site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सत्तापक्ष कोही संविधान दिवस मनाउने कोही कालो दिन, सत्तापक्षको दृष्टिकोण के हो ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
सुवास नेम्वाङ, पूर्वसभामुख 
असोज ३ गते संविधान जारी भएको एक वर्ष पूरा हुँदैछ । ५ वर्ष ८ महिनामा २ वटा संविधानसभापछि बनेको संविधानका केही अन्तरवस्तुलाई लिएर अहिले पनि विवाद कायमै छ । यो अवधीमा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानसभा र संसद्को नेतृत्व गरे । उनी संविधानसभा अध्यक्ष भएकै बेला संविधान जारी भएको हो । प्रस्तुत छ, संविधानका एक वर्ष, संविधान जारी गर्ने बेलाका चुनौतीलगायतका विषयमा नेकपा एमाले दलका उपनेता एवम् पूर्वसभामुख नेम्वाङसँग बाह्रखरीका लागि बलराम पाण्डे र सन्तोष दाहालले गरेको कुराकानी:
संविधान जारी भएको एक वर्ष पूरा भएको छ । यो समयमा संविधान कति कार्यान्वयन भयो ? कति हुन सकेन ? यो समयलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?
असोज ३ गते संविधान जारी भएपछि जुन गतिमा संविधान कार्यान्वयन हुनुपथ्र्यो, त्यो गतिमा हुन सकेन । केही काम भएका पनि छन् । संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भएको छ । सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । कतिपय कानुनहरू बनेका छन् । आयोगहरू बनेका छन्, तर अन्य हुनैपर्ने काम भएको देखिँदैन । संविधान कार्यान्वयनका लागि धेरै कानुन बनाउनुपर्ने हुन्छ ।
वास्तवमा हामीले संविधान पल्टाएर हेर्यौं भने संविधानले तत्काल नगरी नहुने, नभए अप्ठ्यारो हुने अवस्था पनि छ । कानुन निर्माणका सन्दर्भमा एक वर्षभित्र बनाउनुपर्ने, दुई वर्षभित्र बनाउनुपर्ने छ ।
कानुन निर्माण गरेर निर्वाचन सम्पन्न गर्नैपर्ने अवस्था छ । ०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नैपर्ने अवस्था छ । त्यो नहुँदा संवैधानिक जटिलता उत्पन्न हुन सक्छ ।
त्यसैले संविधानको कार्यान्वयनको सन्दर्भमा केही काम भएका छन् । धेरै महत्वपूर्ण काम हुन बाँकी छ ।
एक वर्षको अवधिमा पनि कार्यान्वयनको तहमा जान सकेको छैन । एउटा पक्षले यसलाई मान्दै मानेको छैन । एक वर्ष हुँदासम्म पनि संविधान कार्यान्वयन होला कि नहोला भन्ने आशंका छ । किन यस्तो भएको होला ?
सबैभन्दा पहिलो कुरा विश्वभरिकै संविधान बनाएर जारी गरेको प्रक्रिया मान्यता र चलन हेर्ने हो भने हामीले जुन ढंगले संविधानसभाबाट संविधान जारी गर्यौं, त्यो अद्धितीय नै रहेको छ ।
उदाहरणको लागि, भारतको संविधान ६५ प्रतिशतले पारित गरेर बनाइएको संविधान हो । अमेरिकाको ५२ प्रतिशतले संविधान जारी गरेको हो । तर, हाम्रोमा समावेशी संविधानसभाले समावेशी संविधान ९० प्रतिशतले जारी गरेको छ, हस्ताक्षर गरेको छ । यो विश्वकै सन्दर्भमा अतुलनीय छ, अद्धितीय छ । विश्वकै सन्दर्भमा भन्ने हो भने हाम्रो संविधान सबैलाई सर्वस्वीकार्य नमान्ने हो भने विश्वका कुन संविधान सर्वस्वीकार्य होलान् ? प्रश्न यो हो । 
संविधान भनेको एउटा सहमतिको दस्तावेज नै हो । हाम्रोमा पनि सबै राजनीतिक दल बसेर केही विषयमा ‘कम्प्रोमाइज’ गरेर एउटा समझदारी गरेर सहमतिको दस्तावेज तयार पारेका हुन् ।
केही असहमति हुनु स्वभाविक हो । असन्तुष्टि कहाँ छैन ? भारत र अमेरिकामा पनि छ । 
भारतमा संविधान जारी भएर संसद्को पहिलो बैठक बस्नुअघि गरेका निर्णयहरू संविधानको अंग बन्ने व्यवस्था थियो । भारतमा अहिलेसम्म १२२ पटकभन्दा बढी संशोधन भइसकेको छ । तर, अहिले पनि त्यहाँ असन्तुष्टि कायमै छ । लाखौं जनता आमसभा, धर्नामा अहिले पनि छन् । त्यो उहाँहरूको आन्तरिक मामला हो । उहाँहरूले भारतको संविधानबमोजिम सम्बोधन गर्नुहुनेछ । ठिक यही अवस्था हाम्रो पनि हो । हामी पनि यस्ता सबै असन्तुष्टिलाई सम्बोधन गर्न तयार हुनुपर्छ । हामीले एकपटक संविधान संशोधन गरिसकेका छौं । 
हामीले संविधानमा लचिलो संशोधनको व्यवस्था राखेका छौं । यसलाई कसरी हेर्नुपर्छ भन्दा हामीले व्यापक समझदारीको आधारमा राम्रो र उत्कृष्ट संविधान बनाएका छौं । 
अहिले पनि कतिपय असन्तुष्टि हुन सक्छन् । त्यसलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै अघि बढ्न सकिन्छ ।
संविधान संशोधनकै कुरा उठ्दा यहाँकै पार्टी नेकपा एमालेले संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि नभई हुन सक्दैन भनेको छ । अहिले संविधान संशोधन गरेर मधेसवादी दलको माग पूरा गर्नुपर्ने होइन र ?
संविधान संशोधनको माग गर्न पाइन्छ । हामीले संविधानमै शान्तिपूर्ण ढंगले प्रजातान्त्रिक आन्दोलनमार्फत मागहरू अघि सार्ने व्यवस्था राखेका छौं । एकपटक हामीले संविधान संशोधन गरिसकेका छौं । अहिले सरकारको नेतृत्वमा बसिरहेका मुख्य दुई दल पनि मिलेर एमालेले पहिलो संशोधन गरेको छ । 
मलाई अहिले पनि राम्रो सम्झना छ । अहिलेको सरकारको मुख्य घटक संसद्को पहिलो पार्टी कांग्रेस नेतृत्वमा सरकार रहँदा उसले संविधान संशोधनको प्रस्ताव राखेको थियो । आफ्नो संशोधन प्रस्ताव पछि अलिकति ढिला हुँदा कहाँ गयो भनेर खोजी गर्दै संसद् अवरोध गरेको थियो । 
त्यसबेला अहिलेका सबै समस्या समाधान गर्छ भनिएको थियो । त्यसपछि सबै राजनीतिक दल एक ठाउँमा उभिएर संविधान संशोधन गरेको हो । त्यसैबाट स्थिति के हो भन्ने थाहा हुन्छ ।
अहिले धारणामा केही परिवर्तन देखिएका छन् । त्यो पनि गर्न पाइन्छ । त्यसलाई टीकाटिप्पणी गर्न पाइन्छ ।
एमालेले संविधान संशोधन गर्नै हुँदैन भनेर भन्दैन । तर, संविधान संशोधन आवश्यकताअनुसार औचित्यका आधारमा देश र जनताको हितमा हुनुपर्छ । त्यसैले संविधान संशोधन गर्ने कि नगर्ने भनेर विचार गर्दा औचित्यका साथ आवश्यकताका आधारमा संविधान संशोधनसम्बन्धी कुराहरू अघि आउनुपर्छ । 
हामी प्रतिपक्ष हौं । हिजो प्रमुख प्रतिपक्षमा रहँदा मित्रहरूको के माग र अपेक्षा रहने गथ्र्यो । मैले त्यसमा धेरै व्याख्या गर्नुपर्दैन । 
संविधान संशोधनको बारेमा अहिलेसम्म हामीसँग कसैले पनि एक शब्द कुरा गरेका छैनन् । त्यसैले यो कतिको गम्भीर विषय हो भन्ने प्रष्ट छ ।
मधेसमा देखिएको समस्या समाधानका लागि पनि संविधान संशोधन हुनैपर्छ । यस्तो बेला उनीहरूको माग कसरी सम्बोधन हुन्छ त ?
अघि पनि संविधानको सर्वस्वीकार्यकताको बारेमा कुरा उठेको थियो । अब त म भन्छु, यो संविधान सर्वस्वीकार्य भइसक्यो । संविधान जारी भएपछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र त्यसपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनमा आन्दोलनकारी समेतका दलहरूले संविधानबमोजिम हस्ताक्षर गरेर प्रस्ताव अघि सारेको हुनाले अब यो संविधान सर्वस्वीकार्य भइसक्यो । संविधानको विरोधमा रहेका राजनीतिक दलहरू अहिले सत्तापक्ष भइसक्नुभएको छ । त्यसैले अब त उहाँहरूको दायित्व देशमा कहाँ कता असन्तुष्टि छ, त्यसलाई सम्बोधन गर्नुपर्ने दायित्व ग्रहण गरिसक्नुभएको छ । उहाँहरू अब सत्तापक्ष हो ।
अर्को कुरा पनि जोड्न चाहन्छु । त्यो के हो भने यति भइसकेको अवस्थामा सत्तामा रहेको एउटा पक्ष तपाईं हामीले संविधान मनाइरहेकै बेलामा तीन दिन खुसी मनाउने भन्ने आग्रह र सूचना छ । त्यही सत्तापक्ष यो तीन दिन कालो दिन मनाउँदै हुनुहुन्छ । वास्तवमा सत्तापक्षको दृष्टिकोण के हो ? यो संविधान दिवस मनाइरहेकै बेला यो कुरा आउनुपर्छ ।
संविधान संशोधनमार्फत माग पूरा गर्नुपर्छ भन्ने साथीहरू यो तीन दिन कालो दिन मनाइरहनुभएको छ ।
उहाँहरूकै भाषामा त्यो कालो संविधानलाई टेकेर कसरी उहाँहरूको माग पूरा गर्ने त्यो उहाँहरूकै मुखबाट जनताले थाहा पाउनुपर्छ । 
एउटा जिम्मेवार प्रतिपक्षको नाताले यो देशका सबै जनताको समस्या समाधान गर्दै निष्कर्षमा पुग्नुपर्छ भन्नेमा हामी सधैं छौं ।
नेपालको इतिहास हेर्ने हो भने कुनै पनि संविधान लामो समयसम्म टिक्न सकेका छैनन् । संविधानसभाबाट बनेको यो संविधान कति समयसम्म टिक्न सक्ला ?
यसमा मेरो जिज्ञासा छ । यसले तपाईंको प्रश्नको पनि जवाफ दिन्छ । विगतमा आएका संविधान देशको प्रशासनले अर्थात् राजाले बनाएका संविधान थिए । अर्थात् उनले गठन गरेको आयोग या समितिले बनाएको थियो । 
यो हामीले भोगेकै हो । त्यो संविधानलाई लिएर प्रश्न उठेपछि खारेज गरियो । पछिल्लो समयमा ७० वर्षदेखिको नेपाली जनताको सपनाअनुसार संविधानसभाले संविधान बनायो । जनताले जनताको लागि संविधान बनाएका छन् ।
राजा, आयोग र समितिले बनाएको संविधानलाई हटाएर जनताले संविधान बनाउन सक्छन् भनेर पनि देखाइयो । जनताले जनताकै लागि जननिर्वाचित संविधानसभाले संविधान बनायो । 
संविधान जारी भएको यो अवस्थामा कथंकदाचित केही अप्ठ्यारो पर्यो भने जनताले दिएको संविधानको विकल्पमा अब यो देशमा कसले दिन सक्छ ? प्रश्न गम्भीर छ । त्यसैले कसैले पनि यसलाई भत्काउन खोज्यो भने देशलाई अप्ठ्यारो ठाउँमा लैजान खोज्दैछ भनेर बुझ्नुपर्छ । यो कसैले पनि गर्दैनन् भन्ने विश्वास छ । सबै मिलेर यो कार्यान्वयन गर्नुपर्छ । संविधान दिवसको दिन यही प्रतिबद्धता व्यक्त गर्छु । यही संकल्पका साथ अघि बढौं भन्ने मेरो आग्रह छ ।
गत वर्षको असोज ३ गते संविधान जारी भयो । त्यो दिनलाई तपाईंले कसरी सम्झनुहुन्छ ?
वास्तवमा यो देशमा जनताले जनताकै लागि संविधान बनाएर जारी गर्ने दिन थियो । सिंगो देश र जनताको लागि ऐतिहासिक क्षण थियो । त्यस्तो महत्वपूर्ण काम सम्पन्न गर्ने जुन दायित्व मलाई सुम्पिएको थियो, त्यो दिनको खुसी मैले शब्दमा वर्णन सक्दिनँ ।
त्यही दिन पनि संविधान जारी गर्ने बेला राष्ट्रपति आइपुग्नुभएन । अब संविधान जारी हुने भएन भन्ने भएको थियो । त्यसबेला कस्तो महसुस भयो ?
संविधान जारी नहुँदासम्म कसो होला भन्ने स्वाभाविक मान्नुपर्छ । संविधान जारी नभएसम्म मलाई प्रत्येक क्षणको सम्झना छ । त्यसबेला पनि जनता अनि तपाईंहरूले पनि ‘यो संविधान बन्ला ?’ भनेर सोध्नुहुन्थ्यो । बन्यो, सबै सभासदले हस्ताक्षर गर्नुभयो । मैले जनताले बनाएको संविधान यही हो भनेर प्रमाणित गरें । त्यो क्षणमा पनि प्रश्न थियो । संविधान जारी त हुन्छ ? भन्ने थियो । राष्ट्रपतिलाई मैले निम्ता दिएर फर्किएँ । राष्ट्रपति आउँछु भन्नुभएको थियो । त्यसबेला पनि संविधान जारी नै होला त भन्ने प्रश्न थियो ।
३ गते पाँच बजे राष्ट्रपति आउन ढिला भयो । ४५ मिनेट ढिला भयो । राष्ट्रपति नआउँदासम्म र संविधान जारी नहुँदासम्म निरन्तर प्रश्न र आशंका थियो । जब राष्ट्रपति आउनुभयो, ‘संविधानसभाले बनाएको संविधान यही हो राष्ट्रपतिज्यू’ भनेर पाँच कपी दिएँ । उहाँले पाँचै कपी पटक–पटक ढोग गरी जारी भएको घोषणा गर्नुभयो । त्योभन्दा अघिसम्म मानिसमा आशंका थियो । तर, खुसीको कुरा त्यो दिन जारी भयो ।
जारी भएपछि अर्को चरणको चुनौती सुरु भएको छ । अब कार्यान्वयनको चुनौती सुरु भएको छ । दलहरू एकजुट भएर त्यो चुनौती पार गर्नुपर्छ ।
आन्दोलनमा रहेका दलहरू पनि एकताबद्ध हुँदै सबै दलहरूलाई पनि सहमति र विश्वासमा लिएर संविधान कार्यान्वयन गर्नका लागि अघि बढ्नुपर्छ । ती दलहरूको जिम्मेवारी र दायित्व हो । 
त्यसबेलादेखि अहिलेसम्म निरन्तर उठिरहेको प्रश्न के हो भने तपाईंले संविधानसभा निर्माण प्रक्रिया फास्ट ट्र्याकमा नलगेको भए सबैलाई समेट्न सकिन्थ्यो भन्ने कुरा उठिरहन्छ । त्यसबेला फास्ट ट्र्याकमा लैजानैपर्ने कारण के थियो ?
सबैभन्दा पहिलो कुरा फास्ट ट्र्याकमा हामी गयौं । संविधान निमय र प्रचलनअनुसार जनताको बीचमा गएर सुझाव ग्रहण गरेर संविधान बनाएका हौं ।
पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान हो । त्यसबेला किन यति ढिला गरेको ? सहमति भन्ने तर नगर्ने ? भनेर प्रश्न उठिरहन्थ्यो । पछि फास्ट ट्र्याकबाट किन गरेको भनेर प्रश्न उठेको हो । हामीले पाँच वर्ष आठ महिना लगाएर संविधान बनायौं र जारी भयो । पाँच वर्ष आठ महिना हामीले छलफल गरेकै हो । केही दिन ढिलाइ गरेको भए हुन्थ्यो कि भन्ने प्रश्न उठ्यो । ढिलाइ भएको भए यो संविधान जारी हुँदैनथ्यो । अहिले त त्यो प्रमाणित नै भयो । ९० प्रतिशतले जारी गरेको संविधानलाई निरन्तर असन्तुष्टि सम्बोधन गरौं न भनेर प्रयास हुँदा पनि हुन सकेको छैन । सत्तामा गएका दलहरू अहिले पनि एउटा संविधान दिवसको खुसीयाली मनाउने भन्छन्, अर्को कालो दिवस र कालो संविधान भन्छन् । सबैको कुरा मिलाउन भनेर बसेको भए अहिलेसम्म संविधान नै जारी हुँदैनथ्यो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC