site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

‘सप्रे खोसाखोस बिग्रे दोषादोष’ भन्ने कथनले सामान्य मानव मनोविज्ञानको प्रतिनिधित्व गर्छ । आफ्ना कमजोरी स्वीकार गर्नुभन्दा अरू कसैलाई दोषी देखाएर उम्कने वा आत्मुग्ध हुने मानवीय स्वभावै हो । तर, हिजोआज काम गर्न नसकेको सबै दोष न्यायालयमाथि थोपर्न थालिएको छ । सामान्यतः न्यायाधीशहरू प्रतिवादमा नउत्रने भएर पनि न्यायालयलाई दोष दिन सजिलो हुनेरहेछ । यसरी दोष दिनेमा राजनीति गर्नेहरू र त्यसमा पनि सत्ताधारीहरू सधैँ अगाडि हुन्छन् । प्रधानमन्त्री केपी ओलीदेखि अरू केही मन्त्रीहरूमा आफ्नो अक्षमता लुकाउन ‘‘केही गर्न खोज्यो अदालतले दिँदैन’’ भन्दै ‘पानीमाथि ओभानो’ हुन खोज्ने प्रवृत्ति देखिएको छ । न्यायालयले गल्ती नै नगर्ने हैन । न्यायाधीशले यदाकदा कानुनको गलत व्याख्या गरेर निर्णय गर्न सक्छन् । त्यसैले त विभिन्न तहका अदालतको व्यवस्था संविधानमै गरिएको हुन्छ । न्यायाधीशले गलत निर्णय गर्दा उपल्लो अदालतबाट सच्याउनेमात्र हैन उल्ट्याउने पनि गरिएका अनेकौं उदाहरण नेपालमै पाइन्छन् ।

विकास निर्माणको कुनै काममा अदालतको निर्णयबाट अप्ठेरो परेको भए सरकारले प्रक्रियाअनुरूप पुनरावेदन वा पुनरावलोकनका लागि निवेदन दिनसक्छ । तर, त्यस्तो वैध उपाय नअपनाई अदालतलाई दोषमात्र थुपार्ने प्रवृत्ति मूलतः विधिको शासन विरोधी मानसिकताको प्रतिविम्ब हो । लोकतन्त्रमा सरकारले पनि कानुन मिच्न सक्तैन । कानुनमा जे सुकै लेखिएको भए पनि मैले चाहेअनुसार हुनुपर्छ भन्ने हैकमी चाहना अधिनायकवाद हो । न्यायाधीशलाई ‘कालो कोट फुकालेर’ छलफल गर्न बोलाउने वा आफूले भनेअनुसार निर्णय नहुनेबित्तिकै महाभियोगको धम्की दिने प्रवृत्ति विधिको शासन मास्न चाहेको लक्षण हो । सत्तामा हुनेहरूमा यस्तो प्रवृत्ति सधैँ नै देखिन्छ तर अहिलेको कम्युनिस्ट सरकारमा यो बढी नै देखिन थालेको छ ।  अनुदार र त्रुटिपूर्ण कानुन बनाउने तर दाेष न्यायाधीशमािथ थाेपर्ने प्रवृत्तिलार्इ स्वस्थ भन्न मिल्दैन । प्रधानमन्त्री, मन्त्री वा कुनै सरकारी अधिकारीकाे मनसायअनुसार न्यायाधीशले निर्णय गर्न थाले भने न्यायालय त्यही क्षणदेखि नैतिकरूपमा समाप्त हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

सडक निर्माणमा सत्तारुढ दलका नेता निकट ठेकेदारले गरेको बदमासी ढाकछोप गर्न अदालतलाई दोष दिइएको त हैन भन्ने सन्देह उत्पन्न भएको छ । सडक विस्तार गर्ने वा नयाँ सडक निर्माण गर्ने ठाउँमा त अदालतले अन्तरिम आदेश दिएर रोकेको पनि होला । तर, सडक बीचको खाल्टो पुर्न वा ढल तह लगाउन त अदालतले पक्कै रोकेको छैन । अगिल्लो वर्ष वर्षा याममा खाल्टो पुरेर पैसा खेर नफाल्ने भन्दै तत्कालीन प्रधानमन्त्रीको आदेशको प्रतिवाद गर्ने काठमाडौं महानगरपालिकाका प्रमुखलाई अर्को वर्षा लाग्दासम्म पनि सहरभित्रका खाल्टा पुर्न अदालतले रोकेको त पक्कै हैन । यस्तै, अदालतले कुनै सडकमा प्रचलित कानुनविपरीत आदेश दिएका कारण काम रोक्नु परेको हो कि सरकारले कानुनी प्रावधान पूरा नगरेकाले अदालतले आदेश दिएको हो ? कानुनविपरीत आदेश दिएको भए उपल्लो तहबाट न्याय खोज्नुपथ्र्यो । प्रचलित कानुनबमोजिमै अदालतले आदेश दिएको हो भने त कि कानुन फेर्नु पर्छ नभए त्यसलाई टेर्नुपर्छ । काम गर्ने चाहनाको अभाव, निहित स्वार्थ वा सस्तो प्रचारको मोहबाहेक अरू कारणले विकासमा अदालतले भाँजो हालेको पक्कै देखिँदैन । यसैले न्यायालयको साख ध्वस्त बनाएर लोकतन्त्रको एउटा स्तम्भ कमजोर बनाउने नियत छैन भने आफ्नो कमजोरी ढाक्न अदालतलाई दोष दिन छाड्नुपर्छ । नत्र, सरकारको अधिनायकवादी मनसुवा यसबाट पनि पुष्टि हुनेछ ।      

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC