site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली सिनेमाको डिजिटल यात्रा
Sarbottam CementSarbottam Cement

— नरेश फुयाँल


समयको विकासक्रमसँगै नयाँ–नयाँ प्रविधिको आविष्कार भयो । यस्ता प्रविधि पहुँच हुनेहरूले प्रयोग गर्दै आए । सिनेमा संसारको कुरा गर्दा सेल्युलोइड प्रविधिमा खिचिने फिल्म डिजिटलमा आइपुग्यो । पर्दामा धमिलो देखिने दृश्य डिजिटल प्रविधि प्रयोगसँगै प्रष्ट देखिन थाल्यो । ढिलै भए पनि नेपाली सिनेमाले डिजिटल प्रविधिमा उल्लेखनीय छलाङ मारेको छ । त्यसैले निर्माता÷निर्देशक तथा चलचित्र समीक्षकहरू भन्छन्— नेपाली फिल्म अहिले प्रविधि पहुँचका हिसाबले टाढा र कमजोर छैनन्, मात्रै प्रविधिको प्रयोग कसरी गर्ने, त्यसमा सबैका आ—आफ्ना तरिका हुन्छन् ।

अब हाम्रा फिल्म प्रविधिको पहुँचका कारण कमजोर भए भन्ने छुट कसैलाई छैन, ‘कन्टेन्ट’ र प्रस्तुति बलियो हुन सके प्रविधिको अभाव झेल्नु पर्दैन भन्नेमा निर्देशक निश्चल बस्नेत पूरापूर सहमत छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी भन्छन्, “हरेक कुराका फाइदा र बेफाइदा हुन्छन् । यो प्रविधि पनि अपवाद छैन । डिजिटल प्रविधिको विकाससँगै सिनेमा सबैले बनाउन सक्ने भए । सिनेमा निर्माण सबैको पहुँचमा आयो ।”

डिजिटल युग शुरु भएपछि रिल युगको अन्त्य भयो । रिलको अन्त्यसँगै सिनेमा निर्माण सस्तो भयो । रिलमा हुँदा प्रत्येक टेकले खर्च बढाउँथ्यो तर अहिले एउटै सटका लागि सयौं टेक लिए पनि लगानीका हिसाबले खासै तलमाथि पर्दैन ।

Global Ime bank

रिलमा फिल्म खिचिन्थ्यो र प्रत्येक हलमा रिलबाटै फिल्म देखाइन्थ्यो । तर, डिजिटल युगको शुरुआतसँगै अवस्था फेरियो । हलहलमा फिल्मको रिल बोकेर जानुपर्ने अवस्था अन्त्य भयो । सर्भरबाटै फिल्म वितरण गर्न सकिने भयो । यसले फिल्मको चोरी (पाइरेसी) घट्यो पनि, बढ्यो पनि ।

“हामीले कस्तो फाइल बनाउछौं, त्यसमा पाइरेसी भरपर्छ । डिजिटल प्रविधि आयो भन्दैमा पाइरेसी अन्त्य भयो भन्ने होइन, त्यो अहिले हामी आफैंले देखी पनि रहेका छौं,” निश्चल भन्छन्, “पाइरेसी त हामी आफैंमा भर पर्छ । हामी सचेत भयौं भने जुनसुकै प्रविधिमा पनि सुरक्षित रहन सक्छौं । प्रविधि आए पनि त्यसमा हामी फुल अपग्रेटेड भइसकेका छैनौं ।”

सेल्युलोइडमा भिजुअल (दृश्य)अनुसार कथा सोच्ने अवस्था थिएन । अहिले भिजुअल सोचेर कथा लेख्न सकिन्छ । कथालाई भिजुअलले न्याय नगर्ला कि भन्ने अवस्था छैन । यसलाई पुष्टि गर्दै निश्चल भन्छन्, “हामीले ‘अवतार’ जस्तो फिल्म बनाउन सकेका छैनौं । ‘अवतार’ त डिजिटल प्रविधि कहिले आउँछ र बनाउँला भनेर पर्खिएर बसेको चलचित्र हो । हामीले प्रविधिको प्रयोग गर्न सकेनौं । डिजिटल प्रविधि आएपछि त्यसको उपलब्धि के भन्दा हामीलाई फिल्म बनाउन सजिलो भएको छ भन्ने मात्रै हो । हेर्ने मान्छेलाई सजिलै फिल्म पुर्‍याएका छौं भन्नेबाहेक केही गर्न सकेजस्तो लाग्दैन ।”

निश्चलको भनाइलाई एकै वाक्यमा भन्दा प्रविधिको विकासजस्तै नेपाली सिनेमाले फिल्मको ‘कन्टेन्ट’ विकास गर्न सकेको छैन ।

क्यूएफएक्स

१६ एमएममा खिचिएको फिल्म तन्काएर ३२ एमएममा देखाइन्थ्यो । मान्छेको अनुहार चिन्नसमेत जुम सट कुरेर बस्नुपथ्र्यो दर्शकलाई । तिनै फिल्म हेर्न पनि राम्रा र सुविधासम्पन्न हल थिएनन् । भित्ताभरि पानपराग थुकिएका गन्हाउने हलमा बसेर फिल्म हेर्नुपथ्यो । फिल्म हेर्न पनि मजदुर वर्गका दर्शकमात्रै जान्छन् भन्ने धारणा थियो । हलिउड, बलिउडमा भने सुविधासम्पन्न सिनेमा हल थिए । पपकर्न खाँदै पूरै परिवार बसेर फिल्म हेर्ने संस्कृति विकास भइसकेको थियो । नेपालमा भने फिल्म हेर्न जान चाहनेहरु पनि राम्रो हलको अभाव महसुस गरिरहेका थिए । त्यो अभाव महसुस गरिरहेका नकिम उद्दिन, भाष्कर ढुंगाना र राजेश सिद्दीले क्यूएफएक्स भित्र्याए । चुनौतीका बीच उनीहरूले ३ करोड लगानी गरे– सिनेमा हल निर्माणका लागि ।

“४०–५० रुपैयाँमा सिनेमाको टिकट बेचिरहेका बेला हामीले १५७ रुपैयाँको टिकट बेच्ने गरी क्यूएफएक्स खोल्नु कम चुनौतीपूर्ण थिएन, दर्शकले सुविधासम्पन्न हल खोजिरहेका छन् भन्ने महसुस गरेर लगानी गर्‍यौं,” क्यूएफएक्सका भाष्कर भन्छन्, “तर त्यो बेला हामीलाई सबै लगानी डुबाउन यो के गरेको भन्थे, विश्वास नै गरेका थिएनन् कसैले पनि ।”

सिंगल थिएटर खाली–खाली हुँदा क्यूएफएक्सका सिट भरिभराउ हुन थाले । एक वर्षसम्म क्यूएफएक्स पनि छ भनेर जानकारी गराउन समय लागेको भाष्कर सुनाउँछन् । बिस्तारै दर्शकमा सिनेमा हेर्न पर्दा पनि राम्रो चाहिन्छ भन्ने ज्ञान बढ्दै गयो । दर्शक सिंगल थिएटरसँगै मल्टिप्लेक्समा जान थाले । नकिम र भाष्करलाई एक वर्ष व्यापार बनाउनै लाग्यो ।

मल्टिप्लेक्सको शुरुआतसँगै शहरमा शनिबार मनाउन परिवारका सबै सदस्य हल जाने संस्कृति बढ्दै गयो । पपकर्न र कोकोकोला टेबलमा राखेर सेल्फी हान्दै फेसबुकमा अपलोड गर्ने उस्तै भेटिन्छन् ।

डीसीएन (डिजिटल सिनेमा नेटवर्क)

नेपालमा अहिले फिल्मका सबै काम (छायांकन, पोस्ट प्रोडक्सन, वितरण तथा प्रदर्शन) डिजिटल प्रविधिमा हुन्छ । यो प्रविधि भित्र्याउन चलचित्र निर्देशक तथा कलाकार अशोक शर्माको ठूलो हात छ । अशोकलगायतका केही चलचित्रकर्मी नेपालमा डिजिटल प्रविधि भित्र्याउनु पर्छ भनेर कम्मर कसेर लागे । तर, उनीहरूको काममा अवरोध गर्ने खलपात्रहरू फिल्ममा झैं खडा भए ।

“ती खलपात्रहरू को–को थिए, इतिहासले भन्दै जानेछ । तर, हामीलाई त्यो बेला कसैले पनि विश्वास गरेन । सेल्युलोइड प्रविधिलाई विस्थापन कसैले पनि गर्न सक्दैन, यो हुनै नसक्ने कुरा हो भन्थे,” अशोक डीसीएन भित्र्याउँदाका दिन सम्झन्छन्, “हामीले डिजिटल प्रविधि त नेपालमा लिएर आयौं तर कोही पनि यो प्रविधिमा सिनेमा बनाउन कोही तयार भएनन् । सेल्युलोइडमा बनेका चलचित्रलाई डिजिटलमा कन्भर्ट गरेर उच्च क्वालिटीमा देखाउन सकिन्थ्यो, यसका लागि पनि कोही राजी भएनन् ।”

एसआई–टु–के क्यामेराले फिल्म खिच्न कोही पनि राजी हुँदैनथे । तर, पनि अशोकहरूले हार खाएनन् । ८ करोड रुपैयाँ लगानी गरिएको थियो तर सिनेकर्मी नै विश्वास गर्दैनथे । डीसीएनले फिल्म खिच्न क्यामेरा पनि दिने, निर्माणका लागि एड्भान्स बजेट पनि दिने र वितरण पनि गरिदिने भनेर निर्माता/निर्देशकहरूलाई आग्रह गथ्र्यो तर कसैले सुन्दैनथे । अशोक भन्छन्, “तर, त्यो बेला नै हामीलाई लागेको थियो— केही वर्षमै सेल्युलोइड विस्थापित हुँदैछ र डिजिटल प्रविधिले मार्केट लिनेछ, त्यसैले कहिल्यै पनि हार खाएनौं ।”

कोशेढुंगा ‘कागबेनी’

क्यूएफएक्सका लगानीकर्ता नकिम, भाष्कर र राजेश आफैंले डिजिटल प्रविधिमा ‘कागबेनी’ निर्माण गरे । त्यसलाई भूषण दाहालले निर्देशन गरे । यो फिल्मको प्राविधिक पक्ष उच्च देखेपछि केही निर्माता, निर्देशकले विश्वास गर्न थाले । बिस्तारै नेपाली चलचित्र उद्योगले स्वीकार गर्न थाल्यो ।

“यति भइसक्लदा पनि हामीले भित्र्याइसकेको डिजिटल प्रविधिलाई विस्थापित गर्न खलनायकहरू लागि नै रहे, राजनीति गर्न छाडेनन्,” अशोक भन्छन्, “तर प्रविधिलाई नजरअन्दाज कसैले गर्न सक्दैन, सूर्यलाई हत्केलाले छेक्न खोज्छु भनेर कहाँ सफल भइन्छ र ? त्यस्तै भयो ।”

बुझेका निर्माताहरू आफैंले डिजिटल क्यामेरा ल्याएर फिल्म बनाउन थाले । 

भूषणलाई आक्षेप

नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ निर्देशक भूषण दाहालले पनि फिल्म निर्माणको तयारीमा रहँदा सुखद अनुभूति गर्न पाएनन् । कुनै न कुनै समयमा फिल्म निर्देशन गर्छु भन्ने सोचिरहेका भूषणलाई आफ्नै साथीहरूले निर्देशनको आग्रह गरे । उनलाई पनि प्रस्ताव नराम्रो लागेन । तर, त्यो बेला ज–जसले फिल्म बनाइरहेका थिए, उनीहरूको कटु आलोचनाको शिकार भए उनी ।

“जसले फिल्म नै बुझेको छैन, जसले फिल्मको भाषा नै बुझेको छैन, जसले फिल्मको मिडियम बुझेको छैन, त्यसले डिजिटल प्रविधिमा फिल्म बनाउँछ ? भन्ने जस्ता आलोचना सहनु पर्‍यो,” भूषण त्यतिबेला केही निर्देशक र निर्माताबाट आएका आक्षेप सम्झन्छन्, “त्यसका बाबजुद पनि केमा केन्द्रित भइयो भने भविष्य त यही नै हो, मैले नगरे पनि कसै न कसैले गर्छ र गर्नैपर्छ, रिक्स इज अ रिक्स भनेर गर्‍यौं ।”

आक्षेप र आरोपका बीच निर्माण भएको ‘कागबेनी’ प्रदर्शन गर्ने हल पनि धेरै थिएनन् । चार–पाँच वटा हलमा प्रदर्शन भयो । “नयाँ प्रविधिमा बनेकाले दर्शकमा उत्साह थियो । यो ‘वनमान्छे’ले कस्तो फिल्म बनायो भनेर चलचित्रकर्मीमा पनि उत्सुकता थियो होला,” भूषण हाँस्दै फिल्म प्रदर्शनको प्रसंग सुनाउँछन् ।

पहिलो डिजिटल फिल्म निर्देशन गर्ने इतिहास भूषणको नाममा लेखियो । तर, रेकर्डकै लागि ‘कागबेनी’ निर्माण नगरेको भन्दै उनी यसलाई भवितव्य भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । भन्छन्, “मलाई समयले एक्सपेरिमेन्टको मुसा बनायो ।”

डिजिटल युगले दशकको यात्रा गरिसक्यो । फिल्म निर्माणको लागत कम भयो, प्रदर्शनका लागि सहज भयो, कल्पना गरेजस्तो फिल्म निर्माण गर्न सम्भव भयो । यो सम्भव प्रविधिले बनाए पनि त्यसको शुरुआत गर्ने भूषण भने त्यसको पहिलो प्रयोगकर्ता भएकोमा भन्दा पनि नेपाली सिनेमा उद्योगले यसलाई सहजै अंगिकार गरेकोमा गर्व मशसुस गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०७५  ०६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC