जघन्य अपराधका घटनालाई ढाकछोप गर्न खोज्दा अन्ततः कसैको पनि भलो हुँदैन भन्ने उदाहरण गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको घटना हुन पुगेको छ । बालक कृष्णप्रसादको हत्या गर्नुपर्ने कुनै कारणै देखिँदैन । हत्या गरेपछि त्यसलाई माओवादी नेताहरूले अगाडि सरेर दोषीलाई कारबाहीबाट जोगाउनु पर्ने त झन् कुनै तुक थिएन । बालक छोरा मारिएपछि न्याय खोज्ने नन्दप्रसाद र गंगामाया अधिकारीलाई माओवादी नेता, कार्यकर्ता र सरकारी अधिकारीहरूले दिएको अमानवीय सास्तीको त औचित्य झन् हुने कुरै भएन ।
बालक छोराका हत्यारामाथि कारबाही होस् भन्ने माग राखेर अनशन बसेका नन्दप्रसाद अधिकारीले सत्ताधारीहरूको लाचारी र अहंकारका कारण जीवन गुमाए । नेपालको शासनसत्तामाथि लागेको यो कलंक इतिहासमा कहिल्यै मेटिनेछैन । सर्वोच्च अदालतको आदेश पालना होस् र हत्याका अभियुक्तलाई कारबाही होस् भन्ने माग राखेर अहिले पनि गंगामाया अनशनमै छिन् । यस्तो अवस्थामा हत्याका प्रमुख षड्यन्त्रकारी मानिएका र सर्वोच्च अदालतले समेत पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको व्यक्ति छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् ।
छविलालको आत्मसमर्पणले गंगामायाको माग आंशिकरूपमा पूरा भएको छ । हत्याको मुख्य अभियुक्त भनिएको रुद्र आचार्य विदेशमा लुकेर बसेकाले निजलाई झिकाउन नेपाल प्रहरीले पत्राचारसमेत गरेको समाचार धेरै पहिले नै सार्वजनिक भएको थियो । तर, नेपाल प्रहरीले पठाएको पत्र नेपालकै परराष्ट्र मन्त्रालयले लुकाएर राखेको हालै खुलासा भएको छ । यसैले विदेशमा लुकेको हत्याको अभियुक्त अहिलेसम्म पक्राउ परेको छैन । गंगामायाको अनशनले सरकारमाथि दबाब बढ्दै गएपछि माओवादी नेता छविलालले आत्मसमर्पण गरेका छन् ।
सुरु अदालतले छविलाललाई धरौटीमा छाडेको र पुनरावेदन अदालतले सुरु अदालतकै निर्णय सदर गरेपछि छविलाल धरौटीमा रिहा भएका थिए । सर्वोच्च अदालतले धरौटीमा छाड्ने तल्ला अदालतको आदेश २०७२ साल पुस ६ गते बदर गरी छविलाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, छविलालले सर्वोच्च अदालतको आदेशको अवज्ञा गरे । थुनामा फर्केनन् । उनलाई पक्रेर थुनामा राख्न प्रहरीले आँट पनि गरेन । बरु, माओवादी नेताहरूले छविलाललगायतका अभियुक्तको साटो आफूलाई पक्रेर थुन्ने चुनौती राज्यलाई दिएका थिए ।
केही दिन पहिले मात्रै पनि गृहमन्त्रीले हजारौं गंगामाया छन् भन्दै गंगामाायको अनशनलाई अर्थहीन सिद्ध गर्ने प्रयास गरेका थिए । माओवादी नेताहरूले आफ्ना कार्यकर्ताले घरायसी रिसइबीबाट गरेको कृष्णप्रसाद अधिकारीको हत्यालाई राजनीतिकरूप दिएर सत्ताको घमण्डमा अधिकारी दम्पतीको न्यायको याचनालाई कुल्चने दुस्साहस नगरेका भए सम्भवतः नन्दप्रसादको ज्यान जाने थिएन र गंगामायाको पनि त्यस्तो अवस्था हुनेथिएन । माओवादी विद्रोह कालमा माओवादी कार्यकर्ता वा सुरक्षाकर्मीबीच भएको प्रत्यक्ष मुठभेडबाहेक अरू हत्या, अपहरण, बलात्कार र बेपत्ता बनाइएका घटना स्पष्टरूपमा फौजदारी अपराध हुन् । त्यस्ता घटनालाई नियमित न्यायिक प्रक्रियाद्वारा टुंगो लगाउनु स्वाभाविक र न्यायोचित हुन्छ ।
गंगामायाले छविलालको आत्मसमर्पणलाई ‘नाटक‘ हो कि भन्ने शंका गरेको समाचार सार्वजनिक भएको छ । बालकृष्ण ढुंगेलको सजाय मिनाहा बारे थाहा पाउने जोसुकैलाई पनि यस्तो शंका लाग्छ नै । सर्वोच्च अदालतले आत्मसमर्पण नगरेकाले बालकृष्ण ढुंगेललाई सजाय मिनाहा दिन नमिल्ने निर्णय गरेको थियो । अहिले ढुंगेललाई सजाय मिनाहा गर्दा सरकारले सर्वोच्चको त्यो नजिर मिचेको छ । तैपनि छविलालका लागि त अब सजाय मिनाहा गर्ने बाटो खुल्यो । यद्यपि, मुद्दा टुंगो लागेर सजाय तोकिएपछि मात्र सजाय माफीको बाटो खुल्छ ।
छविलालको आत्मसमर्पण सरकारले नै मञ्चन गरेको नाटक हो भन्नेमा दुबिधा नहोला । तर, अदालतले थुनामा राखेको व्यक्तिलाई सरकारले बिरामीको बहाना बनाएर अस्पतालमा राख्न सक्छ तर कैद मुक्त गर्न सक्तैन । यसैले अब गंगामायाले अनशनमा पुनर्विचार गर्नु उचित हुनेछ । परराष्ट्र मन्त्रालयले दबाएको पत्र बेलायत सरकारलाई पठाउने र सरकारका तर्फबाट आधिकारिक व्यक्तिले गंगामायासँग रुद्र आचार्यलाई झिकाउने प्रतिबद्धता प्रकट गरे उनलाई अनशन भंग गर्न मन बुझाउने बाटो हुनेछ । यसैले सरकारले यो अवसर नगुमाई यथाशीघ्र अग्रसरता देखाउनु बुद्धिमानी हुनेछ ।