा झलनाथ क्लास फस्र्ट मात्रै होइन, स्कुल फस्र्ट नै हुन्थे । त्यसैले पनि उनी पुरस्कारहरु पाइरहन्थे । त्यसबाहेक ज्ञानीरामको भनाइ र गराइबाट पनि प्रभावित थिए उनी । उनलाई भट्टराई कम्युनिष्ट हुन् भन्ने त थाहा थियो, तर कम्युनिष्ट बन्नैका लागि उनीप्रति आकर्षित भने भएका थिएनन् । त्यो आकर्षण उनको व्यवहार र बोलीका कारण थियो ।

०००

झलनाथ २०२३ सालमा आइएससी पढ्ने उद्देश्यका साथ काठमाडौं आए । उनको सपना थियो इन्जिनियर हुने, त्यसैले उनले अमृत साइन्स कलेजमा आईएससी भर्नाका लागि प्रयास गरे । तर, त्यहाँ सिट पाइएन । उनको सपनामा पहिलो तुषारापात त्यहीँ भयो । 

त्यसपछि उनले त्रि–चन्द्र कलेजमा भर्ना हुने प्रयास गरे । त्यहाँ पनि तोकिएको सिट भरिसकेको रहेछ । त्यहाँ पनि भर्नाको सम्भावना देखिएन । राजनीतिक रङ्गमा रमाउन सुरु गरिसकेका झलनाथले यतिकै छाड्ने कुरा थिएन । उनी दैनिक त्रि–चन्द्र क्याम्पस जान थाले । भर्ना हुन नपाएका विद्यार्थीहरुसँग सदैव सम्पर्कमा रहे । यतिकै घर फर्किने सोचाइ कसैको थिएन । सबै पढ्न चाहन्थे । तसर्थ सिट बढाउन दबाब दिनका लागि उनी केही साथीहरुसँग बृहत् छलफलमा जुटे । सबैले दबाब दिनुपर्ने विषयमा सकारात्मक दृष्टिकोण बनाए ।
अन्ततः उनकै अगुवाइमा त्रिचन्द्रका तत्कालिन प्रिन्सिपल फणिन्द्र लोहनीलाई भेटेर आइएससीमा सिट बढाउन दबाव दिए । कम्तीमा चार पाँच सय सिट थपिनुपर्ने तिनीहरुको जोड थियो ।

प्रिन्सिपल लोहनीले आफूले शिक्षा मन्त्रालयमा कुरा उठाउने भन्दै कलेजलमा पढाइ डिस्टर्ब नगर्न भने । खनाल भन्छन्, “तर हामी कलेजको कोठा–कोठामा गएर साथीभाइहरुलाई कन्भिन्स गथ्र्याैं । हामीले पढ्न पाएनौं । हाम्रो संघर्षमा तपार्इंहरुले पनि साथ दिनुपर्यो भन्थ्यौं ।’ 

पछि आइएससीका लागि केही सिट थपियो र प्रतिस्पर्धाका आधारमा विद्यार्थीहरुको भर्ना गरियो । झलनाथ खनाल पनि आइएससीमा भर्ना भए । उनी आफ्नो सपना साकार तुल्याउने मार्गमा अग्रसर भए । यद्यपि आइएससी पढ्नलाई उनीहरुले धेरै संघर्ष गर्नुपर्यो र उनीहरुले विजय पनि प्राप्त गरे । 

कलेजमा त्यसबेला युनियनहरु बनेका थिएनन् । सरकारले त्यो वातावरण बन्न दिएको थिएन । तरपनि बेलाबेलामा हड्ताल भने भइरहन्थ्यो । त्यसैले स्ववियु प्राप्तिको लागि झलनाथहरुले दैनिकजसो संघर्ष गर्दैगए । उनीहरु पढ्थे पनि । र, विद्यार्थीहरुले संगठिन हुनपाउने अधिकारको खोजीमा सक्रिय पनि हुन्थे ।

त्यही बीचमा उनको वामपन्थी सोच राख्ने केही साथीहरुसित सम्पर्क भयो । गोविन्दमान श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, शशि शेरचन, गणेश पण्डित, गोविन्द पोखरेलहरुसँगको भेट उर्जाशील बन्यो । फलतः अनेरास्ववियु गठनको आधारशीला तयार भयो ।
इन्जिनियर हुने लक्ष्यका लागि अग्रसर झलनाथ बामपन्थी राजनीतिमा पनि सुस्पष्ट रुपले अग्रसर रहे । तथापि पढाइ उनका लागि पहिलो प्राथमिकतामा रह्यो ।

आइएससीको फाइनल परीक्षा आयो । त्रिचन्द्र कलेजको सेन्टरबाट ४ सय २९ जना विद्यार्थी जाँच दिँदैथिए । तेस्रो दिनको परीक्षा सकिएको थियो । चौथो दिन नपढ्ने केही विद्यार्थीहरुले ‘कोर्स भन्दा बाहिरबाट प्रश्न आयो’ भन्दै होहल्ला मच्याए । तिनले हड्ताल गरे । जाँचको पेपर खोसेर च्याते । परीक्षा दिनेहरु आफ्नो आफ्नो कोठामा फर्किए । 

भोलिपल्ट पनि परीक्षा दिन गए विद्यार्थीहरु । अघिल्लो दिनको निर्णयको टुंगो नलागी परीक्षा दिन पाइन्न भनेर तिनै केटाहरुले फेरि हड्ताल गरे । त्यस दिन पनि उत्तर पुस्तीका च्यातियो । भोलिपल्ट बेलुकी त्रिचन्द्र कलेजको सेन्टर नै स्थगित गरिएको खबर फैलियो । 
झलनाथ भन्छन्, “त्यसपछि त हामी टाउकोमा कफन बाँधेर आन्दोलनमा होमियौं । हामीले सबैतिर डिस्टर्ब गर्यौं । अरुतिरको परीक्षा पनि हुन दिएनौं ।”

त्यसपछि मात्रै राजा महेन्द्रले हुकुम दिए, त्रिचन्द्रको परीक्षा फेरि लिनू भनेर । यसरी झलनाथ र उनका साथीहरुले फेरि परीक्षा दिए । 

पुनः परीक्षा सबैको राम्रो भयो । ढिलो भएपनि सबै सन्तुष्ट थिए । तर नतिजा अप्रत्यासित आयो । नतिजाले सबैलाई आम रुपमा रेट्ने काम गर्यो । चार सयभन्दा बढी विद्यार्थीमा जम्मा चार जना पास भएका थिए । बाँकी सबै फेल । त्यो चार जनामा झलनाथ खनाल पनि परे । उनी आइएससी पास भए । 

तर यहीँबाट उनको जीवनले एउटा अर्को घुमाउरो मोड लियो । त्यो मोड इन्जिनियरिङ्ग गर्ने मार्गतिर मोडिन्थेन । 

यो नतिजाले झलनाथलाई साह्रै गम्भीर बनायो । उनलाई लाग्यो, यस किसिमको सरकारी शैक्षिक नीतिले थप माथि पढेर केही हुनेवाला छैन । त्यसैले उनले तत्कालिन पञ्चायती व्यवस्थालाई समाप्त नपारेसम्म केही हुनेवाला छैन भन्ने अठोट गरे । यहीँबाट उनी मानसिक रुपमा पूर्णकालिन राजनीतिमा होमिने बाटोमा अगाडि बढे । 

०००

यसपछि उनी कम्युनिष्ट पार्टीका नेताहरुको खोजीमा हिँडे । यसै क्रममा उनले धेरैसँग सम्बन्ध बनाए । केही नाम चलेका कम्युनिष्ट नेताहरुसित भेट्ने मौका पनि पाए । खोज्दै जाँदा उनले कम्युनिष्ट आन्दोलनमा व्यापक विभाजन र चिरा परेको देखे । चकनाचुर अवस्थामा पाए कम्युनिष्टहरुलाई । ती त्यसैबेला गुटगुटमा विभाजित थिए । 

उनी भन्छन्, “यो देखेर मलाई साहै्र दुःख भयो । लाग्यो, अब कम्युनिष्टहरुलाई एकै ठाउँमा एकीकृत गर्नु नै पर्छ । सबैलाई एउटै छातामुनि ल्याउनु पर्छ ।”

त्यसबेला उनी काठमाडौंमा नै थिए । उनलाई केही साथीहरुले बीएससी पढ्नु पर्छ भनेर भर्ना पनि गरिदिएका थिए । सम्भवतः त्रिचन्द्रमा सभापति हुने मानिस नभएकोले पनि उनको भर्ना गरिएको हुनसक्छ । त्यसबेला उनीसँग पैसा थिएन । घरबाट पैसा आउने अवस्था थिएन । यहाँ जागिर खाने अवस्था पनि थिएन । 

यसैबेला उनले पश्चिम नेपालतिर गएर कम्युनिष्ट आन्दोलनको अवस्था पनि बुझ्ने विचार गरे र हान्निए बाग्लुङ्गतिर । उनका मित्र मथुरा श्रेष्ठले बाग्लुङ्ग गलकोटको स्कूलमा साइन्सको शिक्षक नभएकोले गएर पढाइ दिन अनुरोध गरे । उनी पढाउने पनि र राजनीति पनि बुझ्ने मानसिकता बोकी गल्कोट पुगे र पढाउन थाले । त्यसबेला चित्रबहादुर केसी त्यसै स्कुलका हेडमास्टर थिए । 

२०२६ सालको एक वर्ष उनी बाग्लुङ्ग बसे । त्यो अवधिमा उनले विद्यार्थीलाई विज्ञान र गणित मात्रै पढाएनन्, अपितु जागरणको सन्देश पनि प्रवाह गरे । उनले विद्यार्थीहरुलाई पनि संगठित गर्दै लगे । त्यहाँ स्ववियुको निर्माण पनि गरे । यसका अतिरिक्त हप्तैपिच्छे सांस्कृतिक कार्यक्रम र कविता गोष्ठी पनि गर्न थाले । 

यसरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा रमाउने अवसर प्रदान गरे भने पञ्चायती व्यवस्थाको विरोधमा हामीले आफूलाई कसरी उभ्याउने भन्ने विषयमा पनि शिक्षा दिँदैगए । 

उनले सम्झिए बाग्लुङ्ग गलकोटका ती दिन– “गलकोट मात्रै होइन, वरपरका गाउँगाउँमा गएर हामीले नवीन विचारलाई प्रस्तुत गर्दैगयौँ । यसले संगठनलाई बलियो बन्न मद्दत गर्यो । यसका साथै गाउँगाउँमा गएर सामन्तवादको विरोध कसरी गर्ने भनेर जागरणको सन्देश फैलाउने काम पनि गरियो । हामीले सबैलाई कसरी लड्ने भनेर पनि सिकाउँदै गयौं ।”

यो जागरण अभियान शनैःशनैः सर्वत्र फैलिँदै गयो । यसले धवलागिरि अञ्चलका तत्कालिन अञ्चलाधीशलाई भतभती पोल्यो । अञ्चलाधीश गोविन्द्रप्रसाद सिन्हा इलामकै थिए । इलामकै एउटा मानिस गाउँमा आएर विद्यार्थी शिक्षक र गाउँले किसानलाई भड्काउँदै छ भनेर कसैले उनको कान फुकिदिएछ । त्यसैले उनले झलनाथको नाममा वारेन्ट काटे । वारेन्ट काटेपनि उनले वास्ता गरेनन् । 

तेस्रो पटक एकाबिहानै एकजना इन्सपेक्टर खनालको डेरामा पुगे । उनले खनाललाई आफू पक्राउ गर्न आएको बताए । तर खनालले पक्राउ पुर्जी मागेपछि उनले पुर्जी दिन सकेनन् । उनले बिहान पुर्जी नै लगेका रहेनछन् । 

पुर्जी नभएपछि त गाह्रो भयो इन्सपेक्टरलाई । त्यसपछि खुलेआम बाहिर कुर्सीमा बसेर साइन्स टिचर झलनाथ खनाल इन्सपेक्टरसँग कुरा गर्न थाले । बिस्तारै गाउँले, अभिभावक, विद्यार्थीहरुको भीड बढ्दै गयो । इन्सपेक्टरलाई गाह्रो भयो । उनले त्यही नै पुर्जी लेखेर तयार गरे र उनलाई दिए । पुर्जी ल्याएर दिएपछि त पक्राउ पर्नैपर्यो । उनी पक्राउ परे ।

त्यहाँबाट सदरमुकामतिर जाने दुइवटा बाटो थियो । एउटा स्कुल भएर, अर्को जंगलको बाटो खोलाको किनारै किनार । खनालले स्कुलतिरबाट लैजान आग्रह गरे । तर इन्सपेक्टर मानेनन् । उनीहरु जंगल हुँदै खोलाको तिरैतिर लागे ।

खनाल यसरी सम्झिन्छन् त्यो क्षण, “त्यहीबीचमा मैले केही प्लान गरेर सूचना जारी गरिसकेको थिएँ । यस्ता कामहरु बेलाबखत गर्नु पर्दथ्यो । केही समयपछि पुल तरेर उकालो लागेपछि एउटा भट्टी (पसल) भेटियो । त्यो दोकानमा पुगेपछि मैले अर्नि खाउँ भनें । सबै अडिए र केही न केही खान थाले । त्यसैबेला चारैतिरबाट बग्रेल्ती विद्यार्थी, अभिभावक र गाउँलेहरुको भीड उर्लिएर आयो । र उनीहरुले हाम्रो स्कुलको साइन्सको टिचरलाई पक्राउ गरेर लान पाइन्न भनेर कराए ।”

चारैतिरबाट दुई तीन सय मानिसको बाढी उर्लिएपछि पुलिसहरुको होस हरायो । भीडको कुरा उनीहरुले नकार्न सक्ने विषय थिएन । यसैले सबै स्कूल फर्किए । एउटा विशाल जुलुसको रुप लिएको थियो त्यो भीडले ।  स्कुल पुगेर विद्यार्थीहरुको चित्त बुझाएर झलनाथ पुलिससँग बाग्लुङ्ग गए । त्यहाँ उनीसँग बयान लिइयो । बयान लिनासाथ उनीमाथि राजकाज मुद्दा लाग्यो । उनी जेल चलान भए । 

उनी भन्छन्, “म सात आठ महिना बाग्लुङ्ग जेलमा बसें । त्यहाँ दुःख थियो । सानो जेल, धेरै मानिस । साँघुरो थियो । महिलाहरु पनि त्यही थिएँ । त्यसैले हामीले आफैले केही सुधार गर्यौं जेलभित्र । महिलाका लागि बेग्लै बाथरुम बनायौं ।”

बाग्लुङ्ग जेलमा त्यहाँका कैदीहरुलाई खनालले पढाउन पनि थाले । महिला कैदीहरुलाई केही सीपमूलक काम पनि सिकाउन थाले । त्यहाँ कैदी मात्रै नभएर पुलिस पनि पढ्न आउने गरेको उनी सम्झिन्छन् ।  उनले हाँस्दै एउटा प्रसंग सुनाए, “बाग्लुङ्ग जेलमा अञ्चलाधीशका छोरा क्यारेम बोकेर खेल्न आइपुग्थे । विचरा उसका खेल्ने साथी थिएनन् । त्यसैले पनि जेलमा आइपुग्थे ।”

एक दिन झलनाथलाई मेची अञ्चलमा गएर हाजिर जनाउनु भन्दै छोडियो । यो जेलसार जस्तै थियो तर जेलसार थिएन । उनी आफ्नै किसिमले हिँडे । 
बाग्लुङ्गबाट उनी पोखरा पुगे । त्यहाँ केही बामपन्थी साथीहरुलाई भेटे । त्यसपछि चितवन गए । अनि काठमाडौं । त्यसपछि मात्रै उनी विराटनगर हुँदै मेची पुगे, हाजिर हुन । विराटनगरमा उनले भरतमोहन अधिकारीहरुसित भेट गरेका थिए ।

००० 

खनाललाई चिराचिरा परेको कम्युनिष्ट पार्टीले पीडा दिएको थियो । त्यसैले पनि उनी कुनैपनि हालतमा एकीकृत स्वरुपको कम्युनिष्ट पार्टी निर्माणका लागि लागिपरेका थिए । उनले भ्याएसम्मका नेताहरुलाई भेटेर एकीकृत कम्युनिष्ट पार्टीको अवधारणालाई अगाडि सार्दै लगे । यही मेसोमा उनले झापामा गएर कम्युनिष्ट नेता रामनाथ दाहाललगायतलाई भेटे ।

त्यहाँबाट उनी इलाम गए र ०२७ सालको सुरुआतताका उनले नेपाल कम्युनिष्ट पार्टीको इलाम जिल्ला कमिटिको गठन गरे । यो संगठनको प्रारुप थियो । यसअघि इलाममा ज्ञानीराम भट्टराईहरुले १० सालमा कम्युनिष्ट पार्टी खोलेका थिए । त्यसपछि उनै ज्ञानीरामबाट अभिप्रेरित झलनाथले इलाममा पार्टी निर्माण गरेका थिए । 

यसपछि उनी कम्युनिष्ट पार्टीको संगठन विस्तारमा सक्रिय हुँदैगए । इलाम जिल्लामा पार्टी कार्यालय खोलेर उनी झापातिर झरे । झापा पुगेर उनी रामनाथ दाहाल, राधाकृष्ण मैनाली, सीपी मैनालीहरुको सम्पर्कमा पुगे । र यहीँबाट उनले कम्युनिष्ट आन्दोलनको एकीकृत स्वरुपलाई मलजल गर्दैैगए ।

उनी भन्दैथिए, “हामी संगठन विस्तारतर्फ उन्मुख भयौं । पार्टी सदस्य बनाउने, जनसंगठनहरु बनाउने, सबैलाई संगठित गर्दै जाने, आन्दोलन गर्ने र देशभरिका अन्य कम्युनिष्टहरुसित सम्पर्क गर्ने कामको पनि थालनी गर्यौं हामीले ।”

विक्रम सम्वत् २०२७ सालको हिउँदतिर झापाको बेलडाँगीमा एउटा भेला भयो, जसले कोअर्डिनेशन केन्द्र बनाउनुपर्छ भन्ने कुरालाई स्वीकृत गर्यो । यस किसिमको धारणा झलनाथको पहिलेदेखि नै थियो । त्यसैले उनी संगठनको काममा चुस्त रूपमा अगाडि बढ्दै गए । झापाको त्यो भेलामा राधाकृष्ण मैनाली, सीपी मैनाली, केपी ओली, माधव नेपालहरु थिए । तर मुख्य नेता रामनाथ दाहाल नै रहेको झलनाथ बताउँछन् । 

२०३१ सालमा उनी पक्राउ परे । तत्कालिन राजा वीरेन्द्रको राज्याभिषेक भएकोले उनीहरुलाई गिरफ्तार गरिएको थियो । उनी छ महिनापछि छुटे । जेलबाट छुटेपछि फेरि संगठनको काममा उनी सक्रिय भए । ०३२ सालको जेठमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटि’को गठन भयो । जसमा सचिव सीपी मैनाली थिए भने खनाल, माधव नेपाल, मुकुन्द न्यौपाने, गोविन्द न्यौपाने, मणि लाल राई, प्रकाश यादव, अमृत बोहरासहित आठ जना सदस्य थिए । 

तत्कालिन अवस्थामा सो काम कठिन थियो । त्यसैले उनी लगायत कैयन् साथीहरु भूमिगत भए । भूमिगत भएपनि गर्नुपर्ने कामलाई पूर्णता दिनका लागि उनी सधै दत्तचित्त रहे । यहि बुझेर उनीहरु नितान्त भूमिगत शैलीमा काम गर्थे । हैन, राज्यसत्ताको नजरमा परे त जे पनि गर्न बेर लाउँथेनन् । त्यसैले बचेर काम गर्नु जरुरी थियो । यसैकारण पनि झलनाथ खनाल २०३० सालदेखि पूर्णतः भूमिगत रुपमा सक्रिय भए ।

विस्तारै कम्युनिष्टहरुको जालो फैलिँदै गयो । टुक्रिएका कैयन कम्युनिष्ट घटक उनीहरुसित जोडिन आइपुगे । पूर्वको लालझण्डा समूह र पश्चिममा पुष्पलाल समूहबाट विद्रोह गरेर बाहिरिएको समूह पनि उनीहरुकै कमिटिमा समाहित भयो । तर कार्यशैली सबैको भूमिगत नै थियो ।

भूमिगत हुँदा सबैले बेग्लै नाम राखेका थिए । झलनाथ खनाल ‘नरेश’का नामबाट चिनिन्थे । उनी शिक्षक हुन् भन्ने वरपरका मानिसको जानकारीमा थियो । ‘नरेश’ कम्युनिष्ट नेता झलनाथ वा जेएन हुन् भन्ने कसैलाई थाहा थिएन । 

२०३३ सालमा उनी फेरि गिरफ्तार भए र ०३७ सालमा मात्रै छुटे । यसैबीचमा २०३५ सालको पुस महिनामा नेपाल कम्युनिष्ट पार्टी मालेको स्थापना भयो ।

कम्युनिष्ट नेता झलनाथ भन्छन्, “विराटनगरमा नेकपा मालेको स्थापना भएको थियो । त्यसबेला हाम्रो अवधारणा के रह्यो भने हामी स्वेदशमै बस्नुपर्छ, स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छ र स्वदेशी कम्युनिष्ट पार्टी निर्माण गर्दा विदेशी शक्ति र विदेशी भूमिको प्रयोग गर्नु हुँदैन ।”
जेलमा रहेपनि झलनाथ मालेको केन्द्रीय कमिटिका सदस्य मनोनयन भएका थिए । जेलबाट बाहिरिएपछि उनको गति झनै बेगवान रुपमा अघि बढ्यो । 

नेकपा मालेको संगठन विस्तारमा निरन्तर क्रियाशील झलनाथ खनाल २०३९ सालमा पार्टीको महासचिव बने । त्यसअघि सीपी मैनाली महासचिव थिए । उनले चौथो महाधिवेशन २०४६ सालसम्म महासचिव पदमा रही पार्टीको नेतृत्व गरे । त्यसपछि मदन भण्डारी महासचिव बने ।

कम्युनिष्ट पार्टीहरुमा लाग्नेहरुको जीवन अधिकांशतः भूमिगत रुपमै बितेको पाइन्छ । संगठन जोगाउनका खातिर यो जरुरी पनि मानिन्थ्यो । भूमिगतकालमा झलनाथ धेरै ठाउँ बसे । कहिले सिरहा, कहिले धनुषा तर कहिले अन्त कतै ।

उनले भूमिगतकालको एउटा रोचक प्रसंग सुनाए । उनका अनुसार, महासचिवको जिम्मेवारी लिइसके पछि उनको धेरैजसो समय काठमाडौंमा बित्यो । उनी काठमाडौंको ब्रह्मटोलमा डेरा गरी बस्थे । एउटा घरको माथिल्लो तलाको कोठामा उनी बस्थे । उनको डेरा पार्टीको हेडक्वाटर जस्तै थियो । त्यहाँ पनि उनी एउटा शिक्षकका रुपमा परिचित थिए । कसैलाई थाहा थिएन उनी मालेका महासचिव हुन् भन्ने । 

२०४२ सालको कुरो हो । तत्कालिन राष्ट्रिय पञ्चायत परिसरमा बम पड्कियो । केही व्यक्ति हताहत पनि भए । रामराजा प्रसाद सिंहको समूहले त्यो गरेको चर्चा थियो । यो घटनापछि टोलटोलमा सर्च अपरेशन सुरु भयो । विशेषतः मधेसी समुदायको बाहुल्य रहेको क्षेत्रमा बढी सर्च हुन थाल्यो । यसै क्रममा ब्रह्मटोलको झलनाथ खनाल डेरा बसेको घरमा पनि सर्च भयो । उनी बसेको घरको तलको तल्लामा केही मधेशीहरु डेरा गरेर बस्थे । 

त्यहाँ सर्च गर्नपुग्दा प्रहरीहरुले खनालको ‘मुभमेन्ट’लाई पनि वाच गर्नथाले । बुझ्दै जाँदा जेएन खनाल भन्ने प्रहरीले थाहा पाए । त्यसैले जेएन माथि विशेष निगरानी राख्न थालियो । उता झलनाथले बाहिर भित्र गर्ने क्रममा आफ्नो डेरा वरपर अनौठा मानिसहरुलाई देख्न थाले । यसले उनलाई पनि शंंका लाग्दै गयो । कहीँ कतै नराम्रो घट्ना घट्ने त होइन ? यो प्रश्नको जवाफ खोज्न थाले उनी । 

झलनाथ त्यो दिनको बयान यसरी गर्छन्, “मलाई समात्छन् यिनले भन्ने भएपछि मैले पनि मसँग रहेका सम्पूर्ण महत्वपूर्ण कागजपत्र र डकुमेन्टहरु अन्तै लगेर राखेँ । त्यहाँ केही पनि बाँकी राखिन । एक दिन म आफंै पनि डेराबाट बाहिरिएँ । त्यही दिन प्रहरीहरु घर घेरेर मलाई पक्राउ गर्न आएछन् । त्यसबेलासम्म म अर्को सेल्टरमा पुगिसकेको थिएँ ।”

खनाल डेराबाट निस्केको केही बेरमै प्रहरीले उनी बसेको डेरा घेराउ गरेछन् । तर जेएन जुक्तिबुद्धि लगाएर बाहिरी सकेको तिनले चाल नै पाएनन् । 

०००

तत्कालिन अवस्थामा पञ्चायतप्रतिको वितृष्णा बढ्दो थियो आम नागरिकमा । त्यसैले पनि नागरिक स्वतन्त्रताका लागि आन्दोलनको मानसिकतामा थिए । परिवर्तित समयले पनि यो अवस्था सिर्जना गरेको थियो । फलतः कम्युनिष्ट कांग्रेस एक भएर आन्दोलनमा जुट्ने निर्णय गरे । झलनाथ खनालका अनुसार कम्युनिष्ट पार्टी पनि एकीकृत र बलियो हुँदै गएको थियो । त्यसैले पनि कांग्रेसहरुसँग पनि मिलेर आन्दोलन गरियो भने पञ्चायती व्यवस्थालाई ढाल्न सकिने निक्र्यौलमा उनीहरु पनि पुगे । 

२०४६ सालमा मालेको चौथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले मदन भण्डारीलाई महासचिवको जिम्मेवारी दियो । सोही अधिवेशनले पञ्चायत विरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय पनि गर्यो ।  त्यो निर्णय कार्यान्वयन गराउने क्रममा आन्दोलनको मोर्चा सम्हाल्ने काममा झलनाथ लागे । त्यसपछि संयुक्त बाम मोर्चाको गठन भयो । जसको अध्यक्ष साहना प्रधान भइन् । 

खनाल भन्छन्, “त्यसबेला मैले र आरके मैनालीले योगप्रसाद उपाध्यायजीको घरमा गएर कांग्रेसका नेताहरु किसुनजी, गणेशमानजीहरुसित लामो वार्ता गरेका थियौं । उक्त वार्ता फलदायी पनि भयो । ०४६ साल फागुन ७ गतेदेखि आन्दोलन गर्ने निष्कर्षमा हामी सबै पुग्यौं । 

तोकिएको दिनदेखि आन्दोलन सुरु भयो । झलनाथ खनालहरु ग्राउण्डमा डटेका थिए । किनभने मालेका नेता खासै पक्राउ परेका थिएनन् । कांग्रेसका भने कोही थुनामा थिए त कोही नजरबन्दमा । खनाल भन्छन्, “हामी जनताकै बीचमा थियौं । भूमिगत पार्टी थियो । त्यसैले हामी जनतालाई आन्दोलनमा उत्साहका साथ सहयोग र साथ दिइरहेका थियौं ।”

अन्ततः चैत्र २६ गतेको राति वार्ताका लागि राजाले बोलाए । वार्तामा राधाकृष्ण मैनाली गएका थिए । वार्तामा तत्कालिन संविधानबाट निर्दलियता हटाउने कुरा भयो । 

झलनाथ खनाल भन्छन्, “म, माधव नेपालजी र मदन भण्डारीजी वार्तामा भएको यस कुरामा सहमत हुन सकिरहेका थिएनौ । यो आंशिक उपलब्धीमात्रै थियो । त्यो बेला राजासँग सम्पूर्ण पञ्चायती व्यवस्थालाई विगठन गर्ने कुरा राख्न सकेनन् नेताहरुले । राजासँग सहि ढंगको सम्झौता भएन । त्यसैले आन्दोलन जारी राख्नुपर्छ भनेर भनिरह्यौं हामीले ।”

तर निर्दलियता हटेको खबर बाहिरिँदा मात्रै पनि जनता खुशियाली मनाउन सडकमा ओर्लिसकेका थिए । कफ्र्यु लागेको त्यो मध्यरातको अँध्यारोले पनि छेकेन जनतालाई ।  भोलिपल्ट जनताको त्यो उत्साहमा सहभागी हुँदै झलनाथ खनाल, माधव नेपाल र मदन भण्डारी पनि ब्रह्मटोलबाट जनताका बीचमै रहेर विजय उत्सव जुलुसमा बग्दैबग्दै टुँडिखेल खुलामञ्चसम्म पुगे । 
 

तपाईंको मत