Skip Advt.

देश

एउटा बाँसबाट एक लाख कमाउँछु

एउटा बाँसबाट एक लाख कमाउँछु


दिवस श्रेष्ठ, उद्यमी


मर्दा–पर्दामात्रै होइन, केही पुण्यादि कार्य गर्दा पनि नभई हुँदैन बाँस । किनकि बाँस सभ्यता भइसक्यो । बाँसले संस्कारकै ठाउँ ओटगेको छ भन्दा अतिशयोक्ति हुँदैन ।

कुपन्डोलको व्यस्त सडक । छिचोल्नै मुस्किल हुने भीडभाड । त्यसो त यो बाँस तथा बेतबाट बनेको सामग्रीको प्रदर्शनीस्थल समेत हो । “बाँस, बेतबाट बनेका सामान चाहिएको थियो ? कहाँ जाने होला ?,” यो प्रश्नको उत्तर पनि यहीँ पुगेपछि निवारण हुन्छ भनौँ ।

किसिम–किसिमका बेत, बाँसका कला । सरसजावटदेखि दैनिक भोगचलनसम्मका बान्किलो सामग्रीको अद्भूत नमुना देख्न पाइन्छ यहाँ ।

बाँसको व्यापकतालाई अझ सर्वव्यापक बनाउन लागिपरेका छन् दिवस श्रेष्ठ ।

० ० ०

मूल घर इलाम, बच्चैबाट बाँसको संगत पाएका ।

“जन्मँदै बाँस चिनेको भनौँ न । घरमा दूध दुहुनेदेखि, दही जमाउने ठेकीसम्म बाँसकै थियो । धारादेखि पानी पधेँरोसम्म बाँसको संगत छुट्दैनथ्यो,” हाँस्दै कुराकानीको थालनी गर्छन् उनी ।

घरमा चलनचल्तीको बाँसलाई मामाले व्यावसायिक रूप–रङ्ग दिएका थिए । पूर्व किसिम–किसिमका बाँसको राजधानी पनि । त्यसका अलावा सिक्किम, दार्जिलिङबाट बेत ल्याउँथे । बान्कीपूर्ण सामग्री बनाएर बेचबिखन गर्थे । आम्दानी मनग्गे हुन्थ्यो । घर–गृहस्थी चलाएर केटाकेटी पढाउन पुग्थ्यो  ।

मामाको आम्दानीको बाटो आमाले पनि पछ्याइन् । इलामबाट विराटनगर झरे । बाँसबाट बनेकै सामग्रीको व्यापार शुरू गरे । यो ०४९ सालतिरको कुरा हो ।

“तिनताका बाबु गोविन्दभक्त श्रेष्ठ विद्युत् प्राधिकरणमा नोकरी गर्नुहुन्थ्यो । बाबुको वेतनले परिवार चलाउन गाह्रो थिएन । तर, बालखैमा बाँससँग परिचय पाउनुभएको आमालाई पनि बाँसकै व्यापार गर्न मन लाग्यो, कहिल्यै खाली हात नबस्ने, चुल्हा–चौकमा मात्रै सीमित हुनुहुँदैन भन्ने उहाँको सोच थियो,” आफ्नै विगततिर फर्कन्छन् दिवश ।

त्यतिबेला अहिलेजस्तो बाँसलाई विविध रूप र रंगमा ढाल्ने सीप थिएन । न पूर्वतिर हस्तकला सिकाउने ठाउँ नै थियो । परम्परागत बाँस–कला, चोया निगालाले बनेका सामग्री बेचबिखन गर्थे । र, त्यसैबाट जीवन–निर्वाह गर्थे उनीहरू ।

“त्यतिबेला कोक्रो, डोका–डाला, टेबल, मुढा खुब बिक्री हुन्थ्यो,” सम्झन्छन् उनी ।

जब पैसा चिनेँ
बाल्यकालका कुरा खासै सम्झनामा छैनन् । कतिपय बाल्यस्मृति गर्तमा पुगिसके । किशोरवयमा पाइला राख्दाताका उनी विराटनगरबाट एक्लै झापाको काँकडभिट्टा पुग्थे, बगलीभरि पैसा बोकेर । खल्तीमा महिनाभरिको आम्दानी हुन्थ्यो, पन्ध्र–बीस हजार । त्यति पैसाले टन्नै बाँस, बेतबाट बनेका सामग्री लिएर विराटनगर आइपुग्थे उनी । यसैगरी बाँसमा रस बस्दै गयो । एककिसिमको नशाजस्तै बन्यो त्यो ।

“पछि त अम्मली पो बनेँ । बाँसबाट कसरी सामग्री बनाउने ? कसरी आकर्षक तुल्याएर महँगोमा बिक्री गर्न योग्य तुल्याउने भनेर खोजी पो शुरू गरेँ,” हाँस्छन् दिवश ।

इलाम– सुदूरपूर्वी पहाडमात्रै होइन, परम्परापत सीप र प्रविधिको भण्डार कक्षसमेत हो । त्यहाँका रैथाने लिम्बू, मगर र ब्राह्मण–क्षत्रीसमेतले बाँस, निगालाका डोका, थुन्से बुन्थे । घुम–चित्राले वर्षा ओताएको पनि नदेखेको होइन । चुल्हो–चौकादेखि गोठसम्मै बाँसले धानेको थियो ।

खोजी गर्दै गएपछि थाहा पाए– बाँसबाट नबन्ने सामग्री नै रहेनछ ! बाँसले त महँगा काठपातलाई माथ पो दिँदो रहेछ !

बाँसको महत्ता बुझेपछि आफैँ केही गर्न तम्सिए दिवश । आमासँग सल्लाह गरेर अलग्गै बाँसकै व्यापार शुरू गरे ।

उनले त्यहाँ परम्परागत रूपमा बाँसबाट बनेका सामग्रीमात्रै बेचबिखन गर्ने सोच बनाएनन्, सीप प्रवद्र्धन गर्ने र आधुनिक हस्तकलाका सामग्री तयार पार्ने योजनासमेत बनाए । तर, उमेर बाधक भइदियो ।

“वास्तवमा बाँसको व्यापार अपार नै थियो । केटौले उमेर, पैसा गोजीमा भएपछि त्यही त हो, बरालिन पो थालेछु,” मच्चिएरै हाँस्छन् उनी ।

‘बायोडाटा’ बनाएको छैन
विराटनगरको बाँस–व्यापारले काठमाडौँको बाटो देखाइदियो । बेत, बाँसकै व्यापार गर्ने भनेर आएका काठमाडौँ त पूरै अन्जान पो लाग्यो । अपरिचित शहरले पत्याइहाल्ला नलागेपछि उनले केही समय अस्थायी नोकरीसमेत गरे ।

“किन–किन मलाई स्थायी जीवनलाई अस्थायी नोकरीले धान्छजस्तै लाग्दैनथ्यो । आफैँ उद्यमी बन्नुपर्छ र उद्यमशीलतामात्रैले मेरो व्यक्तित्व निर्माण गर्न सक्छजस्तो लाग्थ्यो,” उनी भन्छन्, “र त, मैले अहिलेसम्म बायोडाटासमेत बनाएको छैन । र, रोजगारी माग्न कसैको दैलो ढक्ढक्याउन पुगेको छैन भनौँ ।”

बाँसको व्यापार गर्न काठमाडौँ छिरेका नोकरीमा अल्झिइरहन मनले मानेन । सटरको खोजीमा भौँतारिए । तिनताक कुपन्डोल क्षेत्रमै सटरसमेत पाएका थिए । तर, घरभेटीले ६ महिनाको अग्रिम बहाल बुझाउनुपर्ने शर्त तेस्र्याए । धेरै खोजपड्ताल गर्दा पनि रकम बुझाउन असमर्थ रहेपछि उनी पुनः विराटनगर नै हान्निए ।

रकम र सीप दुवैको जुगाड गरेपछि दुई वर्षअघिबाट उनले बेत, बाँसको व्यापार शुरू गरेका हुन् । अहिले उनी आफूलाई चाहिने सामग्री आफैँ उत्पादन गर्छन् र सीप सिकेर आत्मनिर्भर, स्वरोजगार र उद्यमीबन्न चाहने जो–कसैलाई सेतुको भूमिका पनि निर्वाह गर्छन् ।

“कोही युवा मेरो संगतमा आउँछन्, सम्पर्क गर्छन् भने म एक महिनामै उद्यमी बनाइदिनसक्ने ल्याकत राख्छु, त्यसका लगनशीलता र मिहिनेत अनिवार्य शर्त हो,” बाँसमा रोजगारी खोज्न अभिप्रेरित गर्छन् उनी ।

बाँस २१ औँ शताब्दीको ‘स्टिल’
केही समयअघिसम्म भात–भान्छा सिलाबरले ओगटेको थियो । सिलाबरकै भाँडा–वर्तन चलनचल्तीमा थियो । अहिले त्यसलाई स्टिलले विस्थापन गरेको छ । चुल्हा–चोटामा स्टिलकै राज चलिरहेको छ भनौँ ।

तर, बाँसले यसलाई प्रतिस्थापन गर्न सक्ने दिवस बताउँछन् ।

भन्छन्, “बाँस २१ औँ शताव्दीको स्टिल हो । र, २२ औँ शताव्दीको भरपर्दो काठ र रोजगारीको साधन बन्न सक्छ ।”

बाँस खोज्न टाढा जानुपर्दैन । विश्वमा ९१ जातका १००० भन्दा बढी प्रकारका बाँस पाइन्छन् । नेपालमा पनि ५० भन्दा बढी प्रजातिका बाँस पाइने अनुमान छ । यद्यपि कुनै अध्ययन नभएकाले संख्या तलमाथि पर्न सक्छ । यद्यपि बाँसको उर्वर भूमि हो नेपाल ।

अझ हाम्रोजस्तो जोखिमयुक्त धरातल, बाढी, पहिरो र वन कटानको समस्या बेहोरिरहेका मुलुकमा बाँस उपयोगी होइन, बहुउपयोगी छ । 

बाढी जोखिमको क्षेत्रमा तटबन्धको काम गर्छ भने भूक्षययुक्त पाखा–पखेरा, बाटोघाटोमा पहिरो रोक्न बल पुर्‍याउँछ ।

दिवसले त यसलाई फर्निचरको माध्यम बनाएका छन् र विभिन्न बान्की, कला भरेर मनग्ये आम्दानी गरेका छन् ।

पछिल्लो समय तापक्रम वृद्धिको चपेटामा छ विश्व । वन फँडानीका कारण सुनभन्दा महँगो छ काठपात । यसर्थ पनि बाँस उपयोगी प्रतीत हुन्छ ।

बाँस रोपेको चार वर्षमा काट्न परिपक्व हुन्छ । जति काट्यो उति झाँगिने उसको स्वभाव हुन्छ । तसर्थ नेपालमा बढ्दो फर्निचरको माग धान्ने क्षमता बाँससँगै छ भन्छन् उनी ।

त्यसबाहेक नेपाल भूकम्पीय जोखिम क्षेत्र पनि हो । ०७२ वैशाखको कहर हाम्रो आँखाबाट ओझेल परेको छैन । ९ हजारभन्दा बढी प्रियजन गुमाएका हामीलाई भूकम्पको दुःस्वप्नले बारम्बार पिरोलिरहन्छ ।

पक्की घर बनाउने ल्याकत सबैसँग हुँदैन । ढुंगामाटाको घर तर भूकम्पको सत्रु नै भइहाल्यो । न्यून र मध्यमस्तरको आय भएकालाई बाँसको घर सुन्दर विकल्प हो ।

शिक्षासेवी उत्तम सञ्जेलले निर्माण गरेको समता स्कुल, समता अस्पताल र पछिल्लो समय चलनचल्तीमा ल्याइएका कटेजहरू यसका दृष्टान्त हुन् । र, बाँसबाट बनेका घर–टहरा मितव्ययीमात्रै हुँदैनन्, पर्यावरणमैत्री पनि हुन्छन् ।

उपचार (ट्रिटमेन्ट) गरिएको बाँसको आयु साधारणतया सय वर्षको हुन्छ । अन्यथा धमिरा लाग्ने, किराले खाने आदि समस्या हुन्छ । उपचारले दूर गराउँछ यी समस्या ।

‘कसरी गर्ने ट्रिटमेन्ट ?’ प्रश्न उठ्न सक्छ । तर, बाँसको उपचार त्यति गाह्रो कुरा होइन । बाँसलाई काट्नासाथ, हरियैमा बगेको पानीमा लगेर डुबाउनुपर्छ । पानीमा राखेको दशदेखि पन्ध्र दिनभित्रमा यसमा रहेको गुलियोपना निख्रन्छ । “यसरी गुलियोपना निखारिएको बाँस सय वर्षसम्म सुरक्षित रहन्छ । तर, पानीबाट भने जोगाउनुपर्छ,” दिवस प्रष्ट्याउँछन् ।

बाँसका कुनै पनि चिज खेर जाँदैनन् । स्याउला चौपायाको आहार हो । शरीरबाट विभिन्न सामग्री निर्माण हुन्छ । जरामा त झन् अद्भूत कला भर्न सकिन्छ । हस्तकलाका विविध सामग्री निर्माण गर्न सकिन्छ ।

‘एउटा बाँसबाट एक लाखसम्म कमाउँछु’
पछिल्लो समय बखुन्डोलमा बाँसघर, रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । टेबल, कुर्सी, सोफादेखि सरसजावटका सामग्रीसम्म बाँसकै छन् । बाँस–कला, शिल्प उनका रुची हुन् । तर समाजमा बाँसको महत्ता प्रचार भएन । या गरिएन भनौँ ।

नेपाली समाजको बाँसको ‘लिगेसी’ आजको होइन । बाँसलाई हाम्रो आदिम पुर्खा मान्दा पनि हुन्छ । तर, अहिलेको पुस्ताले बाँसको गरिमा, व्यापकता र यसको महत्तालाई रत्तिभर बुझेन । आफ्नो आँगनको बाँस छाडेर महँगा फर्निचरको मोहमा फसेका छौँ । विभिन्न रसायन र जलप प्रयोग गरिएका भाँडावर्तन प्रयोग गरेर रोग निम्त्याउन अभिशप्त छौँ । यही बुझाउन बाँस घर खोलेका हुन् उनले ।

बाँसघर पुग्ने जो कसैको मन आह्लादित हुन्छ । पुलकित हुँदै सोध्छन्, “कहाँ पाइन्छ यी सामग्री ?”

बाँसघरमा ३५ हजार मूल्य पर्ने टेबलदेखि एक लाखसम्म लागत पर्ने सोफा राखिएको छ । साधारणतया एउटै बाँसबाट एउटा टेबल बनाउन सकिन्छ । त्यस्तै पर्‍यो भने सोफा नै बनाउन पुग्छ । जबकी एउटा बाँसको बजार मूल्य जम्माजम्मी रु. सयमात्रै हो ।

“खोरियामा बाँस फुलाएर कोरिया जान लालायित छन् । आँगनको बाँस छाडेर कतार जान हतार गरिरहेछन् मानिसहरू,” खुइया... काढ्छन् उनी ।

बाँसको व्यापार प्रकृतिसँगै जोडिएको छ । कोक्रो त्यसैको उदाहरण हो ।

“जबसम्म नेपालीले सन्तान उत्पादन गर्न छाड्दैनन्, तबसम्म कोक्रो बिक्री भइरहन्छ, हामीकहाँ यसको उत्पादन कहिल्यै घट्दैन,” फेरि हाँस्छन् उनी ।

यसैबाट थाहा हुन्छ, बाँस बिक्रीको महत्ता ।

पाइँदैनन् कारिगर
नेपालमा बाँसबाट बनेका सामग्रीको बजार राम्रो छ । पछिल्लो समयमा त हस्तकलाका सामग्रीमा पनि बाँसले प्रवेश पाएको छ । कच्चा पर्दा सजिलै पाइने, कम लागतमै बनाउन सकिने हुनाले हस्तकलाका क्षेत्रमा बाँसले हस्तक्षेप नै गर्दैछ भनौँ ।

तथापि बाँसका सामग्री बनाउने कारिगरी छैनन् । “सोफासेट, टेवल–कुर्सीसमेत भारतबाट आयात गर्नुपर्छ, अथवा कालिगढ नै यहीँ बोलाउनुपर्ने अवस्था छ,” दुःखी हुन्छन् उनी ।

न्यून लागत र श्रम–सीपमै मनग्गे आम्दानी गर्न सकिने बाँस खेर फालेर रोजगारीको खोजीमा भौतारिएका युवा देख्दा उनको मन कुँडिन्छ ।

त्यसैले उनले केही समययता कलंकीमा बाँसका सामग्री बनाउने प्रशिक्षणसमेत दिन्थे । उद्यमशीलता निर्माण गर्थे । केही समय भयो, बन्द भयो त्यो ।

“तै पनि बाँसबाटै समृद्धि हासिल गर्ने मेरो अभियान अझै रोकिएको छैन,” कुराकानी टुंग्याए उनले ।

तस्बिर : सरिता खड्का

तपाईंको मत